Widgets

Home » » कुसुण्डाले राउटेलाई भने "हामी राजा तिमी रैती"

कुसुण्डाले राउटेलाई भने "हामी राजा तिमी रैती"

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

raute

अम्बापुर , असार २९ - कुसुण्डा प्रेमबहादुर शाहीले राउटे मुखिया प्रतिनिधि शिवराम शाहीलाई भने, 'वनको राजा हामी हौं, तिमीहरू हाम्रा रैती हौ । हामी गाउँमा बसिसक्यौं, तिमीहरू नबस्ने ?' फिरन्ते जीवनका क्रममा राउटेहरू कुसुण्डा देखेर भाग्थे । कुसुण्डाले जंगलमा आफ्नो अधिकार भएको भन्दै राउटेबाट राजस्व असुल्ने भएपछि राउटे भागीभागी हिंड्ने गरेको प्रेमबहादुरले बताए । 'अब भाग्नु पर्दैन । हामीजस्तै गाउँमै आएर बसे हुन्छ,' घोरही ५ अम्बापुरस्थित उनकै घर पुगेका राउटेलाई प्रेमबहादुरले भने, 'हामी पनि पहिले तिमीहरूजस्तै जंगलमा सिकार गर्दै हिंड्थ्यौं । त्यसरी सधैँ सम्भव हुँदैन, घर बनाएर बस्नैपर्छ ।' कुसुण्डादेखि भागभागी हिंड्ने राउटेलाई उनीहरूको बस्ती पुगेर भेटघाट गर्ने कार्यक्रम बनाएपछि सुरुमा खुलेर कुराकानी गर्न तयार भएनन् । जंगलबाट गाउँ बस्न थालिसकेका कुुसुण्डाको अवस्था र जंगलमा बस्दाको अनुभव साटासाट गर्ने भनेपछि राउटे पनि तयार भए । प्रेमबहादुरले लामो समयअघि कुसुण्डाका राजाको हत्या गरेर जंगल लखेटिएको बताए । 'जंगलमा हाम्रो पूर्ण अधिकार थियो । राउटेले रूख काट्ने र भाँडाकुँडा बनाउने गर्न थालेपछि हामीले कर लिएका हौं,' फिरन्ते जीवन भोगेका उनले भने, 'जंगल हाम्रै हो भन्ने भावना हामीमा थियो । राउटे हामीदेखि भाग्थे । हामीलाई सबैले वनराजा भन्थे ।' कुसुण्डाका कुरा राउटेले ध्यानपूर्वक सुने अनि केही जिज्ञासा राखे । 'हामीले पनि कुसुण्डाबारे सुनेका थियौं तर भेट्न पाएका थिएनौं,' शिवरामले भने, 'अहिले भेट्न पाइयो । तपाईंहरू गाउँमा बसिहाल्नुभएछ । हामी त पुर्खादेखि नै जंगलमा बसेको, अहिले किन छोड्नु र ? त्यहाँ हामीलाई केही डर पनि छैन ।' कुसुण्डालाई सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर बनाइदिएको छ । कुसुण्डाले राउटेलाई यस्तै घर बनाएर बस्न आग्रह गरे तर उनीहरूले गाउँमा बस्न खासै मन गरेनन् । जिल्लामा १० परिवारका ९० कुसुुण्डा रहेको अध्यक्ष धनबहादुरले जानकारी गराए । फिरन्ते जीवन बिताइरहेका राउटेलाई सामाजिकीकरण गर्ने योजनाअनुसार अर्थ मन्त्रालयअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कुसुण्डासँग भेटघाट कार्यक्रम राखेको हो । चितवनका चेपाङ, दाङका कुसुण्डा र बाँकेका कुसपडियासँग भेटघाट गराएर उनीहरू कसरी जंगलबाट गाउँमा आए भन्ने राउटेलाई सिकाउने प्रयत्न गरेको कोषका अनुगमन अधिकृत जनक पाण्डेले बताए । राउटे बिस्तारै परिवर्तनतर्फ उन्मुख हुन थालेको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् । 'जंगलबाट गाउँ आएका विभिन्न जातिको अवस्था हेरेपछि राउटे पनि घर बनाएर बस्दा राम्रै हुने रहेछ भन्न थालेका छन्,' उनले भनिन्, 'लामो समय जंगलमा बसेकाले एकैपटक जीवनशैली बदल्न कठिन भएको हो । जंगलमा उनीहरू निकै जोखिम जीवन बिताइरहेका छन् । उनीहरूको रक्षाका लागि पनि घर बनाएर बसाल्न आवश्यक छ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger