भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ असार, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं भारतीय विदेशमन्त्री ६० वर्षीय सलमान खुर्शिद एकदिने नेपाल भ्रमण सकेर मंगलबार साँझ दिल्ली फर्किइसक्नुभएको छ ।
एमाओवादी र कांग्रेसका शीर्षनेता एवं एमाले नेता माधव नेपाल स्वदेशमा नभएको अवस्थामा खुर्शिद पशुपतिनाथको दर्शन गर्ने बाहना बनाएर नेपाल आउनुभएको होइन । बरु यस्तो उल्टो मन्त्रिपरिषदका अध्यक्ष, मन्त्रीहरु र राष्ट्रपतिलाई भेटिसकेपछि बत्तीसपुतलीको द्वारिकाज होटलमा उत्तरप्रदेश निवासी खुर्शिदको दर्शन गर्न नेपालका पूर्वप्रधानमन्त्रीहरु लस्कर लागेको दृश्यले यस्तो संकेत गर्दथ्यो कि भारतको उत्तरप्रदेशमा रहेका साक्षात केदारनाथ देवता काठमाडौंमै प्रकट भएका छन् ।
बिहान काठमाडौं आइपुग्नुभएका भारतीय विदेशमन्त्रीको भ्रमण छोटिएको जानकारी भारतीय स्रोतले सोमबारमात्रै दिएको थियो । कम्तिमा दुईदिने हुने भनिएको भ्रमण किन एकाएक छोटियो भन्ने कसैले स्पष्ट पारेको छैन । खुर्शिदको भ्रमण कति भद्रगोल र तयारीविहीन थियो भन्ने कुरा त मंगलबार अबेलासम्म अर्थमन्त्रालयका अधिकारीहरु भारतले दिने ७ सय ६४ वटा गाडीको सहयोगको सम्बन्धी ड्राफ्ट बनाउने धपेडीमा थिए ।
भारतीय विदेशमन्त्री एसएम कृष्णाले सन् २०११ अपि्रलमा गरेको नेपाल भ्रमणपछिको खुर्शिदको यो पछिल्लो विदेशमन्त्रीस्तरीय भ्रमण थियो । यो भ्रमणमा खुर्शिदले आफ्ना समकक्षी माधवप्रसाद घिमिरेसँग नेपाल र भारतवीच आफ्नो द्वीपक्षीय सम्बन्ध र विकासबारे आफ्ना विचार आदान-प्रदान गर्ने भारतीय दूतावासले जनाएको थियो ।
सर्वोच्च अदालतको झापड
गत जेठ १७ गते भारतीय गृहसचिव र नेपालका गृहसचिवद्वारा हस्ताक्षरित २८ बुँदे सम्झौताका दुईवटा बुँदालाई खुर्शिद नेपाल आउने अघिल्लो दिन सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि नेपाल सरकारको उत्साहमा चिसोपानी खन्याएजस्तो भएको छ । सर्वोच्च अदालतमा प्रस्तुत रीटमा स्पष्टसँग भनिएको थियो कि खुर्शिदको भ्रमणमा कुनै पनि सम्झौता नगरियोस् । कामचलाऊ सरकारले गरेको सम्झौतामाथि अदालतले चिसोपानी खन्याएपछि प्रधानन्यायाधीशकै नेतृत्वमा बनेको रेग्मी सरकारले खुर्शिदसँग कुनै विशेषखालको सम्झौता गरेन र केवल गाडीहरुका लागि हात थाप्ने काममात्रै गर्यो ।
द्वारिकामा नेताहरुको लस्कर
खुर्शिद नेपाल आउने थाहा पाएर सिंगापुरमा श्रीमतीको उपचारक्रमलाई छोट्याएर एमाओवादी अध्यक्ष प्रचण्ड काठमाडौं आइपुग्नुभएको घटनाले खुर्शिदको भ्रमणमा रोमाञ्चकता थपेको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला पनि अमेरिकामा रहनुभएको छ । तर, कोइराला नभए पनि कांग्रेसका अन्य नेताहरुले पार्टीगतरुपमा खुर्शिदसँग भेट गरेका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डको हतार-हतारको आगमनले उहाँले भारतीयप्रति दर्शाउनुभएको महत्वलाई उजागर गरेको टिप्पणी गरिन थालेको छ । त्यसैगरी होटलमा भारतीय विदेशमन्त्रीलाई भेट्न पूर्व प्रधानमन्त्रीहरुले प्रोटोकोलको समेत ख्याल नगरेको टिप्पणीसमेत उठेको छ । तर, राष्ट्रिय स्वाधीनताको मुद्दा उठाउँदै आउनुभएका नारायाणकाजी श्रेष्ठले समेत यसलाई अस्वाभाविक भेटघाट मान्न नमिल्ने प्रतिक्रिया मिडियालाई दिनुभएको छ ।
आउँदो मंसिरमै संविधानसभाको चुनाव हुनुपर्ने जोड दिन खुर्शिद नेपाल आउनुभएको चर्चा चलिरहेका बेला मधेसी दलका नेतालाई बढ्ता प्राथमिकता दिएइएको विषयले अर्को थप चर्चा कमाउन सफल भएको छ ।
तथापि चिनियाँ स्टेट काउन्सिलर जेइचीको भ्रमणलाई कुटनीतिक जवाफ दिन गरिएको भनिएको भारतीय विदेशमन्त्रीको भ्रमणलाई तयारीविनाको, नेताहरु विदेशमा भएका बेला गरिएको बेमौसमी खेतीका रुपमा धेरैले हेरेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.