Widgets

Home » , » ५० किलो सुन कहाँ गयो ?

५० किलो सुन कहाँ गयो ?

Written By sangalo on Friday, August 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

gold

काठमाडौ, भाद्र १५ - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई बिहीबार राति एउटा सूचना आयो, 'चीनको खासाबाट दुईवटा मिनी कन्टेनरमा ५० किलो सुन आउँदैछ ।' त्यही सूचना जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पनि गयो । ब्युरो र काभ्रे प्रहरीको विशेष टोली कन्टेनर पक्राउ गर्न रातरात सडकमा खटियो । काभ्रेको दोलालघाटमा दुवै प्रहरी कार्यालयले ती कन्टेनर फेला पारे । ब्युरो ती कन्टेनरलाई काठमाडौं ल्याउन चाहन्थ्यो भने काभ्रे प्रहरी आफ्नै जिल्लामा राखेर अनुसन्धान गर्ने प्रयासमा थियो । कन्टेनर खोलेर कसले हेर्ने ? भन्ने विषयमा दुई प्रहरी कार्यालयबीच विवाद भयो । ब्युरोले दुवै कन्टेनरलाई चालक र खलासीसहित काठमाडौं लिएर आयो । राति ३ बजे दोलालघाटबाट ती कन्टेनर बिहान ८ बजे काठमाडौं आइपुगे । तर ब्युरोको टोलीले जाँच गर्दा कन्टेनरमा सुन फेला परेन । 'हामीलाई आएको सूचना ८० प्रतिशत सही थियो,' ब्युरोका डीआईजी प्रकाश अर्यालले भने, 'तर यहाँ ल्याएर जाँच गर्दा सुन भेटिएन ।' ब्युरोले सामान्यतया सुन तस्करहरूले लुकाएर ल्याउन बनाउने सम्भावित फल्स बटम, चालकको सिट र पार्टपुर्जा जाँच गरे पनि सुन फेला नपरेको बताए । उनले सिल गरेको कन्टेनरभित्र सुन हुन सक्ने अनुमान गरे । तर भन्सारले सिल गरेको कन्टेनर प्रहरीले खोल्न नमिल्ने भएकाले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको जनाएको छ । 'त्यहाँ कन्टेनर खोल्दा हाम्रो प्रहरी पनि सँगै हुन्छ,' उनले भने, 'आइतबार खोलेर हेर्ने कुरा भएको छ ।' कहाँ गयो त सुन ? स्रोतका अनुसार ती दुई कन्टेनरमा अवैध सुन रहेको सूचना लैनचौरस्थित भारतीय दूतावासले दिएको थियो । चीनको खासाबाट तस्करी भएर आउने सुन भारत पुग्ने भएकाले पछिल्लो ताका त्यो तस्करी रोक्न दूतावासले विशेष चासो दिन थालेको छ । नेपाल-भारत सुरक्षा बैठकमा पछिल्लो समय भारतले उठाउने मुख्य मामिला सुन तस्करीसमेत हो । दूतावासले दिएको सूचनापछि छापा मार्न गएको प्रहरी अन्ततः रित्तो हात भयो । 'सबै सूचना सही हुन्छन् भन्ने हुँदैन,' प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने, 'त्यस्तो सूचना आएपछि प्रहरीले त्यसलाई आफ्नो हिसाबले अनुसन्धान गर्नुपर्छ ।' सूचना नै भरपर्दो नभएको वा सूचना पहिला नै चुहावटसमेत भएको हुन सक्ने अनुमान केही प्रहरीले गरेका छन् । गत साउनमा काठमाडौं प्रहरीका दुई प्रहरी जवानको सुन लुटेरासँग मिलेमतो भएको देखिएपछि पहिला नै सूचना चुहावट भएको हुन सक्ने अनुमान गरिएको हो । 'प्रहरीभित्रकै कसैले सूचना चुहावट भएको हुन सक्छ,' एक अधिकृतले भने, 'नत्र भरपर्दो सूचनाका साथ जाँदा कसरी सुन गायब भयो ?' खासाबाट जाने अवैध सुनका कारण भारतीय अर्थतन्त्र धराशायी बन्ने खतरा देखिएपछि भारत सरकारले सुन तस्करी रोक्न विशेष सक्रियता देखाउन थालेको हो । भारतीय जाली नोटको तस्करी, रक्तचन्दन तस्करीपछि भारतले सुन तस्करीलाई विशेष चासो दिन थालेको प्रहरी अधिकृतहरू बताउँछन् । 'जाली नोटपछि उनीहरूको अहिले टाउको दुखाई सुन तस्करीमा छ,' एक अधिकृतले भने, 'तस्करी रोक्ने प्रयास गरिरहेका छन् ।' चीनबाट तस्करी गरेर एक किलो सुन भारत पुर्‍याउँदा त्यसमा झन्डै दुई लाख रुपैयाँ फाइदा हुन्छ । व्यापारीहरूका अनुसार भारतमा खरिद गरेर नेपाल ल्याउने सामानको पैसा तिर्न पनि सुन तस्करी हुने गरेको छ । पछिल्लो समयमा कम भन्सार मूल्यांकन र भन्सारै नतिरी आउने सामानको भुक्तानी गर्न सुन प्रयोग बढेको व्यवसायीहरू बताउँछन् । तस्करीको जालो चार वर्षअघिदेखि चीनबाट सुन ल्याएर भारत लैजान थालेका हुन् । त्यसमा खासामा रहेका चिनियाँ व्यापारी, नेपाली तस्कर हँुदै सुन भारतीय बजारमा पुग्ने गरेको छ । पहिलो पटक प्रहरीले २०६९ साउनमा एक किलो सुन समातिएपछि चीनबाट तस्करी भएर भारत जाने गरेको खुलासा भएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले भारतीय नागरिक पीताम्बर पासवानलाई पक्राउ गरेको थियो । भाडाको बस चढेर वीरगन्ज जान लागेका पासवानले बोकेको १ किलो सुन ब्युरोले बरामद गरेको थियो । केही समयअघि सीआईबीले गत असारमा ३५ किलो सुनसहित चार जनालाई पक्राउ गरेको थियो । त्यसअघि गत जेठमा १६ किलो सुनसहित काठमाडौं प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । उनीहरूले जुत्ताभित्र सुनको बिस्कुट राखेर काठमाडौं ल्याएका थिए । यस्तै मंसिरको दोस्रो साता काभ्रेको धुलिखेल चेकपोस्टले कन्टेनरबाट ९ किलो सुन बरामद गर्‍यो । प्रहरीका अनुसार धेरैजसो सुन तेस्रो मुलुकबाट भित्र्याएर भारत निकासी हुने गरेको छ । भन्सार छलेर ल्याइने भएकाले यसमा धेरै नाफा हुने गर्छ । एक किलोमा भन्सार छल्दा मात्र झन्डै अढाई लाख नाफा हुन्छ । त्यही सुन भारतीय बजारमा पुर्‍याउँदा प्रतिकिलो करिब २ लाख ९० हजार रुपैयाँ फाइदा हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger