Widgets

Home » , » बेलायतमा घन्कँदै नौमती बाजा

बेलायतमा घन्कँदै नौमती बाजा

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बेलायतमा घन्कँदै नौमती बाजा

लन्डन - 'अब पालो नौमती बाजाको' उद्घोषकले यसो भन्नेबित्तिकै हलमा रहेका धेरै सहभागी मञ्चमा उक्लिहाले। मञ्चमा नअटेकाहरू आ–आफ्नै ठाउँमा उभिए।वाद्यवादकहरूले नौमती बाजा घन्काउन मात्रै के सुरु गरेका थिए, केटाकेटीदेखि वयस्क र वृद्धसम्म कम्मर मर्काइमर्काइ नाच्न थाले। कोही उठेर नाचे। कोही बसेरै हल्लिन थाले। कोही बाजाको तालमा फनफन्ती घुमे। नाचका मुद्रा मिले कि मिलेनन्सँग कसैलाई सरोकार थिएन। नौमती बाजाले हल गुञ्जायमान थियो, सहभागीहरू आ–आफ्नो शैलीमा नाचेर कार्यक्रमलाई थप रंगिन बनाइरहेका थिए। बाजा बज्न रोकिनासाथ हलमा उपस्थित झन्डै चार सय नेपाली सहभागी एकैचोटि चिच्याउँथे, 'वान्स मोर!' बेलायतको फार्नबोरोमा नेपाली समुदायले यही आइतबार आयोजना गरेको आपसी भेटघाट कार्यक्रमको दृश्य हो यो। अचेल बेलायतमा नेपाली समुदायले गर्ने कुनै पनि कार्यक्रममा नौमती बाजा अपरिहार्यजस्तै भएको छ। त्यो पनि रेकर्ड गरिएको धुन होइन, तालिमप्राप्त वाद्यवादकहरू नै राखेर। विवाह, चाडवर्प, सम्मेलन तथा समारोह जे बहानामा जमघट भए पनि नेपालको यो लोकबाजा नभई हुन्न। अनि बल्ल सुरु हुन्छ, नाचगान। कतिसम्म भने, कार्यक्रमको निम्तो पाउनासाथ निम्तालुहरू सोध्ने गर्छन्, 'नौमती बाजा छ कि छैन?' 'नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमको मुख्य आकर्षण भनेकै नौमती बाजा हो,' १२ वर्षदेखि लन्डन बस्दै आएका ४० वर्षे शिव भण्डारीले नागरिकसँग भने, 'नौमती बाजा बजेपछि कार्यक्रमको रौनकै फेरिन्छ।' यही बाजाका कारण परम्परागत चाडपर्व तथा समारोहमा पछिल्लो समय नेपालीको उपस्थिति बाक्लिन थालेको उनले बताए। सभासमारोह आयोजना गर्नेलाई टिकट बिक्री गर्न यसले सजिलो पारेको छ। एउटै समस्या भनेको, माग ह्वात्तै बढेकाले राम्ररी बजाउन जान्ने वाद्यवादकहरू पाउन भने मुस्किल छ। 'भदौसम्मलाई बुकिङ भइसक्यो, बजाउने मान्छे थोरै छौं, माग बढी हुँदा सबै ठाउँमा जान सकेका छैनौं,' फार्नबोरोको कार्यक्रममा बजाउन आएका प्रथम नौमती बाजा गुल्मी, युकेका प्रमुख संयोजक ओमप्रसाद थापाले भने। पूर्व गोर्खा सैनिक थापाको यो समूह बेलायतमै नौमती बाजा बजाउने पहिलो हो। बेलायतको जुन ठाउँमा कार्यक्रम परे पनि थापाको समूह बाजा लिएर पुगिहाल्छ। धेरैतिरबाट निम्तो आउँदा कहिलेकाहीँ भ्याइनभ्याई हुने गरेको उनी बताउँछन्। 'हाम्रो समूहमा बजाउन जान्ने १६ जना छौं। एकैदिन दुईतिर जानुपरे आधा आधा बाँडिन्छौं,' उनले भने, 'दुईभन्दा बढी निम्तो आए 'नो' भन्नुपर्छ।' उनको समूहले नौमती बाजाको दुईथरि दर लागू गरेको छ। सामुदायिक हितको निम्ति आयोजित कार्यक्रम भए चार घन्टाको तीन सय पाउन्ड, अरू कार्यक्रममा पाँच सय पाउन्ड। यो शुल्क यातायात र खानाबाहेकको हो। थापाले नेपाल छँदा सानैमा नौमती बाजा बजाउन सिकेका थिए। बेलायती सेनाबाट अवकाश पाएपछि उनले यही बाजा बेलायत पुर्यामउने निर्णय गरे। स्वदेशभित्रै नौमती बाजाको घन्काइ मलीन हुँदै गएका बेला थापाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने सोच बनाएका थिए, त्यो पनि बेलायतमा। उनको सपना पूरा भयो, सन् २००९ मा। अहिले उनको समूहसँग नर्सिम्हा र करनाल ४ थान, झुर्मा र झ्याली २, सहनाई ४, दमाहा र नगरा २, ट्याम्को २ र ढोलक २ थान छन्। 'आफ्नोपन झल्किने केही त गर्नुपर्छ भन्ने सोचेर नौमती बाजा ल्याएको हुँ,' थापाले भने, 'अहिले यही बाजाले यहाँ नेपालको परिचय दिएको छ।' बाजा भिœयाए पनि बजाउने कोही नहुँदा सुरुका दिनमा उनलाई निकै अप्ठेरो परेको थियो। उनले नेपालबाट लगेका बाजा वाद्यवादक नपाएर थुप्रै दिन कोठामा थुप्रेर बसे। 'कोठामा थुपार्न मात्र बाजा ल्याएको' भनेर धेरैले उनलाई खिस्याए पनि। तर, उनी चित्त दुखाउँदै हतोत्साही भएर बसेनन्। 'त्यतिबेला सिक्न आऊ भन्दा पनि कोही आउँदैनथे,' थापाले सुरुका दिन सम्झे, 'पछि बेलायती सेनाबाट अवकाशप्राप्त केही साथी जम्मा गरेर सिकाउन थालेँ।' अहिले पनि उनको समूहमा बाजा बजाउने धेरै पूर्व गोर्खा सैनिक नै छन्। 'मैले सबै खालका नौमती बाजा बजाउन जानेकाले सिकाउन सजिलो भयो,' उनले भने। विवाहमा बजाउँदा उनीहरू करिब चार/पाँच सय मिटर टाढैबाट जन्तीसँगै हिँडेर मण्डपसम्म पुग्छन्। यसको लागि महिना दिनअघि नै बाजा बजाउने ठाउँ वरपरका घरमा 'हामी यसरी परम्परागत शैलीमा बाजागाजा बजाएर विवाह गर्दैछौं' भन्ने जानकारी दिनुपर्छ। सम्बन्धित आयोजकले यस्तो सूचना गराएपछि मात्र टोलै थर्किनेगरी नौमती बाजा बज्छ, बेलायतका सडकमा। बाजाको धुनले हुनुपर्छ सायद, कोलाहल मन नपराउने बेलायतबासी पनि धेरैजना यसमा रमाउन थालेका छन्। अहिलेसम्म कसैले यसविरुद्ध उजुरी नदिएको उनले सुनाए। 'बरु अनौठो मानेर उनीहरू सडकमै आउँछन्,' उनले भने, 'बजाएको हेर्छन्, सुन्छन्, कोही त नेपालीसँगै नाच्न थाल्छन्।' नेपालीको कार्यक्रममा मात्र होइन, थापाको समूहले बेलायतमा भएका केही अन्तर्राष्ट्रिय महोत्सवमा समेत यो बाजालाई परिचित गराइसकेको छ। सबभन्दा ठूलो भीड नौमतीले नै तान्ने गरेको थापाको अनुभव छ। 'नौमती सुनेपछि विदेशीहरू 'यो कस्तो बाजा हो, तिमीहरू कहाँबाट आएको' भनेर सोध्न आउँछन्,' उनले भने। अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भएपछि अचेल बेलायतमा रहेका गैरनेपाली समुदायबाट पनि नौमती बाजाको माग आउन थालेको छ। दक्षिण एसियाली राष्ट्र लगायत पश्चिमी राष्ट्रका समुदायले पनि नौमती बाजा बुकिङ गर्न थालेको थापा बताउँछन्। 'नेपालीमाझ बजाउँदा खुसी लाग्ने भैगो, तर विदेशीको कार्यक्रममा बजाउँदाको खुसी बताउनै नसक्ने खालको हुन्छ,' उनले भने। बेलायतका सहरमा नौमती बाजाको घन्काइ बढ्न थालेपछि त्यहाँका स्कुलले पनि आफ्ना विद्यार्थीलाई बाजा सिकाउन अनुरोध गर्न थालेका छन्। खासगरी लन्डन र फार्नबोरोका स्कुलले थापासँग सम्पर्क गरेका छन्। उनले सिकाउने सहमति जनाइसके। तर, नौमती बाजासम्बन्धी सैद्धान्तिक सामग्री नपाउँदा स्कुल छिर्ने आँट गरेका छैनन्। 'मैले अरूबाट बजाउँदा–बजाउँदै सिकेँ। अरूलाई त्यसैगरी सिकाएँ। यहाँ विद्यार्थीलाई सिकाउन सैद्धान्तिक सामग्री (नोटेसन) चाहिन्छ, जुन मैले नेपाल गएर खोज्दा पनि भेट्न सकिनँ,' थापाले भने।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger