भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गोपाल दाहाल
२ भदौ, धरान । देशमा बढेका बलात्कार र महिला हिंसा रोक्ने, चुनावमा मतदाताको सुरक्षा गर्ने र समग्रमा देशै सुरक्षित पार्ने हाँक दिँदै धरानबाट एमालेको नयाँ लडाकु शक्तिका रुपमा ‘महिला युथ फोर्स’को जन्म गराएको छ । तर, विडम्बना ! यसको जन्म नै त्रासमय वातावरणमा भएको छ ।
पचहत्तर जना सदस्य रहेको महिला युथ फोर्सको अध्यक्षमा नाम घोषणा हुनेवित्तिकै युवा संघकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी निरु पालले महिलाहरुमाथि बलात्कार र लैङगिक हिंसा बढेकाले पुरुषहरुसँग पनि भिड्न महिला फोर्स आवश्यक रहेको भन्दै जस्तोसुकै परिस्थितिमा आफूहरु लड्न सक्ने भाषण गरिन् ।
एमाले केन्द्रीय उपाध्यक्ष विद्या भण्डारी र सचिव शंकर पोख्रेलदेखि युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतसम्मले चुनावका बेला वा अन्य बेला पनि आवश्यक परे सुरक्षाका लागि जस्तोसुकै शक्तिसँग लड्न महिला फोर्स सक्षम रहेको दाबी गरे । तर, मञ्चमा अरुको सुरक्षा गर्ने चर्का भाषण चलिरहँदा हलमा उपस्थितहरुको मानसिकतामा चाहिँ असुरक्षा झल्किरहेको थियो ।कार्यक्रममा सहभागीहरु पनि त्रासमै देखिन्थे । त्रासकै कारण दुई दिनसम्म चल्ने भनेर पोस्टर एवं ब्यानरमा लेखिए पनि भेला हतार-हतार एकैदिनमा सकियो ।
आफ्नै छायाँबाट थर्थर
कार्यक्रम आयोजना गरिएको धरान नगरपालिकाको सभागृहको बाहिरी भित्री कुना र ढोकादेखि सडकसम्म प्रहरी र युवाहरुले सुरक्षा दिइरहेका थिए । मानौं कसैले आक्रमण गरिहाल्छ जस्तो गरी पर्शुराम बस्नेत, ज्ञानदीप लिम्बुजस्ता युवाहरु मञ्चको सुरक्षाका लागि सक्रियतापूर्वक खटिरहेका थिए । तर, उनीहरुलाई अरु बाहिरी शक्तिको होइन, आफ्नै संघको, आफ्नै पार्टीका साथीहरुको डर थियो ।
दुई पक्षीय तनावका कारण धरानमा झडप हुने त्रासले बाक्लो रुपमा प्रहरी खटाइएको थियो । त्यति हुँदाहुँदै पनि सभागृहमा टाँगिएको तुल र ब्यानर संस्थापन पक्षका युवाहरुले च्यातिदिएका थिए । धरान बजारमा मोटरसाइकलमा युवाहरु हुलका हुल यताउता दौडिँदा धरानवासीलाई ठूलो काटमार हुने हो कि भन्ने चिन्ता बढेको थियो । धन्न कुनै दुर्घटना भने हुन पाएन ।
एमाले स्रोतका अनुसार केपी ओली पक्षका युवाहरु सभागृहमा सुरक्षामा व्यस्त रहँदा संस्थापन अर्थात् झलनाथ खनाल पक्षका युवाहरु भने हुल बाँधिएर धरान-१६ तिर मोटरसाईकलमा दौडिँदै थिए । महेश बस्नेत पक्षको कार्यक्रम बिथोल्ने तयारीमा लागेका ती युवालाई पार्टीका जिम्मेवार नेताले आफ्नै संगठनको कार्यक्रममा त्यसो गर्दा नकारात्मक सन्देश जाने भन्दै रोकेका थिए ।
स्थानीय पार्टीको बहिस्करण
कुल ६१ जिल्लाबाट ४ सय ११ जना महिला युवा प्रतिनिधिहरु सहभागी भएको भेलामा सुनसरीको युवा संघको जिल्ला कमिटी, माउ पार्टी एमालेको सुनसरी जिल्ला कमिटीसँगै सुनसरी १ नम्बर क्षेत्रीय कमिटी र धरान नगर कमिटिले भने आधिकारीकरुपमा सहभागिता जनाएनन् । तर, ओली पक्षधर स्थानीय नेताहरु भने भेलामा उपस्थित भए ।
युवा संघको सुनसरी जिल्ला कमिटीले व्यावस्थापनको जिम्मा नलिएपछि कोशी अञ्चल कमिटीले भेलाको व्यवस्थापन गरेको थियो । पार्टी अध्यक्ष झलनाथ खनालले निर्देशन दिएको भन्दै एमाले सुनसरी जिल्ला कमिटी र युवा संघ सुनसरीले भेला नै आयोजना गर्न नदिने तयारी गरेको थियो ।
केन्द्रमै पुग्यो लफडा
युवा संघका अध्यक्ष बस्नेत र उपाध्यक्षका झपट रावलका समुहले एउटै मितिमा फरक-फरक कार्यक्रम घोषणा गरेपछि एमालेमा यसको असर परेको हो । झलनाथ खनाल, माधव नेपालहरुले कार्यक्रम नगर्न लिखित निर्देशन दिएको कार्यक्रमको उदघाटन गर्न विद्या भण्डारी, शंकर पोखरेललगायतका नेता धरान पुगेपछि यसले पार्टी केन्द्रमा समेत तनाव उत्पन्न भएको छ ।
बिराटनगरमा ‘किसान युथ फोर्स’
शनिबार धरानमा केपी ओली पक्षका युवाले महिला युथ फोर्स गठन गरेलगत्तै आइतबार विराटनगरमा एमाले नेता गोकर्ण विष्टले युवा किसान संघ घोषणा गरेका छन् । संस्थापन पक्षका भनेर चिनिने विष्टले घोषणा गरेको युवा किसान संघले बस्नेतको युवा संघ र युथ फोर्सलाई काउण्टर दिने स्रोतको दाबी छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.