भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, असार १६ - २०६४ को संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित सभासदमध्ये को कुन पार्टीमा छन् र के गर्दैछन् भनेर सोध्ने हो भने अध्यक्ष उपेन्द्र यादव सायद धेरैबारे रनभुल्लमा पर्छन् । फोरमबाट सभासद बनेका ५३ जनामध्ये धेरै जनासँग त यादवको देखभेट हुन छाडेको समेत धेरै समय भइसकेको छ । ५३ मध्ये एक जना -चन्दि्रकाप्रसाद यादव) बाहेक सबै जीवित छन् तर तीमध्येका धेरै अनुहार यतिबेला यादवसँग -फोरम नेपाल) छैनन् । चन्दि्रकाको गत ८ मंसिरमा निधन भएको थियो । एउटै फोरममा अटाएका नेताहरू तितरबितर छन् । जसले जति बढी आश्वासन दिन्छ, उतैतिर हाम्फाल्ने रोगले मधेसी नेता ग्रसित छन् । फोरम सभासदमध्येकै विजय गच्छदारले (फोरम लोकतान्त्रिक), शरतसिंह भण्डारीले -राष्ट्रिय मधेस समाजवादी पार्टी), राजकिशोर यादवले (फोरम गणतान्त्रिक) खोलेका छन् भने यादवसँग अलग भएर फोरम (गणतान्त्रिक) खोलेका जयप्रकाशप्रसाद गुप्ता 'राष्ट्रिय तराई मधेस अभियान' मा व्यस्त छन् । त्यतिबेलाका धेरै पूर्वसभासद पनि पद/लाभ पाइने आशामा उनीहरूसँगै बाँडिएका छन् । फोरमका नेताहरूबीच माधव नेपाल नेतृत्वको सरकारमा सहभागी हुने/नहुने विषयमा विवाद भएपछि २०६६ जेठमा २८ सभासदलाई लिएर गच्छदारले पहिलो पटक पार्टी फुटाएर फोरम लोकतान्त्रिक गठन गरे र नेपाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्रीसहित सहभागी भए । त्यतिबेला उनीसँग गएका धेरै सभासदले मन्त्री/राज्यमन्त्री बन्ने अवसर पाएका थिए । यस्तै, झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने विषयमा यादव र गुप्ताबीच विवाद भएपछि गुप्ताले २०६७ मा १३ सभासद लिएर आफ्नै अध्यक्षतामा फोरम गणतान्त्रिक गठन गरेका थिए । गुप्ताको पार्टीसहितको मधेसी मोर्चा र एमाओवादीबीच सहमति भएपछि मोर्चाकै सहयोगमा २०६७ भदौमा बाबुराम भट्टराई प्रधानमन्त्री बनेका थिए । त्यतिबेला यादव एक्लिएका थिए । मन्त्री रहेकै बेला सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि गुप्ता जेल चलान भए । त्यही मौकामा फोरम गणतान्त्रिकको सहअध्यक्ष रहेका राजकिशोर यादव पार्टी अध्यक्षका साथै सञ्चारमन्त्री बनेका थिए । फोरम लोकतान्त्रिकले पार्टीबाट हटाएपछि गत वर्षको असार १३ मा शरतसिंह भण्डारीले लोकतान्त्रिकमा असन्तुष्ट सभासदलाई साथ लिएर आफ्नै नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) गठन गरेका थिए । विवादास्पद अभिव्यक्ति दिएको भन्दै सरकारले बर्खास्त गरेपछि गच्छदारले उनलाई कारबाही गर्दै पार्टीबाट हटाएका थिए । संविधानसभा चुनावपछि हैसियत बनाएका गच्छदार, राजकिशोर र गुप्तालगायतले मात्रै होइन, फोरम स्थापनापछि मधेस आन्दोलनमा सहयोग गरेकाहरू पनि यादवबाट अलग्गिएर अलग-अलग मोर्चा र पार्टी बनाएर अघि बढिरहेका छन् । मधेस आन्दोलनमा यादवलाई सघाएका किशोरकुमार विश्वास २०६४ भदौमै अलग भई आफ्नै नेतृत्वमा 'आदिवासी जनजाति मधेसी मुस्लिम दलित गणतान्त्रिक मोर्चा' बनाएर अघि बढिरहेका छन् । उनको मोर्चा मोहन वैद्य अध्यक्ष रहेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा छ । यादवका अर्का सहयोगी उपेन्द्र झा पनि गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक हुँदै स्वतन्त्र बन्न पुगेका छन् । उनले 'आगामी चुनावमा मधेसी दल नमिल्ने हो भने मधेसी दल सबैभन्दा पुछारमा पुग्ने' दाबी गर्दै एकताका लागि आह्वान गरेका छन् । यादवकै सहयात्री प्रा. भाग्यनाथ गुप्ताले अलग भएर 'मधेसी जनअधिकार फोरम मधेस' र अर्का सहयात्री इन्जिनियर अमर यादवले 'मधेस तराई फोरम' खोलेका छन् । विगतमा फोरममा सक्रिय एवं आन्दोलनका हस्ती रामकुमार शर्मा तमलोपा हुँदै एमाओवादीमा गएका छन् । तमलोपाबाट उम्मेदवार भई महोत्तरी-४ बाट चुनाव जितेका शर्मा पछि एमाओवादी प्रवेश गरेका थिए । एमाओवादीमा उनी केन्द्रीय सदस्य छन् । फोरममा युवा विभाग सम्हालेका जितेन्द्र सोनार पनि तमलोपाबाट उम्मेदवार भई बारा-४ बाट चुनाव जितेका थिए । उनी महन्थ ठाकुर नेतृत्वको तमलोपामा सहमहामन्त्री छन् । त्यतिबेला फोरममा रहेका नेताहरू अहिले 'पद र पैसाको लोभमा' छिन-छिनमा दल बदलिरहेका छन् । फोरम नेपालको उम्मेदवार भई पर्सा-१ बाट चुनाव जितेकी करिमा बेगम गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा गई कृषि राज्यमन्त्रीसमेत भएपछि फेरि मूल पार्टीमै फर्किएकी छन् । अब हुने चुनावमा फोरम नेपालबाटै चुनाव लड्ने उनले केही दिनअघि कान्तिपुरलाई बताएकी थिइन् । अघिल्लो संविधानसभा चुनावमा फोरम नेपालबाट उम्मेदवार भई सर्लाही-६ बाट चुनाव जितेका शिवपूजन राय यादव तमलोपा नेपाल र फोरमबाटै रूपन्देही-२ बाट चुनाव जितेर कृषि राज्यमन्त्रीसमेत भएका ओमप्रकाश यादव (गुल्जारी) राजेन्द्र महतो नेतृत्वको सद्भावना गएका छन् । फोरमबाट समानुपातिक सभासद भई कृषि मन्त्रीसमेत बनेका नन्दनकुमार दत्त एमाओवादी र पछिल्लो समय फोरम लोकतान्त्रिकमा रहेका तिलक रावल कांग्रेस फर्केका छन् । चार वर्ष उपेन्द्र यादवको स्वकीय सचिव रहेका योगेन्द्रराय यादवसमेत् फोरम छाडेर महतो नेतृत्वको सद्भावना गएका छन् । त्यहाँ उनी युवा विभाग प्रमुखसहित केन्द्रीय सदस्य छन् । अघिल्लो चुनावमा निर्वाचित भएका र आफूले बनाएका सभासदले समेत आफूलाई छाडेर अरू पार्टीमा गएपछि मूल फोरमका अध्यक्ष यादव अहिले नेता बटुल्न दौडाहामा छन् । यसबीचमा उनले अरू पार्टीमा असन्तुष्ट रहेका, स्वतन्त्र र वरिष्ठ नेतालाई आफ्नोमा भित्र्याएर आकार दिने कसरत गरिरहेका छन् । पार्टी कमजोर बन्दै गएपछि संविधानसभा विघटनपछिका एक वर्षमा यादवको धेरै समय तराई/मधेसमै बितेको छ । करिब एक महिनादेखि उनी त्यतै व्यस्त छन् । 'पार्टीकै कार्यक्रममा व्यस्त छु, अझै केही समय मधेसमा बिताउँछु,' उनले भने । जानकारहरूका बुझाइमा तराई/मधेसमा यादवकै पकड छ । यादवकै हाराहारीमा छन् गच्छदार पनि । उपेन्द्रले यादव, मुसलमान र मधेसका पिछडिएका समुदायको भोट हात पार्न कसरत गरिरहेका छन् भने गच्छदार थारू/चौधरीको भोट हात पार्ने दाउमा छन् । यसबीचमा उपेन्द्रले गत संविधानसभा चुनावमा रौतहट-१ बाट स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका बबन सिंह, महतो नेतृत्वको सद्भावना पार्टीबाट सर्लाही-३ मा जितेका महेशप्रसाद यादव र २०६२/६३ को जनआन्दोलनमा सद्भावना पार्टीबाट सक्रिय भूमिका खेलेका नेता भरतविमल यादव तथा पूर्वराज्यमन्त्री रामचन्द्र रायलगायतलाई पार्टीमा भित्र्याएका छन् । संविधानसभा विघटनसँगै मधेसी पार्टीमा एकअर्काका नेता भित्र्याउने प्रतिस्पर्धा नै चलिरहेको छ । गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले समेत तमलोपा नेपाल छाडेका गोविन्द चौधरीलगायतलाई पार्टी प्रवेश गराएको छ भने राजेन्द्र महतो नेतृत्वले पनि पार्टी बलियो बनाउन तराईदेखि हिमालसम्मै दौडधुप गरिरहेको छ । कतिपय मधेसवादी दलले तराई/मधेसका अलावा पहाड र हिमाली जिल्लामा समेत उम्मेदवारी दिएर आफू बलियो हुँदै गएको सन्देश दिन चाहेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.