भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ असार, काठमाडौं । नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सीपी गजुरेल सोमबार राति चीनतर्फ उड्नुअघि नै नेपालस्थित चिनियाँ दूतावासकी काउन्सिलर वाङ लिसिन बेइजिङ पुग्नुभएको छ । चिनियाँ राजदूत ऊ चुन्ताई काठमाडौं आउनुपूर्व कार्यवाहक राजदूतको भूमिकासमेत निर्वाह गरिसकेकी वाङको बेइजिङ यात्रा वैद्यको भन्दा कम अर्थपूर्ण छैन ।
एमाले र कांग्रेसमा कनिष्ट तहका २० नेताहरुले चीनको भ्रमण गरिरहेकै बेला वाङ बेइजिङ जानुको कारणचाहिँ वैद्यको भ्रमणको राजनीतिक तारतम्य मिलाउनु पनि हो । अन्य दलका १०/१० जनालाई भ्रमणको निम्तो दिने चीन सरकारले माओवादी अध्यक्ष वैद्य र उपाध्यक्ष सीपी गजुरेललाई अलग्गै बोलाउनुले चीनले वैद्यलाई कांग्रेस र एमालेलाई भन्दा विशेष महत्व दिएको स्पष्ट भएको छ ।
बेइजिङमा वैद्यको प्लान
एमाओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग भेट गरेपछि एमाले अध्यक्ष झलनाथ खनालले पनि प्रचण्डलेजस्तै राष्ट्रपति सि जिनपिङसँगै भेट गर्न पाउनुपर्ने अडान राख्दा खनालको चीनयात्रा सफल भएन । अन्ततः एमालेले प्रदीप ज्ञवालीको नेतृत्वमा देश दर्शनको अवसर पाएको छ । यसअघि कांग्रेस सभापति सुशील कोइरालालाई पनि चीनले निम्तो गर्ने हल्ला चलेको थियो । तर, अन्तिममा कांग्रेस नेता सूर्यमान गुरुङले मात्रै चीन भ्रमणको १० सदस्यीय टोलीको नेता बन्ने अवसर पाउनुभयो ।
तर कांग्रेस एमालेको यो टोलीले चीनको विकास निर्माण एवं कम्युनिष्ट पार्टीको स्कुल विभाग डुल्नेबाहेक अन्य राजनीतिक महत्व नराख्ने स्रोतको दाबी छ । ‘यसअघि एमाले नेता शंकर पोखरेलको नेतृत्वमा १७ सदस्यीय टोलीले पनि चीन भ्रमण गरेकै हो । तर, पार्टी छाड्ने माओवादी नेताहरुको भ्रमणको थप राजनीतिक अर्थ छ’- चीन मामिलाबारे जानकार स्रोतको विश्लेषण छ ।
पार्टी फुटाउनेलाई चीनको निम्तो
चिनियाँहरुले विद्रोही माओवादीलाई आफ्नो देशमा बोलाएर एकीकृत माओवादीका नेता प्रचण्ड र बाबुरामको भारतसितको सम्बन्ध र रणनीति कस्तो छ भनेर सोधीखोजी गर्ने गरेको बेइजिङको निम्तो मानेर आउनेहरुले बताउने गरेका छन् । साथै फुटेका माओवादी नेताहरुलाई पार्टी एकता गर्न पनि चीनियाँहरुले सम्झाएर पठाउने गरेको बताइन्छ ।
एकता गर भन्ने चीनको पुरानै आदत
बेइजिङमा प्रचण्डसँगको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले वैद्य पक्षसँग पार्टी एकता गर्न आग्रह गरेको चर्चाले यतिबेला पेरिसडाँडामा व्यापकता पाएको छ । यही चिनियाँ निर्देशनका आधारमा दुई माओवादीवीच एकता हुनसक्ने धेरैको अनुमान भए पनि एकजना एमालेका जानकार विश्लेषकको बुझाइमा चिनियाँहरुको यो आग्रह पुरानै परम्पराबाहेक थप केही होइन । ‘चिनियाँ अधिकारीहरु एमाले-माले फुटेका बेलामा पनि यसैगरी तपाईहरु मिल्नोस् भन्थे’- स्रोत भन्छ, ‘पहिले एमाले र मालेलाई भनेजस्तै अहिले पनि वैद्य र प्रचण्डलाई मिल भनिएको हुनसक्छ, तर चीन प्रचण्डलाई शक्तिशाली भएको हेर्न चाहने पक्षमा अहिलेसम्म देखिन्न ।’ स्रोतको दाबी अनुसार चीनले वैद्यपक्षलाई दिएको महत्वले नै प्रष्ट पार्छ कि विगतमा नेपालका कम्युनिष्टहरु चिनियाँ कार्ड खेल्थे, तर, अब चीनले भारतलाई देखाउनका लागि माओवादी (वैद्य) कार्ड खेल्न थालेको छ ।
ताइवानीसँग भेट्नु माधव नेपालको दुर्भाग्य
चीनका लागि प्रचण्ड अझै शंकास्पद
‘चीनले नेपालमा राजतन्त्रको अन्त्यपछि आफूलाई भरपर्दो राजनीतिक शक्ति खोजिरहेको छ । तर, प्रचण्डलाई उसले पूर्णतः विश्वास गरिहालेको स्थिति छैन ।’ स्रोत भन्छ, ‘प्रचण्ड र बाबुराम भारतपरस्त छन् भन्ने चिनियाँहरुको शंका यथावत छ ।’ र, बेलाबखत चीन जाने विद्रोही माओवादीहरुले पनि प्रचण्ड र बाबुरामलाई ‘भारतको दलाल’ भनिदिँदा चिनियाँहरुको यस्तो आशंकाले थप मलजल पाउने गरेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.