Widgets

Home » » अंगभंग नै हुने गरी किन पिट्छन् शिक्षकले विद्यार्थी ? पिटेर होइन, खेलाएर पढाउन जान्नुपर्छ- शिक्षाविद्

अंगभंग नै हुने गरी किन पिट्छन् शिक्षकले विद्यार्थी ? पिटेर होइन, खेलाएर पढाउन जान्नुपर्छ- शिक्षाविद्

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० असार, काठमाडौं । ‘शिक्षाको ज्योति’ लिन स्कूल गएको छोरो उल्टै आँखाको ज्योति गुमाएर फर्केपछि बाँके हिरमिनिया-१ भनघोटना गाउँका मैकुलाल धोबी अहिले पीडामा हुनुहुन्छ । लडेर, खेलेर या अरु चोटपटक लागेर होइन, पढाएर आँखा देखाउनुपर्ने शिक्षिकाले ‘होमवर्क’ नगरेको भन्दै पिट्दा उहाँका छोरा ८ वषर्ीय अजयको आँखाको दृष्टि गुमेको हो । नेपालगंजस्थित ‘भेरिजोन इङलिस मिडियम स्कूल’मा नर्सरी कक्षामा पढाउने शिक्षिका आराधना रानाले अघिल्लो हप्ता सबै विद्यार्थीको ‘होमवर्क’ जाँच गरिन् । अजयले त्यो दिन ‘होमवर्क’ गरेका रहेनछन् । ‘होमवर्क’ खै त भनेर सोध्दा अजय नाजवाफ भएपछि शिक्षिका रानाले हातमा भएको किताबले फ्याट्ट मुखमा हिर्काइन् । ‘मिस’को पिटाइबाट उतिखेरै रनाहामा परेका अजयलाई अस्पताल लैजाँदा बायाँ आँखाको नानी फुटेको थाहा भयो । उता मोरंगको केराबारी- ९ स्थित बुद्ध माविका प्रधानाध्यापक घनश्याम गौतमले कक्षा १० की गरीब परिवारकी छात्रा गीता बस्नेतलाई साह्रो बोलेको आरोपमा चुल्ठोमा समातेर पाइपले हिर्काउँदा कानमा असर गर्नुका साथै ढाडमा नीलडाम बस्यो । परिवारले यसबारे गुनासो गर्दा मास्टरले पिट्नु स्वाभाविकै हो भनियो । अन्ततः अभिभावकहरुले उजुरी गरेपछि प्रधानाध्यापक गौतम बेलबारी प्रहरी कार्यालमा तीनघण्टा थुनामा समेत पर्नुभयो । यी त सो साताका पछिल्ला घटना मात्रै हुन् । शिक्षक-शिक्षिकाको पिटाइबाट विद्यार्थीको हात भाँचिएको, कान च्यातिएको, चोटपटक लागेको खबर बारम्बार सार्वजनिक भैरहन्छन् । आखिर किन यसरी बारम्बार पिटिन्छन् विद्यार्थीहरु ? विद्यार्थीलाई सृजनशील ढंगले पढाउनुपर्छ भन्ने कुरा नबुझेका शिक्षक-शिक्षिकाका कारण यस्ता घटना दोहोरिने गरेको बताउँदै शिक्षाविद् डा. तीर्थ खनियाँले अनलाइनखबरसित भन्नुभयो-’विद्यार्थीलाई पिटेर, तर्साएर होइन उनीहरुको रुची अनुसार फकाएर पढाउन सक्नु नै असल शिक्षकको गुण हो ।’ कानूनले भन्छ- विद्यार्थी पिट्न पाइँदैन शिक्षा नियमावलीको चौथो संशोधनमा शिक्षकहरुको आचारसंहितामा बालबालिकाहरुलाई विद्यालयमा कुनै पनि किसिमको शारिरीक सजाय दिन नपाइने प्रावधान छ । शिक्षा मन्त्रालयले ८ वर्षअघि नै सबै जिल्ला शिक्षा कार्यालय मार्फत विद्यालयहरुमा यसबारे जानकारी पनि गराइसकेको छ । ‘बालबालिकाहरुलाई अनुशासन वा अन्य कुनै बहानाबाट पनि यातना दिनु वा दुव्र्यवहार गरिएमा दण्डनीय हुनेछ भन्ने व्यहोराको जानकारी विद्यालयमा गराउने’ निर्देशनमा भनिएको थियो । यो निर्देशनसँगै धेरै विद्यालय र शिक्षकले बालमैत्री वातावरणमा पठनपाठन पनि थालेका छन् । ‘धेरैले सजाय नदिइकनै पढाउने गरेका छन्’ खनियाँले भन्नुभयो-’केहीले भने अझै सजाय दिने गरेका छन्, यसलाई सुधार गर्न आवश्यक छ ।’ सजाय र त्यसबाट पुग्ने असर विद्यार्थीले गृहकार्य नगर्दा, सोधेको भन्न नजान्दा शिक्षकले बिभिन्न तरीकाले सजाय दिन्छन् । शिक्षकले विद्यार्थीलाई दिने सजाय प्रायः यस्ताखालका हुन्छन् : · हात, स्केल, डस्टर वा छडीले शरीरका बिभिन्न भागमा कुट्ने · बेञ्चमाथि उभ्याउने · कान निमोठ्ने · कन्सिरी तान्ने · जगल्ट्याउने · कान समातेर उठबस गराउने · एउटा खुट्टाले उभिन लगाउने · घुँडा टेकाउने · गाला र पाखुरामा चिमोट्ने · औंलाका बीचमा पेन्सिल वा छडी राखी चेप्न लगाउने · सिस्नुपानी लगाउने · कुखुरा बनाउने · चर्पी या कक्षाकोठामा थुन्ने · पाइप वा सिर्कनाले हानेर डाम बसाउने, रगत निकाल्ने यसरी दिने सजायँबाट बालबालिकाहरुमा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुन्छ । बाल मनोविज्ञ एवं चिकित्सकहरुका अनुसार यस्ता सजायँबाट बालबालिकाहरुमा कान नसुन्ने, अपांग हुने, असुरक्षित महसुस गर्ने, आफूलाई अपहेलित र असहाय ठान्ने, डराउने, झस्किने, मानसिक बिरामी पर्ने, आत्महत्या गर्ने, आत्मविश्वामा कमी आउने, पढाईमा अरुची पैदा हुने, निद्रा नलाग्ने, एकाग्रतामा कमी आउने, सपनामा बर्बराउने लगायतका समस्या देखिन्छ । कसैकसैले त आत्महत्या पनि गर्ने गरेका छन् । सजायँ नदिई सिकाउन सकिन्छ धेरै शिक्षकहरु भन्ने गर्छन्-एक दुई थप्पड नहान्दासम्म विद्यार्थीले मान्दै मान्दैनन् । उनीहरुलाई पढाइप्रति रुची जगाउन पनि अलिअलि तर्साउन चाहिँ पर्छ । तर, आधुनिक शिक्षा प्रणालीले शारीरिक सजायँलाई पूर्ण रुपमा अस्वीकार गरेको छ । ‘बालबालिकालाई अलिअलि पनि तर्साउन हुँदैन, उनीहरुको मनोबल बढ्छ’ शिक्षाविद डा. खनियाले भन्नुभयो । उहाँका अनुसार साना कक्षाका बालबालिकालाई पढ्दैछु भन्ने कुरा नै महसुस नहुने गरी पढाउनुपर्छ । ‘बालबालिकाको रुची बुझ्नुपर्छ, उसलाई खेलेर पढाउने हो, हप्काएर र पिटेर होइन’ खनियाले भन्नुभयो-’यसैले त शिक्षकलाई बालमनोविज्ञानको शिक्षा दिइएको हुन्छ ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger