भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ जेठ, काठमाण्डौं । वैदेशिक रोजगार विभागका कर्मचारी, म्यानपावर व्यवसायी र एजेन्टको मिलेमतोमा हुँदै नभएको डिमान्ड (माग) र नक्कली भिसा बनाई खाडी मुलुकमा महिला कामदार पठाउने गरेको तथ्य खुलेको छ । केही महिला कामदार संयुक्त अरब इमिरेट्स (यूएर्ई) स्थित नेपाली दूतावासको शरणमा पुगेपछि सो तथ्य खुलेको हो । दूतावासका अनुसार महिला कामदारको बयानका आधारमा दलालहरूले एउटा देशका लागि भन्दै अर्कै मुलुकमा लगेर नेपाली महिला कामदारको अवैध ओसारपसार गर्ने गरेको तथ्य पाइएको हो । नेपाली दूतावास नभएका मुलुकहरूको माग बनाएर महिला कामदारलाई खाडी मुलुक छिराउन सजिलो हुने भएकाले अवैध रकम असुली महिलालाई साउदी अरब, यूएई, कतार, मलेसियालगायतका मुलुकमा लैजाने गरेको पाइएको दूतावासको भनाइ छ । लेबनानको नक्कली भिसा बनाएर मकवानपुरकी सीता राई र अनिता लामालाई दुबईमा लगेर घरेलु कामदारका रूपमा लगाएपछि उनीहरू नेपाली दूतावासको शरणमा गएका थिए । उनीहरूकै माध्यमबाट अवैध धन्दा बाहिर आएको हो । सीताको पासपोर्ट नम्बर ४०२४०८३ र अनिताको ४४०८३५३ को पासपोर्टमा लेबनानको भिसा लगाइएको छ । सी हर्स ट्राभल्स एन्ड टुर्सका सञ्चालक बताउने टंकराज बस्नेतले जनही ३५ हजार रुपैयाँ लिएर वैदेशिक रोजगार विभागका कर्मचारीसँगको मिलेमतोमा नक्कली कागजात प्रयोग गरेर श्रम स्वीकृति बनाई दुबई पठाएको पाइएको राजधानी दैनिकमा खबर छ । सीताले भनिन्, ‘दुबई जान कडाइ गरेको छ, नक्कली कागजात बनाएर श्रमलाई पैसा खुवाएर दुबई जान तयार गर्नुपर्छ, उसले ५० हजार रुपैयाँ दिनुपर्छ भनेको थियो तर ३५ हजार रुपैयाँमा मिलाएको हो ।’ दुवैजनाको नेपाल लाइफ इन्सुरेन्स कम्पनीमा लेबनानकै लागि उल्लेख गर्दै बिमा लेखा नम्बर १११३०३६६८ र १११३०३६६७ मा बिमासमेत गरिएको छ । सीताका अनुसार श्रम स्वीकृतिका कागजात र अन्य नक्कली डकुमेन्टहरू उडान भरेपछि च्यात्नु भनेर दिइएको थियो । यूएर्ईको सार्जा विमानस्थलमा ओर्लिएका उनीहरूलाई त्यहींबाटै दलालमार्फत स्थानीयको घरमा घरेलु कामदारको रूपमा काम गर्न लगिएको थियो । तीन महिनाअघि यहाँ आइपुगेका दुईजनालाई नै पछिल्लो महिनाको पारिश्रमिक नदिएपछि उनीहरू दूतावासको शरण लिन पुगेका हुन् । दुवैजनाको पासपोर्ट दलालले कब्जामा राखेका छन् भने उनीहरू आफूहरूले लगाएको एकसरो लुगामा मात्र दूतावासमा उद्धारको आसमा पुगेका छन् । ‘दूतावासको लेटर प्याड र स्टाम्पहरू नक्कली प्रयोग गरेर अवैध काम गरी महिलालाई दुबई ल्याइएको भेटिएको छ,’ यूएईस्थित नेपाली राजदूत धनन्जय झाले भने, ‘अवैध र गैरकानुनी कामको पनि अब त हद भयो । दूतावासको लेटर प्याड, स्टाम्पसमेत नक्कली बनाएका हुन सक्छन्, श्रमको समेत सबै डकुमेन्ट संलग्न छ । हामी नै छक्क परेका छौं ।’ दूतावासले यसअघि नै १ हजार २ सय ४८ जनाले मात्र घरेलु कामदारको रूपमा आएका नेपाली महिलाले श्रम स्वीकृति लिएको र अन्य ९५ प्रतिशत महिलाको घरेलु कामदारको भिसा हुँदाहुँदै अर्कै श्रम स्वीकृति गरेको यूएईस्थित दूतावासले जनाइसकेको थियो । यसैबीच, नेपालमा बनाएको नक्कली भिसा र डिमान्ड कपी सार्जा एयरपोर्टमा देखाएपछि नक्कली भएको भन्दै एयरपोर्टमै रोकिएकी महोत्तरीकी मनी गुरुडलाई स्थानीयले आफूको सर्भेन्ट भएको डकुमेन्ट देखाएपछि मात्र छुटेको दूतावासले जनाएको छ । न्यू वल्र्ड ओभरसिज सर्भिस मेनपावरद्वारा दुबई पठाइएकी उनीसँगै दर्जनौं महिलाको नक्कली कागजात बनाएर र नक्कली श्रम गरेर विभिन्न मुलुक पठाउने गरेको दाबी दूतावासले गरेको छ । यसैगरी, झापाकी भोला घिमिरेलाई समेत सोही मेनपावरले दुबईको केल्भन केटरिड कम्पनीको नाममा श्रम स्वीकृति बनाई सोही कम्पनीमा पठाए पनि त्यहाँ नपाइएपछि उनी बेपत्ता भएको भन्दै खोजतलासका लागि दूतावासमा परिवारले आग्रह गरेको छ । दूतावासका उपनियोग प्रमुख दीपक अधिकारीका अनुसार संयुक्त अरब इमिरेट्समा दिनहुँजसो महिलाको अवैध श्रम इजाजत र नक्कली कागजातका प्रशस्त उजुरी आउने गरेको छ । ‘खाडी मुलुक महिला लैजाने बहानामा झूटो विवरण पेस गरी कागजात किर्ते पेस गरी श्रम इजाजत लिने दिने दुवै मानव बेचबिखन गर्ने हुन्, उनीहरूमाथि कडा कारबाही हुनुपर्छ,’ अधिकारीले भने । पुरुषको समेत नक्कली कागजात र टुरिस्ट भिसामा श्रम इजाजत दिइएको पाइएको छ । कुनै पनि मुलुकमा कामका लागि जाने कामदारको मात्र सम्बन्धित मुलुकको श्रम इजाजत गरिन्छ । तर, वैदेशिक रोजगार विभागले टुरिस्ट भिसामा समेत श्रम स्वीकृति दिएर स्टिकर टाँसेर दिएको छ । रामेछापका सूर्य पुलामीको ०६५२३३० नम्बरको पासपोर्टमा ०४४३ नम्बरमा दर्ता रहेको आईएमएस मेनपावरका सञ्चालक नारायण भण्डारीले पुलामीसग यूएईमा काम लगाइदिन र श्रम स्वीकृति बनाउन १ लाख ५० हजार रुपैयाँ लिएको उनले बताएका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.