भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, असार २९ - रोमाञ्चक र प्रतिस्पर्धात्मक २ घन्टा २० मिनेट चलेको ५ सेटको खेलमा अफगानिस्तानलाई निराश पार्दै नेपालले शुक्रबार पहिलो दक्षिण एसियाली आमन्त्रित पुरुष च्याम्पियनसिप भलिबलमा सफल सुरुआत गरेको छ । अफगानिस्तानका फरहादको स्पाइकले नेट पार गर्न नसकेपछि नेपालले म्याच प्वाइन्ट जोड्दै १५-८ ले सेट आफ्नो पक्षमा पार्यो । योसँगै नेपालले खेल ३-२ ले जित्यो । नेपालले २०१० मा बंगलादेशको ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदमा बंगलादेशलाई हराएयता पहिलो जित आत्मसात् गरेको हो । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि त्यसयता पहिलोपल्ट खेलेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा करिब ४ हजार घरेलु दर्शकसामु टिमले निकालेको जितले नेपाल भलिबल संघले लामो समयदेखि प्रतियोगिताका लागि गरेको गृहकार्यलाई सुनमा सुगन्ध थप्ने काम गरिदियो । पहिलोपल्ट अफगानिस्तानसँग खेल्दा कैलाशदत्त भट्टले औपचारिक रूपमा कप्तानीको जिम्मेवारी सम्हाले । नेपालमा पहिलोपल्ट संघले गरेको प्रतियोगितामा चार खेलाडीले डेब्यु गर्ने अवसर पाए । त्यसमा लिबरो पुष्पजंग मल्ल र स्पाइकरद्वय महेन्द्र श्रेष्ठ र कुलबहादुर थापा सुरुआती लाइन-अपमै अटाए । अर्का खेलाडी राजकुमार थापाले भने चौथो सेटको अन्त्यमा राष्ट्रिय टिमबाट डेब्यु गर्ने मौका पाएका थिए । नेपालले पहिले खाता खोले पनि त्यसलाई निरन्तरता दिन सकेन । रिसिभ नपुग्नु तथा पहिलोपल्ट अन्तर्राष्ट्रिय अनुभव बटुल्न म्याटमा उत्रेका पुष्पजंग, कुलबहादुरजस्ता खेलाडी जम्प गर्न नसक्नु पहिलो सेट २५-२२ ले गुमाउनुको कारण थियो । 'पहिले सोचेको जस्तै अनुभवले खेलको सुरुआतमा मुख्य भूमिका खेल्यो,' नेपाली टिमका मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले भने,'साथमा रिसिभ पनि कमजोर थियो ।' नेपालले दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-१८ ले जित्यो । सबैभन्दा लामो समय ३० मिनेट चलेको चौथो सेटको अन्त्यतिर कुलबहादुरले लगातार ५ गल्ती गरेपछि ५-१० को अन्तरलाई उल्टाउँदै अफगानिस्तानले २६-२४ ले बाजी मार्यो । 'खेल ३-० ले जित्नुपर्ने थियो,' प्रशिक्षक श्रेष्ठले भने,'कम अनुभव चौथो सेटमा पनि देखा पर्यो । टिमकै राम्रा खेलाडी कुलबहादुर हुन्, उनैले गल्ती गरे के गर्ने ।' नेपाली कप्तान भट्टले सहजै जित्ने अनुमान पूरा नहुनुको कारण रिसिभमा कमजोरी हुनु आंैल्याए । उनले भने,'त्यसले गर्दा स्पाइकरले बल पाएनन् ।' नेपाली टिमको स्पाइक, लिफ्टर इम रानाको प्रदर्शन प्रशंसायोग्य थियो । इमले स्पाइकरलाई बल उपलब्ध गराउनुका साथै बेलाबेलामा विपक्षी कोर्टमा खाली ठाउँमा भर्ने काम पनि गरे । 'म्यान अफ द म्याच' सञ्जय अर्यालको क्विक शटले नेपाललाई दोस्रो सेटदेखि गति लिने अवसर मिलेको थियो । 'नेपाली टिमको प्रदर्शन निकै राम्रो रह्यो,' अफगानिस्तानका प्रशिक्षक स्टिपकोभ मारियोले भने,'उनीहरूलाई दर्शकले साथ दिए । हाम्रो प्लान आधामात्र चल्न पायो । सुरुमा गति लिएर पनि त्यसलाई निरन्तरता दिन सकेनौं ।' आफ्ना खेलाडीलाई सब्स्िटच्युट गरिरहने, टेक्निकल टाइम-आउटबाहेक पाइने दुवै टाइम आउट लिंदै विपक्षीको गतिलाई ब्रेक गर्ने जस्ता मारियोको रणनीति अन्त्यमा सफल भएन । अफगानिस्तानका मुख्य स्पाइकर तथा कप्तान अहमद सेयर थाक्नु पनि नेपाललाई सफलता हात पार्न सहज बन्यो । टिमका हौसला बढाउन आएका दर्शक निराश हुँदै घर र्फकनुपरेको थियो । कभर्डहलमा ४ हजार दर्शकको मात्र क्षमता भएकाले त्यस्तो समस्या भएको हो । त्यसका बाबजुत नेपाल भलिबल संघका अनुसार पहिलो दिनको टिकटबाट ८५ हजार ७ सय रुपैयाँ उठेको छ । प्रतियोगिताको अर्को खेलमा उपाधिको दाबेदार श्रीलंकाले माल्दिभ्समाथि २५-१६, २३-२५, २५-२३ र २५-१९ को जित निकाल्यो । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा नेपाल २, श्रीलंका ३ र अफगानिस्तान एक अंक बटुल्न सफल भएका छन् । श्रीलंकालाई कडा टक्कर दिने नेपाली टिमका मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले श्रीलंकालाई कडा टक्कर दिने बताएका छन् । स्पाइक, जम्प र ब्लकमा श्रीलंका तथ्यांकमा अघि रहे पनि उनले भारतको कोलकातामा तेस्रो दक्षिण एसियाली खेलकुदमा निकालेको जस्तै नतिजाको पखाईमा रहेको बताए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.