भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं - विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा आइतबार एकै दिन करिब डेढ सय आरोहीले विजयी झन्डा फहराएका छन्। झन्डै दुई महिनादेखि शिखर पुग्न आधारशिविरमा बसिरहेका संसारका ६ सय ७० आरोही शनिबार मौसमले साथ दिएपछि चुचुरोतिर लागेका थिए। सगरमाथा शिखर पुग्नै बाँकी अझै पनि करिब ४ सय आरोही छन्। तीमध्ये कोही आधारशिविर, कोही पहिलो, दोस्रो, तेस्रो क्याम्प, साउथ कोलमा छन्। उनीहरू सोमबार शिखर पुग्ने तयारीमा छन्। सगरमाथा आरोहणका लागि यसपालि स्वदेश तथा विदेशका गरी ३१ दल गएका छन्। 'आइतबार १ सय ४१ आरोही सगरमाथा शिखर पुगेका छन्,' सगरमाथा आधारशिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत तथा सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठले आइतबार टेलिफोनमा नागरिकसँग भने, 'तीमध्ये कति नेपाली र कति विदेशी हुन् भन्ने विस्तृत विवरण आइपुगेको छैन।' उनले २९ विदेशी र ३५ नेपाली गरी ६४ आरोही शनिबार शिखर पुगेको जानकारी दिए। 'मौसमले साथ दिएका शनिबार मध्यरातबाट आरोहीहरू शिखरतिर लागेका थिए,' सन् २०११ मा निजामती कर्मचारी टोलीबाट सगरमाथाको सफल आरोहण गरेका श्रेष्ठले भने, 'अब एक साताभित्र अधिकांश शिखर पुग्नेछन्। आइतबार १ सय ४१ जना शिखर पुगे पनि एकै दिन धेरैजना पुगेको कीर्तिमान भने होइन।' उनका अनुसार आइतबार बिहान ७ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका थिए। सबैले दक्षिण–पूर्वी मोहोडा (नेपाली भेग) बाट आरोहण गरेका हुन्। शनिबारसम्ममा १ सय १३ जना चुचुरो पुगेका थिए। मौसम, प्राविधिक वा स्वास्थ्यका कारण केही आरोहीले आरोहण परित्याग गरिसकेका छन्। बाटो बनाएको दिन वैशाख २७ मा १२ शेर्पा र दुई आरोही शिखर पुगेका थिए। त्यस दिनबाट आरोही शिखर पुग्ने क्रम सुरु भएको हो। यसपालि वसन्त ऋतुमा जेठ ४ देखि ११ सम्मको दिनलाई चुचुरो पुग्ने उपयुक्त समय मानिएको छ। यही एक साताभित्र अधिकांश आरोही शिखर पुग्ने गरी तयारीमा लागेको श्रेष्ठले जानकारी दिए। 'सोमबार एक सयजति आरोही शिखर पुग्ने सम्भावना छ,' उनले भने। त्यसैगरी नेपाली मूलका क्यानडेली सुदर्शन गौतम सम्भवतः सोमबार शिखर पुग्ने श्रेष्ठले बताए। गौतमको दुवै हात छैनन्। उनी १४ वर्षको हुँदा दुर्घटनामा परेर दुइटै हात गुमाएका थिए। शनिबार शिखर पुगेकी साउदी अरबकी २५ वर्षीया राहा मोहर्रक उनको देशकै पहिलो महिला सगरमाथा आरोही बनेकी छन्। पर्यटन मन्त्रालयका अधिकृत तिलक पाण्डेले यसपालि सगरमाथा आरोहण सलामी दस्तुर (रोयल्टी) तिरेर गएका ३ सय ४० मध्ये २५ आरोहीको रोयल्टी सरकारले मिनाहा गरिदिएको जानकारी दिए। नेपाल तथा भारतका सेना सम्मिलित संयुक्त दलका २५ आरोहीलाई मन्त्रिपरिषदले हालै रोयल्टी मिनाहा गर्ने निर्णय गरेको थियो। यो दलका ११ जना आइतबार सफल भएको उनले बताए। उनका अनुसार आइतबार भारतका जुम्ल्याहा दिदीबहिनी २१ वर्षका नन्सी र तासी मलिक पनि चुचुरो पुगेका छन्। सरकारले सगरमाथा जाने एकजनालाई २५ हजार अमेरिकी डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर रोयल्टी लिन्छ। सातजना बराबर एक दल हुने र त्यसलाई ७० हजार डलर शुल्क लाग्छ। यसअघि बढीमा १० जनाको एक दल हुन्थ्यो। प्रत्येक थप आरोहीलाई १०–१० हजार डलर थप शुल्क लाग्छ। हाल एक दलमा बढीमा १५ जनासम्म बस्न मिल्छ। साधारण रुटबाहेक अन्य मार्गबाट सगरमाथा चढ्न सातजना बराबर ५० हजार डलर र प्रत्येक थप सदस्यलाई १० हजार डलर लाग्छ। अनुमति पाएको ७५ दिनभित्र आरोहण गरिसक्नुपर्छ। हिमालपिच्छे आरोहण अनुमति शुल्क फरक छ। फूर्वातासी २१ पटकको तयारीमा यसपालि नेपाली आरोही फूर्वातासी शेर्पा २१औं पटक शिखर पुग्ने तयारीमा रहेका छन्। उनी शिखरसम्म बाटो बनाउन जानेक्रममा गत वैशाख २७ गते २०औं पटक चुचुरो पुगेको सगरमाथा आधारशिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार फूर्वा फेरि शिखरतिर लागेका छन्। उनले एक साताभित्र शिखर पुगेर २१औं पटकको लक्ष्य पूरा गर्ने बताएका छन्। संसारमै सबैभन्दा धेरै २१ पटक सगरमाथा शिखर पुगेको कीर्तिमान नेपालकै आप्पा शेर्पाको नाममा छ। फूर्वाले यसपालि आप्पालाई भेट्ने सम्भावना छ। नेपाली अभिनेता सफल यसैबीच नेपाली चलचित्रका अभिनेता अर्जुन कार्की पनि आइतबार सगरमाथा शिखर पुगेका छन्। कार्की सेभेन समिट्स आरोहण दलको सहयोगीका रूपमा गएका थिए। एउटै दलमा सहयोगीकै रूपमा रहेकी अभिनेतृ निशा अधिकारी भने आइतबारसम्म तेस्रो क्याम्पमा पुगेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। निशा सोमबारसम्म शिखर पुग्ने श्रेष्ठले बताए। पहिले आरोही भनेर प्रचार गरेका अर्जुन र निशाले रोयल्टी नतिरेको सार्वजनिक भएपछि मात्र सहयोगीका रूपमा जान लागेको बताएका थिए। शिखरबाट लाइभ! सगरमाथा शिखरबाट बेलायती आरोही डेनियल ह्युग्सले आइतबार बिबिसी टेलिभिजनका लागि प्रत्यक्ष प्रसारण गरेका छन्। सगरमाथाबाट यस्ता गतिविधि गर्न नेपाल सरकारको अनुमति लिनुपर्छ। तर उनले बिनाअनुमति बिबिसीसँग प्रत्यक्ष कुराकानी गरेका थिए। यसबारेमा पर्यटन मन्त्रालयका अधिकारीहरू बेखबर भए पनि बिबिसी आफैंले डेनियलसँग प्रत्यक्ष कुराकानी गरेको भिडियो अनलाइन संस्करणमा राखेको छ। 'डेनियलले शिखरबाट प्रत्यक्ष प्रसारण गरेको अपुष्ट खबर आएको छ,' पर्यटन मन्त्रालयका अधिकृत तीलक पाण्डेले भने, 'खासमा के भएको हो, अझै पुष्टि हुन बाँकी छ। शिखर पुगेको खबरमात्र भनेको भए सामान्य हो, अन्यथा गैरकानुनी काम हो।' सगरमाथामा छायांकन गर्न, वृत्तचित्र खिच्न, कुनै टिभी वा रेडियोमा प्रत्यक्ष प्रसारण गर्नुअघि अनुमति लिनुपर्ने उनले बताए।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.