भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण १२ - काठमाडौं उपत्यकामा यात्राका क्रममा ट्याक्सी चालकबाट ठगिँदै आएकाहरूलाई खुसीको खबर । अर्को महिनादेखि तपाईंहरूलाई मोबाइलमै ट्याक्सीको मिटर उपलब्ध हुँदैछ । त्यो पनि सित्तैमा । तपाईंले ट्याक्सी चढेपछि त्यसलाई एक्टिभ गराउनुपर्छ । गन्तव्यमा पुगेपछि त्यसले तपाईं गुडेको दूरी (किलोमिटर) र उठेको भाडा भनिदिनेछ । ट्याक्सी चालकहरूले पहिल्यै मिटर बिगारेर धेरै भाडा उठ्यो भन्न पाउने छैनन् । काठमाडौं युनिभर्सिटीको कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ डिपार्टमेन्टका ४ जना युवाले यस प्रकारको मोबाइल एप्लिकेसन विकास गरेका छन् । गुगल म्याप र ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को माध्यमले काम गर्ने 'केटीएम (काठमाडौं) ट्याक्सी मिटर' नामक एप्लिकेसनले चढेको ठाउँदेखि गन्तव्यसम्मको दूरी/लाग्ने भाडा मात्र देखाउँदैन, यसले गन्तव्यसम्म पुग्ने बाटो निर्देश पनि गर्छ । केटीएम ट्याक्सी मिटर एप्लिकेसनको डेभलपमेन्टमा कृपेश सिवाकोटी, अवेशमान श्रेष्ठ, आयाम पोखरेल र अनिल राई जुटेका छन् । खासमा उनीहरूलाई इन्जिनियरिङको छैटौं सेमेस्टरमा एउटा प्रोजेक्ट वर्क गर्नु थियो । 'त्यही बेला प्रहरीले काठमाडौं उपत्यकामा यात्रुलाई ठगेको आरोपमा १ हजार ४ सय ६० वटा ट्याक्सीलाई नियन्त्रणमा लिएको समाचार थाहा पायौं । समातिएका ट्याक्सीमध्ये अधिकांश मिटर बिगारेर ठगी गर्नेहरू थिए,' सिवाकोटीले भने, 'त्यो संख्या काठमाडौं उपत्यकामा रहेका ७ हजार ट्याक्सीको झन्डै २० प्रतिशत हो ।' उनीहरूलाई लाग्यो, काठमाडौंका अधिकांश ट्याक्सी मिटर बिगारेर यात्रुलाई ठग्छन् । 'प्रहरीले हरेक ट्याक्सी चालकलाई ५ हजार रुपैयाँ जरिमाना त गर्छ,' उनी भन्छन्, 'त्यसले ती चालकको बानीलाई सुधारेन ।' त्यसले यी कम्प्युटर इन्जिनियरका विद्यार्थीहरूलाई क्लिक गर्यो, यात्रुलाई नै ट्याक्सीको मिटर किन नदिने ? 'त्यो पढाइलाई हामी समाजमा सकारात्मक परिवर्तन ल्याउने केही चीज दिन चाहन्थ्यौं,' श्रेष्ठले भने, 'यात्रुको हातमा हुने ट्याक्सी मिटरले वर्तमान प्रणालीमा केही सुधार ल्याउन सक्थ्यो ।' विद्यार्थीको त्यही सोचको प्रतिफल हो केटीएम ट्याक्सी मिटर । उनीहरूको आइडियालाई यथार्थमा बदल्न गाइड गरेका थिए त्यही विभागका लेक्चरर प्रकाश पौडेलले । उनीहरूको मिटरले यात्रु ट्याक्सीमा चढेपछि गुगल म्यापमा चढेको ठाउँदेखि गन्तव्यसम्मको नक्सा देखाउँछ । 'चढेको ठाउँलाई हरियो र पुग्ने ठाउँलाई रातो चिन्हले देखाउँछ,' सिवाकोटीले भने, 'पुग्ने बाटोलाई नीलो लाइनले जोड्छ ।' ठाउँलाई ट्रयास गर्न एप्सले जीपीएसलाई प्रयोग गर्छ । नक्सा देखाउन गुगल म्यापको प्रयोग गर्छ । एप्सले हरेक तीन सेकेन्डमा भाडा/दूरीलाई अपडेट गर्छ । सरकारले तोकेको ट्याक्सी भाडा दरलाई एप्समा इन्ट्री गराइएको उनले जानकारी दिए । ट्याक्सीले राति बढी भाडा लिन पाउँछन् । त्यसले एप्समा टाइमअनुसार डे र नाइट मोडमा आफैं जाने व्यवस्था गरिएको छ । एप्सको विकास गरेपछि ती विद्यार्थीले आफ्नो मोबाइलमा राखेर केटीएम ट्याक्सी मिटरलाई कोटेश्वर-कौशलटार रुटमा टेस्ट गरेका थिए । हामीले चालकलाई मिटरमा हिँड्न भन्यौं,' सिवाकोटीले भने, 'चालकले मानेनन् । मैले त्यति दूरीको ६७ रुपैयाँ उठ्छ, १ सय रुपैयाँभन्दा दिन सक्दिन भनें । उसले मिटरमा १ सय रुपैयाँभन्दा बढी उठाएर देखाइदिन्छु भन्यो । त्यसपछि हामीले भिडियो खिच्न थाल्यौं । त्यसैले उसले हामीलाई ठग्न सकेन ।' ट्याक्सीको मिटरमा ७१ रुपैयाँ मात्रै उठ्यो । त्यो बढी भाडा ट्याक्सी जाम भएर पर्खनु पर्दा उठेको सिवाकोटी बताउँछन् । यस एप्सलाई सामान्य लेखपढ गरेका व्यक्तिले समेत प्रयोग गर्न सक्छन् । एप्सले गन्तव्यमा पुग्ने रुट म्यापमै देखाइदिने भएकाले ट्याक्सी ड्राइभरले घुमाउरो बाटो लगेर बढी भाडा असुल्न सक्दैनन् । उनीहरूले डेभलप गरेको एप्स अघिल्लो महिना पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको नेसनल टेक्नोलोजिकल फेस्टिभलमा प्रदर्शन गरेका थिए । त्यस प्रतियोगितामा सफ्टवेयर विधाको खुलातर्फ 'केटीएम ट्याक्सी मिटर' ले पहिलो पुरस्कार जितेको थियो । यतिखेर उनीहरूले आफ्नो एप्सलाई फाइनल रूप दिइसकेका छन् । एन्ड्रोइडको एप्स स्टोरमा राख्न भने बाँकी छ । 'यतिखेर हामी सबै परीक्षामा व्यस्त छौं,' सिवाकोटीले भने, 'अर्को महिनादेखि एन्ड्रोइड मोबाइल प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराउने छौं ।' उनीहरूको समूहले सर्वसाधारणलाई जीपीआरएसमा केही खर्च हुने भएकाले काठमाडौंको अफलाइन म्याप उपलब्ध गराउने तयारी गरिरहेको बताएको छ । त्यसलाई गुगल प्लेबाट मोबाइल प्रयोगकर्ताले डाउनलोड गर्न सक्नेछन् । त्यस्तै ट्राफिक प्रहरीसँग सहकार्यमा यस एप्सलाई वैधता दिन उनीहरूले पहल गरिरहेका छन् । 'सरकारले वैधता नदिएको एप्सलाई ट्याक्सी चालकले नस्विकार्ने भएकाले हामीले ट्राफिकसँग सहकार्य गर्ने तयारी गरेका छौं,' सिवाकोटीले भने । ट्राफिक प्रहरीले प्रयोगमा ल्याएको भाडा/दूरीबारे जानकारी दिने एसएमएस प्रणालीलाई समेत यसै एप्समा एकीकृत गर्ने योजना बनाएको उनले सुनाए । अहिले एन्ड्रोइडमा उपलब्ध हुने एप्सलाई आइफोन र जाभा प्लेटर्फममा समेत डेभलप गर्ने उनीहरूको तयारी छ । आशा गरौं, अर्को महिनादेखि हरेक स्मार्टफोन प्रयोगकर्ताको हातमा ट्याक्सी मिटर हुनेछ । त्यसको प्रयोग गरेर उनीहरू ट्याक्सीमा यात्रा गर्दा भाडामा ठगिनबाट जोगिने छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.