भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मुख्य राजनीतिक शक्तिसँग वार्ता गर्न टोली गठन गरेलगत्तै उत्तरी छिमेकमा पुगेका नेकपा-माओवादीका शीर्ष नेता चुनाव बहिष्कारलगायत आफ्ना धारणा चिनियाँ नेतृत्वसामु राखी बिहीबार स्वदेश फर्किए । आखिर, कसरी प्रयोग गर्दैछ माओवादीले चीन-कार्ड ?
काठमाडौ, असार २९ - संविधानसभा चुनावका पक्षमा चीनले औपचारिक भनाइ सार्वजनिक गरेपछि बेइजिङ पुगेका माओवादी नेताले नयाँ सम्झौतापछि नयाँ तिथिमा गरिने चुनावमा मात्र भाग लिन सकिने बताएका छन् । भ्रमणको अर्को पक्ष पनि छ । अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सीपी गजुरेलको तीनदिने बेइजिङ बसाइलाई माओवादीले दक्षिण छिमेक भारतका लागि 'सन्देशमूलक' बनाएको थियो । पार्टी गठन भएको एक वर्ष पुग्दा भारतले सधैं 'टाढाको सम्बन्ध' राखेको निष्कर्ष उनीहरूको थियो । यसबीचमा भारतले माओवादी नेताहरूलाई भ्रमणमा बोलाएको छैन । बेइजिङ उडेकै भोलिपल्ट काठमाडौं आउँदै गरेका भारतीय विदेशमन्त्री सलमान खुर्सिदको भ्रमण र भेटघाटबारे पनि माओवादीले भारतीय पक्षबाट केही जानकारी पाएको थिएन । पृष्ठभूमिका यस्ता कारणलाई शुक्रबार छर्लंग पारिदिए अन्तर्राष्ट्रिय व्युरोको नेतृत्वसमेत सम्हालेका माओवादी उपाध्यक्ष सीपी गजुरेलले । 'एक हातले ताली बज्दैन नि,' चीनले आफूहरूलाई महत्त्वपूर्ण राजनीतिक शक्तिका रूपमा हेरेको तर भारतले नहेरेको खुलस्त पार्दै उनले भने, 'चीनले बोलाउँछ, हामी जान्छौं । भारतले हामीलाई महत्त्वपूर्ण राजनीतिक शक्तिजस्तो ठान्दैन । हामी पनि गएका छैनौं ।' एक वर्षको बीचमा अध्यक्ष वैद्यसहित माओवादी टोलीले दोस्रोपटक चीन भ्रमण गरेको छ । पछिल्लोपटक गत सोमबार राति वैद्य र गजुरेल चीन पुगी त्यहाँका उपराष्ट्रपति र कम्युनिस्ट पार्टीको विदेश विभागका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए । अध्यक्ष वैद्यले संविधानसभा चुनावमा सहभागी हुने/नहुनेबारे चिनियाँ पक्षले केही सुझाव नदिएको जानकारी दिए । बरु नेपालमा शान्ति र स्थायित्व कायम हुनुपर्ने, आर्थिक विकास र संवृद्धि भई जनताको जीवनस्तर माथि उठ्नुपर्ने र आन्तरिक मामिलामा दलका नेताहरू आफैंले निर्णय गर्नुपर्ने विषयमा चिनियाँ नेतृत्वको चासो रहेको वैद्यले जानकारी दिए । 'चुनावमा भाग लिने/नलिने जस्ता विषय आन्तरिक मामिला हुन् । त्यसलाई सबै पार्टी मिलेर टुंग्याउनुपर्छ,' भ्रमणबारे कान्तिपुरसँग उनले भने, 'यसो गर्नुस्, उसो गर्नुस् भनेर हामीलाई भनेको छैन । भन्ने कुुरा पनि होइन ।' चीनले खासगरी तिब्बती मामिला र क्षेत्रीय शक्ति सन्तुलनका लागि नेपालको राजनीतिक अवस्थाप्रति चासो प्रकट गर्दै आएको छ । आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने घोषित उसको नीति छ । तर दुई देशका पार्टी-पार्टी र जनता- जनताबीच सम्बन्ध बढाउने कामलाई भने चीनले पछिल्लो समय तीव्र बनाएको छ । 'चीन आफू पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन । अरूले पनि हस्तक्षेप नगरोस् भन्ने चाहन्छ,' भारततर्फ इंगित गर्दै अध्यक्ष वैद्यले बेइजिङ भ्रमणबारे भने, 'हामीले आफ्नो देशका समस्या आफैं मिलाउने हो । चीनको चासो पनि यस्तै थियो ।' माओवादीले मंसिर ४ को घोषित मिति खारेज हुनुपर्ने, राजनीतिक नेतृत्वको सरकार हुनुपर्ने, त्यसका लागि सर्वपक्षीय गोलमेच सभा गरी समाधान खोज्नुपर्ने भन्दै वार्ताका लागि तयार रहेको जनाएको हो । त्यसबारे चिनियाँ पक्षलाई जानकारी गराएको नेता गजुरेलले बताए । 'राजनीतिक तहबाट समाधान नखोजी चुनावमा जानु राम्रो होइन भनी ैप्रस्ट कुरा राख्यौं,' संवाद डबलीले राजधानीमा आयोजना गरेको कार्यक्रममा गजुरेलले थपे ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.