भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पोखरा – कुनैबेला घरघरमा सारंगी रेटेर गीत गाउँदै हिँड्ने गन्धर्व जाति छ्यापछयाप्ती भेटिन्थे। तर, अहिले तीनै गन्धर्व जातिले परम्परागत पेशा बिर्सदै जान थालेका छन्। तालनगरी पोखरामा मुलुकका विभिन्न भागबाट भेला भएका गन्धर्वले आधुनिकतासँगै आफ्नो परम्परा लोप हुँदै गइरहेकोमा चिन्ता प्रकट गरे। नेपाल संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानले पोखरामा गरेको गन्धर्व गुञ्जन कार्यक्रममा उनीहरुले आफ्नो संस्कृति, परम्परा र सारंगी लोप हुँदै गएको बताए। संरक्षणका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनीहरुको सुझाव थियो। 'सारंगी रेटेर घर चल्ने अवस्था छैन, त्यसैले अहिलेका युवापुस्ताले यसलाई पछ्याउन सकेनन्,' झलकमान गन्धर्व सारंगी पाठशालाका अध्यक्ष धनबहादुर गायक भन्छन्, 'नयाँ संस्कार विकास भयो र गन्धर्व जातिका छोराछोरी पनि अरु जातजातिकाजस्तै शैक्षिक ज्ञान लिन थाले, त्यसले पनि हराउँदै गएको छ।' सारंगी रेटेर गाउँदै मागेर हिँड्दा पछिल्लो समय गन्धर्व जातिलाई नकारात्मक दृष्टिले हेर्न थालिएकोले पनि आफुहरुको पेशा र संस्कार हराउँदै जान थालेको सहभागीको भनाइ थियो। 'यति बलियो मान्छे भएर पनि सारंगी बजाएर मागेर खाने हो र? भन्ने भनाइ गाउँमा सुन्नुपर्छ, जसले गर्दा पनि यस क्षेत्रमा लाग्ने युवापुस्ता नै हराए,' गोरखाका पदम गन्धर्वले भने। यस क्षेत्रमा लागेका व्यक्तिको जीविकोपार्जन गर्न समस्या आउन थालेकोले पनि गन्धर्व जातिले परम्परागत संस्कृति र साधनलाई भुल्दै जान थालेको गन्धर्व जाति सम्बन्धी शोधपत्र लेखेका कुसुमाकर न्यौपानेले बताए। 'शिक्षा र प्रविधिको विकासले पनि उनीहरु संस्कृति र साधनलाई भुल्दै जान थालेका छन,' उनले भने, 'अरु जातिका युवाले जस्तै जागिर गर्नुपर्छ, पढ्नुपर्छ भन्ने सिक्न थालेकोले पनि संस्कृति लोप हुँदै गएको छ।' पोखरामा शुक्रबारदेखि दुई दिन चलेको कार्यक्रममा देशका विभिन्न जिल्लाबाट करिब ५० जना गन्धर्व भेला भएका थिए। नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव आभासले गन्धर्व जातिका लागि नीति निर्माण गर्ने क्रममा यो उत्सव गरिएको बताए।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.