भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
'म कसरी बयान गरूँ ? विगत ६ महिनादेखि मैले लामा रातहरू आँखा झिमिक्क नगरी बिताएँ ... तर अहिले पूरै बदलिएको छ ।' ओभरिएन क्यान्सरको समस्याबाट मुक्त भएपछि अभिनेत्री मनीषा कोइरालाले टि्वटरमा यस्तो लेखिन् । कुनै बेला बलिउडकी एक नम्बरकी नायिकामा गनिन सफल भएकी नेपाली चेली भएर पनि ट्रेडमार्क थियो— मुस्कान । तर त्यही मुस्कानमा ६ महिनादेखि ग्रहण लागेपछि उनका फ्यानसमेत दुःखित बने । गत वर्ष वैवाहिक सम्बन्ध बिग्रेर विचलित बनेकी ४२ वषर्ीया अभिनेत्रीलाई ओभरिएन क्यान्सरले झनै कमजोर पार्यो । तर उनको आत्मबल डगमगाएन र क्यान्सर अन्ततः पराजित भयो । मनीषा पूर्ण उपचारपछि बुधबार मुम्बई फर्किएकी छन् । अन्धेरीस्थित घर फर्केसँगै उनको अनुहारमा पुरानै हाँसो फर्किएको छ । यद्यपि त्यसले विगतकै रूप लिन केही समय लाग्नेछ । अपरेसन सफल भएपछि नै मनीषाले यसलाई आफ्नो पुनर्जन्म भनी टिप्पणी गरिसकेकी थिइन् । नेपालमै छँदा तल्लो पेटमा समस्या भएर अस्पताल पुगेकी उनलाई क्यान्सरले भारत हुँदै अमेरिकासम्म कुदाएको थियो । उपचार क्रममा रहँदा मनीषाको मन बहलाउने माध्यम बनेका थिए, टि्वटर र फेसबुक । आफूलाई बाटोमा सपिङ गर्न, ताजा मकै खान अनि ज्वेलरी खरिदमा बार्गेनिङ गर्न ज्यादा आनन्द आउने लेख्ने गरेकी थिइन् । यति बेला उनी औषधि सेवनका कारण बदलिएको रूपरंगका तस्बिरहरू 'मेरो नयाँ अवतार' भन्दै पोस्ट गरिरहेकी छन् । उनका म्यानेजर सुब्रतो घोषले मनीषा पहिलेजस्तै स्वस्थ र सुन्दर देखिएको बताएका छन् । केहीअघि मात्रै हलिउड नायिका एन्जेलिना जोलीले पनि क्यान्सरको खतरा देखिएपछि दुवै स्तन काटेर फालेकी थिइन् । गुपचुपमै उपचार गरे पनि रहस्योद्घाटन भने उनले आफ्नै लेखमार्फत गराएपछि विश्व नै चकित खाएको थियो । तर मनीषाले कुनै कुरा लुकाएकी थिइनन् । उनले हर क्षणका आफ्ना पीडा, दुःख-सुखका अनुभवलाई आफ्ना फ्यान, शुभचिन्तकलाई फेसबुक र टि्वटरबाट दिइरहन्थिन्, जसले गर्दा उनले उपचार क्रममा बढी माया, शुभेच्छा र सहानुभूति पनि बटुलिन् । नेपालीमा 'फेरि भेटौंला' र 'धर्मा' फिल्म खेलिसकेकी मनीषाले 'सौदागर' बाट बलिउड करिअर थालेकी थिइन् । चारपटक फिल्मफेयर अवार्ड जितिसकेकी उनले क्यान्सर देखिनुअघि एउटा मलयालम फिल्म 'एडाभापती ः नो म्यान्स ल्यान्ड' खेलेकी थिइन् । क्यान्सरको उपचारमा लाग्नुअघि 'भूत रिटर्नस्' मा देखिएकी उनले अभिनयमा कहिले रिटर्न हुने वा नहुनेबारे केही खुलाएकी छैनन् । उनको मुस्कानले विस्तारै पुरानो आकार लिँदै जाला ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.