भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण १५ - नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीमध्ये एक वर्षमा मात्रै ५ कम्पनीले आफ्नो सेवा बन्द गरेका छन् । गत वर्षसम्म नेपालमा उडान गर्ने ३२ विमान थिए । यसपालि २७ मा झरेको छ । सेवा बन्द गर्नेमा किङफिसर, गल्फ, जेटलाइट, बीबी एयरवेज र जीएमजी छन् । किङफिसर टाट पल्टेर बन्द भएको हो । गल्फले सेवा नेपालमा मात्रै उडान बन्द गरेको छ । नेपाली निजी विमान कम्पनी बीबी एयरवेजले पनि मलेसिया उडान थालेको केही समयमै बन्द गर्यो । उसको उडान अनुमति नागरिक उड्डयन प्राधिकरणले खारेज गरिसकेको छ । त्यस्तै भारतीय कम्पनी किङफिसर पनि खारेज भएको छ । जेट लाइट र जेट एयरवेजले मर्ज भएपछि कम्पनीको संख्या घट्न पुग्यो । बंगलादेशको जीएमजीले पनि नेपाल उडान बन्द गरेको छ । खाडी मुलुकबाहेकका विमान कम्पनीले सेवा बन्द गरेका हुन् भने ती मुलुकमा विमान कम्पनी थपिएका छन् । सन् २०११/१२ मा मात्र र्याक एयरवेज, मलेसिया एयरलाइन्स र एयर एसियाले नेपाल उडान थालेका थिए । यो आर्थिक वर्ष टर्किस एयरलाइन्सले मात्र उडान स्वीकृति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । रोजगार गन्तव्य मुलुकमा उडान गर्ने भएकाले केही विमान कम्पनी थपिएका हुन् । तर पर्यटकीय गन्तव्यमा सेवा दिने विमान कम्पनी थलिएको ट्राभल एन्ड टुर्स व्यवसायी पवित्र लामिछाने बताउँछन् । 'पर्यटकीयक क्षेत्रको सेवा मौसमी हुने भएकाले ती क्षेत्रमा उडान गर्ने विमान कम्पनी लामो समय टिक्न नसकेका हुन्,' उनले भने । पर्यटन वर्षको होहल्लासँगै उत्साहजनक रूपमा बढेका पर्यटक आगमनको वृद्धिदर घटिरहँदा पनि यसको प्रभाव विमान कम्पनीको उडानमा परेको हो । यसले होटलको अकुपेन्सीमा समेत खराब असर परेको व्यवसायीको दुःखेसो छ । केही विमान कम्पनीले मौसमअनुसार सेवा दिएर आफ्नो अन्तर्राष्ट्रिय उडानलाई कायम राखेका छन् । मौसमी उडान गर्नेमा बुद्ध एयर र आरके फ्लाई हुन् । पर्यटकीय मौसम सुरुवातसँगै तिनले उडान तालिका लिन थालेको प्राधिकरणका राजबहादुर महर्जनले बताए । 'दुवैले पर्यटकीय मौसम सुरु भएपछि उडान थाल्न तालिका लिने क्रममा छन्,' उनले भने । यता सरकारले यो आर्थिक वर्षमा पर्यटकको संख्या १२ लाख पुर्याउने लक्ष्यसहित वाषिर्क विकास योजना सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष ८ लाख ३ हजार पर्यटक नेपाल आएका थिए । त्यस्तै नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्न यो आर्थिक वर्षमा थप विमान कम्पनीलाई उडान अनुमति दिएर ३५ पुर्याउने लक्ष्य लिएको छ । पर्यटकको बसाइ अवधि पनि १२ दशमलव ८७ दिनबाट बढाएर १३ पुर्याउने योजनामा छ । विकास योजनाले पर्यटन क्षेत्रको विभिन्न पक्षमा सुधार गरी कुल गार्हस्थ उत्पादनमा रहेको योगदानलाई समेत २ बाट बढाएर ३ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै वाषिर्क विकास योजनाले पर्यटन क्षेत्रबाट प्रत्यक्ष रोजगारीलाई १ लाख ६० हजारबाट बढाएर १ लाख ७५ हजार पुर्याउने लक्ष्य लिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.