Widgets

Home » , » घरजग्गाको मूल्य अब घट्नेवाला छैन

घरजग्गाको मूल्य अब घट्नेवाला छैन

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कुनैबेला दिन दुई गुणा, रात चौगुणा बढ्ने नेपालको घरजग्गाको मूल्य पछिल्लो चार बर्षदेखि उल्टो गतिमा छ । राष्ट्र बैंकले घरजग्गाको मूल्यमाथि लगाम लगाएसँगै यसमा संलग्न व्यवसायीमात्रै हैन, त्यसमा प्रत्यक्ष/अप्रत्यक्षरुपमा ठूलो लगानी गरेका वित्तीय संस्थाहरु पनि धर्मराउने अवस्थामा पुगेका छन् । घरजग्गामा चौतर्फी संकट देखिइरहेका बेला यसमा संलग्न केही व्यवसायीहरु भने अझैसम्म आफुलाई जोगाइराख्न सफल देखिएका छन् । त्यसमध्येका एक हुन नेपाल जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनी । नेपालको घरजग्गा क्षेत्रमा करिव २ सय ५० को लगानी रहेको भन्दै उनले अब घरजग्गाको मूल्य नघट्ने दाबी गरे । उनको सुझाव छ- व्यक्तिगत प्रयोजनका लागि घरजग्गा किन्ने अहिले उपयुक्त समय हो ।nnn
पछिल्लो समय घरजग्गा व्यवसायमा मन्दी छाएको भनिन्छ । हुन पनि नाम कहलिएकै व्यवसायीहरुको तस्वीरसहित पत्रिकातिर लिलामीका सूचना पनि बढिरहेका छन् । कत्तिको भयावह छ अहिलेको अवस्था ?
विगत चार वर्षदेखि घरजग्गा उद्योग मन्दीबाट प्रभावित हुँदै आएको छ । घरजग्गा व्यवसायमा मन्दी छाए पनि पछिल्लो वर्ष व्यक्तिगत घर र व्यक्तिगत प्लटहरु अर्थात बजेट घर तथा प्लटहरुको बिक्री काठमाडौं उपत्यकामा क्रमिक रुपमा बढ्दै गएको देखिन्छ । मोफसलमा पनि घरजग्गाको कारोबार बढ्दै गएको छ । ग्रामिण क्षेत्रमा रहेका शहर तथा सदरमुकाममा घरजग्गाको कारोबार अत्यन्तै बढ्दै गएको पाइन्छ । काठमाण्डौमा जस्तो ग्रामिण क्षेत्रमा मन्दीले खासै प्रभाव पार्न सकेको छैन् । त्यसैले सस्ता खालका घरजग्गाहरु आगामी वर्ष अझ बढ्न हामी व्यवसायीहरुले अनुमान गरेका छौं । यो वर्ष समयमा बजेट आउनु, मौदि्रक नीतिमा रियल स्टेटका धरै कुरा समेटिनु, ब्याजदर घट्दै जानु, रेमिट्यान्स बढ्दै जानु लगायतका कारणले घरजग्गा ब्यबसायमा बिस्तारै उकालो लागिरहेको छ । ४ वर्षदेखि कुरेर बसेका क्लाइन्टहरु अब घरजग्गा खरिद गर्ने सहि समय हो भनेर लागिरहेका छन भने चुनाव हुन्छ भन्ने आधार तयार हुँदै गएका कारण पनि यो क्षेत्रमा सकारात्मक प्रभाव पर्न थालेको छ । पछिल्लो समय नेपालीहरु कोलोनी र अपार्टमेन्टमा बस्न अभ्यस्त हुँदै गएको देखिन्छ, यसले पनि ब्यबसायमा सुधार आइरहेको छ ।
अपार्टमेन्ट, बंगला वा टुक्रा जग्गामध्ये कुन क्षेत्रको कारोबार उच्च रहेको पाउनुभएको छ ?
