Widgets

Home » , » बैंकिङ कसुरका १९०० फरार

बैंकिङ कसुरका १९०० फरार

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Banking

काठमाडौ, भाद्र ३ - बैंकिङ कसुर अभियोगका करिब एक सय ७० मुद्दाका प्रतिवादी १ हजार ९ सयभन्दा बढी अभियुक्त फरार छन् । पहुँचवाला अभियुक्त सरकारी संयन्त्रलाई प्रभावित पारेर बच्दै आएका छन् । पहुँचवालाले फसाएका सोझासाझा अभियुक्तलाई खोज्न प्रहरीले चासो नदेखाएकाले फरार अभियुक्तको संख्या ठूलो भएको हो । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा ऋण अपचलन गरेकामा ७ अर्ब ७३ करोड रुपैयाँ बिगोको मुद्दा चलिरहे पनि मुख्य अभियुक्त पवन कार्की डिपार्टमेन्ट स्टोर सञ्चालन गरी ढुक्कसँग अमेरिका बसिरहेका छन् । उनले त दक्षिण कोरियाका नेपाली कामदारले हुन्डीमार्फत घर पठाउने विदेशी विनिमय हङकङ हुँदै अमेरिका पुर्‍याउने गरेको अर्थ मन्त्रालयको प्रतिनिधिमण्डलले डेढ वर्षअघि गरेको अध्ययन भ्रमणका क्रममा देखिएको थियो । बैंकिङ कसुरका अर्का चर्चित अभियुक्त लक्ष्मीबहादुर श्रेष्ठ पनि पक्राउ परेका छैनन् । नेपाल बंगलादेश बैंकसँग गाभिन लागेका बेला श्रीलंका मर्चेन्ट बैंकबाट २६ करोड रुपैयाँभन्दा बढी ऋण आफन्त र निकटका व्यक्तिको नाममा झिकेर अपचलन गरेका श्रेष्ठ कार्कीजस्तो विदेशिएका त छैनन् । तैपनि उनी पक्राउ पर्दैनन् । 'उनलाई पिछा गर्न लागेको समय र परिचालित प्रहरीको उत्पादकत्वको हिसाब गर्ने हो भने निकै खर्चिलो भइसक्यो,' प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले भने । निकटवर्ती स्रोतका अनुसार उनी काठमाडौंमै छन् । अनुसन्धानका क्रममा अभियोग नै नलागोस् भनेर शक्तिकेन्द्र धाएका उनी अदालतमा मुद्दा दायर भएपछि तारेखमा छुट्ने चाँजोपाँजो मिलाउन सक्रिय छन् । 'तर उनले अह्राएको काम गर्ने रुबी जोशी, श्रीराम लामिछाने र गौरीशंकर चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाइएकाले उनलाई तारेखमा छाड्ने आदेश गर्न न्यायाधीशलाई पनि गाह्रो छ,' स्रोतले भन्यो । सीआईबीले अनुसन्धान गरेपछि मुद्दा दायर भएका १४ बैंक तथा वित्तीय संस्थामा भएको अपचलनमा झन्डै २ हजार जनालाई बैंकिङ कसुरको अभियुक्त बनाइएको छ । तर अहिलेसम्म ४५ जनालाई मात्र प्रहरीले पक्राउ गरी अदालतमा बुझाउन सकेको छ । केहीले अदालतमा हाजिर भई मुद्दाको प्रतिरक्षा गरिरहेका छन् । अधिकांश फरार छन् । 'फरार अभियुक्त दुई खाले छन्,' सीआईबीका अनुसन्धान अधिकृतले, 'एकथरी पहुँचवाला, अर्काथरी सोझासाझा नबुझेर फसेका ।' उनका अनुसार पहुँचवाला अनेक तिकडम गरेर प्रहरी खोर/जेलबाट बचिरहेका छन् । अर्काथरीबाट सुराकी पनि नपाइने र जबर्जस्ती फसाइएकाले अन्यायमा पर्ने भएर पनि प्रहरी/अदालतले खोज्न आवश्यक ठानेको छैन । सिद्धार्थ विकास बैंकमा १७ करोड १४ लाख रुपैयाँ ऋण अपचलन गरेकामा बैंकिङ कसुरको मतियार बनाइएका किस्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी कमल ज्ञवाली पनि फरार छन् । सिद्धार्थ विकास बैंककै प्रमुख कार्यकारी दीपेन्द्र कार्की पनि पहुँचकै कारण प्रहरीबाट बचिरहेका छन् । स्रोतका अनुसार ज्ञवाली पाल्पाली एकता भन्दै शक्तिकेन्द्र धाइरहेका छन् । श्रेष्ठ कहिले कुन नेता त कहिले कुन नेताकहाँ लुकेको हल्ला प्रहरीसम्म आइपुग्छ । बैंक ठगीको अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकृतका अनुसार बैंकमा हालीमुहाली गर्नेले सोझासाझा आफन्त/घरगाउँले, कर्मचारीलाई थाहै नदिई वा प्रलोभन दिएर फसाई ऋण अपचलन गरेका छन् । जस्तो- क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ऋण अपचलनमा ४६ मुद्दामा ७ सय ४४ जनालाई प्रतिवादी बनाइएको छ । पवन कार्कीले घर/ससुरालीका नातागोता हुँदै गाउँलेसम्मको नाममा ऋण लिएका छन् । 'अब उनी उम्केपछि ती सोझासाझालाई थुन्नु न्यायोचित देखिएन,' अनुसन्धान अधिकृतले भने । कार्कीले त क्यापिटलबाट कतिपय काल्पनिक व्यक्तिको नाममा समेत ऋण लिएको प्रहरीले बताए । क्रिस्टल फाइन्ाान्सका प्रमुख कार्यकारी दिव्यकुमार श्रेष्ठले यस्तै तरिका अपनाएका कारण ३१ मुद्दामा ३ सय ३२ जना प्रतिवादी छन् । उनले ४४ करोड ६१ लाख रुपैयाँ अपचलन गरेका थिए । जनरल फाइनान्सको १४ मुद्दामा २ सय १६ विरुद्ध मुद्दा दायर गरिएको छ । जनरल फाइनान्सका प्रमुख कार्यकारी राजुकुमार प्रधानले खातामा पर्याप्त रकम नभई ग्राहकलाई गुड फर पेमेन्ट चेक जारी गर्ने र चेकवालाले दोस्रो व्यक्तिलाई चेक थमाउँदै ब्याजमा पैसा लिएको भेटिएको थियो । चेक जारी गर्नेका साथै लिनेलाई पनि प्रतिवादी बनाइएकाले प्रतिवादीको संख्या बढ्यो । जनरल फाइनान्समा यसरी झन्डै १४ करोड रुपैयाँ अपचलन भएको थियो । हिमालयन फाइनान्समा ५३ करोड अपचलनमा १५ मुद्दामा १ सय ६७ जना प्रतिवादी छन् । ८६ करोड रुपैयाँ गोर्खा विकास बैंकबाट अपचलन गरेकामा १३ मुद्दामा १ सय २४ विरुद्ध मुद्दा दायर गरिएको छ । प्रोगेसिभ फाइनान्समा ७ करोड ६९ लाख अपचलन भएपछि ९ मुद्दामा १ सय २३ लाई प्रतिवादी बनाइएको छ । वैभव फाइनान्सको ६ करोड ३५ लाख अपचलनमा दायर १२ मुद्दामा ६९ जनालाई प्रतिवादी बनाइएको छ । सम्झना फाइनान्समा ६ करोड २८ लाख रुपैयाँ अपचलन भएकामा ४ मुद्दा र ५० प्रतिवादी छन् । तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकको ६ मुद्दामा ४९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । एच एन्ड बी डेभलपमेन्टमा १ अर्ब ६ करोड रुपैयाँ अपचलनमा ३ मुद्दामा ३५ जनालाई प्रतिवादी बनाइएको छ । एच एन्ड बीमा ८० करोड रुपैयाँभन्दा बढी रकम जनरल फाइनान्समा जस्तै गुड फर पेमेन्टमार्फत भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger