Widgets

Home » » एमाओवादी थन्कियो कार्यदिशा

एमाओवादी थन्कियो कार्यदिशा

Written By sangalo on Friday, July 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

maoists

काठमाडौ, असार २९ - यतिखेर पेरिसडाँडाको अँध्यारो कोठामा थन्किएको छ, धुमधामका साथ हेटौंडा महाधिवेशनबाट पारित एमाओवादी दस्तावेज । र, दिशाहीन बन्न पुगेको छ- 'पुँजीवादी जनवादी क्रान्ति' को कार्यदिशा । अनि नेताहरू पदीय भागबन्डामा व्यस्त छन्- राजनीतिक मेरुदण्डका रूपमा रहेको कार्यदिशालाई अलपत्र पारेर । महाधिवेशनको ६ महिना बितिसक्दा पनि पुँजीवादी क्रान्तिअन्तर्गतको 'उत्पादन तथा निर्माण अभियान' पूरै अलपत्र छ । साता लामो केन्द्रीय समिति बैठक नेताहरूको बढुवा र पदमा सहमति जुटाउने प्रयत्नमै सकियो । तर पनि सहमति जुट्न नसकेपछि त्यसलाई टुंग्याउने दायित्व साउन पहिलो साता हुने विस्तारित बैठकलाई दिइएको छ । अझै पनि हेटौंडा महाधिवेशनको कार्यदिशा अधिकांश नेता/कार्यकर्ताको चासोको विषय बनेको छैन । विस्तारित बैठक पनि नेताहरूको पदीय भागबन्डाकै 'तँछाडमछाड' मा केन्दि्रत हुने पक्का छ । नेताहरूको दृष्टि पदीय भागबन्डामै सीमित रहेको उदाहरण हो यो । उनीहरूको मुख्य चासो कसरी उपल्लो पद पाउने भन्नेमा केन्दि्रत छ । नेताहरू पदीय लडाइँमा तल्लिन भएपछि कार्यकर्ता निर्वाचनको मुखमा उदासीन हुन थालेका छन् । 'नेताहरू मूल कार्यदिशालाई अलपत्र पारेर पदीय लडाइँमा लागेपछि जाँगर कसरी चल्छ ?,' एक कार्यकर्ताले भने, 'महाधिवेशनको मूल मर्मअनुसार यतिबेला उत्पादन र निर्माण अभियान चलिसक्नुपर्ने थियो ।' एमाओवादीमा पदीय लोलुपता चरम रूपमा देखिनु भनेको वैचारिक विचलनको स्पष्ट संकेत हो । त्यसलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताहरूले गम्भीर रूपमा नलिएको कार्यकर्ताको गुनासो छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटिएका एक कार्यकर्ताले नेताहरूको पदीय लडाइँलाई देख्दा लाज लाग्ने अवस्था आइसकेको उल्लेख गर्दै सैद्धान्तिक र वैचारिक आदर्शमा धमिरा लाग्दै गएको बताए । 'पार्टीमा सैद्धान्तिक र वैचारिक आदर्शमा धमिरा लागेपछि पदीय लडाइँ चर्को हुन्छ,' उनको भनाइ थियो, 'यस्तै हो भने पार्टीमा कार्यकर्ताभन्दा नेता धेरै हुने अवस्था आउने छ ।' एमाओवादी नेता राम कार्की महाधिवेशनले पारित गरेको कार्यदिशामा पार्टी केन्दि्रत नभएको बताए । 'महाधिवेशनमा प्रतिनिधिले अध्यक्षको राजनीतिक दस्तावेजमाथि सुझाव र आलोचना दिएका थिए,' उनले भने, 'त्यसपछि त्यो दस्तावेज कतै थन्किएको छ । ती सुझाव, आलोचना समेटिएको दस्तावेज छ महिनासम्म पनि आउन सकेको छैन ।' राजनीतिक कार्यदिशा, कार्यक्रम अलपत्र परेकै कारण पार्टी संगठनमा विसंगति आएको उनको बुझाइ छ । 'संगठनमा असंगति देखिनु राजनीतिसँग गाँसिएको छ,' उनले भने, 'संसदीय पार्टीभन्दा हाम्रो पार्टी फरक कहाँ छ ? हाम्रा वर्गीय निष्ठाका कार्यक्रम कहाँ छन् ?' उत्पादन र निर्माणका लागि केन्द्रमा ब्युरो बनाउने त्यहीअनुसार अघि बढ्ने भन्दै महाधिवेशनपछि एमाओवादीले खुबै प्रचार गरेको थियो । छ महिना बितिसक्दा पनि उसले यसबारे कुनै ठोस निर्णय गरेको छैन । 'केन्द्रमा आर्थिक तथा उत्पादन ब्युरो गठन गर्ने,' 'एकीकृत योजना र विकेन्दि्रत व्यवस्थापनको' मान्यताअन्तर्गत ब्युरोले उत्पादन योजनाको समग्र नेतृत्व गर्ने', 'राज्य, जिल्ला तथा गाउँहरूमा उत्पादन तथा सहकारी विभाग गठन गर्ने' महाधिवेशनले पारित गरेको राजनीतिक दस्तवेजमा उल्लेख छन् । महाधिवेशन समापनमा अध्यक्ष दाहालले कार्यदिशाले मुलुकलाई समृद्धिको बाटोमा लैजाने दाबी गरेका थिए । 'यो कार्यदिशाले क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजाने छ,' उनको भनाइ थियो । उनले यो कार्यदिशालाई समाजवादी उन्मुख भएको दाबीसमेत गरेका थिए । उत्पादन र निर्माणका लागि प्रत्येक जिल्लामा उत्पादन ब्रिगेड तथा इलाकाहरूमा उत्पादन दल निर्माण गर्ने घोषणासमेत महाधिवेशनले गरेको थियो । उत्पादनका लागि 'एक संगठन एक उत्पादन' अभियान चलाउने र त्यसका लागि नेतादेखि कार्यकर्तासम्म खटाउने नीति उसले लिएको थियो । एमाओवादीका पूर्णकालीन कार्यकर्ता पलायन भइरहेको ठहर गर्दै उसले नेता तथा कार्यकर्तालाई श्रममा जोड्ने बताएको थियो । त्यसका लागि उसले सहकारी अभियानलाई मुख्य आधार बनाउने निर्णय गरेको थियो । 'उत्पादन ब्युरोले उत्पादनको योजनासम्बन्धी प्रस्ताव र केन्द्रीय सहकारी विभागले सहकारीसम्बन्धी निर्देशिका जारी गर्ने, पार्टी ब्युरो, राज्य र जिल्लाहरूको नेतृत्वमा एक/एकवटा उत्पादन तथा निर्माणका नमुना योजनाहरू सञ्चालन गर्ने' निर्णयमा भनिएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger