Widgets

Home » » दुइटा बाघ र बुच लामा

दुइटा बाघ र बुच लामा

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बाघ र मान्छेको मन कति मिल्छ ? बुच लामालाई थाहा छैन । फिल्म लाइफ अफ पाईमा देखाइएको छ, बाघमा देखिने मानिसप्रतिको कोमलता मानिसको आफ्नै कोमलताको प्रतिविम्ब हो । ४५ वर्षे जीवनमा लामाले पछिल्लो २२ वर्ष अधिकांश समय बाघकै वरपर बिताए । संशयसहित उनी लाइफ अफ पाईकै तर्कमा सहमत छन् । एक जोडी बाघ, चार्जर र सीतालाई भने सबैभन्दा नजिकबाट उनैले चिने । र, त्यही जोडी बाघलाई नै विश्वले सबैभन्दा राम्ररी चिन्यो । यो जोडीको जति फोटो र भिडियो खिचियो त्यति कुनै बाघमात्र होइन सायद अहिलेसम्म कुनै एउटै जनावरको पनि खिचिएको छैन । सीताको तस्बिर त सन् १९९७ डिसेम्बरमा नेसनल जोग्राफिक म्यागेजिनले आफ्नो आवरणमा नै छाप्यो । बीबीसीले वृत्तचित्र बनायो । उता बुचको परिचय चार्जर र सीताजत्तिकै रातारात बदलियो, वाइल्ड लाइफ गाइड र वाइल्ड लाइफ फोटोग्राफरका रूपमा । सन् ८० को दशकतिर काठमाडौंमा पर्यटन व्यवसायमा जमेको एउटा परिवारका छोरा हुन् बुच । उनका बाबु नेपालको पहिलो 'द रोयल होटल' खोल्ने रसियन नागरिक बोरिस लिसानिभिचसँगै कोलकाताबाट नेपाल छिरेका थिए । उनको टाइगर टप्समा केही लगानीदेखि त्रिशूलीमा र्‍याफ्टिङको व्यवसाय थियो । उनी चाहन्थे छोराले छिट्टै एसएलसी सकोस् अनि तिनै व्यवसायमा हात हालोस् । बुचले न त कहिल्यै एसएलसी सके न त बुवाको इच्छाबमोजिम पुस्तौनी काममा नै जमे । उनको संगत नै त्यस्तै थियो, प्रहरीको वान्टेडमा परेका, भर्खर जेलबाट छुटेका, न्युरोडका नामुद डनजस्तासँग । 'हाम्रो संगतमा परेपछि पढ्ने मान्छे पनि बिगि्रन्थ्यो,' झन्डै एक महिनाअघिको एक साँझ न्युरोडमा उनी आफ्नो बाल्यकाल सम्भिmरहेका थिए, 'सहपाठी पिट्नु त हाम्रो लागि कुनै नौलो काम थिएन, शिक्षकसमेत छाड्दैनथ्यौं ।' कक्षा ५ पछि उनी झन्डै आधा दर्जन स्कुलमा भर्ना भए तर कतै एक वर्ष पूरा काटेनन् । सन् ८० को दशकको अन्त्यतिर उनले दृष्टि साप्ताहिकमा समेत एक वर्ष काम गरेका छन्, कम्पोजरका रूपमा । व्यापारिक परिवारमा छोराले गरेको त्यो काम झन् सह्य भएन र उनलाई सजायस्वरूप भारत मध्यप्रदेशको बान्धवगढ राष्ट्रिय निकुञ्ज पठाइयो । नेपालको एक राणा परिवारको त्यता रहेको सम्बन्धले बुवामार्फत् उनलाई त्यहाँ पुर्‍यायो । १ वर्ष अघिमात्र त्यहाँ पुगेका चन्द्रशमशेरका पनाति नन्द राणाका साहकर्मी भए उनी । सन् ९० को दशकको सुरुवाती समय । अहिले हवाइजहाजबाट उत्रेको ३ घन्टामा पुगिने त्यस ठाउँ त्यस बेला निकै विकट लाग्थ्यो, दिल्लीबाट पुग्न मात्र ३६ घन्टा लाग्ने । आदिवासीको बाहुल्य भएको त्यस्तो ठाउँमा १२ टेन्ट र एक लजमा उनीहरू रिसोर्ट चलाउँथे । त्यही ठाउँमा अहिले ताज, ओबेरायजस्ता भारतका