भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मासुलाई हुने–खाने वा पौरखीको भोजन मानिने चलन पुरानै हो । तर देखासिकीकै लागि भए पनि आजकल धेरैले मासुलाई भोजनमा समावेश गर्ने गरेको पाइन्छ । मासुको उपभोग बढ्नु भनेको समाज–समृद्धिको परिसूचक पनि हो । तर कम मूल्यमा सबैले किन्न सकून् र व्यापारिक हिसाबले पनि फाइदै होस् भनेर यदाकदा कम गुणस्तरको मासु मिसाएर बेच्ने गरेको पाइएको छ । सामान्य व्यक्तिले कुन पशुपक्षीको मासु कस्तो हुन्छ र कति गुणस्तरीय हुन्छ भन्ने कुरा हत्तपत्त छुटइउन सक्दैन । त्यसैले कतै हामीले कम गुणस्तरको मासु सेवन गरेर रोग निम्त्याइरहेका त छैनौं ?
नियतवश वा भूलवश मिसमास गरिएको मासुले व्यापारीलाई त क्षणिक फाइदा होला नै । तर बासी मासु,सामान्य किसिमले खान अयोग्य मासु, रोगी पशुको मासु, रोगले मरेको पशुपक्षीको मासु ताजा–स्वस्थ मासुमा मिसाएपछि सबै मासु दूषित हुन्छ र त्यस्तो मासुको सेवनले जनस्वास्थ्यलाई नै चुनौती दिन्छ । कम मूल्य पर्ने एक प्रजातिको पशुपक्षीको मासु बढी मूल्य पर्ने अर्को प्रजातिको पशुपक्षीको मासुमा मिसावट गरिएको पनि हुन सक्छ । भनिन्छ, मासु दुई जनाले मात्र चिन्छन्, एक– जसले वध गर्छ, दुई–मासु निरीक्षक जसले वध गर्नुअघि पशुपक्षी जाँच गरी अभिलेख राख्छ, अनि सोहीअनुसार वध भएको पशुपक्षीको मासु निरीक्षण गरी प्रमाणित चिह्न अंकित गर्छ ।
मासुसम्बन्धी नियमन गर्न बनेका ऐन–कानुन राम्ररी लागू हुन नसकेको यस अवस्थामा हाम्रो देशको सबै ठाउँमा वध गर्नुअघि पशुपक्षीको जाँच र वधपछि सो पशुपक्षीको मासुको जाँच गर्नु त्यति सम्भव छैन । किनभने मासु व्यवसायी, स्थानीय निकाय र नेपाल सरकारको सहकार्यमा व्यवस्थित वधशाला निर्माणकार्य असफल भएको स्थिति काठमाडौंमै छ भने मोफसलका कुरा के गर्ने? त्यसैले कुन पशुपक्षीको मासु कस्तो हुन्छ भन्ने जानकारी भयो भने सामान्य मिसावट थाहा पाउन सकिन्छ ।
कुन पशुपक्षीको मासु कस्तो हुन्छ?
खसी–बोकाको मासुः खसी–बोकाको मासु गाढा रातो,कस्सिएको, घना रेसायुक्त हुन्छ । मासुमा बोसो न्यून हुन्छ भने छाला तथा मृगौलामा प्रशस्त बोसो हुन्छ । बोसो निख्खर सेतो, कडा, एकनासे र छुँदा कक्रक्क पर्ने हुन्छ । नलीहाडको गुदी एकनासे हल्का रातो हुन्छ ।
गाई–गोरुको मासुः प्रायः यो मासु गाढा रातो रंगको हुन्छ । थौरै खैरो पनि हुन्छ । साथै एकनासे रेसा भएको, काटिएको भाग चम्किलो भएको, मासु–बोसो सराबरीजस्तो देखिन्छ । यस्तै मासुको अनौठो गन्ध आउने हुन्छ । चरीचरनको पशु भए मासुमा पहेँलोपन देखिने र हाडको गुदी गाढा सेतोदेखि रातो–पहेँलो हुन्छ ।
भेडाको मासुः भेडाको मासु फुस्रो हुन्छ । बोसो कम नै हुन्छ । नलीहाडको गुदी पनि भेडाजस्तै फुस्रो किसिमको हुन्छ । छाला र मृगौलामा बोसो न्यून हुन्छ, कुनै–कुनैमा त बोसो नहुन पनि सक्छ ।
बंगुरको मासुः यसको मासु कैलो–सेतो, तिलचाम्ले–रातो हुन्छ । मासुको रेसा मिहिन हुन्छ । प्रशस्त बोसो हुन्छ । बोसो गाढा सेतो, मिहिन दानादार अनि नरम हुन्छ । नलीहाडको गुदी गुलाबी रातो र नरम हुन्छ । मासु पकाउँदा फुस्रो–सेतो हुनुका साथै हल्का हुन्छ ।
घोडाको मासुः यसको मासु गाढा रातो र नीलडाम परेको जस्तो हुन्छ । मासुको रेसा मिहिन, एकनासे, पत्रदार हुन्छ । यो मासुमा बोसो न्यून हुन्छ । सानो उमेरको घोडाको बोसो हल्का सुनौलो हुन्छ भने उमेर पुगेकाको सेतो हुन्छ । नलीहाडको गुदी मैनजस्तो चिपचिपे अनि नरम हुन्छ ।
कुकुरको मासुः कुनै–कुनै देशमा कुकुरको मासुलाई महत्त्वका साथ लिइन्छ भने हाम्रो देशमा वर्जित नै छ । कुकुरको मासु रातो र एकनासे रेसा भएको हुन्छ । कमै बोसो हुने र मासुमा सुँघिनसक्नु गन्ध आउने हुन्छ । बोसो सेतो–फुस्रो र तेल नै झर्लाजस्तो चिपचिपे हुन्छ ।
खरायोको मासुः खरायोको मासु फुस्रो–रातो, खैरो–रातो, मिहिन रेसा भएको हुन्छ । यसको मासु बोसोविहीन हुन्छ ।
कुखुराको मासुः यसको मासु फुस्रो हुन्छ । यसलाई ह्वाइट मिट पनि भनिन्छ । मासुको रेसा अलि रातो हुन्छ । मासु बोसोरहित हुन्छ ।
हरिणको मासुः यस दुर्लभ पशुको मासु गाढा रातो वा खैरो–रातो हुन्छ । बोसो हुँदैन तर मासु एथेलिटिकसको जस्तो कस्सिएको हुन्छ । मासु रेसादार पनि हुन्छ । यसको मासुमा मगमग बास्ना आउँछ । यसलाई शुद्ध अर्गानिक मासु मानिन्छ ।
हामी धेरैजसो व्यक्ति सामाजिक, धार्मिक रीतिस्थितिअनुसार मासु उपयोग गर्न रुचाउँछौं । कसैलाई एक पशुपक्षीको मासु मन पर्ला, कसैलाई अर्कै । यसमा आर्थिक कारण पनि जोडिएको हुन सक्छ । हरेक प्रजातिको मासुको मूल्य फरक पर्न सक्छ । एक प्रजातिमा अर्को प्रजातिको मासु मिसाउँदा धार्मिक, सामाजिक अनि आर्थिक पक्ष प्रभावित हुन सक्छ ।
यसबाहेक फरक–फरक किसिमको पशुपक्षीको मासु मिसमास गर्दा जनस्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्छ । यसबारे उपभोक्ता आफैं सचेत हुनुपर्छ । शंका लागेमा प्रयोगशालामा परीक्षण गराउन पनि सकिन्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.