भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पोखरा - 'दोभानमा बिजुली दाइ साइला, नाउँ डाँडामा बस,' बमबहादुर कार्की र टिकामाया गन्धर्वले करिब २५ वर्षपहिले गाएको यो लोकप्रिय गीत अझै पनि जनजिब्रोमा ताजा छ। यो अहिले पनि सुन्दा उत्तिकै आनन्द आउँछ। यहि गीतकी संकलक ४७ वर्षीया टिकामाया गन्धर्व अझै पनि सारंगी रेटेर गाउँदै हिँड्न छाडेकी छैनन्। लोप हुँदै गइरहेको गन्धर्व संस्कृतिमा टिकामाया अझै पनि नमुनाको रुपमा छिन्। 'यो पुर्ख्यौली पेशा हो, कसरी भुल्न सक्छु र,' उनले भनिन्, 'सारंगीलाई बिर्सदै गइयो भने गन्धर्व नै हुन सकिँदैन, त्यसैले पनि यसको संरक्षणका लागि एक्लै भए पनि लागेकी छु।' भोजपुरको जरायोटार माइती भएकी टिकामायाले पाँच वर्षको उमेरदेखि सारंगी बजाउन थालेकी थिइन्। अग्रजसँग हिँड्ने क्रममा उनले गाउन सिकिन्। गाउँदै हिड्ने क्रममा कास्की लेखनाथका बलबहादुर गन्धर्वसँग भेटघाट भएपछि उनको १३ वर्षको उमेरमा विवाह भएको थियो। सारंगी बजाउँदै उनी अहिले पनि पोखराका विभिन्न भाग, काठमाडौं लगायतका सहरमा पुग्ने गर्छिन्। 'महिलाले सारंगी बजाएर गाएको देखेर होला, महिलाहरुले मलाई माया गर्नुहुन्छ,' उनले अनुभव सुनाइन्, '२/४ दिन हाम्रो घरमा बसेर सारंगी बजाउन सिकाइदिनुस् भन्नुहुन्छ, मैले गाएको सुन्दा कतिपय महिला रुने गर्छन्, कतिपय हाँस्छन् पनि।' टिकामायाले २०३६ देखि सात वर्ष रेडियो नेपालमा सारंगी बजाउने जागिर पनि खाइन्। पति बलबहादुरसँगै उनले रेडियोमा सारंगी बजाउने काम गरेकी हुन्। पतिपत्नी दुवैले अस्थायी जागिरबाट गुजारा चल्ने नदेखेपछि सारंगी रेट्दै हिँड्न थालेका थिए। टिकामायासँगै गाएका लोकगायक बमबहादुर कार्की अझै पनि त्यो भाकाले आफूलाई झस्काउने बताउँछन्। 'टिकामायासँगको त्यो गीत निकै चर्चित पनि भयो, पछि त्यसलाई अलि सुधारेर अर्कै गीत बनाएर गाइयो, तर त्यो भाका निकै नै लोकप्रिय थियो,' उनले भने, 'टिकामाया साँच्चै राम्रो गाउने गायिका हुन्। तर निरन्तरता दिन सकिनन्।' समाजले हेर्ने दृष्टिकोणका कारण नै गन्धर्व महिलाहरु यो क्षेत्रमा निकै कम देखिएको टिकामायाका दाजु सुरेश गन्धर्वले बताए। 'बहिनीको चाहना सारंगी बजाउने थियो, तर समाजले नराम्रो दृष्टि लगाउँथ्यो,' उनले भने, 'तैपनि बहिनीले निरन्तरता दिइन्। हामी सबैको सहयोगले उनले यसलाई निरन्तरता दिइन्।' नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव आभास पनि गन्धर्व महिलामा टिकामायाले 'बिडो' थामेको बताउँछन्। 'अहिलेसम्म मुस्किलले २/३ जना गन्धर्व महिला सारंगी बजाउँछन्, सारंगी बजाउँदै गाउँदै गाउँगाउँ डुल्ने चाहिँ टिकामाया एक्ली महिला हुन्,' आभासले नागरिकसँग भने, 'अरु महिला गाउँ डुल्दैनन, थोरैधेरै बजाउन जानेका मात्र छन्।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.