चर्चित होटलले आफ्नो शाखा खोलेका छन् । एक दिन कामकै क्रममा बुच र नन्द दिल्ली पुग्दा उनीहरूको भेट नेसनल जोग्राफिकका रिपोर्टर निक निकोल्ससँग भयो । नेसनल जोग्राफिकका लागि बाघबारे स्टोरी गर्ने उद्देश्यसाथ हिँडेका निकोल्स कतै चित्तबुझ्दो परिवेश नभेटेपछि विरक्तिएर अमेरिका र्फकन लागेका थिए । उनको योजना सुनेपछि उनीहरूले एकपटक बान्धवगढ जान सुझाए । निकोल्स जब त्यहाँ पुगे चार्जर र सीताको सहवासको दृश्य देखियो जुन झन्डै २ हप्तासम्म चलेको थियो । उनमा त्यसैले एउटा गुड इम्प्रेसन बनायो । निकोल्सले निधो गरे आफूले खोजेको कथा त्यहीं छ । खास नेसनल जोग्राफिकले सन् १९९७ को अन्तिमतिरका लागि बाघको कथा खोजिराखेको थियो । त्यही समय किनभने, एकातर्फ चीनबाट बाघ लोप भइरहेको कथालाई सम्बोधन गर्नु थियो र सन् १९९७ डिसेम्बरबाट चिनियाँ क्यालेन्डरमा बाघ वर्ष सुरु हुँदै थियो । उक्त जोडी बाघले भर्खर सहवास गर्दै गरेकोले पनि त्यसपछिका विकासक्रम पछ्याउन त्यो निकै ठीक समय थियो । अनि सुरु भयो, लाखौं डलर लगानी भएको काम । उक्त काम कतिसम्म महत्त्वसाथ गरिएको थियो भने अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले सिधै भारतीय राष्ट्रपतिलाई पत्राचार गरेर उक्त कामका लागि हदैसम्मको सहयोग गर्न आग्रह गरेका थिए । त्यसबेला बान्धवगढमा अरूले नपाउने पैदल यात्राको सुविधा त्यही पत्राचारको कारण पाएका थिए उनीहरूले । काम थालेको ३ वर्षपछि उक्त आवरण प्रकाशित भयो । कारण, एउटा बाघको बच्चाले जन्मिएको २ वर्षभित्र सिकार खेल्नेदेखि लिएर जिउन आवश्यक पर्ने सबै कुरा आफ्नी आमाबाट सिक्छ । निकै आकर्षक र सुविधासम्पन्न काम भईकन पनि बाघसँग नजिकिएर गर्ने उक्त काम सहज भने थिएन । बुचले सुनेका त थिए मानिसले हमला नगरेसम्म बाघले हमला गर्दैन । सुनेको आफैंले नझेलेसम्म सधैं सही लाग्दैन । बुचमा पनि कताकता त्यही भाव थियो । तर उनले बान्धवगढमा भेटेका थुप्रै बूढा आदिवासीले बाघ अहिलेसम्म नदेखेको सुन्दा त्यो बुझाइमा विश्वास पनि लाग्दो रहेछ । उनी भन्छन्, 'अहिले बाघले मानिसलाई हमला गर्ने भनेको जंगल अतिक्रमण भएर आएको बाध्यात्मक अवस्था हो ।' उनीहरूले त्यस बेला बाघको आवतजावत हुने जंगलका विभिन्न कुनामा क्यामेरा फिट गर्नेदेखि लिएर हात्ती/गाडी सबै शैली अपनाएका थिए । निकोन र क्यानन कम्पनीका वरिष्ठ प्राविधिकहरू तस्बिर एवं भिडियोको गुणस्तर जाँच्न त्यसबीचमा एकपटक आएका थिए । नेसनल जोग्राफिकले एउटै अंकमा एकै विषयबारे २ वटा आर्टिकल प्रकाशित गरेको उक्त अंक उसका निकै विशेष अंकमध्ये गनिन्छ । ४० पेजको उक्त सामग्रीमा २० पेज सीता, चार्जर उसका बच्चाबच्ची र बान्धवगढमा रहेको बाघको वासस्थानमा केन्दि्रत थियो भने अर्को २० पेज बाघका समस्यामा । सीता र चार्जर दुवै अहिले यो संसारमा छैनन् । सीताले सन् १९९८ मै भने चार्जर २००१ यो संसार छाडे । तर सीताले आफ्ना बच्चा हुर्काएको, सिकार खेल्न सिकाएको लगायतका नजिकबाट खिचिएका दृश्यका तस्बिर एवं भिडियोले उनीहरू धेरैका मनमा बस्न सफल छन् । बाघको स्वभाव कस्तो हुन्छ भने भालेले सम्भोगबाहेक बच्चा हुर्काउनमा योगदान दिँंदैन । त्यसपछिको सम्पूर्ण काम पोथी बाघको हुन्छ । एउटा भाले बाघको श्रीमती नै ३/४ वटा हुन सक्छन् । र, ती सबै बस्ने च्याम्बर वरपर उसले निरन्तर गस्ती गर्छ । पोथी-पोथीको पनि इलाका हुन्छन् तर भालेको भन्दा स-साना । आफ्नो च्याम्बरमा अर्को भालेलाई प्रवेश गर्न नदिनु भालेको मुख्य जिम्मेवारी हो । 'आफ्नो इलाकाको जनाउ दिन भालेले कतै रूख त कतै भुइँ कोतरेर वा कतै पिसाब फेरेर संकेत दिन्छ,' बुच सुनाउँछन्, 'त्यसका बाबजुद अर्को भाले आफ्नो इलाकामा भेटियो भने उसले आफ्नै बच्चालाई मार्छ ।' भालेहरूबीच शक्ति प्रदर्शनको एउटा शैली के पनि हो भने उसले जति रूखको माथिसम्म कोतरेर आफ्नो इलाकाको संकेत गर्न सक्यो त्यति नै बलियो देखिन्छ । आफ्नो इलाका सुरक्षित गर्न एउटा बाघले एक रातमै ६० देखि ७० वर्गकिलोमिटर 'पेट्रोलिङ' गर्छ । बुच एक घटना सम्झन्छन्, जोग्राफिकको आवरणका लागि बच्चासहितको तस्बिरको खोजी गर्दाको । बच्चाका लागि आहारा खोज्न जाँदा पोथीले यति सुरक्षित ठाउँमा आफ्ना बच्चालाई लुकाएको हुन्छ कि त्यो पत्तो पाउन निकै मुस्किल हुन्छ । उनीहरू भने त्यही जान्न चाहन्थे । त्यहाँबाट पोथीले बच्चालाई निकालेको दृश्यहरू क्यामेरामा कैद गर्न चाहिरहेका थिए । १६ दिनको निरन्तर खोजपछि सीताले बच्चा लुकाएको एउटा निकै साँघुरो गुफा भेटियो । बुच सम्झन्छन्, 'भित्रबाट भ्यागुता कराइरहेको जस्तो आवाज आइराखेको थियो । वरपर बाघको पञ्जा हेर्दा त्यहीं बच्चा लुकाइएको छ भन्ने लगभग निश्चित भइसकेको थियो । उनीहरूले त्यस वरपर इन्प|mारेड क्यामेरा फिट गरेर छाडेका थिए । जब सीता आई, उसले त्यहाँ मानिस आएको गन्धले थाहा पाइछ । त्यही रिसले उसले त्यहाँ १२ देखि १५ फिट माथिसम्म सेट गरिएका क्यामेराहरू फोरिदिई पनि र बच्चालाई लिएर अन्तै लागी । त्यस्ता थुप्रै घटना छन् उनको स्मृतिमा । उनीहरूका लागि ती नौला लागे तापनि असली बाघका स्वभाव हुन् ती । अहिले बुच वर्षमा आधाजसो समय बान्धवगढमा बिताउँछन् भने बाँकी समय नेपाल अमेरिका र विभिन्न देशमा । बान्धवगढमा अहिले रहेका ५० जति बाघमध्ये ३० भन्दा बढीलाई उनले नजिकबाट चिनेका छन्, उनीहरूको आवतजावत बुझेका छन् । सायद त्यही उनको गुण कारण हो उनलाई गाइड बनाएर बान्धवगढमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसमेत घुमेका छन् । आफूले घुमाएका विश्वका कति प्रतिष्ठित व्यक्तिलाई त उनले पछि मात्र चिन्दा रहेछन् । त्यस्तै २००१ तिरको एक घटना हो, बेलायती