भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने एमाओवादी नेता डा. बाबुराम भट्टराईको अभिव्यक्तिपछि उहाँका कलेजका सहपाठी एवं राप्रपा नेपालका नेता कमल थापासँग उहाँको दोहोरी चलेको छ । सामाजिक सञ्जाल फेसबुक र टि्वटरमार्फत चलेको यो दोहोरीका क्रममा थापाले भट्टराईलाई लामो जवाफ लेख्दै राजासहितको प्रजातन्त्र मान्न आग्रह गर्नुभएको छ । उता भट्टराईको भनाइचाहिँ सपनामा पनि राजतन्त्र मान्न नसकिने भन्ने रहेको छ ।
थापाले बाबुराम भट्टरार्इलार्इ फेसबुकबाट दिनुभएको जवाफ :
“पुर्ण असत्य भन्दा अर्ध सत्य बढी भ्रमपुर्ण र खतरनाक हुन्छ” भन्ने डा. बाबुरामको भनाई प्रति म शतप्रतिसत सहमत छु । तर, दुर्भाग्यवश उंहा स्वयंबाट आज फेसबुक मार्फत सानो अर्ध सत्य प्रवाहित भएको छ । त्यो अर्ध सत्यले पार्न सक्ने भ्रम र नकरात्मक प्रभावको निराकरणका लागि केहि स्पष्ट पार्नु आबश्यक ठानेको छु ।
डा. धवल शमसेर राणाको नेपालगंज स्थित निवासमा उंहासंग भएको मेरो एकान्त वार्ताको क्रममा उंहाले म संग एक पटक होईन बारम्वार राजा संग सहकार्यको आग्रह गर्नु भएको हो । “राजा हामीलाई सत्ता हस्तान्तरण गर्न तयार हुनु हुन्छ कि हुनु हन्न, राजालाई सम्झाई दिनु पर्यो” भनि उंहाले गर्नु भएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ । राजा ideology free institution भएकोले राजालाई तपाईहरुसंग सहकार्य गर्न गाह्रो पर्दैन, २०४६ सालको आन्दोलन पछि कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्रि बनाएर आन्दोलनकारी दलहरुसंग राजाले सहकार्य गरेको तथ्यको समेत मैले उंहालाई जानकारि गराए । तर, राजाले संसदवादी दलहरुलाई अलग गराएर तपाईहरुलाई सत्ता सुम्पन सक्ने अवस्था नभएको हुंदा चुनावमा भाग लिनु होस र जितेर आए पछि तपाईहरुलाई सत्ता सुम्पन राजालाई कुनै अप्ठेरो पर्दैन भनि मैले भन्दा उंहाले मुसुक्क हांसेर “राजा र हामी मिले पछि दलहरुको चिन्ता गर्नु पदैन, ती आफै ठेगान लाग्छन्” भन्नु भएको सत्यलाई स्मरण गर्न म बाबुराम जीलाई आग्रह गर्दछु ।
सत्तामा नपुगि चुनावमा भाग लिंदा विद्रोहीले नराम्रो पराजय भोग्नु परेको बारे अफ्रिकाको कुनै एक देशको नाम लिई उंहाले दिएको उदाहरण पनि म सम्झि रहेको छु । नेपालगंज वार्तामा उंहा र म दुई जना मात्र भएकोले त्यस बेला भएको कुराकानिको साक्षी हाम्रो आत्मा र विवेक मात्र हो । त्यसलाई ईमान्दारिताले मात्र पुष्ठि गर्दछ ।
तर, हापुरे वार्ताको क्रमामा बाबुराम जीले लामो व्याख्या सहित परोक्ष रुपमा राजसंस्थाको अस्तित्व स्विकार्न सकिने बारेमा गर्नुको आग्रहका साक्षी डा. प्रकाश चन्द्र लोहनी, दमननाथ ढुंगाना, पद्यरत्न तुलाधर, कृष्ण बहादुर महरा र कर्णध्वज अधिकारी अझै जीवित हुनु हुन्छ ।
