भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आन्द्राजाला (कञ्चनपुर), श्रावण १३ - पहिले नदी निकै टाढा जंगलछेउ भएर बग्थ्यो । कलुवापुर-बेलौरी सडक किनारमा ५ कठ्ठा जग्गा पाउँदा यहाँका कमैया परिवार खुसी थिए । मुक्तिपछि उनीहरूलाई घरबासको पिरलो थियो । स्याली नदी किनारमा घरटहरा बनाएर बसोबास गर्न पाउँदा उनीहरू रमाएका थिए । दिन बित्दै जाँदा बर्सेनि नदीले कटान गरी घरजग्गा बगाउन थाल्यो । कटान रोकथाम नहुँदा पुनःस्थापना भएको १० वर्षमै यहाँको आन्द्राजाला शिविरका मुक्त कमैया परिवारको उठिबास हुने अवस्था उत्पन्न भएको छ ।
'परार १७ परिवार घरखेत बगेपछि विस्थापित भए,' शुक्रबार स्याली नदीले कटान गरेको खेतबारी देखाउँदै पूर्वकमैया रामबहादुर रानाले भने, 'अब हाम्रो पालो आयो जस्तो
छ ।' तीन वर्षपछि यसपाला फेरि बस्ती किनारको स्याली नदीमा पटक पटक बाढी आउन थालेपछि शिविरवासी उठिबास हुने चिन्तामा परेका हुन् ।
सरकारले मुक्त घोषणा गरेको दोस्रो वर्ष २०५८ माघदेखि उनीहरू यहाँको शिविरमा बसोबास गर्न थालेका हुन् । शिविरमा कमैया बालबालिकाका लागि बनाइएको २ कोठे मिलन प्रावि भवनसमेत कटान हुन थालेपछि यतिबेला उनीहरू नदी नियन्त्रणका लागि हारगुहार गर्न थालेका छन् ।
कञ्चनपुरमा मात्रै मुक्त भएका ४ हजारभन्दा बढी कमैया परिवारमध्ये देखतभुली ४ मा पर्ने आन्द्राजाला शिविरमा सुरुमा ७७ परिवारलाई ५ कठ्ठाका दरले जग्गा दिएर पुनःस्थापना गरिएको हो । '१७ परिवारको जग्गा त तीन वर्षअघि नै नदीले कटान गरेको हो,' रामबहादुरले भने, 'बाँकी ६० परिवारको जग्गा पनि हरेक वर्ष कटान भइरहेको छ ।' नदीले जग्गा पूरै बगाएर विस्थापित भएका परिवारलाई सरकारले अन्य ठाउँमा सट्टाभर्ना जग्गा नदिएर झनै बिचल्लीमा पारेको उनीहरू बताउँछन् । 'यहाँबाट विस्थापित भएका १७ परिवारलाई बुटाबारीमा प्रतिपरिवार घरबासका लागि १ कठ्ठा जग्गा दिने निर्णय भएको हो,' रामबहादुरले भने, 'त्यही १ कठ्ठा पनि सबैले पाउन सकेका छैनन् ।'
मुक्त कमैया बसोबास गर्ने कृष्णपुर, देखतभुलीलगायत ठाउँका अधिकांश शिविर नदी किनारमा रहेका छन् । 'सुरुमै हामीलाई सुरक्षित ठाउँमा जग्गा दिएको भए यस्तो बिजोग हुने थिएन,' आन्द्राजालाकै अर्का पूर्वकमैया बाबुराम चौधरीले भने, 'खेतीपाती केही नहुने नदीको बगरमा जग्गा दियो त्यही पनि कटान हुन थालेको छ ।' ५ कठ्ठा जग्गाको भरमा वर्षभर खाने गुजारा पनि नचल्ने उनीहरू बताउँछन् । अधिकांश मुक्त कमैया अरूको जग्गा अँधियामा कमाएर गुजारा चलाउँछन् । 'यता काम पनि पाइँदैन,' रामबहादुरले भने, 'रोपाइँ सकिएपछि गाउँ नै सुनसान हुने गरी सबै काम खोज्दै भारत जाने गरेका छन् ।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.