विदेशमन्त्री रविन कुक आएर बुचसँगै बान्धवगढमा बाघ हेरेर गए । पछि र्फकंदा कुकलाई सबैले गरेको स्वागत र त्यहाँ उपलब्ध सुरक्षा देखेपछि मात्रै मन्त्री भएको उनले थाहा पाए । उनले एकजना घुमाएबापत दिनकै ३ सय अमेरिकी डलरसम्म लिन्छन् । तर बुचको तर्क छ, 'यो मानिसको सोख र लगावले गर्ने काम हो । पैसालाई केन्द्रमा राखियो भने यसमा जम्नै सकिँंदैन ।' पैसा नै कमाउन खोज्ने हो भने कहिलेकाहीं बाघको नजिकै पुर्‍याइदिन्छु भन्दा पारखीहरू जति पनि खर्च गर्न तयार हुन्छन् । त्यही सिद्धान्तमा उनी अहिलेसम्म चलेका छन् । एकपटकमा २ जनाभन्दा बढीलाई घुमाउँदैनन् । र, दिनमा २ पटकभन्दा बढी घुम्न जाँदैनन् पनि । भन्छन्, 'एउटा नआए अर्को आउँछ, कोही नआए म एक्लैसमेत घुम्न जान्छु । र, त्यसमा पनि मलाई उत्तिकै आनन्द आउँछ ।' उनको हरेक ग्राहकले दिने ३ सयमध्ये १ सय डलर त नेपालमा विश्व वन्यजन्तु कोषमार्फत हिउँचितुवा संरक्षण अभियानमा जान्छ । पछिल्लो समय उनी बाघसँगै चरा अवलोकनमा समेत पुग्छन्/पुर्‍याउँछन् । यो वर्ष उनी पोलार बियरको अध्ययन टोलीसाथ अन्टार्टिका पुग्दै छन् । डार्बिनले अध्ययन गरेको इक्वेडरको गालापेगोस आइल्यान्ड र क्यानाडाको मन्टोवा टापु पनि जाँदै छन् । श्रीमती सुसी एलिसन लामा भए पनि उनको टिमवर्क झनै मिलेको छ । भन्छन्, 'बुद्धि उसको हो, फिल्डको काम मेरो ।' पछिल्लो समय उनी आफैं तस्बिर खिच्छन् । अरूलाई बाघको तस्बिर खिच्न सघाउँछन् । त्यही उनको खुबी अहिले विश्वका चर्चित ट्राभल एजेन्टमाझ लोकपि्रय बनेको छ । सन् २००९ मा अमेरिकाको आउटडोर फोटोग्राफर म्यागेजिनका लागि 'द क्वेस्ट फर टाइगर्स' शीर्षकमा उनको तस्बिर र श्रीमती लामासँगको सहलेखनले उनको चर्चा झन् चुलाएको छ । ट्राभल एड्भाइजरहरूमा बाघको तस्बिर र लामा पर्यायजसरी देखिन्छन् । तर ती तस्बिरसँग उनको त्यतिधेरै महत्त्वाकांक्षा जोडिएको छैन । उनको निजी वेबसाइट 'बुचलामाडटकम' मा अर्काइभ छन् ती । भन्छन्, 'मन पर्नेहरू आफैं किन्न खोज्छन् तर म बेच्न मरिहत्ते गर्दिनँ ।' बाघमा रुचि राख्ने विश्वका धेरै नामूद फोटोग्राफरले उनीसँग डुलेर फोटो खिचेका छन् । काठमाडौंमा पंक्तिकारसँग भेटिरहँदा बुचसँग बाल्यकालका साथीहरू थिए । उनीहरू त्यही पुराना दिन सम्झँदै रमाइरहेका थिए । बुचमा न घमण्डीपन थियो, न जीवनप्रति हतारो न पछुतो नै । उनले फेसबुक र इमेल आफैंले नखोलेको नै ३ महिना नाघिसकेको रहेछ । भन्दै थिए, 'तर मसँग सम्पर्क गर्न खोज्नेहरू केही घन्टामै मेरो प्रतिक्रिया पाउँछन् ।' किनकि ती सबै काम श्रीमतीले हेर्दिरहिछन् । बुचमा एउटै पछुतो छ, 'म भारत छिरेको ३ वर्षमै बुवा बितेका कारण, म पनि कसैलाई काम लाग्न सक्ने मान्छे बनें भन्ने बुवाले देख्न पाउनुभएन ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger