Widgets

Home » , , » परिवारै त्यागेर ढोंगी राजनीति गर्दिँन (भिडियोसहित)

परिवारै त्यागेर ढोंगी राजनीति गर्दिँन (भिडियोसहित)

Written By sangalo on Monday, August 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
–रामकुमारी झाँकी, एमाले नेतृ
पूर्वविद्यार्थी नेतृ रामकुमारी झाँक्रीलाई भेट्न अनलाइनखबरको टोली शंखमूल पुग्दा उहाँ स्वस्थ शरीरको आकर्षक छोरो बोकेर यता यति गरिरहनुभएको थियो ।
विद्यार्थी नेतृ हुँदाको बखतमा जस्तै ‘बडी ल्याङ्वेज’ कुनै परिवर्तन देखिँदैनथ्यो । एकछिन- एकछिनमा ढोका चुइँक्क पार्दै घरमा भित्रिने अखिलका कार्यकर्ताहरुको चाप हेर्दा अहिले पनि रामकुमारी अखिलको अध्यक्ष नै हुन् कि जस्तो लाग्थ्यो । तर, गैरराजनीतिक व्यक्तिसँग तीन वर्ष अघि विवाह बन्धनमा बाँधिनुभएकी रामकुमारीको राजनीतिक जीवनमा भने पदीय हैसियत पहिलेको जस्तो जल्दोबल्दो छैन । उहाँ भन्नुहुन्छ- अब पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो पूरा गर्न दत्तचित्त भएर लाग्छु । त्यही कारणले विभागको एउटा सामान्य सदस्य हुन पनि मञ्जुर भएकी हुँ ।’
Ram-kumari
अहिले के गर्दै हुनुहन्छ ?
– घनश्याम भुसाल प्रमुख रहेको अध्ययन अनुसन्धान विभागमा काम गर्दैछु । विभागमा बस्न त्यति इच्छुक नभए पनि अध्ययन अनुसन्धानमा रुची भएकाले भएर काम गरेकी हुँ । त्यसमा पनि मलाई खासगरी मिडियाकै जिम्मेवारी दिइएको छ । नेपालका मिडियाको लगानी, मिसन, जनशक्ति, प्रभाव र पक्षधरताका बारेमा अध्ययन अनुसन्धान गर्ने मलाई जिम्मेवारी दिइएको छ । एमालेको अध्ययन अनुसन्धान विभागले अर्थतन्त्र, मिडिया, वैदेशिक सम्बन्ध, कृषि नीतिलगायतका १७/१८ वटा विषयमा अनुसन्धान गर्छ र पार्टीलाई त्यसबारे नीति बनाउन दबाव दिन्छ । व्यक्तिगतरुपमा भन्दा सानो छोरो छ, यसैलाई हेरचाह गरिराखेकी छु ।
एमाले नेताहरुले कत्तिको भेट गर्नुहुन्छ फोन कत्तिको गर्नुहुन्छ ?
– साहना प्रधान त्यो हालतमा हुनुहुन्छ र त भेटन भएका छैनन् । मलाई भेट्न आउने भनेको त धेरै टाढाको कुरा हो ।
आफू पनि जानुहुन्न?
– एकचोटि महासचिवलाई समय मागेकी थिएँ, उहाँले १ बजे समय दिनुभयो । बल्खु पुगें । छोरो जन्मिनुभन्दा अगाडिको कुरा हो । उहाँ २ बजे आउनुभयो । मेरो विचारमा उहाँले २ बजे ठेक्कापट्टा गर्ने मान्छेहरुलाई समय दिनुभएको रहेछ । उहाँले ठेक्कापट्टा गर्ने मान्छेसँगै कुरा गर्नुभयो र मलाई ‘ल सकियो तपाई जानोस्’ भन्नुभयो र वेवास्ता गरेर हिँड्नुभयो । मैले नेताको ढोकामा केही पाउन कुरेको त होइन । कसैलाई समय दिएको कुरालाई पूरा गर्न पनि आवश्यक ठान्दैनन् भने मेरो लागि कुरा गरेको अर्थ पनि छैन । त्यसपछि मैले कोही नेतालाई भेट्न टाइम मागिँन । कुरा गर्दा पनि गरिँन ।
नेताहरु अहिले सामन्तवादको अन्त्य भएको छैन किन भन्न् भने नि आफ्नो चरित्र ठ्याक्कै त्यही भए हो । महाधिवेशनमा हाम्रो अध्यक्षले पेश गरेको प्रतिवेदनमा नेपाली समाज अर्धसामन्ती अर्ध औपनिवेशिक छ भनिएको छ । सामन्तवादका अवशेष छन्, र हाम्रो लडाइँको केन्द्र त्यहाँ हो भन्नुभएको छ । त्यो अवशेषसँग लड्ने हाम्रो पार्टीको दृष्टिकोण छ क्या ।
पार्टीमा जिम्मेवारीविहीन भएको कति भयो ?
– तीनवर्षदेखि पार्टीमा जिम्मेवारी थिएन । अस्ति गुल्मी जाने बेलामा पनि छोरो सानो छ, जान्छे कि जाँदिन भने । तर, गएँ । गुल्मी गएर आएपछि काम थिएन । गुल्मी जानुभन्दा अगाडिसम्म विद्यार्थीको अध्यक्ष छोडेको ३ वर्षसम्म केही पनि जिम्मेवारी थिएन ।
तीनवर्ष पार्टीले बिर्सिएकै हो त ? पार्टीका कार्यक्रमहरुमा पनि जानुभएन ?
– पार्टीको बैठकमा जाने मेरो प्लेटर्फम नै छैन । यो तीन वर्ष त मदन आश्रतिको स्मृति दिवसमा बल्खुको आँगनमा जाने, पुष्पलालको स्मृतिमा जम्मै मान्छे जान्छन् त्यहाँ जाने, पार्टीको स्थापना दिवसमा पार्टीले कार्यक्रम गरेन, हामी आफैंले गर्‍यौं । त्यो बाहेक मेरो अन्य उपस्थिति हुने ठाउँ नै थिएन ।
आन्दोलनमा होमिएर आएको मान्छे, पार्टीले यसरी वास्ता नगर्दा चित्त दुखेन ?
– अपेक्षा गर्‍यो भने त त्यस्तो हुने नै भयो । किनभने परिवारभन्दा माथि राजनीतिक दल, आन्दोलन र संगठन भनेर लागेको मान्छेका लागि । तर, मैले आशै गर्न छाडें । आश गरेपछि चित्त दुख्ने कुरा हुन्छ । आशै नगरेपछि जहाँ टेक्ने ठाउँ हुन्छ, त्यहीँबाट केही गर्ने हो ।
म केन्द्रीय प्रतिनिधि भएर गुल्मी जाने बेलामा पनि प्रतिनिधि हुनलाई न्युनतम राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य हुनुपर्ने रहेछ । म राष्ट्रिय प्रतिनिधि परिषदमा छैन । जिल्ला कमिटीको अध्यक्षको हैसियतले पदेन सदस्य थिएँ, तर छोरो जन्मिएर ४/५ महिना काममा नजाँदा मलाई कि छोरो छाड्, कि कमिटी छाड् भनियो । मैले उहाँहरुलाई भनें, यो त ०४६ साल भन्दा अघिको भूमिगत अवस्था त होइन । म मेरो निजी जिन्दगी र राजनीतिक जीन्दगी सँगै लान सक्छु । मान्छेको वास्तविक जीन्दगीबाट भागेर परिवार आदि इत्यादि त्यागेर ढोंगी राजनीति गर्नुपर्छ भन्ने विश्वास लाग्दैन । राजनीति भनेको मान्छेको जीवनसँग जोडिएको अभिन्न अंग हो । त्यसैले मबाट यी दुईवटै काम हुँदैन, तपाईँहरु जेसुकै गर्नोस् भने, छाडिदिएँ । कसाइका अगाडि बाख्राको ‘प्या’को केही अर्थ हुन्न तपाईहरुले यस्तै प्रस्ताव राख्नुभएको छ भनंे । पछि त्यो कमिटी सात महिना पछाडि अस्ति मंसिरमा विघटन गरे ।
अभियानमा गुल्मी जाने बेलामा म कुनै कमिटीमा थिइँन । तै पनि एउटा औपचारिक ठाउँमा हुनुपर्ने रहेछ भनेर म यो विभागमा बसेकी हुँ । सानो भन्दा सानो ठाउँ पनि कहिलेकाँहि महत्वपूर्ण हुँदोरहेछ । मैले एमालेको केन्द्रीय सदस्य या पोलिटब्यूरो मागेकी थिइँन, एउटा काम गर्ने ठाउँ देओ मात्रै भनेकी थिएँ ।
महिलाहरुले विवाह गरेर आमा भैसकेपछि राजनीतिमा कस्तो अनुभव हुँदोरहेछ ? नयाँ पुस्ताका महिला कार्यकर्तालाई के सल्लाह दिनुहुन्छ ?
– पहिला त मलाई एकदमै डर लाग्थ्यो । विवाह पछाडि पारिवारिक जीन्दगी, बच्चाबच्ची भैसकेपछि व्यक्तिगत जिन्दगी र करिअर नष्ट हुन्छ भन्ने ठान्थें । मभन्दा जुनियर साथीहरुको पनि यस्तै सोचाइ होला । तर, त्यस्तो होइन रहेछ । यो पारिवारिक जीन्दगी भनेको संस्थागत हुनु पनि हो । व्यक्तिगत हुनुभन्दा संस्थागत भयो भने मान्छे बलियो हुन्छ । त्यसकारण परिवारले मान्छेलाई कमजोर बनाउँदैन, मान्छेलाई बलियो बनाउँछ । तर, पहिलेको धारणा मेरो गलत रहेछ ।
वालबच्चा भनेको एउटा विशेष अवस्था हो । यो छोटो समयमा ‘केयर’ जरुरी छ । तर, यो महिलाको मात्रै निजी मामिला होइन भन्ने ठान्नुपर्छ । बच्चा जन्मिसकेपछि दूध पो आमाले खुवाउनुपर्छ त, अरु सप्पै काम जसले गर्दा पनि हुन्छ । गुल्मी जाँदा पनि मैरो मेरो छोरो छाडेर गएकी थिएँ ।
विगतमा सभासद किन नबनेको ? के पार्टीले नै टिकट नदिएको हो ?
– मलाई पार्टीले गुल्मीको १ नं क्षेत्रमा चुनाव लड्न जान भनेकै थियो । म गइँन । त्यसपछि समानुपातिकको सूचिमा पनि राखेको थियो, आफैंले अस्वीकार गरें । सांसद नभएर मेरो केही भएन भन्ने आज पनि लाग्दैन । शायद त्यो मेरो सही निर्णय थियो । सांसद भएर व्यक्तित्व बनाउने कुरा चाहिँ त्यो सांसदको सफलता र र असफलतासँग जोडिन्छ । संसदै असफल भएपछि त्यहाँभित्रका पात्र पनि असफल भए । कमसेकम म असफल हुनबाट बचें । अब बन्ने दोस्रो संविधानसभाको हविगत पनि त्यस्तो नहोस् भन्न चाहन्छु ।
ram-kumari-1दोस्रो संविधानसभामा भूमिका खेल्ने कि नखेल्ने ?
– म फेरि पनि माग्न त जाँदिन । मैले ३ वर्षसम्म कुनै जिम्मेवारी देऊ भनिँन । पार्टीलाई जतिबेला संकट आउला, त्योबेला हामीले काम नगरेर कसले गर्ला भन्ने ठानियो । यो घडी मलाई त्यस्तै लाग्छ । ती धेरै अनुहार जो दोहोरिएर फेरि चुनावमा लडे भने पार्टीको पोजिसन के हुन्छ भन्ने त भविश्यले मात्रै देखाउला । त्यसैले पार्टीले विचार पुर्‍याएर निर्णय गरोस् । जो गणतन्त्रको पक्षमा थिए, यसलाई संस्थागत गर्नुपर्छ भन्ने मान्छेहरु थिए, अघिल्लो संविधानसभाको त्यो मत धेरै न्यून भयो । किनभने मधेस आन्दालनेको खहरेबाट धेरै मान्छे आए, माओवादीबाट दुई सय भन्दा धेरै मान्छे आए । ०६२/०६३ को आन्दोलनमा भाग लिने मान्छेको सानो संख्या थियो । यसले गर्दा पनि संविधान बन्न सकेन ।
तपाई अब संविधान बनाउन जाने कि नजाने ?
– अब पार्टीले पत्यायो भने चुनावमा जानुपर्‍यो । जनताले पत्याउनुभयो भने जितेर आउने हो र यी कामहरु गर्ने हो । अहिले त इच्छा प्रकट गर्छु भन्न पर्‍यो । अब त आफ्नो कुरा भनेन भने पनि कोही सोध्न आउनेवाला छैनन् । तीन वर्षसम्म पर्खेर बसें । अब पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो पूरा गर्न दत्तचित्त भएर लाग्छु । त्यही कारणले विभागको एउटा सामान्य सदस्य हुन पनि मञ्जुर भएकी हुँ ।
तपाई एकचोटि कनकमणि दीक्षत लगायतको नेतृत्वमा नागरिक आन्दोलनमा पनि लाग्नुभयो हैन ?
– यो प्रशंग पनि रमाइलो छ । उच्चस्तरीय राजनीतिक समितिले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय गरेको कुरा बाहिर आयो । त्यसपछि हामी बल्खु गयौं । हाम्रा पार्टी अध्यक्ष झलनाथ खनालबाट यस्तो निर्णय हुनु म र हामी सबैका लागि आश्चर्यको विषय थियो । ०६२/०६३ को आन्दालन दबाउने प्रमुख पात्रका बारेमा उहाँ कसरी यस्तो निर्णयमा पुग्नुभयो ? हामीले बल्खुमा अध्यक्षलाई द्दज्ञापनपत्र बुझाउने तयारी गर्‍यौं तर, त्यहाँ वक्तव्यमा मैले सही गर्ने ठाउँसम्म पाइँन । अध्यक्षलाई दिने ज्ञापनपत्रमा हस्ताक्षर गर्ने ठाउँ भएन । त्यसपछि म पनि एकदुईजना मान्छेलाई फोन गर्न लागें । हिजो जसले हाम्रो टाउकोमा लाठी बजार्‍यो, तिनलाई रोक्न नागरिक दबावबाट सम्भव छ भने गरांै न त भनेर ०६२/०६३ को आन्दोलनमा सहभागी भएका हामी नागरिकहरुले अनामनगरको युनियन हाउसमा हामीले बैठक गर्‍यौं । त्यहीँबाट हामी लोकमानसिंह कार्की अख्तियारका लागि योग्य छैनन् भनेर राष्ट्रपतिलाई भेट्न गयौं । राष्ट्रपतिले गर्दिन भन्नुभएको थियो, एजेन्सीका मान्छेले समाएछन् । लोकमानसिंह भारतीय ‘रअ’को प्रतिछाँया हो भनेर राष्ट्रपतिका सल्लाहकारले पनि भन्नुभयो । यो देश त सार्वभौम त होइनरहेछ । सार्वभौम हुनका लागि नागरिक बलियो हुनुपर्ने रहेछ भनेर केही काम पनि गर्‍यौं । तर, त्यो निरन्तर नभएर घटनाविशेष जस्तै भयो ।
लोकमानलाई तपाई यस्तो भन्नुहुन्छ, तर अहिले अख्तियार प्रमुख बनेपछि लोकमानसिंह कार्कीले राम्रो काम पो गर्न थाल्नु भो भन्छन् त मान्छेहरु ?
– तपाईले भित्तामा बिग्रेको घडी झुण्ड्याउनुभएको छ भने पनि दिनमा दुईचोटि सही टाइम दिन्छ । त्यस्ताको के टिप्पणी गर्नु र ? घडी चल्दैन, तर दिनमा दुईचोटि ठीक हुन्छ ।
अब एमालेमा सक्रिया हुने तपाईको योजना हो ?
– सक्रिय त म सक्रियै छु । तर, पद छैन । हेरौं अब कहाँबाट हुन्छ, काम शुरु गर्छु, गरिराखेकी छु ।
आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उठ्नुहुन्छ ?
– उठ्छु होला । महाधिवशेनबाट पार्टीलाई नयाँ ढंगले लानुपर्छ । हामीले आफ्नो विचारलाई स्थापित गरेर लानुपर्छ ।
जबजका बारेमा पनि एमाले लफडा शुरु भएको छ,
– यो ज्ञानको क्षितिज कमजोर भएका मान्छेहरुले बहसमा भाग लिए भने आफू धेरै अगाडि बढ्न सकिँदैन भनेर थुनेर राख्न खोजिएको हो । विचारको कुरा थुनेर थुनिँदैन । जर्मनीमा धेरै यहुदीलाई मारियो, तर तिनै यहुदीहरु नै आज धेरै दार्शनिक छन् ।
अहिले युथफोर्स बनाउन हुन्छ र हुँदैन भन्नेबारे एमाले पार्टीमा विवाद देखिएको छ, तपाई के भन्नहुन्छ ?
– समाजलाई बन्धक राखेर चल्दैन । फलामलाई फलामले काट्छ भनेर कसैको प्रतिरोध गर्न त्यस्तो फोर्स आवश्यक हुनथ्यो । तर, अहिले शान्तिपूर्ण ढंगले अघि बढेका बेलामा डण्डा चाहिन्छ कि चाहिन्न ? पहिले पुरुषको मात्रै युथ फोर्स थियो, अहिले साथीहरु महिलाको पनि बनाउँदै हुनुहुन्छ । अब चुनावमा डण्डा पिटेर भोट कसैलाई हलाउँदा भनेको हो भने त्यो गलत विचार हो । अब डण्डाले हुँदैन, मान्छेलाई विवेकले चल्न दिनुपर्छ । जुन समाज डण्डाले हैन विवेकले चल्छ, त्यही समाज हो स्वतन्त्र । त्यसकारण यस्ता कामहरु सायद साथीहरुले नगर्दा राम्रो हुन्थ्यो । माओवादीले त वाइसिएर ‘प्यासिफ’ गरिराखेको छ भने कसका लागि यस्तो गर्ने ? संस्थागत ढंगले गलत काम गर्ने प्रोत्साहन दिने ढंगले राजनीतिक संगठन बनाएको हो भने थाहा भएन तर, राजनीतिक हिसाबले यस्तो संगठनको आवश्यकता छ जस्तो मलाई लाग्दैन । जब हामीले राजनीतिक हिसावले नै यति धेरै अपराधिक क्रियाकलापलाई संरक्षण गर्छौं भने कसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग चाहियो ? त्यो बन्द गरे हुन्छ । राज्यलाई बलियो बनाउने हो भने यस्तो काम बन्द गर्नुपर्छ । हामी आफूले गर्ने अनि अरुलाई नगर् भन्ने नैतिक अधिकार हुँदैन ।
तर, राज्य कमजोर भएकाले माओवादीले विगतको चुनावमा जस्तै बल प्रयोग गर्नबाट रोक्न र आफ्ना मतदातालाई सुरक्षा दिन युथ फोर्स बनाउनु परेको भन्ने छ नि ?
– एमालेका कोही पनि उमेद्वार त्योबेला असुरक्षित थिएनन् । मतदातालाई हामीले कित प्रतिवद्ध बनायौं ? कञ्चटमा बन्दुक तेस्र्याउँदा पनि भोट हाल्ने जागरुक र सचेत कार्यकर्ता कति थिए ? मलाई सम्झना छ, मेरो लेबल र योभन्दा पनि अगाडिका धेरै मान्छेहरु त्योबेला आफ्नो चुनाव क्षत्रेमा भोट हाल्न गएनन् । ठूलो होटलको झ्यालमा बसेर चुनावको रमिता हेरे । यस्तै मानसिकता बनाएर लठ्ठीमा रंग लगाएको १६ बर्षे ठिटालाई अघिपछि लगाउँदैमा सुरक्षित भइन्छ भन्ने भ्रम मात्रै हो । एमालेको पोजिसन किन तेस्रोमा आयो भनेर विश्लेषण गर्न जरुरी छ । डण्डा नचलाएर यस्तो भएको हो भन्ने पार्टीमा भ्रम छ भने यो भन्दा गलत विश्लेषण अर्को केही पनि हुने छैन । साथीभाइले यो आज थाहा पाउँदैनन्, अलि पछिमात्रै थाहा पाउँछन् । ३७ सीट र ३४ सीटवाला पार्टीहरुले हामी किन साना भयौं भन्ने थाहा पाउनुपर्‍यो । १ सय २० सीटवाला पार्टीले पनि सोच्नुपर्‍यो कि हामी साँच्चै पौष्टिक आहारले बलियो भएका हौं कि हामी फुल्लिएका हौं । विगतमा पनि यही भंमका कारणले संविधान नबनेको हो ।
गगन थापा र रामकुमारी समकालीन नेता हुन् तर गगनजति तपाई राजनीतिको मोर्चामा देखनि नसक्नुको कारण के हो ?
– व्यक्तिको क्रियाशिलताले कति भर पर्छ भन्ने कुरा हाम्रोजस्तो पार्टीमा त्यति अर्थ राख्दैन । गगनजीको भन्दा मेरो थोरै ‘कमिटमेन्ट’ छ, त्यसकारण भइँन भन्नु सान्दर्भिक छैन । किनभने म आफू लाग्न त चाहन्थें । तर, कम्युनिष्ट पार्टीमा पद भएन भने खासै काम हुँदैन । मान्छेले पदलाई मान्यता दिन्छन् । व्यक्तिको क्रियाशीलताको खासै अर्थ हुँदैन । डेमोक्रेटिक पार्टीमा हाम्रोजस्तो कमिटी प्रणाली छैन । त्यसले वहाँहरु व्यक्तिगत क्रियाशीलताका आधारमा अगाडि आउनु स्वाभाविक हो । एनजिओमा, अन्तरपार्टी सञ्जालमा पनि कांग्रेसका जो पनि आउँछ् तर हाम्रोमा पार्टी प्रणाली पछ्याइन्छ । त्यसो भएकाले, म कमिटीमा नभएकाले काहिँ पनि जान पाउँदिन । म ०६७ सालदेखि नै कमिटीमा छैन । पदमा नभएपछि एमालेजस्तो पार्टीमा पदको खासै औचित्य पनि छैन । कम्युनिष्ट पार्टीमा झन् त पदविना केही हुँदै हुँदैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger