Widgets

Home » , » वेम्ली एरेनामा नेपाली संगीत (भिडियोसहित) नेपथ्यको ऐतिहासिक फड्को

वेम्ली एरेनामा नेपाली संगीत (भिडियोसहित) नेपथ्यको ऐतिहासिक फड्को

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आकाशैबाट के उडी आयो भेडाको ऊन जस्तो, भेडाको ऊन जस्तो मायाको फोटो मै खिची लान्छ पूर्णेको जुन जस्तो ...'

असंख्य नेपालीको हृदयमा बसेको यो गीत । गायक थिए नेपथ्यका उनै अमृत गुरुङ । तर, शनिवार राति यो गीत बेग्लै स्थानमा गुञ्जियो नेपाली संगीतमा एउटा इतिहास रचेर । अन्तर्राष्ट्रिय मञ्च ठानिने १२ हजार ५ सय सिट क्षमताको लन्डनस्थित वेम्ली एरेनामा पहिलोपटक नेपाली गीत पस्कंदै थिए अमृत नेपथ्य समूहका साथ ।
यो यस्तो ठाउँ हो जुन लन्डनको ओटु एरेनापछि दोश्रो ठूलो इण्डोर ऐरेना मानिन्छ भने ओटु र अल्र्स कोर्ट एक्जिविशन सेन्टर पछि तेश्रो ठूलो कन्सर्ट भेन्यू । विश्व विख्यात व्याण्डहरु बिटल्स्, स्याडोज्, पप समूह दि होलिज, ब्रिटिश महिलाहरुको सांगीतिक समूह स्पाइस गल्र्सदेखि इङ्लिस रक व्याण्ड रोलिङ स्टोन्स्, द हुले आफ्नो कला देखाइसकेको उक्त स्थान । विश्व चर्चित केही नाम मध्ये अमेरिकी गायिकाहरु बि्रट्नी स्पेयर्सर्, टेलर स्वीफ्थ, वियोन्स् र म्याडोना, कोलम्बियन गायिका साकिरा, अंग्रेजी गायक एवं संगीतकार डेभिड रोवर्ट जोन्स् (डेभिड बो), बि्रटिश पप गायक क्लिफ रिचार्ड, बि्रटिश गायिका डस्टि स्प्रिङ फिल्ड, रक एण्ड रोल गायक जो ब्राउन, डेभ डि लगायतको रोजाइमा परिसकेको वेम्ली एरेनामा पहिलो पटक नेपाली संगीत गुञ्जिँदा गायक अमृत केवल भनिरहेका थिए, 'निम्तो दिने आयोजकलाई धन्यवाद अनि कार्यक्रम सफल बनाइदिने दर्शकहरुलाई झन् मुरी मुरी धन्यवाद ।'
'जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना...' करिब ७ हजार दर्शकबीच उनले गीत गाउंदै पटक पटक दोहोर्‍याए, 'तपाईंहरुको यति धेरै माया अनि सदभावले मेरो छाती गर्वले फुलेको छ, यो अविष्मरणीय सम्झना मेरो जीन्दगीभर रहिरहनेछ ।' 
उनी अगाडि गाउँछन् रेशम रेशम, तालको पानी माछीले खाने र चरी मर्‍यो सिसैको गोलीले । कहिले उनी जोमसोमै बजार पुग्छन् भने कहिले जाम भने जाम त नि भन्छन् दर्शकलाई । अमृतले छेक्यो छेक्यो देउराली डांडा हुस्सु र कुइरोले, आजभोली के भको कुन्नी लगायत दर्जन बढि गीत गाउंदा उभिएर हेर्ने दर्शक एक छिन नरोकिइ निरन्तर नाचिरहे सुरक्षागार्डको अवरोध वेवास्ता गर्दै । सिटमा बस्ने दर्शक पनि थामिन सकेनन् अनि उफ्रिए धित मरुन्जेल ।
रातो र चन्द्र सूर्य गाउंदै गर्दा अमृत भनिरहेका थिए, 'हामी बांची रहे सम्म हाम्रो चन्द्र सूर्य अंकित झण्डा रहिरहनेछ र यसमा कसैको आंखा नलागोस् ।' 
उनी पानी पिउँदै आफ्नो लामो कपाल र चश्मा बेला बेला तह लगाउँदै निरन्तर गाइरहेका छन् । त्यति ठूलो मञ्च र हजारौं दर्शकको गडगडाहट तालीबीच उनलाई नयां पुराना गीत गाउनमै बढि आनन्द छ न कि कुनै भाषण गर्न । उनी एउटा गीतको अन्त्यसंगै बीचमा भन्छन्, 'तपाईं हामी जहाँ भएपनि नेपाली भनेर बाँच्न सकौं, नेपाली कला, संस्कृति र भाषाको संरक्षण गरौं ।' 
अमृतलाई नेपालको राजनीतिक तरलता र नेताहरुको स्वार्थीपन देखेर पटक्कै चित्त बुझेको रहेनछ । उनले दर्शकलाई आग्रह गरे, 'तपाईंहरुले यहाँबाट हाम्रा नेताहरुलाई गफ होइन, अब काम गरेर देखाउनुस् भन्ने सामूहिक सन्देश दिनुहोस् हामी लिएर जानेछौं ।' बेला बेला उनले 'नमस्ते छ है तपाईंहरु कति राम्रो र सभ्य भनिदिंदा दर्शक त्यसै उचालिन्थे ।' 
साँझ ८ बजे देखि सवा दश बजे रातीसम्म निरन्तर गाइरहेका अमृतले दर्शकहरुमाझ अनुनय गर्दै भने, 'नेपालको द्वन्द्वका कारण करिब ४० हजार वालवालिका शिक्षाबाट वञ्चित छन्, तपाईं विदेशमा बस्नेहरुले महिनाको कम्तीमा १५ पाउण्ड प्रायोजन गरेर ती अनाथ वालवालिकाको भविष्य बनाइदिनुहोस्, हामीले सहयोग नगरे अरु कसले गर्ने ।' 
नेपथ्यको शोले अब नेपाली संगीत विश्व बजारमा छाउन सफल भएको धेरैको विश्लेषण छ । 'कार्यक्रम नेपाली संगीतमा एउटा इतिहास बनेको छ', दर्शकदीर्घामा रहेका गायक विवेक श्रेष्ठले कान्तिपुरसंग भने, 'मलाई नेपाली गायक भन्न गर्व महशुस भएको छ । नेपाली लोक गीतलाई पाश्चात्यकरण गर्न सक्नु नै यस व्याण्डको खुबी र विशेषता बन्यो ।' उता, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली भन्दै थिए, 'राम्रा गीत सुनिन्छन् भन्ने प्रमाणित आजको शो ले गरिदिएको छ, यो नेपाली संगीतलाई विश्व बजारमा लैजान एउटा खुड्किलोका रुपमा लिन सकिन्छ ।'
पर्छ प्रोडक्शन र सव सोनिक रुट्स नामक दुई संस्थाले उक्त कार्यक्रम आयोजना गरेका हुन् । आयोजकहरु पर्छ प्रोडक्शनका तर्फबाट समीर र नवल एवं सव सोनिक रुट्सका शुभ गिरीले  कार्यक्रम सफल भएकामा प्रसन्नता व्यक्त गरेका छन् । 
नेपाली संगीत र नेपथ्य एक अर्काका पर्याय भइसकेका छन् । विगत २२ वर्षदेखि संगीतमा निरन्तर सक्रिय यस व्याण्डका लोक, आधुनिक तथा रक टाइपका गीतले सबै वर्ग समेटेको छ । सहरदेखि गाउँ गाउँसम्म छाएको छ व्याण्ड । उसका गीतले नेपालको समकालिन वस्तुस्थिति देखि युद्धका घाउ र पीडाहरु समेत प्रतिनिधित्व गर्छन् । खासगरि यस व्याण्डको सातौं एल्बम 'घट्ना' नेपालको सशस्त्र द्धन्द्धमा आधारित छ । आठौं एल्बम मेरो देश एल्बमका गीतले देशको वर्तमान अवस्था चित्रण गरेको छ । उसको ऐना झ्याल चाहिं लोक रक टाइपको छ । 
सन् १९९० मा दीपक राना (हाल पाइलट), भिम पुन (हङकङमा स्थापित) र अमृत गुरुङले संयुक्त रुपमा स्थापना गरेको यो सांगीतिक समूहमा संस्थापक सदस्यमध्ये हाल एक जना अमृत मात्र छन् ।
नेपथ्यले दुई दशकभन्दा बढि समयदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान गर्दै आएको छ । यस अवधिमा नेपथ्य आफ्नो सांगीतिक प्रस्तुतिलाई निरन्तरता दिादै दर्शक/श्रोतामाझ लोकप्रिय बन्न सफल भयो । नेपथ्यले आˆनो सांगीतिक प्रस्तुति लिएर देशभित्र र बाहिर थुप्रै भ्रमण गरिसकेको छ । भारतको सिक्किमदेखि अस्ट्रेलियाको सिड्नी, इजरायल, हङकङ, दक्षिण कोरिया, अमेरिका, फिनल्यान्ड, हल्यान्ड, बेल्जियम लगायत मुलुकमा नेपथ्यका कार्यक्रम भएका छन् । 
नेपथ्यका पहिलो एल्बम नेपथ्य (१९९१), हिमाल चुचुरे (१९९३), मिन पचासमा (१९९५), श्रृंगार (१९९७), रेशम (२००१), भेडाको ऊन जस्तो (२००३), घट्ना (२००५), मेरो देश (२०१०), ऐना झ्याल (२०१०) गरि ९ वटा एल्वम बजारमा आइसकेका छन् । उक्त व्याण्डका छेक्यो छेक्यो (व्याण्ड स्थापनाको शुरुतिर), जोमसोमै बजारमा (९० दशकको मध्य), रेशम... (२००१), भेडाको ऊन जस्तो (२००३) लगायत कयौं चर्चित गीत छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger