Widgets

Home » » गाउँगाउँमा गुगल-नेट

गाउँगाउँमा गुगल-नेट

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

google net

म्यागासेसे विजेता महावीर पुनले म्याग्दीको नागीमा वायरलेस इन्टरनेट नपुर्‍याएको भए त्यहाँका बासिन्दा विश्वसँग यति छिट्टै कसरी जोडिन्थे ? एकछिन कल्पना गरौं । इन्टरनेटविहीन दुनियाँको । कस्तो हुन्थ्यो होला त्यो संसार ? धेरै पर जानै पर्दैन । पूर्वराजा ज्ञानेन्द्रको निरंकुशताका बेला सञ्चारहीन अवस्थामा तड्पिएको दिन अस्तिजस्तो लाग्छ । एकछिन सहरको कुरा गरौं । नेपाल दूरसञ्चार प्राधिकरणले यसै साता सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्यामा २५ दशमलव २३ प्रतिशत पुगेको छ । तीमध्ये ६२ लाखभन्दा बढी प्रयोगकर्ता मोबाइलबाट जीपीआरएस, थ्रीजी र डब्लूसीडीएमए चलाउने छन् । मोबाइल सेवा प्रदायक दुई ठूला कम्पनी एनसेल र नेपाल टेलिकमको प्रतिस्पर्धाका कारण इन्टरनेट प्रयोगकर्ताको संख्या निकै बढेको छ । मोबाइल कम्पनीको बाक्लिँदो उपस्थितिले डाटा सेवामा पनि सहयोग पुगेको छ । सहरका हरेकले मोबाइलमा इन्टरनेट चलाउँदा पनि एक चौथाइ जनसंख्याको पहुँचमा मात्रै इन्टरनेट पुगेको छ । हरेकको जीवनको अभिन्न अंग बन्दै गएको छ, इन्टरनेट । सञ्चारका क्षेत्रमा त यसले आमूल परिवर्तन नै ल्याएको छ । एसएलसीका विद्यार्थीले रिजल्ट अनलाइनमा हेरे । बैंकका ग्राहकले अनलाइनबाटै रकम लेनदेन, बिल तिर्ने, किनमेल गर्ने गर्छन् । सिनेमा, एयरलाइन्सको टिकट इन्टरनेटबाटै किन्न सकिन्छ । यति धेरै सुविधा दिने इन्टरनेटको पहुँचमा बाँकी तीन चौथाइ बासिन्दा कहिले पुग्लान् ? हिमाल, पहाड र तराईमा विभाजित मुलुकमा इन्टरनेटको पूर्वाधार विस्तार त्यति सजिलो कहाँ छ र ? यसको उपाय निकालेको छ चर्चित इन्टरनेट सर्च इन्जिन गुगलको सञ्चालक कम्पनी गुगल इन्कले । बेलुनमा इन्टरनेट उपकरण जडान गरेर आकाशमा छाडेको गुगलले सुरु गरेको पाइलट प्रोजेक्ट सफल भयो भने ओलाङचुङगोलादेखि केचनाकलनसम्मका नेपालीले सजिलै इन्टरनेट चलाउन पाउने छन् । गुगलले जमिन/अन्तरिक्षमा पूर्वाधार निर्माणमा हुने अनावश्यक खर्च कम गर्न गजबको आइडिया निकालेको छ, मिसन लुन नाममा । न्युजिल्यान्डको साउथ आइल्यान्डस्थित क्राइस्टचर्चमा उसले सुरु गरेको लुन परियोजनामा इन्टरनेट चलाउने उपकरण सबै बेलुनमा जडान गरेर छाडिएको छ । सोलर एनर्जी जडान गरिएको बेलुन करिब २० किलोमिटर उचाइसम्म हावाको दिशामा उड्न सक्छ । गुगलले सुरुमा यस्ता ३० बेलुन छाडेको छ । यसले ठूलो क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराउने गुगलको दाबी छ । कम्पनीका अनुसार एउटा बेलुनले ४० किलोमिटर क्षेत्रभित्र थ्रीजीको स्पिडमा इन्टरनेट उपलब्ध गराउँछ । त्यसले ४८ लाख जनालाई वितरण गर्न पुग्ने हुन्छ, काठमाडौं उपत्यकाको जनसंख्याभन्दा बढीलाई । क्राइस्टचर्चमा सन् २०११ मा आएको महाविनाशकारी भूकम्पले सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद गरेको थियो । यही ठाउँलाई गुगलले पाइलट प्रोजेक्टको परीक्षण गर्न चुनेको छ । यस प्रविधिमा बेलुनको तल्लो भागमा केही विद्युतीय सामग्री झुन्ड्याइन्छ । यसमा रेडियो एन्टिना, एउटा फ्लाइट कम्प्युटर, एउटा हाइट कन्ट्रोलर सिस्टम र सोलर प्यानल हुन्छ । यसले पश्चिमबाट पूर्वतिरको दिशामा उड्दै आफ्नो वरिपरि इन्टरनेट सेवा उपलब्ध गराउँछ । यसलाई पृथ्वीमा रहेको बेस स्टेसनसँग जोडिन्छ । त्यसपछि यसले फ्याँक्ने इन्टरनेट सिग्नल घरको एन्टिनामार्फत डिभाइसमा कनेक्सन हुन्छ । बेलुनमा जोडिएको जीपीएस सिस्टमले यसको सही स्थिति बताउनेछ । लुन प्रोजेक्टमा काम गरिरहेका गुगल (एक्स) का मुख्य प्रविधि आर्किटेक्ट रिचर्ड डेवाल लुनको विकाससँग नयाँ सिद्धान्त जोडिएको बताउँछन् । 'सबैसँग समान रूपमा प्राप्त हुने चीजले सबैलाई जोड्न सजिलो हुन्छ,' उनको भनाइ छ । गुगलको नयाँ प्रोजेक्ट लुनलाई गुगलको अनौठो चस्मा र ड्राइभरलेस प्रोजेक्ट सञ्चालन गर्ने टिमले विकास गरिरहेको छ । टिमको नयाँ आइडियाले सहरमा फाइबर वायर र ग्रामीण क्षेत्रमा टावर निर्माणमा लाग्ने खर्च निकै घटाउने विश्वास गरिएको छ । सामान्य अवस्थामा इन्टरनेट प्रोभाइड गर्ने काम छँदैछ, यस्ता बेलुनलाई भर्खरै दार्चुला सदरमुकाममा बाढीले सबै संरचना सखाप पारेका बेला अस्थायी रूपमा पुनः सेवा सुचारु गर्न काममा ल्याउन सकिन्छ । यसले जंगल, पहाड, गुफाहरूमा समेत सेवा उपलब्ध गराउँछ । गुगलले आगामी वर्ष यसलाई अस्ट्रेलिया, उरुग्वे, चिली र अर्जेन्टिनामा पनि प्रयोग गर्ने भएको छ । गुगलले केही वर्षभित्र यस्ता ३ सय बेलुन छाड्ने योजना बनाएको छ । तिनीहरू पृथ्वीको चारैतर्फ उड्ने छन् । तिनीहरूले दुर्गम स्थानलाई समेत इन्टरनेटसँग जोड्ने छन् । गुगलले यस प्रोजेक्टको माध्यमबाट संसारका दुई तिहाइ जनसंख्यालाई इन्टरनेटमा जोड्न सकिने दाबी गरेको छ । विज्ञहरूले भने विश्वभर हावाको रुझानअनुसार धेरै उचाइमा हजारौंको संख्यामा उडाइने यस्ता बेलुनलाई नियन्त्रण गर्न गाह्रो हुने बताएका छन् । स्वतन्त्र रूपमा उड्ने बेलुनलाई सही ठाउँमा ल्याउन साँच्चै समस्या पर्न सक्छ । इन्टरनेट सेवा प्रदायक सुविसु केवल नेटवर्कका सञ्चालक सुधीर पराजुली गुगलको परीक्षण सफल भए नेपालको दुर्गमका बासिन्दाले भरमग्दुर फाइदा लिन सक्ने बताउँछन् । 'गुगलको प्रविधि नेपालमा आइपुग्न केही वर्ष लाग्ला,' उनले भने, 'त्यतिखेर हामी सेवा प्रदायकलाई समेत सस्तोमा इन्टरनेट उपलब्ध हुन सक्छ ।' कामना गरौं, गुगलको प्रोजेक्ट लुन सफल होस् । सबैभन्दा ठूलो सर्च इन्जिन, भिडियो सेयर गर्ने यु-ट्युब, म्याप, अर्थ, मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइड, ड्राइभ, ब्लगर, ग्लासलगायतको विकास/उत्पादन गरेको गुगलले नयाँ प्रविधि सुरु गरेर संसारलाई अर्को सेवा उपलब्ध गराउन खोज्दैछ । हाम्रासामु भने यसको प्रतीक्षा गर्नुको विकल्प छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger