भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण १५ - अन्तर्राष्ट्रिय फुटबलमा १६ वर्षमुनिको प्रतियोगिता खेल शैलीमा अभ्यस्त गराउने उपयुक्त अवसर मानिन्छ । यो उमेर समूहसम्मका प्रतियोगितामा नतिजाभन्दा फुटबल कलाको सिकाइ र प्रशिक्षकको निर्देशनअनुसारको प्रदर्शन महत्त्वपूर्ण हुन्छ । फुटबलमा सफल मुलुकका यस्तो प्रचलनको ठीक उल्टो नेपाल साफ यू-१६ च्याम्पियनसिपको उपाधि जित्न आतुर छ । उसले भारतविरुद्ध मंगलबार फाइनल खेल्दैछ । 'उपाधि जित्दै इतिहास रच्न चाहन्छौं,' नेपालका प्रशिक्षक बालगोपाल महर्जनले सोमबार भने । नेपालले पहिलोपल्ट साफ यू-१६ को फाइनल खेल्न लागेको हो । दुई वर्षअघि काठमाडौंमै आयोजित पहिलो संस्करणमा नेपाल तेस्रो भएको थियो । त्यसबेला भारतले सेमिफाइनलमा नेपाललाई टाइब्रेकरमा हराएको थियो । त्यसको बदला लिन चाहेको उल्लेख गर्दै महर्जनले भने, 'सफलता हात पार्दै आउने प्रतियोगितामा नेपाली टिमलाई हौसला बढाउन चाहन्छौं ।' 'हामी उपाधिका निम्ति सबैभन्दा बलियो दाबेदार हौं । सुरुबाट नै सोचेजस्तै खेलिरहेकाले मनोबल उच्च छ । त्यसैले फाइनल जित्नेमा विश्वस्त छौं । हजारौं दर्शकलाई निराश पार्न चाहँदैनौं,' महर्जनले भने । उनको टिम सफल भए उमेर समूहमा नेपालले पहिलो उपाधि जित्नेछ । र, समग्रमा दुई दशकयताको पहिले उपाधि हुनेछ । सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली खेलकुद -साफ) मा नेपाली राष्ट्रिय टिमले स्वर्ण जितेको थियो । त्यसयता नेपाल पहिलो भएको छैन । काठमाडौंमा १९९९ मा भएको आठौं साफको फाइनलमा नेपाललाई बंगलादेशले १-० ले निराश पारेको थियो । त्यसयता नेपाली टिम पहिलोपल्ट फाइनल पुगेको हो । २० वर्षअघि सिनियर टिमबाट ढाका साफमा स्वर्ण जित्दाका मिडफिल्डर महर्जनले साफ यू-१६ मा फाइनलको प्रतिद्वन्द्वीबारे भने, 'भारतभन्दा अफगानिस्तान राम्रो टिम हो । यी दुईमध्ये एकसँग फाइनलमा भेट्ने सोचेको थिएँ । त्यस्तै भयो । टेक्निक, ट्याक्टिस र व्यक्तिगत रूपमा भारतीय खेलाडी पनि राम्रा छन् । त्यसैले भारतलाई कमजोर ठान्ने छैनौं ।' मिडफिल्डरद्वय अनिल राई र विकास थापा तथा फरवार्ड अञ्जन विष्ट घाइते छन् । पूर्ण स्वस्थ नभए उनीहरू फाइनलको 'प्लेइङ सेट'मा नहुने प्रशिक्षक महर्जनले बताए । 'बेन्चका खेलाडी पनि राम्रा छन् । त्यसैले गाह्रो हुने छैन । सुरुबाटै आक्रामक खेल्दै चाँडै गोल गरेर अगाडि बढ्ने योजना छ,' उनले भने । विगतको तुलनामा नेपाली किशोर खेलाडी शारीरिक रूपमा बलिया छन् । टेक्निक, ट्याक्टिस र मनोवैज्ञानिक रूपले पनि अब्बल छन् । भारतका प्रशिक्षक गौतम घोषले नेपाली टिम निकै राम्रो र सन्तुलित भएको बताए । 'नेपालले चारै खेलमा निरन्तर राम्रो खेल्यो । यू-१६ सिक्ने र विकास गर्ने अवसर हो । यस्तोमा नेपालविरुद्ध राम्रो खेल्ने प्रयास गर्नेछौं,' उनले भने । पहिलो संस्करणको फाइनलमा भारतलाई २-१ ले पन्छाउँदै पाकिस्तान च्याम्पियन भएको थियो । 'प्रत्येक दिन आइतबार हुँदैन । र, यहाँ कोही पनि हार्न आएका होइनन्,' घोषले भने । उनले नेपालका कप्तान हेमन्त थापामगर र फरवार्ड विमल घर्तीमगर उत्कृष्ट भएको बताए । सिनियर राष्ट्रिय टिमबाट मैत्रीपूर्ण खेल खेलिसकेका फरवार्ड विमल अग्रपंक्तिमा नेपालका मुख्य हतियार हुन् । उनी चार खेलमा ६ गोल गर्दै प्रतियोगिताकै गोलकर्ताको सूचीमा अगाडि छन् । चार गोल गर्दै उति नै गोलको अवसर सिर्जना गरेका कप्तान हेमन्त नेपालका प्लेमेकर हुन् । प्रतियोगिताका ११ खेलमा प्रतिखेल ३ गोलको औसतमा कुल ३३ गोल भए । त्यसमध्ये १६ गोल गरेकाले नेपालको अग्रपंक्ति राम्रो भएको पुष्टि गर्छ । भारतले तीन खेलमा ६ गोल गरेको छ । उसका अग्रपंक्तिका खेलाडी वेदेश्वर सिंह र कृष्ण पण्डित छरिता छन् । ढाका सागबाहेक नेपालका निम्ति अन्तर्राष्ट्रिय फुटबलम भारत सधंै बाधक बन्दै आएको छ । यस्तोमा सफलता हात पार्नसके नेपाली फुटबलमा हौसला बढ्नेछ । नेपाल र भारतले सेप्टेम्बर अन्तिम साता एएफसी यू-१६ च्याम्पियनसिपको छनोट खेल्दैछन् । दुवैलाई त्यसका निम्ति मनोबल उच्च पार्ने राम्रो अवसर साफ यू-१६ को फाइनल हुनेछ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.