Widgets

Home » » 'धन्न, आइटम क्विन बनिनँ!'

'धन्न, आइटम क्विन बनिनँ!'

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
'धन्न, आइटम क्विन बनिनँ!'


गायिका मौसमी गुरुङको गायन पनि मौसमजस्तै छ। कहिले उनी रिमिक्समा भुल्छिन्, कहिले जिंगलमा झुल्छिन्, कहिले आइटम सङमा अड्किन्छिन्। 'परेलीमा छौ कि कसो', 'चोरेर लग्यो यो मन', 'लाउन त लाइदिएँ माया मैले' उनका चर्चित केही गीत हुन्। संगीत, सम्बन्धजस्ता उनका जीवनका केही पक्षबारे सजना बरालले उनीसँग अन्तरंग कुराकानी गरेकी छिन्। खै, हामीलाई त बिहेको भोज पनि ख्वाउनुभएन! तपार्इंलाई मात्र होइन, कसैलाई पनि ख्वाइनँ। भोजमा बोलाउनुपर्ने मान्छे धेरै भए। सबैलाई बोलाएर साध्य नहुने भयो। कतिलाई त बोलाउँछु भन्दाभन्दै पनि कामको चटारोले बिर्सिंदो रै'छ। त्यसो गर्दा 'मलाई चाहिँ बोलाइनँ' भनेर उनीहरूले चित्त दुखाउलान् जस्तो लाग्यो। त्यसैले कसैको पनि चित्त नदुखोस् भनेर मैले भोज–सोज केही पनि गरिनँ। बिहेलाई जिन्दगीको सबैभन्दा महŒवपूर्ण घटना भन्छन्। यत्रो ठूलो अवसरमा एउटा पार्टी पनि दिनुभएन। घरपरिवार, आफन्त र दुईचारजना साथीभाइसँग रमाइलो गरियो। त्यहाँभन्दा बढी गर्नु जरुरी लागेन। मलाई भोजभतेर, पार्टी, धुमधडाकामा खासै रुचि छैन। तिनले फाल्तु खर्च गराउँछन्। आवश्यकता हेरेर मात्रै खर्च गर्ने बानी छ मेरो। तपाईंको बिहेले ठूलो चर्चा पायो... हो। मलाई यसबारे थप चर्चा गर्नुछैन। चर्चा गर्नुपर्दैन। सत्य कुरा भन्दिनुस् न। प्लिज....खाटा बसेको घाउ नकोट्याइदिनुस्। भएको चाहिँ के हो? क्लियर गराइदिनुुस् न। मेरो श्रीमान् पहिले नै विवाहित हुनुहुँदो रहेछ। बिहेपछि मात्रै मलाई थाहा भयो। उहाँको पहिलो श्रीमतीले हाम्रो बिहेलाई लिएर लफडा गर्नुभयो। मिडियामा पनि अनेक थरी कुरा आए। त्यसलाई सेटल गर्न निकै गाह्रो भयो। मलाई त्यतिबेला साह्रै तनाव भएको थियो। कुरा मिल्यो त अहिले? मिल्यो। मेरो श्रीमान्ले उहाँसँग डिभोर्स गर्नुभयो। अहिले हामी खुसीसाथ आ–आफ्ना लाइफ बाँचिरहेका छौँ। उहाँमा के त्यस्तो देख्नुभयो? मन पराउनलाई कारण चाहिँदैन। यत्तिकै मन पर्‍यो। तर, उहाँको स्माइलको चाहिँ म फ्यान हुँ। र, अर्को कुरा उहाँ पनि थुप्रै समय इन्डिया बस्नुभएको रहेछ। म त झन् उहीँ जन्मे–हुर्केकी हुँ। दुवैजनाको हिन्दी भाषा राम्रो भएकाले सुरुसुरुमा हामी हिन्दीमै कुरा गर्थ्याैं। आफू विवाहित भएको ढाँटेर तपाईंलाई उहाँले धोका दिनुभएको होइन र? अलिअलि धोकै हो। उहाँले पहिले नै म विवाहित हुँ भनेको भए हाम्रो विवाह हुन्थेन। तर, अब यस विषयमा मलाई कसैसँग केही गुनासो छैन। जे भयो, राम्रै भयो। हामीबीच सहमति भइसक्यो, कुरा मिलिसक्यो। यसलाई किन कोट्याइरहनु? तपाईंले थुप्रै समय भारतमा बिताउनुभयो। त्यहाँको के कुरा बढी 'मिस' गर्नुहुन्छ? बाबा इन्डियन आर्मी भएकाले भारतका थुप्रै ठाउँमा सिफ्ट भइरहनुपर्‍यो। धेरै ठाउँको सम्झना आउँछ। जम्मुको शीतलता, दिल्लीको गर्मी, कलकत्ताको चाट, गोलगप्पा, लखनउको चिकेन फ्राइड राइस र छप्पनभोगको मिठाइ जहाँ गए पनि भुल्दिनँ। साथीभाइको चाहिँ सम्झना आउँदैन? आउँछ। मैले धेरै समय बिताएको लखनउमा हो। सात वर्ष बसियो त्यहाँ। मयंक, सुलोचना बोहरा, आर्बिन्द र म खुब मिल्थ्यौँ। आर्बिन्द अलि चञ्चले स्वभावको थियो। हामी तीन जना चाहिँ साह्रै सोझा र सिम्पल थियौँ। सुलोचना र म जहिले पनि कुर्ता–सुरुवाल लगाउँथ्यौँ। मयंक असाध्यै भलाद्मी थियो। मैले उनीहरूलाई नेपाली खानामा पल्काएकी थिएँ। चार जनाको ग्याङ रहेछ। खुब रमाइलो गरिन्थ्यो होला? गरिन्थ्यो। तर, बदमासी चाहिँ कहिल्यै गरेनौँ। हामी अलि चाँडै व्यावहारिक भइसकेका, घरेलु खालका केटाकेटी थियौँ। अहिले जस्तो उट्पट्याङ गरेर रमाइलो मान्ने खालका थिएनौँ। अहिलेका टिनएजर र तपाईंका पालाका टिनएजरमा कस्तो भिन्नता पाउनुहुन्छ? हाम्रो पालाका टिनएजरहरू अलि चाँडै वयस्क वा व्यावहारिक हुन्थे। उनीहरू भोलिको लागि सोच्थे। तर, अहिलेका अधिकांश टिनएजर बिन्दास पाराका छन्। उनीहरूलाई कसैको वास्तै छैन। जे गर्नुछ, आजै गर्नुपर्छ भन्ने मान्यता राख्छन्। भोलिको चिन्ता छैन उनीहरूलाई। कतिपय त असाध्यै मात्तिएका पनि छन्। त्यो त उमेरजन्य कुरा हो। टिनएजमा मानिस आफसे आफ उत्ताउलो हुन्छ नि, होइन र? उत्ताउलोपनको पनि हद हुन्छ। मैले २४ वर्षको उमेरदेखि मेकअप गर्न सिकेकी हुँ। अहिलेका केटीहरू हेर्नोस्, कलेज गएका हुन् कि फेसन सो गर्न छुट्याउनै मुस्किल पर्छ। अझ, उनीहरूको एट्टिट्युडको कुरै नगरौँ। मजति सुन्दरी र ह्यान्डसम यो संसारमा कोही छैन भने जस्तो गर्छन्। अरूलाई उडाउन पाए केही चाहिँदैन अहिलेको पुस्तालाई। बढी नै उरन्ठेउला छन्। तपाईं शिक्षिका हुनुहुन्छ। कन्सर्टहरूमा जाँदा युवा पुस्तासँग राम्रो लिंक–अप पनि भइरहन्छ। के कारणले उनीहरू यतिबिघ्न उरन्ठेउला भएका होलान्? एक वर्ष भयो, पढाउन चाहिँ छोडिसकेँ। मान्छे असाध्यै सोझो, भद्रभलाद्मी र पुरानै शताब्दीको मान्यता राख्ने हुनुपर्छ भन्ने होइन। तर, ठाउँ, माहोल र मान्छे हेरेर व्यवहार गर्न जान्नुपर्छ। यो कुरा अहिलेका टिनएजरलाई बुझाउन जरुरी छ। सार्वजनिक यातायातमा चढ्दा एक बित्ताको स्कर्ट लगाउनु हुँदैन भन्ने कमन सेन्स पनि छैन उनीहरूलाई। यो सबै अभिभावकको कमजोरीले गर्दा भएको हो। उहाँहरू 'छोरी यस्तै छे, भनेको टेर्दिन' भनेर दाँत देखाएर फिस्स हाँस्नुहुन्छ। आफ्ना सन्तानलाई ठेगान लगाउन नसक्ने पनि के अभिभावक? स्कुल/कलेजले पनि अनुशासनको मामिलामा कम्प्रोमाइज गर्नु हुँदैन। भारतमा १२ कक्षा पास गरेपछि ग्य्राजुएसनका लागि नेपाल आउनुभएको थियो क्यारे? हो। पद्मकन्या क्याम्पसमा फर्म पनि भरिसकेकी थिएँ। तर, एकदिन पत्रिका पल्टाउँदै गर्दा असनको भोटाहिटीस्थित गन्धर्व संगीत कला केन्द्रको विज्ञापन देखेँ। संगीतमा रुचि थियो। कसरी सिकाइँदो रहेछ, एकफेर बुझुम् न त भनेर अर्को दिन त्यहाँ पुगेँ। बुझ्न गएको मान्छे भर्ना नै भएर फर्किएकी थिएँ। पढाइ छोडेर संगीत सिक्दा परिवारले केही भनेन? 'पहिला पढाइ सिध्या, अनि अर्थोक सिक्नू' भन्नुभएको थियो ममी–बाबाले। तर, मैले किन मानिनँ भने थप पढाइका लागि अभिभावकले नै खर्च जुटाइदिनुपर्थ्याे मलाई। म त्यो चाहन्नथेँ। बाबाले हामीलाई मान्छे स्वाभिमानी र इकोनोमिक हुनुपर्छ भनेर सिकाउनुहुन्थ्यो। त्यो कुरा मेरो दिमागमा सेट भएर बसेको छ। त्यसैले मैले दिउँसो जागिर खाँदै बिहान–बेलुका संगीत सिक्ने निर्णय गरेँ। त्यसो गर्दा इन्स्टिच्युटको फिस म आफैँले तिर्न सक्थेँ। पहिलो एल्बम 'अनफर्गेटेबल' आफ्नै कमाइले निकाल्नुभएको हो? अहिलेसम्म जे जति गरेँ, आफ्नै बलबुँताले गरेँ। 'अनफर्गेटेबल', 'पल' र 'महसुस' तीनटै एल्बममा मेरो लगानी छ। कसैले स्पोन्सर गरेर म यहाँ आइपुगेकी होइन। मौसमीलाई उसको स्वाभिमानले यहाँसम्म पुर्‍याएको हो। कसैप्रति ऋणी हुनुहुन्न उसोभए? छु। मेरा अभिभावकप्रति। उहाँहरूको मार्गनिर्देशन नपाएको भए अल्मलिन्थेँ होला। नाच्नु पनि हुन्छ रे नि? हो। राम्रो नाच्छु रे म। सानोमा खुब नाचियो। आफैँ गीत गाउँदै नाच्ने बानी थियो। हामी इन्डियामा हुँदा एकजना अफिसरको श्रीमती मेरो नाचको खुब प्रशंसा गर्नुहुन्थ्यो। एकदिन उहाँले मेरो स्वर पनि सुन्नुभएछ। ममीलाई बोलाएर छोरीलाई गाउन लगाउनुस् भन्नुभएछ। नभन्दै म गायिका बनेँ। रिमिक्स्ड गीत 'च्याङ्बा होई च्याङ्बा' ले असाध्यै हिट बनायो तपाईंलाई। त्यसपछि अनगिन्ती रिमिक्स गीत गाउनुभयो। अग्रज स्रष्टाले त रिमिक्स गाउनेलाई क्षमता नभएका, अर्काको गीत बिगार्ने भन्छन् नि? त्यतिबेला म भर्खर गायन क्षेत्रमा लागेकी थिएँ। गायक भएपछि जस्तो पनि गाउन सक्नुपर्छ भन्थेँ। होला त नि भनेर भकाभक गाइयो। तर, जति पनि रिमिक्स्ड गीत गाएँ, कुनैलाई पनि मैले बिगारेर वा स्टाइल पारेर गाएकी छैन। सरल र सभ्य शैलीमा गाएकी छु। गीतको भाव र ओरिजिनालिटीलाई मैले कहिल्यै तोडिनँ। विज्ञापनहरूमा पनि स्वर दिनुभयो? दिइरहेकी पनि छु। एकताका यति जिंगल्स गरियो कि गनी साध्य छैन। मान्छेहरू मलाई जिंगल–क्विन भन्थे। पछि, रिमिक्स गीतका लागि उसैगरी अफर आए। त्यसपछि रिमिक्स–क्विन भने। तेस्रो चोटि चाहिँ फिल्मका गीतहरू खुब गाइयो। तर, दुःखको कुरा आइटम गीतका लागि मात्रै प्रस्ताव आउँथे। यस्तो घिनलाग्दो शब्द भएका गीतसमेत गाउनुपर्‍यो कि अति भएपछि गाउनै छोड्दिएँ। धन्न! ती गीतहरू चर्चित भएनन्। नत्र मलाई आइटम–क्विन पनि भन्थे होलान्। बचेँ म! त्यस्तो अप्ठ्यारो लागी–लागी किन गाउनुपरेको त ? सहन सकुन्जेल गाएँ। लिमिटै तोडिएपछि त गाइनँ नि। अश्लीलताको मामिलामा म आफैँ पनि सेन्सेटिभ छु। 'च्याङ्बा होई च्याङ्बा' जस्तो ऐतिहासिक गीतको एउटा हरफले त मलाई जिन्दगीभर लजास्पद बनाएको छ, अरूको त के कुरा भयो र? 'आमाको छोरी म एउटा, बाबुको छोरा तिमी एउटा, ज्यान गए तँलाई छोड्दिनँ, तँलाई हाम्रो छोराको आप्पा नबनाई छोड्दिनँ' भन्ने लाइन गाउँदा मरेतुल्य हुन्छु म। अरूले सहजै लिन्छन् होला तर दर्शकतिर हेर्दै 'तँलाई आप्पा नबनाइ छोड्दिनँ' भन्नु मेरा लागि संसारमा सबैभन्दा लाजमर्दो कुरा हो। आजसम्म कुनै पनि कन्सर्टमा कहिल्यै दर्शकतिर हेरेर यी हरफ गाएकी छैन मैले। कि निहुरिन्छु, कि घोप्टिन्छु कि त ती शब्दलाई स्किप गर्दिन्छु। महिला गायिकालाई स्टेजमा चढेर गाउँदा के–कस्ता चुनौती आइपर्न सक्छन्? नेपाल जस्तो देशमा गायिकालाई स्टेजमा टिक्न गाह्रो छ। आफू असिनपसिन भएर गायो, अगाडिबाट यस्तो घिनलाग्दो शब्द बोल्दिन्छन्, यति फोहरी साइन देखाउँछन् कि तल ओर्लेर उनीहरूको गाला चड्काइदिऊँ जस्तो लाग्छ। मन नपर्ने गायकगायिकाको कन्सर्ट हेर्न किन आउनु? हामी साधारण ड्रेसअप गर्नेलाई त यस्तो छ। अलि चमकदमक गर्ने गायिकालाई कस्तो हुँदो हो? के गरी ह्यान्डल गर्दा हुन्? म त छक्कै पर्छु। दर्शकले मुड खराब गरेको कुनै एउटा घटना सम्झनुहुन्छ? एकचोटि धरानमा कन्सर्ट भएको थियो। म गाउँदै थिएँ। एउटा केटो अगाडि बसेर घरि 'सेक्सी' घरि कुन्नि के–के फोहरी शब्दहरू भनेर चिच्याइरहेको थियो। केही बेर नसुनेझैँ गरेँ। पछि अति रिस उठ्यो। 'त्यो कुनाको रातो टिसर्ट लगाउने, हेलमेट बोकेको भाइ माथि आउनुस्' भनेँ। उसले थाहा नपाएको जस्तो गर्‍यो। मैले 'केही भन्न खोज्दै हुनुहुन्छ, माइकमै भन्नुस्, जे–जे साइन देखाउँदै हुनुुहुन्छ, स्टेजमै आएर देखाउनुस्' भनेँ। ऊ निलो भएर भाग्यो। यस्तो बेला फ्रस्ट्रेसन हुँदैन? सबैजना त्यस्ता हुँदैनन्। त्यस्ता त हजारमा दुईजना हुन्छन्। फेरि, सानो–तिनो कुरामै चित्त दुखाउने हो भने त जिन्दगीमा केही पनि गर्न सकिँदैन। सुख, दुःख दुवैलाई ह्यान्डल गर्न सक्नुपर्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger