भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन हुँदैन भनेर कांग्रेसका बहुमत केन्द्रीय सदस्यले गरेको आग्रहविपरीत पार्टीका शीर्ष नेताहरूले निर्णय गरे । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँदा अदालतको स्वतन्त्रतामा आँच आउने देखेर आफूहरूले विरोध गर्नुपरेको केन्द्रीय सदस्य गगन थापाको भनाइ छ । पार्टीको यो निर्णय चित्त नबुझे पनि अब निर्वाचनमा जानैपर्ने उनी तर्क गर्छन् । विरोधका कारण निर्वाचन भएन भने मुलुक झन् पछि धकेलिने उनी बताउँछन् । अब हुने निर्वाचनमा पार्टीभित्रको विवाद अन्त्य गरेर गल्ती गर्नेले माफी मागेर जान सकेमा कांग्रेस ठूलो पार्टी बन्ने दाबीसमेत गर्छन् थापा । पछिल्लो समय एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग चुनावी प्रतिस्पर्धा गर्ने बताउँदै पार्टीका शीर्ष नेताहरूलाई समेत त्यसैअनुरूप टिकट दिन उनले आग्रह गरेका छन् । कारोबारसँग कुरा गर्दै उनले प्रचण्डसँग चुनाव लड्ने मात्र नभई जित्ने क्षमता पनि आफूसँग रहेको दाबी गरे । प्रस्तुत छ, प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय, विरोधमा रहेका केन्द्रीय सदस्यहरूको भूमिका, नयाँ निर्वाचन, कांग्रेसको अवस्थालगायतका विषयमा थापासँग राजनीति ब्युरो प्रमुख बलराम पाण्डेले गरेको कुराकानी : गगन थापा केन्द्रीय सदस्य, नेपाली कांग्रेस प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु हुँदैन भनेर निकै विरोध गर्नुभयो तर नेताहरूले बनाइछाडे । अब तपाईंहरूको भूमिका के हुन्छ ? यो प्रश्नको उत्तर दिनलाई यसको पृष्ठभूमिमा जानुपर्छ । बाबुराम भट्टराईको सरकारलाई हटाएर नयाँ सरकार अविलम्ब बनाउनुपर्छ, त्यो सरकारले निर्वाचन गराउनुपर्छ, निर्वाचनमा गएर कांग्रेसले बहुमत ल्याई सरकार र संविधान बनाउनुपर्छ भन्ने साथीहरूले सुशील कोइरालाको प्रस्तावलाई एमाओवादीले नमानेपछि विभिन्न विकल्प प्रस्तुत गरेका थिए । केही साथीले बाबुरामकै नेतृत्वमा गएर पनि चुनाव गराउनुपर्छ भने, कोहीले प्रचण्ड भने, केहीले सानो दलको नेता तथा केहीले पूर्वसभामुखलाई बनाएर जानुपर्छ भन्ने थियो । सवैले चुनाव हुनुपर्छ भनेर यो प्रस्ताव गर्नुभएको हो । यी कुनै पनि प्रस्तावमा छलफल गर्नसमेत तयार नभएको नेतृत्व प्रधानन्यायाधीशको नेतृत्वमा एकाएक सहमत भयो । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने जति साथीहरू छौं, यो पंक्ति भनेको निर्वाचनमा छिटो जानुपर्छ भन्ने हो । केन्द्रीय समितिले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु हुँदैन भनेर निर्णय गरेको हो । त्यसलाई नेतृत्वले अपव्याख्या ग¥यो । अनौपचारिक बैठकमा पनि हामीले औपचारिक बैठकले निर्णय गरे मान्छौं पनि भन्यौं । तर, उहाँहरूले बैठक बोलाउनुभएन । अनौपचारिक बैठकमा सभापतिले अदालतको मुद्दा विचाराधीन भएकाले अदालतले फैसला नगरुन्जेल यो विषय अघि बढ्दैन भन्नुभएको थियो । अहिले अदालतलाई निर्लज्ज ढंगले बेवास्ता गरिएको अवस्था छ । फैसला आउनु केही घण्टाअघि स्वयं प्रधानन्यायाधीश समेत संलग्न भएर अदालतलाई छल्ने काम भएको छ । बारले भनेको जस्तै न्यायिक क्षेत्रमा यो कालो दिन हो । हामीले आफ्नो ठाउँबाट सक्दो प्रयास गरेको हो । दलीय पद्धतिभित्र हाम्रा लागि जटिल परिस्थिति आयो । हाम्राअघि केही च्यालेन्ज आए । पार्टीभित्र लोकतन्त्र, स्वाभिमान, कांग्रेसको स्थापनासँग जोडिएका विषयको निरुपण कसरी गर्ने भन्ने चुनौती छ । अर्को पार्टी नेतृत्वमा देखिएको विचलनलाई कसरी लैजाने भन्ने छ । अब सरकार बनिसकेपछि निर्वाचन भएन भने मुलुक झनै ठूलो अनिश्चिततातिर जान्छ कि भन्ने पनि छ । के गर्ने भन्ने विषयमा बृहत छलफल गर्नुपर्ने भएको छ । निर्वाचन नभए मुलुकमा हुने क्षति कसरी कम गर्ने भन्ने पनि महत्वपूर्ण कुरा छ । कांग्रेसमा सीमित पदाधिकारी र केही नेताबाहेक सबै नेता यसको विपक्षमा थिए । नेतृत्व किन केन्द्रीय समितिको निर्णयविपरीत प्रधानन्यायाधीश नै नभई नहुने अवस्थामा पुग्यो होला त ? उहाँहरूले गरेको तर्क के देखिन्छ भने कांग्रेसले दुईवटा कुरा खोजेको हो । बाबुराम सरकारको बहिर्गमन र निर्वाचन । यसका लागि योभन्दा अर्को विकल्प थिएन भन्ने तर्क नै मैले मान्दिनँ । पहिलो प्रश्नको उत्तरमा पनि अनेकौं विकल्प थिए । हामिले विकल्प दिँदा जहिले पनि दुत्कार्ने काम भयो । पार्टी नीतिविपरीत भयो भनेर भनियो । भदौ ४ गते नरहरि आचार्यले पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर लिखित प्रस्ताव ल्याउनुभएको थियो । त्यो बेलामा सामान्य छलफलसमेत भएन । विकल्पलाई दुत्कार्ने काम भए । निर्वाचनका निम्ति सबै कुरा ग्राह्य हुँदैन । त्यसका लागि सबै कुरा मान्ने हो भने हिजो ज्ञानेन्द्र राजा हुँदा घोषणा गरेको निर्वाचनमा जान सकिन्थ्यो । दलहरू सहभागी भएको भए बहुमत त उनीहरूले नै ल्याउने थिए । राजाको पार्टीले ल्याउँदैनथे । हामीले त्यस्तो निर्वाचनमा भाग लिँदैनौं भन्यौं । पञ्चायतकालमा पनि राजाले पटक–पटक निर्वाचनमा भाग लिन बोलाएकै हो । बहुदलीय पद्धति छाडेनौं । यो बेलामा पनि बाबुराम सरकार बहिर्गमनका निम्ति यतिधेरै गलिसक्नुपर्ने कारण थिएन । विरोधका कार्यक्रम सुरु हुँदै थिए । बाबुरामजीले यतिवर्ष चलाउँछु भने पनि एक महिनाभन्दा बढी सरकार डेग चल्नेवाला थिएन । किन यति कमजोर भएर सम्झौतामा जान प¥यो भन्ने कुराको चित्तबुझ्दो जवाफ पाउन सकेको छैन । स्वतन्त्र न्यायपालिका र विधिको शासन ध्वस्त पारेर कांग्रेसलाई सम्झौता नै गर्नुपर्ने दबाब किन परेको होला ? मेरो आफ्नै प्रश्न पनि यही हो । शक्तिपृथकीकरणको सिद्धान्तका कुरा गर्दा नेपालमा भइरहेको अभ्यास, अरु देशमा भएको छ कि छैन, त्यो पनि हेर्नुपर्छ । बेलायतमा लोकतन्त्र छ तर शक्तिको पृथकीकरण छैन । ग्रिसमा पनि भर्खर प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनेको छ भनेर उदाहरण दिन्छौं तर नेपाल बंगलादेश र ग्रिस होइन । संविधानसभाको चार वर्ष दौरानमा एमाओवादीको लिखित प्रस्ताव नै के थियो भने अदालत कहिले पनि स्वतन्त्र हुनु हुँदैन, राजनीतिको मातहतमा राखिनुपर्छ । स्वतन्त्र त बुर्जुवा प्रजातन्त्रमा मात्र हुन्छ । प्रधानन्यायाधीश पनि बहुमत ल्याएको दलले नै सिफारिस र हटाउन पाउनुपर्छ भन्ने प्रस्ताव थियो । त्यो प्रस्ताव हुँदैन भनेर चार वर्ष लडेर आएको अदालतको स्वतन्त्रतासँग सम्झौता गर्दैनौं भनेर माओवादीलाई हाम्रो प्रस्ताव मान्न बाध्य बनाएका थियौं । यसलाई बिर्सेर विदेशको उदाहरण दिनु व्यर्थ छ । नेपालमा संविधानसभाले नयाँ संविधान बनाइसके पनि न्यायक्षेत्र र निजामती सेवाको राजनीतिक नेतृत्व गर्नसक्ने महत्वाकांक्षाको व्यवस्थापन गर्नसक्ने तागत नेपालको लोकतन्त्रले राख्छ कि राख्दैन ? अहिले नै पूर्वप्रशासकहरू कसरी मन्त्री हुने भन्नेमा लागिसकेका छन् । ग्रिस र बंगलादेशको उदाहरण दिएर नेपालमा यस्तो गरियो भने नेपालकै २०६९ को उदाहरण दिएर २०७५ दोहोरिदैन ? अब प्रत्यक प्रशासकको मनसुवा मन्त्री हुने भयो । प्रत्येक न्यायाधीशलाई अब प्रधानमन्त्री भएर रिटायर हुने इच्छा हुने भयो । यसले नेपालको लोकतन्त्रलाई कस्तो गन्जागोल बनाउला ? एमाओवादीले त सबै क्षेत्रलाई थिलोथिलो पार्न चाहेको थियो । तर, नेतृत्व किन यस्तो अलोकतान्त्रिक निर्णयमा फस्यो, अचम्म लाग्छ । त्यसोभए कांग्रेस नेतृत्व एमाओवादीको रणनीतिमा फसेको हो ? यसलाई पार्टीका नेताहरूले प्रष्ट पार्ने कोसिस के गर्नुभएको छ भने बाबुरामको सरकार हटाउने योभन्दा अर्को उपाय नै थिएन र यो नगरेको भए नेपालमा कहिले पनि चुनाव हुँदैनथ्यो, सत्ता कब्जा हुन्थ्यो । न्यायपालिकाको स्वतन्त्रतामा पनि असर गर्दैन भन्ने उहाँहरूको तर्क छ । तर यी कुनै पनि कुरा ठीक छैनन् । मैले चित्त नबुझाएको मात्र होइन, पार्टीका विभिन्न तहमा बसेका लाखौंले चित्त बुझाएका छैनन् । उहाँहरूलाई यो तर्कले चित्त बुझाउनै सकेको छैन । प्रधानन्यायाधीशको प्रस्ताव आउनासाथ तपाईंसहित थुप्रै नेताहरूले विरोध गर्नुभयो, पार्टीका केही नेतालाई यसरी निर्णय गर्न बाध्य केले पा¥यो होला ? हाम्रो दलको संरचना, निर्णय गर्ने पद्धतिलाई पनि हेर्नुपर्दो रहेछ । यसले गर्दा पनि हाम्रो मतलाई कुल्चन सजिलो भयो । हाम्रो कमजोरी भनेको त्यसलाई हामीले भत्काउन र चिर्न सकेनौं । हामीले महासमितिको माग राख्यौं तर बैठक बसाउन सकेनौं । केन्द्रीय समितिको बैठक बसाउन पनि सकेनौं । यी बैठक पार्टीको मूल नेतृत्वले नचाहँदासम्म हुँदो रहेनछ । यी सवै विषय अदालतमा पुगेकाले प्रधानन्यायाधीशको राजनीतिप्रतिको महत्वाकांक्षा अदालतमा करेक्सन हुने हाम्रो विश्वास थियो । नेतृत्वले पनि हमीलाई अदालतमा विचाराधीन रहेसम्म निर्णय गर्दैनौं भनेर भनेको अवस्था थियो । तर, पछि गएर अदालतका बारेमा हाम्रो बुझाइ पनि फरक पर्न गयो । नेताहरूले पनि विश्वासघात गरे । नेताहरूले अदालतको निर्णय नपर्खने भए भन्ने लागेपछि हामी केही केन्द्रीय सदस्य हतार–हतारमा जुटेर स्मरण पनि गरायौं । एमाओवादीले त सबै क्षेत्रलाई थिलोथिलो पार्न चाहेको थियो । तर, हाम्रो शीर्ष नेता किन यस्तो अलोकतान्त्रिक निर्णयमा फस्नुभयो, अचम्म लाग्छ । कामु प्रधानन्यायाधीश दामोदर शर्माले पनि स्वतन्त्र न्यायपालिकालाई यसले असर गर्दैन भनेर प्रष्ट पारिरहनुभएको छ । तपाईंहरू किन यतिधेरै सशंकित हुनुभएको ? अदालतको यो भन्दा ठूलो मानमर्दन के हुन सक्छ ? जेठमै निर्वाचन गर्न भनेर फागुन ३० सम्म वार्ता गरेर चैत १ गते त्यो विषय त्यसै टुंग्याइएको थिएन । अदालतलाई छल्नका लागि थियो । अदालतको हुर्मत लिनका लागि थियो । पछि के हुन्छ भन्ने कुरा छाडिदिऊँ । अदालतमा विचाराधीन रहेको विषयमा प्रधानन्यायाधीशसमेत संलग्न भएर झगडियासँग मिलेर अदालतको हुर्मत लिने काम हुन्छ भने अब अदालतको स्वतन्त्रता रहन्छ भनेर विश्वास गर्ने आधारनै समाप्त भएको छ । अदालतको हुर्मत लिने काम प्रधानन्यायाधीशले गरेका कि दलहरूले ? मिलेर गरेका हुन् । राजनीतिक दलहरूले अदालतका केही निर्णय चित्त नबुझाउनु र सार्वजनिक टीकाटिप्पणी गर्नु फरक हो तर प्रधानन्यायाधीश नै मिलेर यसो गर्नु पटक्कै राम्रो होइन । ६५ वर्षसम्म कांग्रेसले भन्दै आएको स्वतन्त्र न्यायपालिका पनि भन्नकै लागि मात्रै रहेछ है ! मैले पनि त्यही भनेको छु । न्यायपालिकाको स्वतन्त्रताको विषयसँग जोडिएको कुरा होइन भनेर पनि कतिले भन्नुभएको छ तर म यी तर्कसँग सहमत हुन सक्दिनँ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरा कांग्रेसले छलफल गर्ने कुरा थिएन । यहाँ बाधा अडकाउबाट अन्तरिम संविधानको पनि हुर्मत लिने काम भयो । जसको राजनीतिक विचार अदालतलाई स्वतन्त्र राख्न हुँदैन भन्ने छ, त्यसको लहलहैमा लाग्नु हुँदैनथ्यो । यो त माओवादीको लिखित दृष्टिकोण नै थियो । माओवादीले भनेको जस्तै संविधान बन्ने हो भने त्यसको व्यवहारिक रूप त प्रचण्ड राष्ट्रपति, बाबुराम प्रधानमन्त्री, मुक्ति प्रधान महान्यायाधिवक्ता र खिमलाल देवकोटा प्रधानन्यायाधीश बन्न पाउनुपर्छ, यस्तो संविधान चाहियो भनेर उनीहरूको लिखित प्रस्ताव छ । उनीहरूसँग मिलेर मध्यरातमा गरेको निर्णयले अदातलको स्वतन्त्रतामा गम्भीर आँच पुगेको छ । तर, निर्वाचनबाट मुलुकमा निकास त निस्कन्छ नि होइन र ? यो निकास निकाल्ने अरु विकल्प थिएनन् ? यो निकास चाहिँदैन भनेर हामीले भनेकै छैनौं । अहिले सहमति नगरेको भए बाबुरामले १५ वर्ष खान्थे भन्ने कुरा हामी पत्याउँदैनौं । बाबुराम सरकारले गरेको राष्ट्रघाती र भ्रष्टाचारका निर्णयलाई लिएर स्वयं बाबुराम नै हिँड्न नसक्ने अवस्थामा पुगेका थिए । यो सरकारले चैत नै काट्न सक्दैनथ्यो । त्यही नेताहरूले अघिका रेकर्ड पल्टाएर हेर्नुपर्छ । हामीले उहाँहरूले खुलामञ्चमा भाषण गरेको सम्झिनुप¥यो । यो सरकारलाई, हामी फु गरेर ढाल्न सक्छौं भन्ने त्यही नेताले सात दिनपछि प्रधानन्यायाधीशबाहेक अर्को विकल्प नै छैनभन्दा हामिले पत्याउनुपर्ने र यो हुनुहुँदैन भन्नेहरू जति सबै लोकतन्त्रविरोधी हुन् भन्दा पनि हामीले सहनुपर्ने ? हामीले ताली बजाउनुपर्ने ? हामी भजनमण्डली हो र ? यसको विरोध गर्नेहरू झन बढी निकासको पक्षमा छन् भनेर बुझ्नुपर्ने हो तर यहाँ विचित्र भइरहेको छ । एमाओवादीले के भन्छ भने हामी न्यायपालिकालाई यति सम्मान गर्छौं कि प्रधानन्यायाधीशबाहेक कसैलाई विश्वास गर्न सकेनौं । पूर्वप्रधानन्यायाधीश पनि हुनु हुँदैन, वर्तमान नै हुनुपर्छ भन्ने उसको तर्क छ । एमाओवादीलाई अदालतको सम्मानको चिन्ता, अनि वैद्य माओवादीलाई अदालतको स्वतन्त्रताकोे चिन्ता । यो विचित्र होइन र ? अब असारको पहिलो साताभित्र निर्वाचन होला ? कम सम्भावना देख्छु । अदालतको मुद्दालाई हेलचेक्र्याइ गर्नु हुँदैन । स्वतन्त्र न्यायपालिकाको निर्णय आउन बाँकी नै छ । यसले पनि प्रभावित गर्ला । सडकमा रहेका दलहरूको पनि चित्त बुझाउनुपर्छ । साना दलहरूको बुझाइ ठूला दलभित्रको सहमति असारमा निर्वाचन गराउनका लागि होइन भन्ने खालको छ । अदालतको निर्णय टाल्नका लागि चैत १ गते सहमति गरेका हुन् । यिनीहरूले भित्रभित्र मंसिरमा निर्वाचन गर्ने सहमति गरेको हुनसक्छ । अब हुने निर्वाचनमा कांग्रेसको पोजिसन कस्तो होला ? यो निर्वाचनमा कांग्रेसलाई फाइदा छ । संविधानसभामा कांग्रेस सानो हुँदा निर्णायक हुन सकेन त्यसैले संविधान बन्न सकेन । अघिल्लो निर्वाचनमा माओवादी र मधेसी दलसँग आश र त्रास थियो । त्यो अहिले समाप्त भएको छ । यिनीहरू ठूला भए भने चार वर्षमा जे भयो, त्यही हुन्छ । यी सबै अनुकूलतालाई हेर्दा पार्टीबीचमा केही विवाद नभएको भए दाबीका साथ मैले भन्न सक्थें, कांग्रेसले स्पष्ट बहुमत ल्याउँथ्यो । कार्यकर्ताको आस्थामाथि पुगेको चोटलाई सम्बोधन गर्दै हेपाहा प्रवृत्ति त्याग्ने हो भने आशातीत सफलताको लक्ष्य टाढा छैन । तपाईंले पुष्पकमल दाहालसँग चुनाव लड्छु भनेर चेतावनी नै दिनुभएको छ । उहाँसँग निर्वाचन लड्ने क्षमता तपाईसँग छ ? प्रचण्डसँग लड्नेमात्रै होइन, मँसग जित्ने क्षमता पनि छ । प्रचण्डलाई व्यक्तिगत रूपमा गर्ने सम्मानमा कुनै कमी छैन । प्रचण्डले एउटा प्रवृत्तिको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले १० वर्षे हिंसाको प्रतिनिधित्व गर्नुहुन्छ । १७ हजार मृतकको प्रतिनिधित्व गर्नुहुन्छ । म भनेको एउटा व्यक्ति होइन । एउटा पुस्ताको प्रतिनिधि पनि हुँ । मैले त्यो १७ हजार मृत्यु गलत थियो भन्ने प्रतिनिधित्व गर्छु । म अहिंसाको प्रतिनिधित्व गर्छु । शान्ति र उज्यालो भविष्यको प्रतिनिधित्व गर्छु । जनताले दुईमध्ये कुन ठीक हो भनेर छान्न पाउनुप¥यो । प्रचण्डले प्रतिनिधित्व गर्ने विचारलाई हराउनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले अब हुने निर्वाचनमा मेरो पार्टीलाई प्रत्यासी हुन मौका देऊ भनेको छु । उहाँले पहिले क्षेत्र रोज्नुहुन्छ । अनि त्यहाँ गएर उहाँलाई चुनाव हराउने हो । नेपालमा युद्ध गलत थियो भन्ने पुष्टि गर्नु आवश्यक छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.