भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपालगन्ज, श्रावण ७ - राप्ती तटीय क्षेत्रका स्थानीयमा बाढीको त्रास फैलिएको छ । सोमबार बिहानदेखि आएको बाढीले खतराका सम्पूर्ण चिन्ह् पार गरेर वस्तीमा पसेपछि स्थानीयको भागाभाग भएको हो ।
बिहानदेखि बढ्दै गएको बाढी दिउँसो झनै खतरनाक ढंगले तटीय क्षेत्रका केही वस्तीमा पसेको प्रहरीले जनाएको छ । बाँकेमा राप्ती नदीको उच्च जोखिममा रहेको होलिया गाविसका टेपरी र सिम्रहाना गाउँ पूर्ण रुपमा जोखिममा परेका छन् । 'नदीले धार परिवर्तन गरेको छ । घाटी-घाटी सम्म पानी आउदा आउजाउ गर्न नसकिएकाले स्थानीय थुनिएका छन् ।' होलियाका राजकुमार शुक्लाले भने ।
यो वर्षको सवैभन्दा ठूलो बाढी आएको हो । बिहान साढे ८ बजे ५ दशमलब ९० सेन्टिमिटर पुगेको पानीको सतह क्रमश बढ्दै गएर दिउसो २ बज सम्म ७ दशमलब ३२ मिटर पुगेको बाढी मापन केन्द्र कुसुमका गेज रिडर भद्रबहादुर थापाले बताएका छन् ।
पानीको सतह खतराको चिन्ह भन्दा माथी बढ्दै गएपछि खतराको साईरन बजाईएका छन् । सतह ५ दशमलब ४० सेन्टिमिटर भन्दा माथी भए नदी आसपासका ७ गाविसमा बाढी पस्ने सम्भावना रहन्छ । जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसोदेखि गंगापुर, मटेहिया र होलियामा बाढी पस्न थालेको छ ।
यो सगै नरैनापुर, फत्तेपुर, लक्ष्मणपुर, कम्दी र बनकट्टी गाविसका बस्तीमा पनि बाढी पस्ने सम्भावना देखिएको प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद वलीले बताए । त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान उनले आग्रह गरे । ढुंगा सहितको उद्धार टोली होलियाका टेपरी पुगिसकेको छ । उद्धारकालागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेर रेस्क्यू गरिरहेको बाँके प्रशासनले जनायो ।
नदीले बस्ती कटान समेत तिब्र पारेको छ । होलिया स्थित टेपरी गाउ पुग्ने बाटो नै नदीले कटान गरेको त्यहाका स्थानीय राम यादबले बताए । यस्तै मटेहिया गाबिसका वडा नम्बर १, २ र ३ का ३० घर परिवार सुरक्षित स्थानमा सरेका छन् ।
गंगापुर ६ का करीव ४६ घर परिवार नदीको जोखिममा परेपछि खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सारिरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक नारायण चन्दले जानकारी दिए ।
राप्ती नदीमा पानीको सतह पाच सातामा पाच पटक बढी खतराको चिन्ह भन्दा माथी पुगेको छ । बाढी यस वर्षको सवैभन्दा ठूलो भएको कुसुमस्थित बाढी मापन केन्द्रका गेज रिडर थापाले बताए । गतबर्ष साउनमा ७ दशमलव ६० मिटर बाढी आएको थियो ।
राप्ती नदी पस्दा दर्जनौं गाउँ डुबानमा
यस्तै दाङ संवाददाता दुर्गालाल केसीले जनाए अनुसार प्रगन्ना सिचाई आयोजनाको बाँध भत्किएर राप्ती नदी गाउँमा पस्दा सोमबार देउखुरीका दर्जन बढी गाउँहरु डुबानमा परेका छन् ।
बाढीले लालमटिया, सिसहनिया, सोनपुर, चैलाही, गंगापरस्पुर, गढवा र गोबरडिहाका एक सय बढी घरहरुमा क्ष्ाती पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चैलाहीको बगइसोतामा आएको बाढीले कोलही, मजगाउँ, घुम्ना र मध्यनगर गाउँ डुबानमा परेका छन् । त्यस्तै, सोनपुरका केरुनिया, डोडइ, श्रीगाउँ, बनकट्टी, टिकुलीगढ, नर्ती, सिसहनियाका लठवा, पहरुवा, गढवाका कान्तिगाउँ, मोतीपुर लगायतका गाउँ डुबानमा परेको प्रहरीले जनाएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले बाँध रोकथाम र उद्धार गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्रबहादुर मल्लले जानकारी दिए ।
यसैगरी घोराही-लमही सडकखण्डको बेलदमार र चौपट्टामा पहिरो जाँदा सोमबार बिहान चार घण्टा सडक अवरुद्ध भएको थियो । घोराही-तुलसीपुर सडक खण्डका गुर्जेखोला, पत्रेखोला र ग्वारखोलामा बाढी आएपछि यातायात सञ्चालनमा समस्या भइरहेको छ ।
उता पहिरोका कारण एक सातादेखि अवरुद्ध राप्ती राजमार्ग अन्तर्गत तुल्सीपुर-सल्यान सडकखण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन । कपुरकोटदेखि सितलपाटी सम्मको ४० किलोमिटर सडकखण्डमा खसेको पहिरो र ढुंगा हटाउने काम जारी रहेपनि यातायात सञ्चालन हुन सकेको छैन । लामो समय सडक अवरुद्ध भएपछि दाङ, रुकुम, सल्यान र रोल्पा आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.