Widgets

Home » » शल्यक्रियापछि दृष्टि नै गुम्यो थप संक्रमणको डरले आँखा झिकियो

शल्यक्रियापछि दृष्टि नै गुम्यो थप संक्रमणको डरले आँखा झिकियो

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

eye

विराटनगर, श्रावण १८ - अस्पतालमा मानिस उपचारका लागि जान्छन् । अझ आँखाको मोतिबिन्दुको अपरेशनलाई आजकल सामान्य मान्छन् । तर, मोरङको सुन्दरपुरका बासिन्दमा भने यो कुरा लागु भएन । एक जनाको होइन आँखा शिविरबाट शल्यक्रियाका लागि अस्पताल पठाइएका १२ जनाको आँखा कामै नलाग्ने गरि बिग्रिएका छन् । अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया गरिएका बिरामीको आँखामा समस्या आउन थालेपछि आफन्त आक्रोशित छन् । मोरङको सुन्दरपुरस्थित साजीलाल उच्च माविमा ८ असारमा आयोजित आँखा शिविरबाट शल्यक्रियाका लागि अस्पताल पठाइएका १२ जनाको आँखा कामै नलाग्ने भएपछि आफन्तजन आक्रोशित भएका हुन् । शिविरको स्थानीय संयोजन सुन्दरपुर बचत तथा ऋण सहकारीले गरेको थियो भने प्राविधिक सेवा विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालले दिएको थियो । शिविरलाई अस्टे्रलियाको हर्लोज फाउन्डेसन र तिलगंगा इन्स्िटच्युट अफ अप्थाल्मोजीले पनि सघाएको ब्यानरमा लेखिएको थियो । गोल्छामा मोतियाविन्दुको शल्यक्रिया डा. नारायणी रोका नेतृत्वको टोलीले गरेको थियो । बिरामीको आँखा बिगि्रएको सम्बन्धमा सोध्न खोज्दा उनले फोन रिसिभ गरिनन् । उता, आँखा बिगि्रएपछि विराटनगर आँखा अस्पताल पुगेका मुगालाल चौधरीको शल्यक्रिया डा. सञ्जय सिंह र रेटिना विशेषज्ञ डा. प्रताप कार्कीले गरेका थिए । डा. सिंहले भने, 'चौधरी हामीकहाँ अवस्था निकै बिगि्रएपछि आइपुगे । आँखा नै झिक्नुपर्ने अवस्था हाम्रा लागि सबैभन्दा दुःखद् हो । विकल्प थिएन ।' मोतियाविन्दुको शल्यक्रियाअघि बिरामीको मधुमेह वा अन्य संक्रामक रोगको परीक्षण नभएको वा प्रयोग गरिएका औजारको निर्मलीकरणमा त्रुटि भएको हुन सक्ने उनले बताए । उनले भने, 'कारण केही पनि हुन सक्छ, यो एन्डेथरमाइटिसको अवस्था हो । हामीले अप्रेसनकै बेला धेरै ध्यान पुर्‍याउनुपर्छ ।' यसलाई चिकित्सककै मात्र त्रुटि मान्न नसकिने उनले बताए । त्यसताका शल्यक्रिया गरिएको आँखा सुन्निने, पानी आउने र लगातार टाउको दुखिरहने भएपछि बिरामीहरूलाई आफन्तले अस्पतालको इटहरीस्थित प्राथमिक उपचार केन्द्रमा पुर्‍याएका थिए । त्यहाँका स्वास्थ्यकर्मीको सिफारिसका औषधि उपयोग गरे पनि निको नहुँदा आफन्तले धमाधम अस्पताल लैजान सुरु गरेका छन् । ३ साउनमा गोल्छा अस्पताल ल्याइएका सुन्दरपुर ८ का भवानीप्रसाद दाहाल अझै भर्ना छन् । उनको देब्रे आँखा अब काम नलाग्ने भन्दै झिकिएको छ । उनको टाउको दुख्ने रोग अझै उस्तै छ । खाना खान छाडेको डेढ साता भएको छ । छोरा भीमप्रसाद दाहालले भने, 'डाक्टरले भनेअनुसार अप्रेसनको ७२ घन्टाभित्रै अस्पतालको उपचार केन्द्रमा लगेर उनीहरूले दिएको औषधि चलाएको हो । भएन अस्पतालै भर्ना गर्न पनि ल्यायौं । बुवा निको हुनु भएको छैन । एउटा आँखै झिकिदिए ।' उनका अनुसार उक्त शिविरमार्फत मोतियाविन्दुको अप्रेसन गराएर मर्कामा परेकाहरू अब सम्पर्कमा आउन थालेका छन् । अस्पतालले दाहाललाई विशेष सुविधा दिएर क्याबिनमा राखेको छ । अन्य बिरामीसँग भने उपचार शुल्क जम्मा गराएर मात्र सेवा दिन थालेको छ । सुन्दरपुर ८ की टीकादेवी पौडेल र दुलारी ३ का मुगालाल चौधरीको अप्रेसन गरिएको आँखा काम नलाग्ने भएको छ । पौडेल राजधानीको तिलगंगा पुगेकी छन् भने ७२ वषर्ीय मुगालाल चौधरीको आँखा झिकिएको छ । चौधरीका छोरा कमलले भने, 'सत्र सय जाँच र अप्रेसनको लाग्यो । औषधिको छुट्टै । सित्तैको मोतियाविन्दुको अप्रेसन गरिदिए भनेको बुवाको बायाँ आँखै काम नलाग्ने भयो ।' तनावले परिवार चिन्तामा परेको उनले बताए । सोही शिविरमा शल्यक्रियापछि दुवै आँखामा समस्या आएपछि उपचारका लागि फिरनीदेवी चौधरीलाई लिएर आएका ज्वाइँ शिवनारायण चौधरीले भने, 'शिविर आयोजनापछि आएको समस्याको जिम्मेवारी अस्पतालले लिनुपर्छ । आँखै झिकेर फाल्ने काम भएको छ । यसको जवाफ चाहिन्छ ।' उनका अनुसार शल्यक्रियापछि समस्या आएका धेरै बिरामी गोल्छाको अस्पताल आइपुगेका छैनन् । 'यसको के भर भनेर कति जना तापडिया, विराटनगर, विराट र तिलगंगा अस्पताल पनि गएका छन्,' उनले भने, 'कति जनाको उपचारका लागि विराटनगरसम्म आउने र शुल्क तिर्ने क्षमता र ल्याइदिने मान्छे छैन । घरैमा लडेका छन् ।' ८५ वर्षका मनोरथ दाहाललाई सल्लाहबमोजिम नै स्याहार पुर्‍याएपछि अहिले चिकित्सकले आँखा काम नलाग्ने भएको भनेपछि छोराहरू आक्रोशित छन् । छोरा लोकमणि दाहाल भन्छन्, 'आँखा बन्छ । देख्न सक्नुहोला भनेर उपचार गर्न ल्याउँदा भएको पनि गुमाउनुपर्ने बनाइदिए । यसको भर्पाइ कसरी हुन्छ ?,' सुन्दरपुर २ की राममाया राई, सोमना चौधरी र दुलारी ४ का जयबहादुर खड्काको पनि अवस्था उस्तै भएको उनले बताए । सहकारीका अध्यक्ष कृष्ण दाहालका अनुसार करिब ४२ जनालाई मोतियाविन्दुको अप्रेसनका लागि छनोट गरिएको थियो । उनले भने, 'शिविर आयोजना बिरामी निको पार्नका लागि हो । यस्तो समस्या आउँछ भनेर हामीले सघाएका होइनौं । सबै आफ्नै परेका छन् । हैरान छौं ।' शिविरमा डा. नारायणी रोकासहितको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको थियो । त्यसबाट मोतियाविन्दु पहिचान भएकाहरूलाई अस्पतालकै बसमा विराटनगर ल्याएर सित्तैमा अप्रेसन गरिएको थियो । गोल्छा आँखा अस्पतालका प्रबन्धक शिवनारायण प्रधानले कुनै कुनै बेला यस्तो समस्या आउने गरेको बताए । 'त्यति धेरै जनाको अप्रेसन गर्दा एक/दुई केस फेलियर हुनु स्वाभाविक मानिन्छ । तर दुलारी-सुन्दरपुरको केसमा उहाँहरू अप्रेसनपछि र्फकंदा कुनै प्रकारको इन्फेक्सन भएको शंका छ,' उनले भने, 'अप्रेसनको ७२ घन्टासम्म बिरामीलाई कुनै पनि प्रकारको इन्फेक्सनबाट जोगाउनुपर्छ ।' समस्या आएपछि अस्पतालले समाधानको प्रयास गरिरहेको उनले बताए । 'हामीले हरसम्भव कोसिस गरिरहेका छौं । कतिपयको काम नलाग्ने नै भएपछि आँखा राख्नुको अर्थ छैन । त्यसैले फालियो,' उनले भने, 'हामीले भरसक उपचारले ठीक पार्ने कोसिस गरेकै हौं ।' रेटिना विशेषज्ञको सेवा नभएकाले बिरामीलाई विराटनगर आँखा अस्पताल पठाएर पनि हरसम्भव उपचार चलाएको दाबी उनले गरे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger