भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं - कम तौलको सिलिन्डर बिक्री गर्ने कोसी ग्यासले अर्को बोटलिङ प्लान्टमा भर्ने गरेको पाइएको छ। यो कानुनत अवैध कार्य हो। कोसी ग्यासका सञ्चालक विजयहरि शर्माका तीनवटा बोटलिङ प्लान्ट छन्। उनको स्वामित्वको कोसी ग्यास दुहवी सुनसरी, जानकी ग्यास उद्योग गैंडाकोट र श्रीराम ग्यास उद्योग भूमेस्थान धादिङमा छ। सरकारी अनुगमन नभएको फाइदा उठाउँदै सञ्चालक शर्माले कोसी ग्यासको सिलिन्डर जानकीमा भर्ने गरेका छन्। एक साताअघि अनुगमनको क्रममा जानकी ग्यासमा कोसीको सिलिन्डर भरेको फेला परेको हो। नवलपरासीका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेसहितको टोलीले जानकी ग्यास उद्योगमै गएर कोसीको सिलिन्डरमा कम तौल भेटेको थियो। शर्माले तीनवटा फरक/फरक ब्रान्डमा ग्यास बजारमा लैजान स्वीकृति पाएको आयल निगमले जनाएको छ। 'एउटा बोटलिङ प्लान्टले अर्कोमा ग्यास भर्न पाइँदैन। अर्को बोटलिङ प्लान्टमा ग्यास भर्नु अवैध हो,' निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले सोमबार नागरिकसँग भने, 'त्यस्ता बोटलिङ प्लान्टलाई कानुनअनुसार कारबाही हुन्छ।' उनले बोटलिङ प्लान्टलाई हुने कारबाहीबारे केही खुलाएनन्। निगमस्रोतका अनुसार सञ्चालक शर्माले पहिला कोसी ग्यासकै नाममा उद्योग दर्ता गरेका थिए। एउटै बोटलिङ प्लान्टबाट बजारमा ग्यास पठाउँदा कोटा नबढेपछि उनले तीनवटाको स्वीकृति लिएका हुन्। शर्माले कोसीको शाखालाई परिवर्तन गरेर जानकी र श्रीराम बनाएका थिए। निगम स्रोतका अनुसार कोसी ग्यास उद्योगले महिनामा १८ सय टन ग्यास पाउँथ्यो। तीनवटा उद्योगको नाममा अहिले २२ सय टन यी बोटलिङ प्लान्टले पाउँदै आएका छन्। स्रोतका अनुसार नवलपरासी, तनहुँ, पोखरा लगायत क्षेत्रमा बिक्री हुँदै आएको कोसीका सिलिन्डर जानकी र श्रीराम ग्यास उद्योगमा भर्ने गरिएको छ। कोसीको सिलिन्डर सुनसरीबाट भरेर ल्याउँदा ढुवानी भाडा महँगो हुने भएकाले जानकी र श्रीराममै भर्ने गरिएको स्रोतले बतायो।सञ्चालक शर्माले भने उद्योग विभागबाट अनुमति लिएर कोसीको ग्यास भर्ने गरिएको बताए। 'हामीले लिज कन्ट्याक्टको रुपमा उद्योग विभागबाट अनुमति लिएका छौं। विभाग लिएपछि निगमबाट अनुमति लिनुपर्दैन। सञ्चालक र व्यवस्थापन एउटै भएकाले अरु स्वीकृतिको आवश्यकता पर्दैन,' उनले नागरिकसँग भने। थुप्रै उद्योगीले लापरबाही रुपमा ग्यास भरिरहेको ग्यास बिक्रेता महासंघका उपाध्यक्ष अर्जुन देवकोटा बताउँछन्। 'अर्को बोटलिङ प्लान्टमा ग्यास भरेर ग्यास उद्योगीले कानुनको बर्खिलाप जाने काम गरेका छन्,' देवकोटाले भने, 'निगमले गैरकानुनी काम गर्नेलाई उद्योगलाई कारबाही गर्नुपर्छ।' अनुगमन नभएको फाइदा उठाउँदै अरु बोटलिङ प्लान्टले पनि यसरी नै अवैध रुपमा ग्यास बिक्री गरिरहेको उनले बताए। उनका अनुसार एउटै उद्योगीका दुईवटा बोटलिङ प्लान्टले स्थानीय प्रशासनलाई हातमा लिएर अवैध रुपमा ग्यास भरिरहेका छन्। 'दुईवटा बोटलिङ प्लान्ट भएका उद्योगीले धेरै जसोले यसरी नै अवैध रुपमा ग्यास भरिरहेका छन्। चितवन र धादिङमा रहेका केही बोटलिङ प्लान्टले समेत अवैध यसरी नै ग्यास भरेर बिक्री गरिरहेका छन्,' उनले भने। कोसी ग्यासका सिलिन्डरमा कम तौल भेटिएपछि यसको उद्योग केही अघि सिल गरिएको थियो। प्रत्येक सिलिन्डरमा १ हजारका दरले दण्ड जरिवाना गरी १ लाख ५ हजार तिराएर नवलपरासी जिल्ला प्रशासनले सिल खोलिदिएको छ। उद्योगमा १०५ वटा सिलिन्डरमा कैफियत भेटिए पनि बाहिर फेला परेका सिलिन्डरबारे प्रशासन मौन रहेको आरोप उपभोक्तावादीले लगाएका छन्। उनीहरुका अनुसार कोसीलाई प्रति सिलिन्डर १ हजारका दरले जरिवाना नगरी उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही अघि बढाउनुपर्थ्याे। उक्त ऐनअनुसार मुद्दा चलाएर हदैसम्मको कारबाही गर्नुपर्नेमा जिल्ला प्रशासनले सामान्य जरिवानामात्रै गराएको आरोप उपभोक्तावादीले लगाएका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.