निश्चय नै बाबुराम जीले हाम्रो परिभाषाअनुरुपको संबैधानिक राजसंस्थाको कुरा गर्नु भएको होईन । त्यो वार्ता राजा वा राजसंस्थाका बारे केन्द्रित पनि थिएन । वार्ताको एजेण्डामा राजसंस्था थिएन पनि । माओवादी कै माग अनुसार गोलमेच सम्मेलन, अन्तरिम सरकार र संबिधानसभाको चुनाव नै वार्ताको मुख्य एजेण्डा थियो । प्रसंगवश राजसंस्थाका बारेमा कुरा गर्दा उंहाले श्री ५ पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै राजालाई प्रथम राष्ट्रपति वा आबश्यक पर्छ भने राजा कै पदविमा पनि कायम राख्न सकिने, राजालाई दिईने भत्ताका बारेमा कुनै विवाद नगर्ने र नारायणहिटी मै बस्न सक्ने जस्ता धारणा समेत राख्नु भएको थियो ।
जंहा सम्म धार्मिक सांस्कृतिक अधिकार सहितको सांस्कृतिक राजतन्त्रको कुरा छ त्यो अवधारणा मैले पहिलो पटक संबिधानसभाको चुनाव अगाडि बाबुराम जी कै मुखबाट सुनेको हुं । त्यस भन्दा अगाडि त्यस्तो पदावलीको मलाई जानकारि समेत थिएन । यो अवधारणा प्रस्तुत गर्दा माओवादी अध्यक्ष प्रचण्ड पनि संगै हुनु हुन्थ्यो । यसवारे बाबुराम जीले पछि सार्वजनिकरुपमा समेत चर्चा गुर्नभएको छ ।
राजासंग सहकार्यको कुरा उठदा चिन्तित र आतंकित हुनुको कुनै औचित्य नै छैन । देशका सबै राजनैतिक शक्तिहरु बिचको एकता र सहकार्यबाट मात्र देशमा शान्ति र स्थायित्व कायम हुन सक्दछ । कुनै बेला राजासंग सहकार्यको कुरा गरेको आधारमा माओवादीहरुले अहिले हिनताबोध गर्नु पर्ने जरुरी छैन । प्रचण्ड स्वयंले कम्बोडिया मोडेलको राजसंस्थाको हामीले परिकल्पना गरेका थियौ भनि सार्वजनिक रुपमा नै भन्नु भएको अभिलेख छ ।
राजा बिरेन्द्रसंग अघोषित सहकार्य गरेको, २०६२ माघ सम्म राजा ज्ञानेन्द्रसंग भेटको प्रतिक्षा गरेको तथा नोकर होईन मालिक संगै कुरा गर्छौ भनि माओवादी नेताहरुले व्यक्त गरेका थुप्रा धारणाहरु नेपाली जनताले सुनेकै छन् । अमृतसाईन्स कलेजका मेरा सहपाठी बाबुरामजीसंग अरु पनि रोचक कुराकानी भएका छन् । अब थप विवाद नगरौ भन्ने मेरो आग्रह छ ।
प्राविधिक रुपमै भए पनि अहिले देशमा गणतन्त्र कायम भएको छ । गणतन्त्रले राष्ट्रियता बलियो भयो भने, गणतन्त्रले प्रजातन्त्र बलियो भयो भने, गणतन्त्रले शान्ति र स्थायित्वक कायम गर्न सक्यो भने तथा गणतन्त्रले नेपाली जनताको अनुहारमा हांसो र उज्यालो ल्याउन सक्यो भने बाबुरामजीको जीत हुनेछ । तर, त्यो स्थिति आउन सक्दैन भन्ने मेरो दावि हो । त्यस अवस्थामा राजासहितको प्रजातन्त्र वाहेक देश जोगाउने अर्को विकल्प रहंदैन । यो तितो सत्य स्विकार्न बाबुरामजी पनि तयार हुनुपर्दछ ।
यस्तो थियो डा. बाबुराम भट्टराईको प्रष्टोक्ति :
पूर्ण असत्यभन्दा अर्ध-सत्य बढ़ी भ्रमपूर्ण र ख़तरनाक हुन्छ । कमल थापाले अहिले त्यस्तै एउटा अर्ध-सत्यको सहाराले ठुलै पंक्तिमा भ्रम छरेको प्रतीत हुन्छ । ०५९-६० मा भएको दोस्रो सरकार-माओवादी वार्तामा मेरो नेतृत्वमा वार्ताटोली आएको थियो । पार्टीको बटमलाइन त्यतिबेला संविधानसभा र गणतन्त्र थियो । साथै यदि राजा त्यसमा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिका रुपमा स्वीकार्न पनि सकिन्छ भन्ने थियो । यो कुरा मैले वार्ताटोली काठमाण्डौमा सार्वजनिक हुने बित्तिकै खुलै रुपमा भनेको थिएँ, जुन त्यतिबेलाको अखबार पल्टाएर हेरे पुष्टि हुन्छ ।
मैले त्यतिबेला ज्ञानेन्द्रलाई प्रत्यक्ष भेटेर यो बताउन चाहेको थिएँ । तर उनले भेट्नै मानेनन् भन्ने उनका दूतहरुबाट आयो । त्यसबखत लोकेन्द्र चन्द प्रधानमन्त्री थिए भने वार्ताकारका हर्ता़कर्ता नारायणसिंह पुन र रमेशनाथ पाण्डे थिए । पछि सुन्नमा आयो कुनै अनधिकृत मान्छेले ज्ञानेन्द्रलाई पहिल्यै हामी माओवादी संवैधानिक राजतन्त्र मान्न तयार छौं भनेकाले वार्तामा बोलाइएको रहेछ तर पछि त्यस्तो नपाएपछि उनी रिसाएर मसँग भेट्न नमानेको हामीले अनुमान गर्यौं । जे होस्, काठमाडौंमा भएको दुई चरणको वार्तामा कुनै परिणाम आउने लक्षण नदेखेपछि हामी वार्ता भंगको मनस्थितिमा पुग्यौं ।
त्यसैबीचमा ज्ञानेन्द्रले लोकेन्द्रलाई हटाएर सूर्यबहादुरलाई प्रधानमन्त्री बनाए र सरकारी वार्ता टोलीमा कमल थापा, प्रकाशचन्द्र लोहनीलाई राखे । दाङको हापुरेमा तेस्रो र हाम्रो बुझाइमा अन्तिम चरणको वार्ता हुने भयो । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ताभन्दा पहिल्यै उनी मार्फत ज्ञानेन्द्र समक्ष हाम्रो प्रस्ताव फेरि एकचोटि पठाउनु उपयुक्त ठान्यौं । पहिलो चरणमा नारायणसिंह पुन मार्फत विवेक शाह हुँदै हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुग्यौं कि पुगेन हामीलाई शंकै थियो । त्यसैक्रममा हाम्रै पहलमा नेपालगंजमा धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीतिअनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानुक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे । हाम्रो कुरा मिलेन । उनले हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुर्याए, पुर्याएनन् थाहा भएन । पछि हापुरे वार्ता असफल भयो र हामी फेरि जनयुध्दमा फर्कियौं ।
सत्यतथ्य यत्ति हो । त्यसपछिको १२-बुँदेदेखिको इतिहास सबैलाई थाहै छ । दरबार हत्याकाण्डको दिनदेखि नेपालमा गणतन्त्रको उदय भैसकेको मान्यता राख्ने हामीले ‘बेबी किंग’ वा ‘ सांस्कृतिक राजा’ वा अन्य कुनै विशेषणयुक्त राजतन्त्र मान्ने कुरा सपनामा पनि कसरी सम्भव होला र ?
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.