भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
ज्ञान न्यौपाने, काठमाडौं,हनुमानढोका दरबारक्षेत्र भण्डारखालस्थित सय वर्ष पुरानो ढुकुटी बिहीबार खोलिएको छ। ढुकुटीमा करोडौं रुपैयाँ मूल्य पर्ने धातुका दर्जनौं बाकस, सातवटा पैसा राख्ने सेप, ४८ वटा चाँदीका इँटालगायत पुरातात्विक सामग्री भेटिएको छ। सरकारले एक महिनाअघि ढुकुटी फोर्ने निर्णय गर्दै त्यसका लागि पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले विभिन्न सरकारी निकायका २१ प्रतिनिधि राखेर ढुकुटीको ताल्चा फोरेको हो। १५ भन्दा बढी ताल्चा फोरेर सामानको मुचुल्का तयार गर्न टोलीलाई करिब घन्टा लागेको थियो। फोरिएका दुई ढुकुटीमध्ये पहिलोमा केही नभेटिएको दाहालले जानकारी दिए। राणावंशका पाँचौं प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर राणाले विसं १९७० मा स्थापना गरेको भनिने ढुकुटीका सामग्री भारतको कलकत्ताबाट ल्याइएको महानिर्देशक दाहालले जनाए। उनका अनुसार ढुकुटीमा १५ वटा धातुका बाकस, ७ वटा सेफ, ८८ वटा विभिन्न धातुका इँटा भेटिएका छन्। ढुकुटीमा २४ सेमि लम्बाइ, १४ सेमि चौडाइ र १२ सेमि उचाइका ४८ वटा चाँदीका इँटा भेटिएको दाहालले बताए। ढुकुटीमा बुद्धको शिरको शालिक, करुवालगायत सामग्री पनि भेटिए। टोलीले सबै सामग्रीलाई सिलबन्दी गरेर नेपाली सेनाको शार्दूलजंग गुल्मको सुरक्षामा भेटिएकै स्थानमा थन्क्याएको जानकारी दिएको छ। 'त्यहाँ भेटिएका बाकस र सेफमा ताल्चा लगाएका छौं,' दाहालले भने, 'ढोकामा पनि नयाँ ताल्चा लगाएका छौं। बाकस र सेफलगायत बाहिर राखिएका सामग्रीको विस्तृत विवरण भने अहिल्यै दिन सकेनौं।' उनले थप सामग्री विवरण तयार गर्न हप्तौं लाग्ने भएकाले निश्चित समयावधि तोक्न नसकिने बताए। दरबार मल्लकालीन रहे पनि भेटिएका सामग्री सबै त्यही समयको नभएको संस्कृति मन्त्रालयका पूर्व सहसचिव तथा ढुकुटी खोल्ने समितिका सदस्य विष्णुराज कार्कीले बताए। 'त्यतिखेर नेपालीहरु ब्रिटिस गोरखा सैनिकमा भर्ना भएबापत नेपालले रोयल्टी प्राप्त गर्थ्यो, तर भारतीय कम्पनी (पैसा) त्यतिखेर नेपालमा नचल्ने भएकाले सुन, चाँदी, गोलाबारुदलगायत सामग्री दिइन्थ्यो,' कार्कीले भने, 'ढुकुटीमा गोलाबारुद भने भेटिएन।' चन्द्रशमशेरका पालाअघि पनि नेपालले यस्ता सम्पत्ति पाउने गरे पनि सञ्चय नगरिएको हुनसक्ने उनले तर्क गरे। 'केही सामान पहिले (मल्लकाल) देखिकै ढुकुटीमा चन्द्रशमशेरले संग्रह गरेका पनि हुनसक्छ,' उनले भने। ढुकुटीको मूलढोका र बाहिरको पर्खालमा कुँदिएको अभिलेखले चन्द्रशमशेरले ढुकुटी राखेको प्रस्ट पारेको कार्कीको भनाइ छ। 'अभिलेखमा १९७० मा चन्द्रशमशेरले ढुकुटी निर्माण गरेको भन्ने लेखिएको छ,' उनले भने, 'त्यहाँभन्दा अगाडिको ढुकुटी भए पनि चन्द्रशमशेरले खोलेर थप सुरक्षात्मक रुपले सम्पत्ति थुपारेको हुनुपर्छ। तर यसबारे हामीसँग प्रमाण छैन।' त्यतिखेर राष्ट्रको सम्पत्ति ढुकुटी बनाएर राख्ने चलन रहेको दाहालले बताए। 'जनतालाई दुःख पर्दा प्रयोग गर्नुपर्छ भन्दै संग्रह गर्ने चलन थियो,' उनले भने, 'त्यसैअनुरूप अथाह धातुका सामग्रीलगायत सम्पत्ति राखिएको हुनुपर्छ।' पर्खालको ताला फोरेर भित्र प्रवेश गरेपछि टोलीले सिस्नोको झार हटाएको दाहालले बताए। 'त्यसपछि हामी पहिलो ढुकुटीको ताला तोड्नतर्फ लाग्यौं,' दाहालले भने, 'फलामका ठूलाठूला ढोका भित्रपट्टिबाट पनि फलामका छडको प्रयोग गरी ढुकुटी ढाकिएको रै'छ, हामीलाई अधिक समय त्यही हटाउन लाग्यो।' ढुकुटी खोल्नुअघि क्षमापूजा गरिएको थियो। ११ः२० को साइतमा ढुकुटी खोल्न छिरेको टोली साँझ साढे पाँच बजेमात्र बाहिर आएर 'ब्रिफिङ' गरेको थियो। मूल ढुकुटीको ढोका खोल्नै दुई घन्टा लागेको कार्कीले बताए। 'पहिले बाहिरबाट भोटेताल्चा अनि छतबाट भित्रपट्टि फलामका ठूलाठूला छड ठड्याइएको रहेछ,' उनले भने, 'भित्र उज्यालो रहे पनि कतै पानी चुहिएको देखिएन।' ढुकुटीको छतमा झार पलाएको बाहिरबाटै देखिन्थो। २४ सै घन्टा सैन्यसुरक्षामा रहेको ढुकुटी बिहीबार टोलीका २१ सदस्यसँगै व्यापक सुरक्षा तैनाथ गरिएको थियो। ढुकुटी पहिले पनि खोलिएको सूचना पाए पनि त्यसको लिखित प्रमाण नभेटिएको विभागस्रोतले जनाएको छ। स्रोतका अनुसार राष्ट्र बैंकका तत्कालीन गभर्नर हिमालयशमशेर जबराले विसं २०१५ सालमा ढुकुटी फोरेर त्यहाँ रहेको ७५ लाख भारतीय कम्पनी (तत्कालीन मुद्रा) भारत लगेर साटेको मौखिक सूचना विभागमा आएको छ। 'तीन दिनअघि मात्र राष्ट्र बैंकका तत्कालीन प्रशासक शम्भुप्रसाद अर्यालले २०१५ सालमा हिमालयशमशेरले ढुकुटी खोलेर पैसा साटेको सूचना दिएका थिए,' विभागस्रोतले भन्यो, 'लिखित कुनै प्रमाण नभएकाले पुष्टि हुन सकेन।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.