Widgets

Home » » 'हजयात्री उडाउने टेन्डरमा घोटाला'

'हजयात्री उडाउने टेन्डरमा घोटाला'

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
'हजयात्री उडाउने टेन्डरमा घोटाला'
काठमाडौं - साउदी अरबको मक्कामा हज गर्न जाने नेपाली मुसलमान तीर्थयात्री ओसार्न आह्वान गरिएको टेन्डरमा 'अनियमितता' भएको आरोप सम्बद्ध वायुसेवा कम्पनीले लगाएको छ। गृह मन्त्रालयअन्तर्गतको हज कमिटीले हज गर्न जाने तीर्थयात्री (हाजी) लान–ल्याउन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि आह्वान गरिएको टेन्डर बढी भाउ तोक्ने कतार एयरवेजलाई दिइएपछि प्रतिस्पर्धी एयर अरेबियाले अनियमितता भएको दाबी गरेको हो। हज कमिटीले एक महिनाअघि आह्वान गरेको टेन्डरमा खाडी मुलुक कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेज र युनाइटेड अरब इमिरेट्स (युएई) को सरकारी वायुसेवा कम्पनी एयर अरेबिया प्रतिस्पर्धामा उत्रिएका थिए। हज कमिटीले सस्तो भाडामा तीर्थयात्री लान–ल्याउन प्रस्ताव गर्ने एयर अरेबियाको सट्टा बढी भाडा प्रस्ताव गर्ने कतार एयरवेजलाई टेन्डर दिएको थियो। २२ दिन अवधि दिएर मागिएको टेन्डरमा कतार र एयर अरेबियामात्र प्रतिस्पर्धामा थिए। कमिटीका अनुसार कतारले प्रतियात्रु दुईतर्फी १ हजार ३४ अमेरिकी डलर (९७ हजार ९ सय ७१ रुपैयाँ) प्रस्ताव गरेको थियो भने एयर अरेबियाले ८ सय ४३ डलर (७९ हजार ८ सय ७४ रुपैयाँ) प्रस्ताव गरेको थियो। एयर अरेबियाको भन्दा कतारको बढी भाडा देखिएपछि हज कमिटीका पदाधिकारी र अन्य केही व्यक्तिको 'मिलेमतो' मा ८ सय ८३ डलर (८३ हजार ६ सय ६४ रुपैयाँ) मा कतारलाई यात्रु लान सहमत गराई उसैलाई टेन्डर पारिएको स्रोतले बतायो। दोस्रोपटक तय गरिएको यो दर पनि एयर अरेबियाभन्दा ४० डलर (३ हजार ७ सय ९० रुपैयाँ) बढी छ। दुवै कम्पनीको भाडा प्रस्ताव खोलेपछि हज कमिटीले नेपालस्थित कतारका राजदूत तथा कतार एयरवेजका अधिकारीसँग छलफल गरी भाउ केही कम गराउन सहमत गराएको स्रोतले जानकारी दियो। 'टेन्डर खोलेपछि फेरि वित्तीय प्रस्ताव चलाउन नपाइने सामान्य नियम पनि यहाँ लागू गरिएको छैन,' स्रोतले भन्यो, 'भाडादर घटाउने यो चलखेलमा नै आर्थिक अनियमितता भएको छ।' टेन्डरमा विवाद देखिए पनि कमिटीले कूल रकमको २५ प्रतिशत (२ करोड १९ लाख ६१ हजार ८ सय ६५ रुपैयाँ ) कतारलाई हतार–हतारमै भुक्तानी गरिसकेकाले पनि अनियमितताको संकेत गरेको छ। एयर अरेबियाको नेपालस्थित राष्ट्रिय बिक्री प्रबन्धक संगीता रौनियारले सस्तोमा यात्रु लाने वायुसेवाले पाउनुपर्ने ठेक्का बढी भाउ तोक्नेलाई दिएर हज कमिटीले टेन्डरको सामान्य नियम पनि पालना नगरेको बताइन्। 'कतारलाई नै छनोट गर्नु थियो भने टेन्डर आह्वान किन गरियो, हज कमिटीले जवाफ दिनुपर्छ,' उनले सोमबार नागरिकसँग भनिन्। यसविरुद्ध एयर अरेबियाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत हालेको उनले बतान्। हज कमिटीले यो वर्ष मुलुकका विभिन्न ठाउँमा रहेका १ हजार ५० जना हाजीलाई मक्का लाँदैछ। कमिटीले कतार एयरवेजलाई ९ लाख २७ हजार १ सय ५० डलर (८ करोड ७८ लाख ४७ हजार ४ सय ६२ रुपैयाँ) भुक्तानी गर्नुपर्नेछ। 'कतार एयरवेजको सेवा राम्रो भएका कारण यस वर्ष उसैलाई ठेक्का दिएका हौं,' हज कमिटीका अध्यक्ष अकबर अलि मिकरानीले नागरिकसँग भने, 'एयर अरेबियाको सेवा राम्रो नभएकाले कतारलाई दिएका हौं। सस्तो भाडा प्रस्ताव गर्दैमा टेन्डर जित्ने होइन, टेन्डर स्वीकार गर्ने/नगर्ने कमिटीको अधिकार हो।' धेरै पैसा तिरेपछि उत्कृष्ट सेवा पाइने भएकाले कतार छानेको उनको तर्क छ। यसअघि लगातार तीन वर्ष एयर अरेबियाले नै हाजी लगेको भए पनि सेवा सुधार नगरेको आरोप उनले लगाए। 'बारम्बारभन्दा पनि एयर अरेबियाले हाजीलाई दिने सेवामा कुनै सुधार गरेन,' उनले भने, 'त्यही भएर बढी भाडा प्रस्ताव गरेको भए पनि कतारलाई दिएका हौं।' एयर अरेबियाकी रौनियारले टेन्डर प्रस्तावबारे कतारलाई मात्र बोलाएर जानकारी दिएपछि उसले भाडामा थप कटौती गरेको बताइन्। कतारले १ हजार ३४ डलरबाट १ सय ५१ डलर कम गरे पनि एयर अरेबियाभन्दा ४० डलर बढी भएको उनले जानकारी दिइन्। 'कतारको चलखेल थाहा पाएपछि हामीले हज कमिटीमा गएर ६ सय डलर (५६ हजार ८ सय ५० रुपैयाँ) मा हाजी लाने प्रस्ताव गरेका थियौं,' उनले भनिन्, 'तर, हाम्रो प्रस्तावलाई कमिटीले वास्तै गरेन।' उता, हज कमिटीका अध्यक्ष मिकरानीले भने कतारको भाडादर हालसम्मकै सस्तो भएको दाबी गरे। उनका अनुसार एयर अरेबियाले हाजीलाई गत वर्ष युएईको सारजहाँमा १८ घन्टा ट्रान्जिटमा राखेको, खाना, पानी राम्रो नदिएको र समयमा सामान पनि दिएको थिएन। 'अब कतारको पाँचतारे स्तरको सुविधामा हामी मक्का जान्छौं,' उनले भने। एयर अरेबियाले भने मिकरानीको आरोप ठाडै अस्वीकार गरेको छ। 'गत वर्ष प्राविधिक कारण १८ घन्टा नभई ६ घन्टा कुर्नुपरेको थियो, तर त्यसको क्षतिपूर्ति हामीले सबै हाजीलाई दियौं,' रौनियारले भनिन्, 'त्यसबेला खाना–पानी राम्रै दिएकाले उनीहरूले गुनासो गरेनन्, अनि अहिले आएर आरोप लगाउनुको अर्थ छैन। हामीलाई यत्तिमात्र थाहा छ, सस्तो भाडादर प्रस्ताव गरेका कारण टेन्डर हामीले नै पाउनुपर्छ।' हज कमिटीले एयर अरेबियालाई कहिल्यै हाजी बोक्न नपाउने गरी कालोसूचीमा राखे पनि आपत्ति नहुने भन्दै उनले धरौटीसहित टेन्डर प्रस्ताव गर्न लगाएकोमा आपत्ति जनाइन्। गृह मन्त्रालयका सहसचिव चुडामणि शर्माले टेन्डर आह्वान गरिसकेेपछि प्रचलित कानुनबमोजिम यसको 'अनर' हुनुपर्ने बताए। 'प्रतिस्पर्धी कम्पनीलाई समान अवसर नदिइनु र टेन्डर अनर नर्गनु हुँदैनथ्यो,' शर्माले नागरिकसँग भने, 'हज कमिटीले 'सबै हाजीले बरु बढी पैसा तिर्नुपर्ने भए पनि कतारमै जाने' भनेपछि कतारलाई छनोट गरेको जानकारी दिएको छ। पारदर्शिता र अन्य प्रक्रियामा कमिटीले नै निर्णय गर्छ।' उता, टेन्डर जितेको कतार एयरवेज स्रोतले भने आफ्नो सेवा पाँचतारे स्तरको भएका कारण हज कमिटीले छनोट गरेको दाबी गरेको छ। 'हाम्रो सेवाको स्तर एयर अरेबियाभन्दा धेरै उत्कृष्ट छ,' स्रोतले भन्यो, 'हज कमिटीले पहिलेको प्रस्तावमा केही कम गर्न आग्रह गरेपछि हामीले १ सय ५१ डलर घटाएका हौं।' जहाज र कम्पनीको सेवा सबैको स्तरीय हुने भएकाले हज कमिटीले टेन्डर प्रक्रियामा लिनुपर्ने प्राविधिक पक्षको टेन्डर आह्वान नै गरेको थिएन। हज कमिटीका अनुसार यो वर्ष १ हजार २ सय हाजीलाई मक्का लान–ल्याउन कोटा छुट्ट्याइएको छ। यसमा हालसम्म १ हजार ५० जनाले टिकट बुकिङ गरेका छन्। साउदी सरकारले भने नेपालबाट यो वर्ष ८ सय हाजीलाई मात्र ल्याउन आग्रह गरेको छ। नेपाली हाजीहरू आगामी असोज ९ गते मक्कातर्फ उड्नेछन्। त्यसको ४० दिनपछि नेपाल फर्कने कार्यक्रम छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger