भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
लन्डन, भाद्र ४ - नेपाली, नेपालको माया छ कि छैन् ? धेरै खेल्यो नेपालको तिमी छाती माथि तिम्रो छाती माथि पनि नेपाल छ कि छैन ? नेपाली, नेपालको माया छ कि छैन ? स्व. गोपाल योञ्जनको उल्लेखित गीत पृष्ठभूमिमा बजिरहंदा आइतबार अल्डरसटस्थित दि कन्नाट स्कुल हल खचाखच छ । यहां नेताहरुको भाषण भइरहेको थिएन्, न जांड रक्सीले भरिपूर्ण डान्स पार्टी हुंदै थियो । न त कुनै सौन्दर्यता जांच्ने प्रतियोगिता । बरु, मनकारी नेपालीहरु स्वतस्फूर्त परोपकारी काममा सहभागी भइरहेका थिए । क्षणभरमै साढे चार सय मानिस जम्मा भएर स्व. गोपाल योञ्जनको माथिको गीतले खोजिरहेको जवाफ दिंदै नेपालको माया आफूहरुमा रहेको प्रमाणित गरिदिए उनीहरुले । कार्यक्रम थियो हेल्प नेपाल नेटवर्कले स्थापना गर्न लागेको रु दश करोडको परोपकारी अक्षय कोषका लागि वृहत सहयोग संकलन । उक्त अवसरमा इतिहास रच्दै बेलायतवासी नेपालीले एक करोड सात लाख रुपैयाँ संकलन गरिदिएर आफ्नो परोपकारी भावना दर्शाइदिए । आयोजकले विदेशमा कल्याणकारी कामका लागि एकै दिन यति धेरै रकम संकलन भएको सम्भवतः पहिलो हो भनेका छन् । ७७ जना संयोजकबाट कम्तीमा ५० हजार रुपैयाँ, ३० प्रायोजक प्रत्येकबाट तीनसय पाउण्ड र विभिन्न संघसंस्था एवं व्यक्तिबाट त्यो रकम संकलन भएको अवगत गराउन पाउंदा दंग थिए कार्यक्रमका मुख्य संयोजक सूर्य गुरुङ । कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रबीन्द्र मिश्र तथा वृहत सहयोग संकलन कार्यक्रमका मुख्य संयोजक सूर्य गुरुङले स्वर्गीय गोपाल योन्जनको ‘नेपाली नेपालको माया छ कि छैन् ?’ गीत लेखिएको व्यानर खोलेर कार्यक्रमको संयुक्त उद्घाटन गरेका थिए । मन्तव्यका क्रममा राजदूत चालिसेले विदेशमा बस्ने नेपालीहरुले गरेको सानो सहयोग पनि नेपालमा निकै महत्वपूर्ण हुने बताउंदै आ आफ्नो गाउंठाउंको विकासमा सघाउन अपिल गरे । उनले शिक्षा, स्वास्थ्य, मानवीय सहायता लगायत क्षेत्रमा हेल्प नेपाल नेटवर्कले गर्दै आएका कामको प्रशंसा गर्दै यस्ता काममा सघाउनु सबैको कर्तव्य भएको बताए । गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष कुल आचार्यले स्वदेश वा विदेश जहां बसे पनि नेपालका लागि नेपालीहरुले नै गर्नुपर्छ भन्ने हेल्प नेपाल नेटवर्कको मूलमन्त्रको खुलेर प्रशंसा गरे । उनले गैर आवासीय नेपाली संघ र नेटवर्क मिलेर नेपालमा कल्याणकारी परियोजनाहरु सञ्चालन गर्न एउटा समझदारी पत्रमा हस्ताक्षर भइसकेको स्मरण गर्दै नेटवर्कसंग हातेमालो गरेर अगाडि बढ्न आफूहरु सधै तत्पर रहेको बताए । हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रबीन्द्र मिश्रले बेलायतमै १४ वर्ष अघि जन्मिएको नेटवर्कले शुरु गरेको अक्षयकोष स्थापना अभियानमा बेलायतवासी नेपालीहरुको स्वतस्फूर्त सहयोगप्रति आभार व्यक्त गरे । आफ्नो करिब एक घण्टा लामो मन्तव्यमा मिश्रले नेटवर्कले नेपालको विभिन्न दुर्गम जिल्लाहरुमा शिक्षा, स्वास्थ्य सम्बन्धि परियोजना र आपतकालीन क्षेत्रमा गरेको सहयोगबारे जानकारी दिए । ‘दाताबाट आशा गर्नु भन्दा नेपालका लागि नेपालीलाई सहयोग गर्नु पर्छ भन्ने भावनाले अभियान शुरु भएको हो’, मिश्रले थपे, ‘हामी खाली नेताहरुले मात्र गरेनन् भनेर गाली गर्छौ । राज्य कमजोर भएका बेला त्यो सुधार्ने दायित्व नागरिकको पनि हो ।’ उनले धेरै हुने खानेको मन झन् सांघुरो हुने बताउंदै समाजलाई दिनुपर्छ भन्नु भन्दा आफू बन्नु पर्छ भन्ने मानसिकताले देश बिग्रेको उल्लेख गरे । ‘देश विगार्ने तपाईं हामी जस्ता २० प्रतिशतले हो, ८० प्रतिशतले त न बिगार्न सक्छन्, न बनाउन’, मिश्रले भने, ‘महिनामा एक कप कफी वा एक बोतल वियर कम खानुहोस्, सिनेमा कम हेर्नोस् र त्यो पैसा नेपालमा परोपकारी कामका लागि पठाउनुहोस् त्यसैमा धर्म मिल्छ ।’ उक्त अवसरमा कार्यक्रमका मुख्य संयोजक सूर्य गुरुङले अक्षयकोषका लागि रकम प्रदान गर्ने समस्त दाता, प्रायोजक, फण्डरेजिङ कोअर्डिनेटरहरु, कलाकार, स्वयंसेवी तथा मिडिया पार्टनरहरुलाई धन्यवाद दिए । कार्यक्रममा सबै सहयोगी र दातालाई सम्मान गरिएको थियो । कार्यक्रम अवधिभर बजाइएका देशभक्तिपूर्ण गीत र आकर्षक नृत्यले दातालाई पनि केही दिउं दिउं बनाइरहेको आभाष मिल्थ्यो । गत वर्ष बेलायतमै नेपाल ब्रिटेन डट कमको सक्रियतामा नेटवर्कका लागि २० लाख रुपैंया संकलन भएको थियो । तस्विरहरु: सौजन्य : मिलन तमु ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.