भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं - साँघुरो हलमा पारिजात र जुडोका जन्मदाता जिगोरो कानोको तस्बिर टांगिएका छन्। त्यो हल दैनिक २२ जनाको प्रशिक्षण गर्ने थलो हो। काठमाडौं इचंगुनारायण, एकलटारमा बन्दी सहायता नियोग (पाम) को दुईतले भवनमा जुडो खेलाउन एउटा कोठा छुट्याइएको छ। विभिन्न अभियोगमा जेल परेका अभिभावकका २२ बालबालिकाको रेखदेख तथा शिक्षाको जिम्मेवारी लिएको पामको हल जुडो प्रशिक्षणलाई पर्याप्त छैन। १२ मिटर चौडाई र २० मिटर लम्बाईको हल जुडो खेललाई साँघुरो मानिन्छ। पर्याप्त फराकिलो नभए पनि यही हलको प्रशिक्षणले नेपाली जुडोलाई थुप्रै नवप्रतिभा दिइसकेको छ। यहाँका उत्पादन नेपाली जुडोमा सफलताको छाप छोड्न सफल छन्। वर्तमान नेपाली जुडोमा पदक जित्नेमा पामका उत्पादन अग्रस्थानमा छ। 'हल साँघुरो भए पनि हामीले अन्य वातावरण बच्चाहरूलाई राम्रो दिएका छौं,' प्रशिक्षक सूर्यनारायण श्रेष्ठ दाबी गर्छन्, 'त्यसको फल बिस्तारै आउन थालेको छ। हामीले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न भ्याइसकेका छौं।' बितेको वर्षमा राष्ट्रिय स्तरका प्रतियोगितामा पामले तीनपल्ट टिम च्याम्पियनको उपाधि जित्यो। तीनै प्रतियोगितामा पामका खेलाडीले उत्कृष्ट खेलाडी पनि थापे। नेपालमै सम्पन्न प्रथम जुडो फर पिस साउथ एसियन जुडो क्याडेट च्याम्पियनसिपमा पामका विकास भुजेल र देवकीमाया श्रेष्ठले स्वर्ण जिते। जुडो फर पिसको दोस्रो संस्करण बंगलादेशमा एक वर्षअघि सम्पन्न हुँदा पामका खेलाडीले नेपाललाई ३ स्वर्ण र १ रजत दिलाए। बंगलादेशमा दाजु–बहिनी इन्द्रबहादुर श्रेष्ठ र देवकीले स्वर्ण जित्दा सुवोध मण्डल नेपाललाई स्वर्ण दिलाउने तेस्रो खेलाडी थिए। मनिता प्रधानले एक रजत जितेकी थिइन्। काठमाडौंमै भएका कनसीन कप च्याम्पियनसिपमा पामले ७ स्वर्ण जित्दा उत्तम प्रधान उत्कृष्ट खेलाडी भए। नेकोस कपमा ८ स्वर्ण जित्दा मनिता प्रधान उत्कृष्ट खेलाडी भइन्। सिडब्लुसिएन जुडो च्याम्पियनसिपमा ७ स्वर्ण पामका खेलाडी जिते । त्यसमा पनि मनिता उत्कृष्ट भइन्। पामको जुडोमय वातावरमा हुर्केकी देवकीको भविष्यमा जुडो प्रशिक्षक बन्ने लक्ष्य छ। उनी भन्छिन्, 'जुडो खेल्ने बानी लागिसक्यो। अब छोड्न सक्दिनँ होला। पढाइसँगै भविष्यमा जुडो प्रशिक्षक बन्नेछु।' देवकीजस्तै १५ वर्षीया पूजा श्रीवास्तवको लक्ष्य पनि प्रशिक्षक बन्ने नै हो। नर्स बनेर समाजसेवा गर्ने सपना बुनेकी पूजाले आफू जुडोमा राम्रो खेलाडी बनेर प्रशिक्षकतिर लाग्ने बताइन्। बालविकास मावि रानीवनमा कक्षा ७ मा पढ्ने पूजा जुडोसँगै दौडमा पनि अब्बल हुँदैछिन्। गत वर्ष पश्चिमभेगीय विद्यालयस्तरीय दौडमा पूजाले १ सय मिटर दौडबाट स्वर्ण जितेकी थिइन्। पामले प्रतिभावान खेलाडी उत्पादन गरेर जुडो विकासमा महत्वपूर्ण योगदान गरिरहेको बताउँछन्, जुडो संघका महासचिव रमेश महर्जन। 'अन्य क्षेत्रको तुलनामा पामबाट उत्पादित खेलाडी शारीरिक रूपमा बलिया छन्। त्यसैले उनीहरूबाट राम्रो भविष्य आशा गर्न सकिन्छ,' उनी भन्छन्। पारिजातले २०४९ सालमा पामको स्थापना गरेकी हुन्। जेल परेका अभिभावकका छोराछोरीलाई बसोबास र शिक्षाको व्यवस्था गर्ने उद्देश्यले पारिजातको अगुवाईमा संस्था स्थापना गरिएको हो। दुईतले त्यही भवनमा जुडो प्रशिक्षण हलका साथै बालबालिकाको भोजनगृह र आवास व्यवस्था छ। पारिजातको निधनपछि आर्थिक अभावले पामको अवस्था खस्कँदै बताउँछन् सम्बन्धित व्यक्तिहरू। जसका कारण २०६१ सालदेखि वाच नामक एनजिओले सञ्चालनको जिम्मेवारी लिएको प्रशिक्षक श्रेष्ठ बताउँछन्। वाचका कार्यकारी प्रमुख नारायणकाजी श्रेष्ठले स्थानीयको सहयोगमा सहायता गृहको जिम्मेवारी लिएका हुन्। 'नारायणकाजीदाइको मेहनतले सहायता गृहको अवस्था सुधार हुँदै गयो। बालबालिकाको शिक्षा र खानापिनमा समस्या भएन,' प्रशिक्षक श्रेष्ठ सम्झन्छन्, 'सुविधाको कमी नभए पनि सहायता गृहका बालबालिकाको व्यवहारमा राम्ररी परिवर्तन हुनसकेन। आमाबावुको गल्तीको नराम्रो असर परेर होला उनीहरूको बौद्धिक विकासमा खास सुधार आएन।' प्रशिक्षक श्रेष्ठका अनुसार बालबालिकाको समग्र विकासका लागि नारायणकाजीकै पहलमा खेलकुदलाई माध्यम बनाइएको हो। 'बालबालिकाको बौद्धिक विकास नहुँदा नारायणकाजी दाइ चिन्तित हुनुहुन्थ्यो। उहाँले खेलकुद माध्यमबाट बालबालिकालाई दक्ष नागरिकका रूपमा रुपान्तरित गर्ने सोच ल्याउनुभयो र मलाई जुडो खेलाउने जिम्मा दिनुभयो,' उनी भन्छन्, 'उहाँले बालबालिकाको व्यवहार परिवर्तन गर्न जुडो उपयुक्त हुने सोचेर मसँग सम्पर्क बढाउनुभयो। मैले पनि उहाँको प्रस्ताव तुरुन्तै स्वीकारे।' ४ वर्षदेखि पाम अध्यक्ष र जुडो प्रशिक्षकमा श्रेष्ठले काम गर्दै आएका छन्। सुरुआती दिन सम्झदै सूर्यनारायण भन्छन्, 'विद्यालय जाने भए पनि उनीहरूको बौद्धिक विकास अपेक्षा गरेअनुरुप हुनसकेन। बोल्न नडराउने। एकअर्कामा नमिल्ने जस्ता समस्याका कारण राम्रो वातावरण स्थापित हुन सकिरहेको थिएन।' जुडो खेल्न थालेपछि उनीहरूमा सकारात्मक परिवर्तन हुन थालेको सूर्यनारायणको अनुभव छ। 'बच्चाहरूको समग्र विकास त भइरहेकै छ। साथमा जुडोमा पनि उनीहरूको नतिजा उल्लेखनीय छ,' उनको बुझाइ छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.