Widgets

Home » , » सर्पदंश - नडराई उपचार प्रक्रियामा जाऔं

सर्पदंश - नडराई उपचार प्रक्रियामा जाऔं

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

snake bite

विषालु सर्पले डसेपछि दिइने प्रतिविषको हाम्रो मुलुकमा अभाव देखिएको यो बेला सर्पदंशबाट सचेत रहन आवश्यक छ । केही सामान्य बचाउको उपायले सर्पले डस्ने सम्भावना घटाउन सकिन्छ । तर भवितव्य भई नै हाले पनि डराउनुको सट्टा उचित उपचार प्रक्रियामा गइहाल्नुपर्छ । यसो गरे ज्यान जोगिन सक्छ ।
मानिसको मृत्युका लागि गोमन (नाग) को विष १२ मिलिग्राम, रसल वाइपरको १५ मिलिग्राम र करेतको ६ मिलिग्राम नै पर्याप्त हुन्छ । गोमन र करेतजस्ता विषालु सर्पले डस्दा हरेकपटक मान्छेलाई मार्न सक्ने मात्रामा विष छोड्न सक्दैनन् । ड्राई बाइट  (सुक्खा डसाइ) भनिने यस्तो टोकाइबाट प्रभावित भएकाहरूमा विषको लक्षण देखिँदैन । हाम्रो मुलुकमा विषालु सर्पको डसाइमध्ये एकतिहाइ ड्राई बाइट हुने गर्छ ।
'विषालु वा विषहीन सर्पको टोकाइमा परेकामध्ये करिब आधाजतिको डरले गर्दा हृदयाघात भएर मृत्यु हुने सम्भावनासमेत हुन्छ,' त्रिवि शिक्षण अस्पताल, जनरल प्राक्टिस र आकस्मिक विभागका विभागीय प्रमुख डा. प्रतापनारायण प्रसाद भन्छन्, 'बाँकी ५० प्रतिशतमध्ये २५ प्रतिशत मानिस विषालु सर्पको टोकाइमा परे पनि गलत उपचारले गर्दा तिनको मृत्यु हुने सम्भावना हुन्छ ।'
यसरी विषालु सर्पको डसाइमा परेका २५ प्रतिशतमध्ये आधाजतिले उपचार पाउँदैनन् भने उपचार पाएका आधाजति बाँच्ने गरेको छन् । डा. प्रसादका अनुसार, धेरैजसो सर्पदंश विषरहित सर्पबाट भए पनि मृत्युको भयले गर्दा पीडितमा विष भएजस्तै लक्षण वा भ्रमसमेत उत्पन्न हुने भएकाले उपचारक र आफन्तले बढी संवेदनशील हुनुपर्छ ।
तथ्यांकअनुसार, हाम्रो मुलुकमा सर्पदंशले वर्षेनि करिब पाँच हजारले ज्यान गुमाउने गरेका छन् । अझ तराईका जिल्लामा वर्षेनि प्रतिलाख जनसख्यामा १ सय ६२ जनासम्मको मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अनुसार, हालसम्म सर्पदंशको वास्तविक संख्या ज्ञात हुन सकेको छैन, तैपनि वर्षेनि करिब ५० लाख व्यक्ति सर्पदंशको सिकार हुने अनुमान छ । तीमध्ये २५ लाखमा सर्पको विषको असर देखिन्छ । विश्वभरि सर्पदंशले पीडितमध्ये करिब एक लाख व्यक्तिको मृत्यु हुने गरेको अनुमान छ । वर्षेनि तीन लाख व्यक्तिले सर्पदंशकै कारण हातखुट्टा गुमाउने गरेका छन् ।
'नेपालका विषालु सर्पहरू' लेखकमध्येका डा. सञ्जीवकुमार शर्माका अनुसार, तराईमा मुख्य रूपले गोमन र करेतले बढी डस्ने गरेका छन् । तराईमा गोमन र भित्री मधेसमा करेतले बढी आक्रमण गर्ने गरेका छन् । करेतले प्रायः राति सुतेका बेला डस्ने गरेको पाइन्छ । त्यसैले करेतको आक्रमण थाहै
हुँदैन । गोमनले चाहिँ सामान्यतः उज्यालैमा आक्रमण गर्ने गर्छ ।
सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्गअन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ । हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ । विषमा रहेको न्युरोटाक्सिनले स्नायु तन्त्रलाई क्षतिग्रस्त गर्छ र चौथो वर्गअन्तर्गतको कार्डियोटक्सिनले सीधा मुटुमै असर गर्छ ।
गोमन र करेतको विष 'न्युरो टक्सिक' अर्थात् मस्तिष्कमा प्रभाव गर्ने किसिमको हुन्छ भने नदी, पहाड र जंगल आदिमा हुने भाइपर सर्पको विष 'हेमो टक्सिक' अर्थात् रगतमा असर पुर्‍याउने खालको हुन्छ ।
करेत र गोमनले डस्दा तिनको विषाक्तताले स्नायुघात हुन सक्ने जनाउँदै डा. शर्मा भन्छन्, 'बिरामी हेर्न नसक्ने, आँखा खोल्न नसक्ने हुन सक्छ । बिरामीलाई मुख खोल्न वा जिब्रो बाहिर निकाल्न पनि
कठिनाइ हुन्छ ।' सर्पदंशबाट पीडितमा कुनै कुरा निल्न नसक्ने, सास फेर्न गार्‍हो हुने, हातगोडाको मांसपेशी नचल्ने जस्ता लक्षणसमेत देखिन्छन् ।
भाइपरको डसाइबाट शरीरमा आन्तरिक रक्तस्राव भएर बिरामीको मृत्यु हुने गरेको डा. प्रसाद बताउँछन् । यो डसाइको प्रारम्भिक लक्षण गिजाबाट रगत बग्नु हो ।
धेरैजसो केसमा, करेतले डसेको एक घन्टादेखि ६ घन्टाभित्र विष लाग्न थाल्छ । तर गोमनले डसेको आधा घन्टापछि नै विष लाग्न सुरु हुने डा. शर्मा बताउँछन् । उनी भन्छन्, 'सर्पदंशको एउटै उपचार यसको प्रतिविष -एन्टिभेनम) प्रक्रिया हो । सर्पदंशमा परेपछि तुरुन्त स्वास्थ्य निकायमा गएर उपचार गराइहाल्नुपर्छ ।'
बचाउ
    तराईमा गर्मीयाममा राति टर्च वा बत्ती बालेर मात्र हिँड्नुपर्छ
    लामालामा झरपात, घाँस भएको बाटो हिँड्नु हुन्न
    भुइँमा सुत्नु हुन्न, झुल टाँगेर सुत्नुपर्छ
    राति सुत्ने बेलामा ओछ्यान राम्ररी टकटक्याउनुपर्छ
    इनार, कुवा वा कुनै प्वालमा हात हाल्नु हुन्न
    खुट्टा छोप्ने गरी लामो लुगा, जुत्ता वा बुट लगाउनुपर्छ
    जुत्ता लगाउनु पहिले भित्र केही छ कि छैन हेर्नुपर्छ, जुत्तामा सर्प लुकेका धेरै घटना पाइएका छन्
    घरवरिपरि वा खेलमैदान सफा राख्नुपर्छ
    ढुंगा थुप्रो वा काठ-दाउराको चाङ चलाउनुअघि होस पुर्‍याउनुपर्छ
    आफू बसेको क्षेत्रमा पाइने विषालु सर्पबारे जानकारी राख्नुपर्छ
सर्पदंशपछि
आत्मविश्वास कायम राख्नुस्, नआत्तिनुस् । धेरैजसो सर्प विषालु हुँदैनन् । विषालु सर्पको डसाइसमेत सुख्खा हुने गरेको छ । अर्थात्, विषालु सर्पले पनि सधैंभरि मानिसको शरीरमा विष छोडेका हुँदैनन् । करिब ३० देखि ४० प्रतिशत सर्पदंश सुख्खा पाइने गरेको छ ।
प्रभावित अंगलाई बढी नचलाउनुस् । नदौडनुस् ।  
जडिबुटी, झारफुक, धामीझाँक्रीमा भर परेर समय खेर नफाल्नुस् । तुरुन्त एन्टिस्नेक भेनम उपलब्ध भएको स्वास्थ्य निकायमा पुग्नुस् । मोटरसाइकलमा बिरामीलाई बसाएर स्वास्थ्य निकाय लग्दा धेरै छिटो पुगिन्छ ।
सर्पदंश भएको अंगमा आगोले डाम्ने, चुस्ने वा काट्ने काम नगर्नुस् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger