भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं- काठमाडौं उपत्यकामा विस्तारित कतिपय सडकका पेटीहरू तोकिएको मापदण्डभन्दा कम चौडाइका रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको नेतृत्वमा सडक विस्तारसँग सम्बन्धित मन्त्रालयका सचिव, महानगरीय ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, नेपाल टेलिकम, विद्युत् प्राधिकरणका प्रमुखसहितका पदाधिकारीले आज गरेको निरीक्षणमा सडक विस्तारका क्रममा सडक पेटी (फुटपाथ) निर्माणमा स्थानीयवासीबाट अझै अवरोध र समस्या देखिएको पाइएको छ।
वि.स. २०३३ को मापदण्डअनुसार अहिले विस्तार गरिएका राजधानीका ११ मिटर चौडाइ भएको सडकमा डेढदेखि दुई मिटर तथा आठ मिटर चौडाई भएको स्थानमा एक मिटर सडकपेटी निर्माण गर्ने नीति बनाइएको छ।
“सामान्यतया सडक पेटी दुई मिटरको बन्नुपर्ने हो, तर विस्तारित सडकको छेउमा बनाइएका पेटीहरू ठाउँठाउँमा कम भएको देखिन्छ”– सचिव बाँस्कोटाले भने। फुटपाथ कायम गर्ने सम्बन्धमा काठमाडौँ र ललितपुर दुवै जिल्लामा उस्तै समस्या देखिएको छ।
सडक विस्तारको क्रममा सडक छेउमा रहेका संरचना भत्काउँदा निस्केको फोहरका ढिस्का तथा टेलिफोन र केबुलका तार चुँडिएर असरल्ल रहेको तारको प्रदूषण जताजतै रहेको पाइएको छ।
कतिपय विस्तारित सडकको कालोपत्रे गरेको ठाउँमा समेत खाल्टाखुल्टी परिसकेको देखिएको छ। कालोपत्रे गरेको त्यस्तो सडकमा एक वर्षभित्र कुनै खाल्टाखुल्टी परेमा वा बिग्रिएमा निर्माण व्यवसायी स्वयमले बनाउनुपर्ने व्यवस्था सम्झौतामा नै गरिएको छ।
विस्तारित सडकमा भइरहेको कामको प्रगति बारे मन्त्रिपरिषदका अध्यक्ष, मुख्यसचिव तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले अत्यन्तै चासो राख्नुका साथै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएको अनुगमनका क्रममा सचिव बाँस्कोटाले जानकारी दिए।
सरकारले राजधानीका सडक विस्तारको क्रममा आउने बाधा, व्यवधान र अप्ठेरोलाई सुल्झाउन तथा निर्माणका बारेका भइरहेको प्रगतिका लागि अनुगमन गर्न सरकारका सचिवहरू सम्मिलित समिति गठन गरेको छ।
समितिले प्रत्येक महिना कम्तीमा एकपटक सडक विस्तारमा भएगरेको कामको आकस्मिक निरीक्षण गर्दै आएको छ। सडक विभागले हात हालेका सडकहरू मोटामोटीरूपमा आगामी असार मसान्तसम्ममा ९० प्रतिशत पूरा गर्ने लक्ष्य राखेर काम गरिरहेको छ।
हालसम्म १६ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ। यस्तै ३६ किलोमिटर सडक ग्राभेल भइसकेको छ। विस्तारका लागि सडक विभागले हात हालेको मध्ये ८१ किलोमिटरमा आगामी असारभित्र उल्लेख्य उपलब्धि हुने अवस्थामा रहेको सचिव बाँस्कोटाले बताए।
त्यसैगरी नगरपालिकाले पनि काठमाडाँैभित्रका केही सडक विस्तारमा काम गरिरहेको छ। त्यसका अतिरिक्त काठमाडौँ उपत्यका विकास प्राधिकरणले २०३ किमी सडक विस्तारका लागि चिह्न लगाउने र विस्तार गर्ने कार्यक्रम अघि बढाइरहेको छ। काठमाडौंमा सडक विस्तार गर्दा जहाँ जुन ठाउँमा सम्भव छ, त्यहाँ साइकल लेन र अपाङ्गमैत्री सडक बनाउने लक्ष्य लिइएको छ।
अहिले बाटो निर्माण गरिएको ठाउँमा टेलिफोन र विद्युत् तारमा पनि आधुनिकीकरण गर्ने सोच अघि बढाइएको छ। त्यसका लागि निश्चित र उपयुक्त स्थानमा मात्र टेलिफोनका क्याबिनेट र बिजुलीका ट्रान्सफर्मर राख्ने व्यवस्था मिलाइएको छ। राणाकालीन समयमा बिच्छ्याइएका र अत्यन्तै पुराना खानेपानीका पाइप हटाएर सडकको दुवै किनारमा आधुनिक पाइप राख्ने काम भइरहेको सचिव बाँस्कोटाले जानकारी दिए।
सडक विस्तार सँगसँगै राजधानीको सुन्दरताका लागि हरियालीका कार्यक्रम सञ्चालन गर्ने तयारी सरकारले गरिरहेको छ। सडक छेउमा रहेका घरहरूको सुन्दरताका लागि स्वयम घरधनीलाई रङ्रोगन गर्न प्रोत्साहन गरिने भएको छ।
पहिलो चरणमा राजधानीको २०० किमी सडक विस्तारको परेको हो। दोस्रो चरणमा यो योजनालाई बढाएर ४०० किमी सडक विस्तार गरिनेछ। सडक विस्तारमा ढिलाइ गर्नेको ठेक्का रद्द गर्ने तथा छिटो र गुणस्तरीय काम गर्नेलाई पुरस्कार दिने नीति अवलम्बन गरिएको छ।
सडक विस्तारको क्रममा नागरिकको सम्पत्तिमा कमभन्दा कम क्षति पुगोस् भन्ने पाटोमा पनि इन्जिनियरबाट उत्तिकै ध्यान पुर्याएको बताइएको छ। निरीक्षणपछि अनुगमन समितिका संयोजकसमेत रहनुभएका सचिव बाँस्कोटाले सञ्चारकर्मीको जिज्ञासामा सडक विस्तारको कार्यले निरन्तरता पाउने, राजधानीवासीले सुधारिएको, हरियाली र सुन्दर काठमाडौ छिट्टै देख्न पाउने प्रतिक्रिया दिए।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.