भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं नागरिक – लगभग दश वर्षपछि नेपाली गायक उदितनारायण झा पत्नी दीपा झाका साथ काठमाडौं आउने भएका छन्। नेपाल चलचित्र विकास कम्पनीले आगामी साउन ५ का दिन गर्न लागेको 'राष्ट्रिय चलचित्र पुरस्कार समारोह'मा सहभागी हुन झा दम्पती नेपाल आउन लागेका हुन्। बलिउडबाट फिल्म तथा टेलिभिजन निर्माता संघका सभापति मुकेश भट्ट, भेनस फिल्मस्का गणेश जैन र उनका सेक्रेटरी हेमन्त सेठ, बालाजी फिल्मस्का प्रतिनिधि गिरिज जोहर र सन्नी खन्ना पनि आउने आयोजकले जनाएको छ। बलिउड बाहेक रुस र लिथुनियाबाट पनि फिल्मकर्मी आउने अवार्ड कार्यक्रम निर्देशक दयाराम पाण्डेले पुष्टि गरेका छन्। 'रसियाबाट यानिना काल्गानोभा र लिथुनियाबाट नेले साभिचेन्को किलिमिने नेपाल आउने टुङ्गो भईसकेको छ,' कार्यक्रम निर्देशक पाण्डेले भने। यानिना सन् २००८ को चर्चित रसियन फिल्म 'द भेनिस्ड एम्पायर'की अभिनेत्री हुन् भने ५६ वर्षीय नेले लिथुनियाका चर्चित अभिनेत्री हुन्। बलिउड निर्माताहरुले भने आफूसँगै बलिउडमा नाम चलेका कलाकार पनि लिएर आउने सम्भावना रहेको पाण्डेले जनाएका छन्। 'मुकेश भट्टले हालसालै रिलिज भएको 'आशिकी–२'का मुख्य कलाकार आदित्य रोय कपुर र श्रद्धा कपुरलाई लिएर आउँछु भन्नुभएको छ। तर निश्चित भइसकेको छैन,' पाण्डेले भने। अवार्ड आयोजकले विदेशका १५ भन्दा ज्यादा देशका दूतावासमा फिल्मकर्मी पठाईदिन पत्राचार गरे पनि माथि उल्लेखित देशले मात्र कलाकार पठाइदिने टुंगो गरेका हुन्। अवार्ड कार्यक्रम सम्पन्न हुने दिनसम्म अरु देशबाट पनि फिल्मकर्मी सहभागी हुने आयोजकको अपेक्षा छ। नेपाल चलचित्र विकास कम्पनी ५० वर्ष पुगेको उपलक्ष्यमा अवार्ड कार्यक्रम हुन लागेको हो। साउन ५ मा अवार्ड वितरण समारोह हुनेछ भने भोलिपल्ट विदेशी फिल्मकर्मी र नेपाली फिल्मकर्मीबीच सिनेमा पर्यटनका विषयमा छलफल हुनेछ। आयोजकले जनाए अनुसार सिनेमा पर्यटनका विषयमा एनएफडिसीका निर्देशक निरक पौडेल र पर्यटन बोर्डका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्नेछन् भने कार्यपत्रमाथि कलाकार निर शाहले टिप्पणी गर्ने कार्यक्रम छ। अन्तर्क्रियामा सहभागी हुनुअघि पर्यटन बोर्डको पहलमा विदेशी फिल्मकर्मीलाई काठमाडौंवरपर 'साइट सिन' गराउनुका साथै माउन्टेन फ्लाइटमा लैजाने कार्यक्रम छ। राष्ट्रपति वा प्रधामन्त्रीमध्ये एकसँग विदेशी फिल्मकर्मीलाई भेटघाट गराउने कार्यक्रम रहेको पनि निर्देशक पाण्डेले जनाएका छन्। आमन्त्रित विदेशी फिल्मकर्मीहरु साउन ४ र ५ का दिन नेपाल आउने र होटल हायातमा बस्ने कार्यक्रम छ। आर्मी अफिसर्स क्लबमा हुने अवार्ड कार्यक्रमको तयारी तिब्र भइरहेको आयोजकले जनाएको छ। यही सन्दर्भमा गत शुक्रबार राजधानीमा उत्कृष्ट पाँचमा नोमिनेसनमा परेका कलाकार तथा प्राविधिकलाई प्रमाणपत्र वितरण गरिएको थियो। अवार्ड १३ विधामा बाँडिनेछ। अवार्डमा सर्वोत्कृष्ट अभिनेता तथा सर्वोत्कृष्ट अभिनेत्रीले भने वेस्टर हाउजिङको तर्फबाट अपार्टमेन्ट खरिदमा १० लाख बराबरको छुट पाउने जानकारी पनि गराइएको थियो। अवार्डको निर्णायक समितिमा शुभबहादुर सुनाम, मञ्जुकुमार श्रेष्ठ, नारायणध्वज पन्त, चैत्यदेवी र प्रदीपकुमार उपाध्याय सदस्य छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.