विशेषगरी कोलोनीमा बनेका सस्ता घरहरु र डेभलप गरिएका सस्ता खालका प्लटहरुको खरिद-बिक्री अहिले पनि चलायमान नै रहेको छ । यस्ता घर तथा प्लटहरुको खरिद बिक्री काठमाडौं उपत्यकामा पनि उच्च रहेको छ । पहाडी तथा तराई जिल्लाका शहरहरुमा घरजग्गाको मूल्य समेत बढ्दै गएको हामीले पाएका छौं ।
सरकारले हालै गरेको एक सर्वेक्षणमा सन २०१५ सम्म घरजग्गा व्यवसाय शिथिल नै रहने ठहर गरेको छ । तपाईलाई के लाग्छ ?
नेपालीहरुको संस्कार के छ भने कुनै पनि व्यवसाय बुम हुन थाल्यो भने सोँच विचार नै नगरि त्यस क्षेत्रमा प्रवेश गरिहाल्ने । चार वर्ष अगाडीको कुरा गर्ने हो भने अहिले २ सय रुपैयाँ रहेको बैंकको सेयर २ हजार रुपैयाँसम्म पुगको थियो । त्यति बेला घरजग्गाको भाउ पनि थाम्नै नसकिने गरी आकासियो । त्यतिबेला अन्य क्षेत्रमा राम्रो गरिरहेका व्यवसायीहरुले पनि घरजग्गा व्यवसायबाट रातारात धनी बन्न सकिने रहेछ भनेर जथाभावी लगानी गरे । जहाँसम्म तपाईले सरकारी अध्ययनको सन्दर्भ उठाउनुभयो, त्यो डाटा व्यक्ति-व्यक्तिलाई सोधिएर तयार परिएको हो । निरासा भएको अवस्थामा सबैले खरिद बिक्री शिथिल हुन्छ, मूल्य बढ्दैन भनेर जवाफ दिनु स्वभाविक पनि हो । यही सर्भे ४ वर्ष अगाडि गरिएको हुन्थ्यो भने घरजग्गा कारोबार बढ्छ भन्ने डाटा आउँथ्यो होला । त्यहि भएर यस डाटामा विश्वास गरिहाल्नुपर्ने हामीले देख्दैनौं । महंगा अपार्टमेन्ट, प्लटहरुको कारोबार बढ्न नसके पनि सस्ता कोलोनी र जग्गाहरुको कारोबार अवश्य बढ्ने छ ।
छिट्टै धनी हुने नाममा सवै क्षेत्रका मानिसहरुले घरजग्गामा लगानी गरे भन्नुभयो । त्यही कारण उद्योग डुब्ने अवस्थामा पुग्यो भन्ने तपाईहरुको ठहर हो ?
Bhes-Raj-Lohoni-2यो उद्योग व्यवसायिक रुपमा अगाडि बढेको १०/१२ वर्षमात्र भएको छ । जुन बेला संस्थागतरुपमा व्यवसायीहरु यस क्षेत्रमा प्रवेश गरे, त्यही समयमा द्वन्द्व चरमविन्दुमा पुग्न गयो । लगानीको वातावरण ध्वस्त बन्दै गयो, व्यवसायीहरुले आफ्नो व्यवसायबाट हात धुनेसम्मको अवस्था आयो, त्यो बेलामा यो व्यवसाय सुस्त गतिमा रहेको थियो । जब शान्ति प्रकृया शुरु भयो, त्यही समयमा बैंक तथा वित्तीय संस्थाहरु धेरै खोलिए, सबैले लगानी गर्ने ठाउँ रियल स्टेट बन्न पुग्यो, ८/१० बर्ष यत्तिकै रहेका घरजग्गाको मूल्य एक्कासी बढ्न गयो । त्यो अवस्था धेरै समय रहन पनि हुँदैनथ्यो ।
घरजग्गा व्यवसाय नियन्त्रण बाहिर जान थालेपछि राष्ट्र बैंकले ०६६ मा मोनिटरी पोलिसीमार्फत घरजग्गा व्यवसायलाई नियन्त्रण गर्‍यो । त्यो समयमा कुनै पनि किसिमले यस व्यवसायलाई नियन्त्रण गर्न नसकेको भए अहिले अर्थतन्त्र नै धरासायी बन्ने थियो । राष्ट्र बैंकले घरजग्गा व्यवसायको एक्कासी नियन्त्रण गर्दा घरजग्गा व्यवसायमा लगानी गर्नेहरु जोखिममा पर्न गएका हुन् । नियन्त्रण गर्नासाथ कारोबार घट्न गयो, धेरै लगानी गरेर निर्माण गरिएका घर तथा अपार्टमेन्टको मूल्य स्वात्तै घट्यो, जसले गर्दा व्यवसायी उठ्न नसक्ने गरी थला परे । राष्ट्र बैंकले विस्तारै नियन्त्रण गर्दै जानुपर्नेमा एकाएक नियन्त्रण गर्दा यो व्यवसाय थला पर्न गएको हो । तर, जो प्रोफेसनल व्यवसायी थिए र धेरै लामो समयदेखि यही व्यवसायमा लागेका थिए, तिनीहरुको तुलनामा पछिल्लो समय ०६४/०६५ मा आएर लगानी गर्ने व्यवसायीहरु धेरै जोखिममा परेका छन् ।
यो उद्योगमा स्थापित व्यवसायीहरु पनि अहिले धरासायी भएको देखिन्छ । तपाइको संस्थाले कुन व्यवसायी कतिसम्म फसे भनेर कुनै समीक्षा गरेको छ ?
हामीले व्यक्तिगत रुपमा को कति डुब्यो भनेर हामीले भन्न र खोज्न हुँदैन । तर, नेपाल जग्गा तथा आवास विकास संघमा संस्थागत रुपमा १ सय ३० व्यवसायी आवद्ध रहेका छन् । ती कम्पनीहरुले काठमाडौं उपत्यकामा ७१ वटा संस्थागत प्रोजेक्टमा हात हालेको पाएका छौं । ती ७१ वटा प्रोजेक्टमध्ये धेरैजसो सम्पन्न हुँदै गएका छन् । ठूला अपार्टमेन्टमा सबैभन्दा ठूलो समस्या आएको हो । कारण अझै नेपालीहरुमा अपार्टमेन्ट कल्चर विस्तार भइसकेको छैन । धेरैजसोले आफ्नो आवश्यकताले नभई नाफा कमाउने हिसावले लगानी गरे । व्यवसायीले एउटा प्रोजेक्टका लागि भनेर ग्राहकबाट उठाएको रकम अन्य क्षेत्रमा परिचालन गरिनु, आर्थिक अनुसासनमा नरहनु, क्षमता भन्दा बढी जग्गा र घरहरु खरिद गरिनु, बैंकमा तरलता कम हुनु, ८ प्रतिशत ब्याज रहेको ऋण एक्कासी १५/१६ प्रतिशतमा पुग्नु, बैंकहरुले घरजग्गा व्यवसायीको घर-घरमा गएर ऋण लिइदिनुस भनेर उकास्नु, नगर विकासले अनुगमन गर्न नसक्नु, व्यवसायको समिक्षा गर्न नसक्नु लगायतका कारणले पनि व्यवसाय संकटमा पर्न गयो । व्यवसाय संकटमा पार्न व्यवसायी पनि दोषी रहेका छन् । ग्राहकहरुले सकी नसकी धेरै फ्लाट जग्गा खरिद गरेर संकटमा परेपछि व्यवसायीलाई रकम नदिँदा पनि व्यवसायी मर्कामा परे ।
समस्यामा परेका व्यवसायीहरुमध्ये अहिले कति समस्याबाट मुक्त भइसके र कति अझै फसिरहेका छन् ?
समग्र रुपमा हेर्दा सबै व्यवसायी केही न केही समस्याबाट गुजि्रएका छन् । जो व्यवसायी पुरानो हो, सस्तो मूल्यमा जग्गा खरिद गरेको थियो त्यो अहिले जतिसुकै ब्याज बढे पनि आर्थिकरुपमा समस्यामा छैन् । तर, जो घरजग्गा व्यवसाय बुम भएको बेला ०६४/०६५ मा यस क्षेत्रमा प्रवेश गरे, उनीहरुले महंगो मूल्य हालेर खरिद गरेका प्रोजेक्टहरु अहिले सोही मूल्यमा बिक्री हुने अवस्था छैन ती व्यवसायीहरु अहिले संकटमा छन् । उनीहरुले बढ्दो खर्चअनुसारको मूल्यमा बिक्री गर्ने अवस्था छैन ।
व्यवसायीहरुले बिक्री नभएका ठूला अपार्टमेन्टहरुलाई होटल, हस्पिटल, स्कुल कलेज लगायतको प्रयोजनका लागि प्रयोगमा ल्याउन थालिएको छ कि अपार्टमेन्ट कल्चर विकास हुन्छ भनेर ग्राहकलाई नै कुरेर बसेको अवस्था हो ?
हिजोको जस्तो अपार्टमेन्ट तुरुन्त बिक्री हुन्छ भनेर बसेको छैन । सरकारले उच्चपदस्थ कर्मचारीहरुलाई अपार्टमन्ट खरिद गरेर दिने निर्णय गरेपछि केही अपार्टमेन्ट त्यता प्रयोग हुन सक्छन् । अहिले व्यवसायीहरुले अपार्टमेन्ट होल्ड गरेर नराखी होटल, हस्पिटल लगायतका क्षेत्रमा लगाउन थालेका छन् । व्यवसायीहरुले बैकल्पिक रुपमा सोचिरहेका छन् । सरकार, बैंक तथा वित्तीय संस्था र ग्राहकहरुले व्यवसायीहरुलाई सहयोग गरेर माथि उठाउन भूमिका खेल्नुपर्छ । बैंक तथा वित्तिय संस्थाहरु पनि मन्दी छाएपछि व्यवसायीसँग गरेका कबुललाई कुल्चेर ब्याक भएको अवस्था समेत छ । बैंकहरु पछि हटेर हैन, सहयोगी भएर आउनुपर्छ ।
घरजग्गाको मूल्य अहिले बढ्ने, घट्ने अथवा स्थिर रहने के छ ?
प्रत्यक्ष रुपमा हेर्ने हो भने ४ वर्ष अगाडिको भन्दा अहिले २०/३० प्रतिशत मूल्य घटेको छ । तर, अप्रत्यक्ष रुपमा हेर्दा व्यवसायीहरुले ६० प्रतिशत ब्याज तिरिसकेको र २०/३० प्रतिशत मूल्य घट्दा व्यवसायीहरुलाई झण्डै ८०/८५ प्रतिशत घरजग्गाको मूल्य घटिसकेको अवस्था हो । मूल्य जे जति घट्यो घट्यो, अब घट्नेवाला छैन् । अहिले घरजग्गाको मूल्य स्थिर रहेको छ अब विस्तारै बढ्ने विश्वास रहेको छ । राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको मौदि्रक नीतिमा पनि घरजग्गा व्यवसायीका केही माग सम्बोधन गरेको छ । सरकार पनि घरजग्गा व्यवसायलाई केही खुकुलो बनाउनुपर्छ भन्ने मानसिकतामा रहेको हुँदा अगामी दिनमा घरजग्गाको मूल्य विस्तारै बढ्ने निश्चित छ ।
तीन हजार अपार्टमेन्ट बिक्री नभएको भन्ने सुनिएको थियो, यति ठूलो संख्याको अपार्टमेन्टलाई कसरी ब्यबस्थापन गर्ने ?
संस्थागत रुपमा आएका निर्माणाधीन र निर्माण भइसकेका अपार्टमेन्टको संख्या काठमाडौं उपत्यकामा ६ हजार रहेको छ । जसमध्ये ३ हजार अपार्टमेन्टहरु निर्माण सम्पन्न भएर बिक्री भइसकेका छन् भने बाँकी निर्माण हुँदै छन् । बाँकी ३ हजार निर्माण र बिक्री हुने क्रममा छन् । व्यक्तिगत घरहरु हेर्ने हो भने २२ सय युनिट घर निर्माणका लागि अनुमति लिएको देखिन्छ । त्यसमा जम्मा ३ सय युनिट घरहरुमात्र बिक्री हुन बाँकी छन् । नेपालीहरु व्यक्तिगत घरहरुमा बस्न रुचाउने हुँदा यस्ता घरहरु थन्किएर रहने अवस्था छैन । नेपालमा कोलोनीमा निर्माण गरिएका व्यक्तिगत घरहरुको सम्भावना राम्रो देखिन्छ ।
उपभोक्ताको नजरबाट हेर्दा अहिले घरजग्गा खरिद गर्ने सही समय हो ?
नेपालीहरुको अर्थिक अवस्था ४ वर्ष अगाडिको भन्दा बढेको छ । काठमाडौंमा जमीनको मूल्य ४ वर्षदेखि स्थिर रहेको कारणले गर्दा सस्ता घरहरुको बिक्री बढ्दै जाने र मूल्यसमेत विस्तारै बढ्दै जाने हुँदा आवश्यकता परेका ग्राहकहरुले बाहिरभन्दा व्यवस्थित तरिकाले निर्माण गरिएका सस्ता घर तथा अपार्टमेन्ट खरिद गर्दा राम्रो हुन्छ, ब्यक्तिगत प्रयोगका हिसावले यो उचित समय नै हो ।
पछिल्लो समय नेपालमा रेमिट्यान्स भित्रिने क्रम बढ्दो छ । घरजग्गा कारोबारमा पनि रेमिट्यान्सले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । बाहिर बस्ने नेपालीहरुले अपार्टमेन्ट तथा कोलोनीका घर खरिद गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
बाहिर बस्ने मानिसहरु व्यवस्थित अपार्टमेन्टमा बस्न अभ्यस्त भइसकेका हुन्छन् । व्यक्तिगत रुपमा बनाइएका घरहरुभन्दा व्यवस्थित रुपमा बनाइएका अपार्टमेन्ट आफुलाई पायक पर्ने ठाउँमा खरिद गर्दा सबैभन्दा उत्तम हुन्छ । लगानीका हिसावले पनि विदेशमा रहेका नेपालीहरुले कतिपय प्रोजेक्टहरुमा लगानी गर्न सक्छन् । मूल्य अभिवृद्धि गरेर बेच्न सकिने ठाउँहरु जहाँ भोलि पूर्वाधार बन्ने अवस्था छ, त्यस्ता ठाउँमा बनेका प्रोजेक्टहरुमा लगानी गर्दा हुन्छ । पहिले नै बनिबनाउ ठाउँमा खरिद गर्दा लगानी फस्ने सम्भावना रहन्छ ।
अपार्टमेन्ट तथा एकल घरहरुमा पर्याप्त सुविधाहरु नभएको, मापदण्ड पुरा नगरेको भन्ने गुनासो पनि ग्राहकबाट आइरहेका छन् नि ?
व्यवसायीले बनाएका कुनै पनि भवन भत्कियो, कमजोर भयो भने ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । यो कुरा सबै व्यवसायीहरुलाई थाहा छ । भवन निर्माण गर्दा पालना गर्ने सम्पूर्ण नियम र परिधिभित्र रहेर भवन निर्माण गरिएको छ । इञ्जिनियरहरुले पनि भवन कमजोर भयो भने त्यसको भागिदार हुनुपर्ने भएकाले कमजोर डिजाइन गर्दैनन् । सरकारले पनि बेला बेलामा अनुगमन गरिरहेको हुन्छ । तर, सरकारले जति अनुगमन गर्नुपर्ने थियो, त्यो भने गर्न सकेको छैन । नेपाली घरजग्गा व्यवसायीहरु गुणस्तरमा धेरै सजग छन् । घरजग्गा व्यवसायलाई राम्रो बनाउन सरकारले घरजग्गा नीति ल्याएर अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ । त्यसो भएमा नेपालमा घरजग्गा व्यवसाय व्यवस्थित हुन्छ । सरकार नयाँ र व्यवस्थित सहर बनाउने अभियानमा रहेको हुँदा घरजग्गा नीति अति आवश्यक रहेको छ । नेपाली व्यवसायीहरु सरकारले बनाउन लागेको व्यवस्थित नयाँ शहर परियोजनामा हातेमालो गर्न सक्ने अवस्थामा रहेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger