भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नयाँ अध्ययनअनुसार, धूमपानले महिला र पुरुष दुवैमा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउने गर्छ । धूमपानले हुने बोसे आन्द्राको क्यान्सरको डर पुरुषभन्दा महिलामा बढी हुनेसमेत उक्त अध्ययनले औंल्याएको छ । वैज्ञानिक जर्नल 'अमेरिकन एसोसिएसन अफ क्यान्सर रिसर्च' मा उक्त अध्ययन गत साता प्रकाशित भएको हो, जसका मुख्य अनुसन्धानकर्ता नेपाली चिकित्सक डा. रञ्जन पराजुली हुन् । डा. एइवेन्ड बजरकोस, प्रा. ग्राम इगरसमेतको संलग्नतामा गरिएको उक्त अध्ययन डा. पराजुलीले अमेरिकन क्यान्सर सोसाइटीको यसपालिकै वाषिर्क सम्मेलनमा प्रस्तुत गरिसकेका छन् । विश्व स्वास्थ्य संगठन -डब्डूएचओ) का अनुसार, सन् २००८ मा भएको सबै मृत्युमध्ये १३ प्रतिशत मृत्युको जिम्मेवार क्यान्सर हो । यो संख्या ७६ लाख हो । यही वर्ष ठूलो आन्द्रा -कोलोरेक्टल) को क्यान्सरबाट ६ लाख ८ हजारजनाको मृत्यु भएको अनुमान छ । 'धूमपान र ठूलो आन्द्राको क्यान्सर अनि यसबाट हुने मृत्युबारे हाम्रो अध्ययनमा ६ लाख नर्वेली नागरिकको सन् १९७० देखिको चिकित्सकीय इतिहास विश्लेषण गरेर नतिजा निकालिएको हो,' नर्वेको युनिभर्सिटी अफ टोमसो, डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिनका डा. पराजुलीले कान्तिपुरलाई टेलिफोनमा भने, 'यो अध्ययनबाट आएको परिणाम नेपाललगायत अन्य मुलुकका धूमपान अम्मलीहरूका लागि चेतावनीमूलक छ ।' उनका अनुसार, यो यस किसिमको पहिलो बृहत् अध्ययन हो । अध्ययनमा सहभागी ६ लाखमध्ये ४ हजार नर्वेली नागरिकमा ठूलो आन्द्राको क्यान्सर पाइएको थियो । धूमपान गर्नेहरूमा ठूलो आन्द्राको क्यान्सर तुरुन्त देखिन्न । धूमपानको तीन या साढे तीन दशकपछि ठूलो आन्द्राको क्यान्सर हुने गरेको उल्लेख गर्दै डा. पराजुली भन्छन्, 'अबको दुई-अढाइ दशकपछि नेपालसमेत ठूलो आन्द्राको क्यान्सरको उच्च जोखिममा हुनेछ ।' हाल पश्चिमी मुलुकमा धूमपान सेवनको प्रतिशतमा धेरै कमी आएको भए पनि नेपाल, भारत, चीनजस्ता मुलुकमा यस्तो अम्मलीको संख्या बढ्दै गएको तथ्य औंल्याउँदै डा. पराजुली भन्छन्, 'नर्वेमा सन् १९७० तिर ३५ देखि ४० प्रतिशत मान्छेले धूमपान गर्थे भने २०११/२०१२ तिर यो प्रतिशत १७/१८ मा सीमित भएको छ ।' नेपाल, भारत लगायतका मुलुकका युवामा धूमपानको प्रतिशत बढ्दै गएकोले ठूलो आन्द्राको क्यान्सर आगामी दशकमा थप स्वास्थ्य चुनौतीका रूपमा देखिने उनको आकलन छ । यद्यपि चुरोट खाने पुरुष र महिला दुवै ठूलो आन्द्राको क्यान्सरको उच्च जोखिम हुन्छन्, तथापि अध्ययनमा देखिएअनुसार, पुरुषको दाँजोमा थोरै वर्ष मात्र चुरोट खाए पनि महिलालाई यो क्यान्सर हुने खतरा बढी हुन्छ । 'महिलाले दिनमा १० वटाभन्दा कम चुरोट खाए पनि पुरुषभन्दा बढी उनीहरू नै ठूलो आन्द्राको क्यान्सरको जोखिममा हुने हाम्रो अध्ययनले देखायो,' डा. पराजुली भन्छन्, 'धूमपान र ठूलो आन्द्राको क्यान्सरबीच स्पष्ट सम्बन्ध देखिएकोले चुरोट सेवनलाई हतोत्साहित गर्नुपर्छ ।' ठूलो आन्द्राको क्यान्सरको उपचार थुप्रै कारकमा निर्भर गर्छ । जस्तो ः क्यान्सरको आकार, स्थान, क्यान्सरको स्टेज, यो पुनः भएको छ वा छैन, रोगीको वर्तमान स्थिति एवं अवस्था । उपचार अन्तर्गत शल्यचिकित्सा, किमोथेरेपी, रेडियेसन थेरापी र टार्गेटेड थेरापी गरिन्छ । यो रोगीको स्थिति र क्यान्सरको अवस्थामा निर्भर हुन्छ । यो क्यान्सरका लागि प्राथमिक विधि शल्यक्रिया हो । शल्यक्रियापछि किमोथेरापी वा रेडिएसन थेरापी दिन सकिन्छ । डब्लूएचओका अनुसार, फोक्सो, पेट, कलेजो, बोसे आन्द्राको क्यान्सरले गर्दा वर्षेनि क्यान्सरले हुनेमध्ये बढी मृत्यु हुन्छ । सूर्तीको प्रयोग क्यान्सर उत्पन्न गर्न सबैभन्दा महत्त्वपूर्ण जोखिमको कारक तत्त्व हो । यसले विश्वव्यापी रूपमा क्यान्सरले २२ प्रतिशत मृत्यु हुन्छ । त्यसमध्ये ७१ प्रतिशत मृत्युको कारक फोक्सोको क्यान्सर हुन्छ । धूमपानले बढी असर फोक्सोलाई नै गर्छ । के हो ठूलो आन्द्राको क्यान्सर ? कोलोन, कोलोरेक्टयाल क्यान्सरलाई पेटको वा ठूलो वा बोसे आन्द्राको क्यान्सर भनिन्छ । ठूलो आन्द्रा पाचनतन्त्रको तल्लो खण्ड हो । यो ५ देखि ६ फिटसम्म लामो हुन्छ । ठूलो आन्द्राको सबैभन्दा तल्लो खण्डलाई मलाशय भनिन्छ । यहीँबाट दिसा बाहिर निस्कन्छ । ठूलो आन्द्राले पचिसकेको आहाराको अवशेषलाई सानो आन्द्राबाट ल्याउँछ र फोहोर पदार्थलाई मलद्वारबाट बाहिर निकाल्ने काम गर्छ । कोलोन वा मलाशयको क्यान्सर यस्तो क्यान्सर हो, जुन ठूलो आन्द्रा वा मलाशयबाट सुरु हुन्छ । यो क्यान्सर निकै बढेपछि ठूलो आन्द्रा वा मलाशयमा क्यान्सरको गाँठो बन्छ । लक्षण दिसामा गाढा रगत देखिनु पखाला वा कब्जियत निको नहुनु पेटको तल्लो भाग दुख्नु बिनाकुनै कारण शरीरको तौल कम हुनु छिट्टै थाक्नु
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.