भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, जेष्ठ ६ - अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि स्थानीय तहमै आर्थिक संकलन तीव्र बनाएको छ । त्यसका लागि क्याम्पस छेउका पसल, कारखाना, व्यवसायी, शिक्षक, विद्यार्थीसित चन्दा उठाउन थालेको छ । स्वेच्छिक सहयोग भने पनि उनीहरूले जबर्जस्ती पैसा मागिरहेका छन् । क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले केन्द्रबाट क्याम्पसलाई एक रुपैयाँ पनि पैसा सहयोग नहुने भएकाले स्थानीय तहमै रकम संकलन गर्न निर्देशन दिएको बताए । 'केन्द्रले संगठनको सैद्धान्तिक सामग्री भएका पर्चा पम्प्लेट प्रकाशन तथा प्रचारका लागि रकम छुट्याउँछ । त्यसबाहेक क्याम्पसलाई रकम दिन सक्ने अवस्था छैन,' आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'आवश्यक बजेटको आकलन र संकलन स्थानीय तहमै हुनेछ । क्याम्पस छेउका व्यवसायी, शिक्षक, विद्यार्थी र साथीहरू आफैंले पनि संकलन गरेर खर्च टार्ने छन् ।' स्ववियु चुनाव सम्पन्न गर्न क्रान्तिकारीले १ हजार ९ सय २९ सदस्यीय समिति गठन गरेको छ । त्यसअन्तर्गत आर्थिक संकलन उपसमितिको संयोजक अध्यक्ष शर्मा आफैं छन् । प्रचारमा जागृत रायमाझी, स्वयंसेवक परिचालनमा रमेश मल्ल, वार्ता तथा तालमेल गर्न विन्दमान विष्ट खटिएका छन् । पैसा संकलन गर्न केन्द्रले क्याम्पस तहमा आधिकारिक लेटर प्याड र रसिद पठाएको छ । लाखौं खर्च हुने स्ववियु चुनावमा चन्दाबाट मात्रै पैसा जोहो हुने देखिँदैन । त्यसका लागि गोप्य रूपमा खटिएका पार्टीका नेताले पनि सघाएका छन् । विशेष गरी यसअघि एमाले अखिल र नेपाल विद्यार्थी संघले जितेका क्याम्पसलाई आफ्नो पक्षमा पार्न जति पनि खर्च गर्न क्रान्तिकारी तयार देखिएको छ । त्यही हिसाबमा एमाले अखिल र नेविसंघ पनि तयार भएका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले देशभरका १ सय १० क्याम्पसका संगठनका तर्फबाट सभापतिका उम्मेदवारहरू सार्वजनिक गरे । उपत्यकामा महत्त्वपूर्ण मानिएको केन्द्रीय क्याम्पस कीर्तिपुरमा मानुषी यमी भट्टराई, रत्नराज्यमा सुरेन्द्र बस्नेत, अमृत साइन्स -अस्कल) मा दिपेश पुन, महेन्द्ररत्नमा ध्रुवविक्रम वली, पशुपतिमा इन्द्र भुसाल, सरस्वतीमा गोविन्द कँडेल, पाटन संयुक्तमा हेम मोक्तानलाई क्रान्तिकारीले सभापति उम्मेद्वार बनाएको छ । त्यस्तै शंकरदेवमा राजेश्वरी सुवेदी, त्रिचन्द्रमा टेकेन्द्र जोशी र पद्मकन्यामा अनिता सापकोटा उम्मेद्वारमा चयन भएका छन् । उपत्यका बाहिरका महत्त्वपूर्ण र सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वी नारायण क्याम्पसमा गोविन्द केसी उम्मेदवार छन् । मानुषी एमाओवादीका उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी हुन् । उनी केन्द्रीय क्याम्पस स्ववियुकी सचिव छिन् । अस्कलका उम्मेदवार पुन भने एमाओवादी लडाकुका पूर्वप्रमुख नन्दकिशोर पुनका छोरा हुन् । 'संगठनमा भएको सक्रियता र योगदानलाई हेरेर उम्मेदवार छनोट गरिएको हो,' शर्माले भने, 'कुनै नेताका छोराछोरी भएका कारण उम्मेदवार बनाइएको होइन ।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.