भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कायरो – इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सी समर्थकको प्रदर्शनमा सेनाले गोली प्रहार गर्दा शनिबार एक सय २० जना मारिएका छन्। मध्यपूर्वको टेलिभिजन च्यानल अल–जजिराले ४५ सय प्रदर्शनकारी घाइते भएको जनाएको छ। इजिप्टको राजधानी कायरोमा एक सातायता मुर्सीको पुर्नस्थापनाको माग गर्दै धर्नामा बसेका मुर्सी समर्थकले शनिबार सवेरै प्रार्थना गरिरहेका बेला सेनाले प्रदर्शनकारीलाई ताकेर गोली हानेको बताएका छन्। इजिप्टका सेना प्रमुख अब्दुल फतेह अल–सिसीले सैनिक कारबाहीको समर्थनमा उत्रिन सर्वसाधारणसँग आग्रह गरेपछि मुर्सीविरोधी समेत सडकमा उत्रिएका छन्। मुर्सी समर्थक र विरोधीबीच इजिप्टका विभिन्न सहरमा भिडन्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मुर्सी समर्थक इजिप्टको राजधानी कायरोस्थित एउटा मस्जिदमा शान्तिपूर्ण धर्नामा बसेका बेला प्रदर्शनकारीमाथि गोली प्रहार गरेको आरोप मुस्लिम ब्रदरहुडले सेनामाथि लगाएको छ। घटनास्थलमा बनाइएको अस्थायी अस्पतालमा घाइतेको उपचार भइरहेको छ। ताजा भिडन्त सुरक्षा निकायले धर्नामा बसेका प्रदर्शनकारीलाई धर्नास्थलबाट हटाउँदा भएको हो वा अरु नै कारणबाट भएको हो, अझै स्पष्ट नभएको सञ्चारमाध्यमले जनाएका छन्। बेलायती सञ्चारमाध्यम बिबिसीले घटनास्थलमा स्वचालित बन्दूक चलेको आवाज आइरहेको र घटनास्थलमा ठूलो मात्रामा अस्रु ग्यासको प्रयोग गरिएको जनाएको छ। मुुर्सी समर्थक मुस्लिम ब्रदरहुडका प्रवक्ता जेहाद अल–हड्डाडले सेना प्रदर्शनकारीलाई घाइते बनाउन नभएर हत्या गर्न गोली हानिरहेको रोयटर्स समाचार एजेन्सीलाई बताए। अलेक्जान्ड्रियामा भिडन्त इजिप्टको बन्दरगाह सहर अलेक्जान्ड्रियालगायत अन्य सहरमा समेत मुर्सी समर्थक र विरोधीबीच भिडन्त भएका छन्। अलेक्जान्ड्रियामा भएको भिडन्तमा कम्तिमा १० जना मारिएको सञ्चारमाध्यमले जनाएका छन्। घटनापछि कायरोको रब्बा अल अदाविया मस्जिद वरिपरिका सडक रक्तमुछेल देखिएको बिबिसीले उल्लेख गरेको छ। गृहमन्त्री मोहम्मद इब्राहिमले स्थानीय बासिन्दाले सैनिक छाउनीमा मुुर्सी समर्थकविरुद्ध गुनासो गरेको शनिबार बताए। इब्राहिमले एक महिनायता मुर्सी समर्थकद्वारा जारी धर्ना कानुनी तवरबाटै छिट्टै समाप्त गरिने बताए। आम चुनावबाट निर्वाचित इजिप्टका पहिलो राष्ट्रपति मोहम्मद मुर्सीलाई सेनाले असार १९ गते अपदस्थ गरेको थियो। त्यसयता मुर्सीको समर्थनमा भएका विरोध प्रदर्शनमा दर्जनौं मारिएका छन्। मुर्सीसँग सोधपुछ मुर्सीसँग सोधपुछ गरिने भएको छ। एउटा न्यायीक आदेशअनुसार मुर्सीसँग १५ दिन सोधपुछ गरिनेछ। अपदस्थ भएयता न्यायालयमा मुर्सीले पहिलोपल्ट बयान दिनेछन्। नजरबन्दमा राखिएका मुर्सीलाई हिरासतमा राखिएको छ। उनलाई पूर्वसैनिक शासक होस्नि मुबारक राखिएको जेलमा नै राखिने भएको सञ्चारमाध्यमले जनाएका छन्। मुर्सीविरुद्ध प्यालेस्टिनी लडाकू संगठन हमाससँग मिलेर षड्यन्त्र गरेको आरोप सरकारले लगाएको छ। प्यालेस्टाइनको गाजा क्षेत्रमा हमासको शासन छ र इजिप्टको मुस्लिम ब्रदरहुडसँग गहिरो सम्बन्ध छ। सरकारले मुर्सीमाथि सन् २०११ मा इजिप्टमा जेलमा आक्रमण गर्ने षड्यन्त्र गरेको आरोप लगाएको छ। सन् २०११ जनवरीमा कायरोस्थित जेलमा भएको आक्रमणमा मुर्सीसहित ब्रदरहुडमा कैयौं नेतालाई भगाइएको थियो। त्यही जेल आक्रमणपछि नै तत्कालिन राष्ट्रपति मुबारक सत्ताच्युत भएका थिए। हत्याको अन्तर्राष्ट्रिय विरोध कायरोमा शनिबार अपदस्थ राष्ट्रपति मुर्सी समर्थक र विरोधी तथा सैनिकबीच भएको भिडन्तमा दर्जनौंको हत्याको अन्तर्राष्ट्रिय समुदायले भर्त्सना गरेको छ। विरोध प्रदर्शनमा भएको दमनको संयुक्त राष्ट्र संघले निन्दा गरेको छ। राष्ट्र संघले शान्तिपूर्ण प्रदर्शनमा अमानवीय दमन गर्नु निन्दनीय भएको बताएको छ। बेलायतका विदेशमन्त्री विलियम हेगले शनिबार विज्ञप्ति मार्फत अहिले पनि नागरिक हत्या गरेर समस्याको समाधान खोज्नु निरर्थक भएको उल्लेख गरेका छन्। विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका सर्वसाधारणको अधिकारको सम्मान गर्न र हिरासतमा राखिएका अपदस्थ राष्ट्रपति मुर्सीलाई अकारण हिरासतमा नराख्न आग्रह गरेको उल्लेख छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.