भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यो विषयमा रामकृष्णसँग साप्ताहिकको कुराकानी :
कुनै बेला तपाईं करोडपति हुनुहुन्थ्यो, अहिले सडकमा आउनुभयो भन्ने हल्ला छ, सत्यता के हो ?
रामकृष्ण करोडपति भयो रे भन्ने पनि हल्ला नै थियो, सडकमा आयो भन्ने कुरा पनि हल्ला नै हो।
तपाईं फेरी-फेरी गाडी चढ्नुहुन्थ्यो, सानदार घरमा बस्न रुचाउनुहुन्थ्यो, होइन र ?
मैले भर्खरै मात्र एउटा नयाँ मोडलको गाडी किनेको छु, अहिले त्यही चढ्छु। सानदार घरमा बस्न कसलाई रहर लाग्दैन र ? मलाई पनि लाग्छ। तैपनि म संघर्ष गरेर आएको मान्छे, जति कमाएँ संगीतबाटै कमाएँ, यसैबाट घर-गाडी किनें। अहिले पनि मेरो स्टयान्डर्ड घटेको छैन।
रामकृष्ण सडकमै आइपुग्यो भन्ने कुरा आइरहेको छ नि ?
त्यो गलत कुरा हो। बुढानिलकण्ठमा मेरो घर छ। भर्खरै किया कम्पनीको स्पोर्टेज गाडी किनेको छु। सडकमा आएको मानिस यसरी हिँड्न सक्छ र ?
कुनै सहकारीले तपाईंको घर लिलामीमा राखेको सूचना प्रकाशित भएको थियो, त्यो पनि झूटो हो ?
सूचना प्रकाशित भएको सत्य हो। त्यो एउटा कलाकारलाई फसाउने नियतले गरिएको काम हो।
भैंसेपाटीमा तपाईं बस्ने घर नै लिलामी हुन लागेको होइन र ?
बुढानिलकण्ठको घर भाडामा लगाएर आफन्तको छेउ जाऊँ भनेर म भैंसेपाटी गएको थिएँ। किनभने कलाकार मान्छे बाहिर हिँडिरहनुपर्छ। घरमा श्रीमती र छोरी हुन्छन्। उनीहरूलाई एक्लै नियास्रो हुन्छ भनेर आफन्तको नजिक बस्नुपर्छ भन्ने लाग्यो। केही महिनापछि नजिकै एउटा घर छ, किन्नु हुन्छ भने हामी पाँचवर्षे ऋण दिलाइदिन्छौं भन्दै एउटा सहकारीका मान्छे आए। मसँग त्यति धेरै पैसा छैन भन्दा बिस्तारै तिर्नुहोला भनेर कर गरे। आफू परियो सीधा-सोझो मान्छे, हुन्छ भनेर किनियो। अहिले त्यही गलाको पासो भयो।
कतिको घर किन्नु भएको थियो ?
दुई करोड रुपैयाँ मूल्यांकन भएको थियो। मैले २० लाख रुपैयाँ दिएर घर लिएको थिएँ। बाँकी पैसा ५ वर्षसम्म महिनाको तीन लाख रुपैयाँ तिर्नुपर्ने कुरा थियो। त्यो बेला आम्दानी पनि राम्रै थियो। त्यसमाथि हात्तीगौडाको घर बेचौँला र ऋण चुक्ता गरौँला भन्ने योजना थियो तर ...।
तर के भयो ?
एक वर्षसम्म मैले नियमित पैसा तिरेको थिएँ। बुढानिलकण्ठको घर बेच्न खोज्दा अचानक काठमाडौंमा घर-जग्गामा खरिद-बिक्रीमा मन्दी आयो। कलाकारको आम्दानी कहिले हुन्छ, कहिले हुँदैन। पैसा नियमित तिर्न नसक्दा ममाथि विभिन्न दबाब दिन थाले। पहिले विभिन्न किसिमले मानसिक दबाब दिए, पछि दुई पटक पत्रिकामा मेरो सार्वजनिक बेइज्जती गर्ने हिसाबले सूचना निकाले।
ऋण नतिरेपछि पत्रिकामा सूचना आउनु नियमसंगत नै हो, होइन र ?
ऋण दिँदा उनीहरूले नियम मिचेर दिएका थिए। त्यतिबेला बेला चिन्ता नगर्नुहोस्, हामी मिल्ने किसिमले सहयोग गछौर्ं भनेका थिए। २० लाख तिरेर दुई करोडको घर दिँदा नियम नचाहिने, अहिले घर बेच्न ढिला हुनेबित्तिकै नियम चाहिने? पहिले उनीहरूलाई घर घाँडो भएको रहेछ, कलाकारलाई दिने हो भने बेइज्जत हुने डरले पनि बेलैमा पैसा तिर्छ भन्ने सोच थियो क्यारे। मैले पनि आफ्नो घर नै नबिक्ला भन्ने कल्पना गरिनँ। परिबन्दमा परेको मानिसलाई च्यापेको हो कि भन्ने लागेको छ।
तपाईंले कति पैसा चुक्ता गर्नुभयो ?
पटक-पटक गरेर ७० लाख रुपैयाँ नगद बुझाएँ। घरमा सिंगारपटार गर्नु मेरो सौख नै हो। त्यसमा पनि १० लाखजति खर्च गरें। अचानक मन्दी आयो। हरेकको जीवनमा यस्तो अवस्था आउँछ। अर्को घर बिक्री हुन नसकेपछि मैले उनीहरूलाई भनें, 'घर नबेची मलाई पैसा तिर्न गाह्रो भयो। बरु यही घर लानुहोस्, म ७० लाख माया मार्छु।' यति गरेर उनीहरूलाई उनीहरूसँग किनेको घर दिन राजी भएँ। मैले त्यसो भन्दा पनि उनीहरूले मानेनन्। बरु नतिरेको ब्याज मिलान गर्ने भनेर ५६ लाखको कागज गराए।
अहिलेको अवस्था के छ ?
मैले ७० लाख रुपैयाँ माया मारेर घर उनीहरूलाई जिम्मा दिएको छु।
त्यसो भए ७० लाख रुपैयाँ डुबाएपछि सबै समस्या निखि्रयो ?
मेरो तर्फबाट करिब ८० लाख -घरको मेन्टेनसहित) जुवा खेलें भन्ने लागिरहेको थियो। तनाव लिएर बाँच्नुभन्दा मौका आए कमाउँला भनेर मैले घर छाडें। अहिले फेरि मैले ५६ लाख ऋण लिएको भन्दै उक्त ऋण तिर्न दबाब दिन थालेका छन्। त्यो बेला मलाई कागज त गराइएको थियो, तर त्यो पैसा मैले लिएकै थिइनँ। मैले लिँदै नलिएको पैसा कसरी तिर्ने ?
अब के गर्नुहुन्छ ?
मैले त्यो घरका कारण ८० लाख डुबाएँ। यत्रो वर्ष तनावमा बिताएँ। अब त्यही समस्या नदोहारियोस् भन्ने चाहन्छु।
तैपनि ५६ लाखको दबाब त आइरहेकै छ ...
त्यही त...। उनीहरूले ब्याज मिलान गर्ने भनेर कागज गराएका थिए। ७० लाख बुझाएको घर छाडिसकें। बेलामा बुद्धि नपुर्याउँदा केही समस्या आयो। छोरो मान्छेलाई यस्ता समस्या आउँछन्। जिल्ला अदालत पाटनमा अब उप्राप्त कुनै सूचना ननिकाल्ने भन्ने मिलापत्र भएको थियो, त्यसपछि पनि उनीहरूले पत्रिकामा सूचना दिएर अदालत र मेरो मानहानि गरे। अब लिँदै नलिएको ५६ लाख बुझाउने कुरै आउँदैन।
तपाईंको भरथेग ससुरालीतर्फबाट भैरहेको छ भन्ने सुनिएको छ, कत्तिको सत्य हो ?
तपाईंको आर्थिक हैसियत अचानक कसरी बढ्यो ?संगीतबाहेक अरू कुनै व्यवसाय छ कि...?
संगीतबाहेक अरू केही छैन।
मानिसहरू त रामकृष्णले पैसा कमाउने थुप्रैवटा बाटो बनाएको छ भन्छन...
श्रोताहरूकै कारण आज म यो अवस्थामा पुगेको हुँ। तैपनि संगीत उद्योगमा रामकृष्णको धेरैसँग प्रतिस्पर्धा पनि छ, सबैले स्वच्छ प्रतिस्पर्धा मात्र गर्नुहुन्छ, मेरो भलो मात्र चिताउनुहुन्छ भन्ने मलाई लाग्दैन। त्यसैले गलत कुराको प्रचार पनि हुने गरेको छ। त्यसरी पैसा कमाएको भए अहिले एउटा घरका लागि यत्रो लफडै हुँदैनथ्यो। यहाँसम्म आइपुगेको संगीतले नै हो।
तैपनि भन्नेहरूले के भन्छन् भने नेपाली संगीतमा लागेर लाखौंको गाडी चढ्न सम्भव छैन, के भन्नुहुन्छ ?
मैले अहिलेसम्म १३ वटा एल्बम निकालेँ। नेपाली सुगम संगीतमा लाखौं प्रति एल्बम बिक्री हुने एउटा गायक रामकृष्ण ढकाल हो। 'आशा' एल्बम मात्र झन्डै ३ लाख प्रति बिक्री भएको रेकर्ड छ। सुरुका सबै एल्बम १ लाखप्रति बिक्री हुन्थे। पाइरेसीले बिक्री घट्यो तर विदेशमा बस्ने नेपालीहरूको मायाले अहिले पनि वर्षको दुई-चार पटक विदेशका कार्यक्रममा सहभागिता जनाइरहेको छु। यसमा अचम्म मान्नुपर्ने कुरा के छ र ?
जब पत्रिकामा घर लिलामीको सूचना सार्वजनिक भयो, त्यतिबेला तपाईं कहाँ के गर्दै हुनुहुन्थ्यो ?
जब मेरो घर लिलामीको खबर आयो, त्यो बेला म युरोप टुरमा थिएँ। श्रोताहरूले तपाईंजस्तो कलाकारको यस्तो खबर आउनु नेपालीहरूकै लागि लज्जाको विषय हो, हामी तपाईलाई कसरी सहयोग गर्न सक्छौं भनेर माया दर्साउनुभयो। कतिपय मित्रले नेपालबाट फोन गरेर तपाईं चिन्ता नलिनुहोस्, एक-एक रुपैयाँ उठाएर पनि तपाईंको घर उकास्न सकिन्छ भनेर हौसला दिनुभयो। यसको अर्थ के हो भने रामकृष्णलाई माया गर्नेहरू छन् र जबसम्म श्रोताको माया पाइन्छ, एउटा कलाकारलाई कुनै समस्या पर्दैन।
तैपनि यस्तो अवस्था आइलाग्दा के हुँदो रहेछ।
म त्यो बेला बेल्जियममा थिएँ। एउटा राष्ट्रिय गीतको म्युजिक भिडियोको सुटिङ गर्ने कार्यक्रम थियो। पत्रिकामा सूचना आएको कुरा थाहा पाएपछि सुटिङ रद्द गरेर एउटा एकान्तमा गएर धक फुकाएर रोएँ। विदेशको ठाउँमा मलाई कसैले चिन्ने कुरा पनि भएन। एक घण्टा रोएपछि मन हलुका भयो।
कति वर्षपछि रुनुभएको थियो ?
कलाकारको मुटु कमजोरै हुन्छ क्यारे ! केही अप्ठयारो पर्यो कि रुन्छु। चलचित्र हेर्न जाँदा पनि म अलि बेग्लै फराकिलो स्थानमा बस्न रुचाउँछु। किनभने चलचित्रका दारुण कथाले पनि मलाई रुवाउँछ।
तपाईंले जीवनमा धेरै कमाउनु पनि भयो, धेरै गुमाउनु पनि भयो। अहिले फर्कंदा कुन कुराको सम्झना हुन्छ ?
बाल्यकालमा संगीतका लागि संघर्ष गरेका दिनहरूको सम्झना गर्छु। ती दिन संघर्षमय थिए, तर प्यारा थिए।
पैसा नभएका दिनमा कुन कुरा खान पाए हुन्थ्यो भन्ने लाग्थ्यो ?
भोटाहिटीमा खुवा बेच्न राखिन्थ्यो। त्यो खुवा असाध्यै मन पथ्र्यो। कहिले २ रुपैयाँ र कहिले पाँच रुपैयाँमा त्यो खुवा किन्दा म सोच्थें, कुनै दिन पैसा भयो भने म एक किलो खुवा किनेर एक्लै खान्छु भन्ने लाग्थ्यो तर अहिले एककिलो खुवा किनेर खाना सक्ने भएपनि खानै मनलाग्दैन ।
आजसम्म जिन्दगीका धेरै रङ्ग देख्नुभयो, भविष्यको योजना के छ ?
सधै यही गतिमा गायनबाट आम्दानी नहुन सक्छ। विदेशमा कार्यरत केही साथीभाइसँग मिलेर काठमाडौंमा एउटा राम्रो रेस्टुराँ खोल्दैछु। अरु व्यवसायका योजनाहरू पनि आएका छन्, त्यसको पनि अध्ययन गरिरहेको छु।
अनि संगीत नि ?
कान्तिपुर मिडिया ग्रुपको सहकार्यमा मेरो १४ औं एल्बम बाँचुन्जेल' भदौ १ गते बजारमा आउँदैछ। राष्ट्रपतिको हातबाट सार्वजनिक हुने यो एल्बमको मुख्य विशेषता के हो भने संसारले नै स्वरसाम्राज्ञी मानेको गायिका लता मंगेसकरले ४५ वर्षपछि नेपाली गीत गाएकी छन्। मंगेसकरले एउटा नेपाली गायकसँग युगल गीत गाउने इच्छा राख्नुलाई मैले ठूलो गौरवका रूपमा लिएको छु। मंगेसकरले मसँग नेपाली गीत गाउनु भनेको मेरा लागि मात्र होइन, नेपाली संगीतकै अर्काइभका लागि ठूलो उपहार हो।
'बाँचुन्जेल’ बाट कत्तिको आशावादी हुनुहुन्छ ?
अत्यत्न आशावादी छु। एल्बम बजारमा आउनुअघि नै लता मंगेसकरसँगको युगल गीत अघिल्लो वर्ष सार्वजनिक गरेको थिएँ, यसै साता घोषणा गरिएको हिट्स म्युजिक एवार्डमा यही गीत विभिन्न चार विधामा मनोनित भएपछि थप उत्साहित भएको छु।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.