भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बाँके, चैत्र २५ - बोक्सीको आरोपमा बर्बर यातना पाएकी कैलाली बेलादेवीपुर गाविस ७ घुरसुवाकी ६० वर्षीया वृद्धा राजकुमारी राना पीडाले कोहलपुरस्थित शिक्षण अस्पतालमा छट्पटी रहेकी छन् । छोरा दलबहादुर र श्रीमान् नहरा घटना सम्झिँदै मानसिक तनाब खेप्दै छन् । राजकुमारीलाई थप उपचारका लागि शनिबार बिहान कोहलपुर अस्पताल ल्याइएको हो । 'कुटपिट गरे पनि आमालाई निर्वस्त्र नपार्न हातपाउ जोडे । तर मानेनन् । गाउँभरिका मानिसका अगाडि हाम्रो इज्जत लुटेरै छोडे,' छोरा दलबहादुरले रुँदै भने, 'सहयोग गर्ने कोही नभएपछि आमाको इज्जत जोगाउन सकिएन । बचाउन खोज्दा कुटे ।' छिमेकीले शुक्रबार बिहान ४ देखि ११ बजेसम्म वृद्धा राजकुमारी रानालाई यातना दिएका थिए । पहिले चप्पलले मुखमा हाने । कपाल खौरेर नाङ्गो पारे । लगाएको कपडा खोलेर जलाए । त्यतिले नपुगेपछि हातखुट्टा पछाडि पारेर नजिकैको आँपको बोटमा बाँधेर राखे । 'बचाउने कोही भएन । म र बुबा निकै रोयौँ' उनले भने । निराका श्रीमान् लालसिंह र देवर रामसिंह पनि थपिएपछि झन धेरै यातना दिएको उनले बताए । 'केही सोच्नै सकिएन । खबर पाएपछि प्रहरीले उद्धार गर्यो,' उनले भने । वृद्धा राजकुमारी चोटले थला पारेकी छन् भने छोरा र पति मानसिक तनावमा छन् । उक्त घटनाले गाउँमा बस्न सक्ने वातावरण नरहेको पति नहरा रानाले बताए । 'हाम्रो इज्जतै बाँकी रहेन,' उनले भने । शिक्षण अस्पताल कोहलपुरका डा.सुवास पाण्डेले वृद्धाको टाउको र शरीरमा चोट लागेको बताए । दुई दाँत भाँचिएका छन् । आँखाको छेउबाट रगत बगेको छ । यौनाङ्ग सुनिएको छ । उल्टी हुने गरेको पनि उनले बताए । 'बिरामी खतरामुक्त भन्न मिल्दैन,' उपचारमा संलग्न अर्का डा.आनन्द पाठकले भने, 'मानसिक टर्चर बढी छ ।' उपचारमा कमी हुन नदिने बाँके प्रशासनले जनाएको छ । 'औषधि, खाना खर्च र उपचार गर्न अस्पतालसँग आग्रह गरेका छौं,' निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले भने । सरकारद्वारा कडा कारबाही गर्न निर्देशन काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बोक्सीको आरोपमा कैलाली बेलादेवीपुर-७ घुरसुवाकी ६० वर्षकी वृद्धा राजकुमारी रानालाई बर्बरतापूर्ण यातना दिनेलाई कडा कारबाही गर्न क्षेत्रीय प्रशासक र जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले शनिबार सुदूरपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक आत्माराम पाण्डेलाई टेलिफोन गरी घटनालाई सामान्य रूपमा नलिन र ज्यानमारा केसकै मुद्दा अघि बढाउन निर्देशन दिएका छन् । 'त्यो विषयलाई सामान्य रूपमा नलिन निर्देशन भएको छ,’ बाँस्कोटाले भने, 'ज्यानै मार्ने उद्देश्यले यातना दिएकाले दोषीहरूलाई उन्मुक्ति नदिन र कडाभन्दा कडा कारबाही गर्न भनेका छौं ।’ उनले घटनास्थल पुगेर पनि तमासे बनेका गाउँलेलाई समेत पक्राउ गरी कारबाही अघि बढाउन निर्देशन दिएका छन् । 'घटनालाई सामान्य भनेर कसैलाई पनि नछोड्न भनिएको छ,’ उनले भने, 'कुन कानुनअनुसार कारबाही गर्दा दोषी उम्कँदैन त्यही गर्न निर्देशन भएको छ ।’ समाजमा पाठ सिकाउनका निम्ति पनि कारबाही तीव्र बनाउनुपर्ने र छानबिन समिति बनाएर विस्तृत अध्ययन गरी दोषी सबैलाई कठघरामा उभ्याउन पाण्डे र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । घटनाबारे विस्तृत छानबिन नभएसम्म कैलाली छाडेर सुदूरपश्चिमको मुख्यालय डोटी/दिपायल नजानसमेत पाण्डेलाई भनिएको छ । मन्त्रिपरिषद् कार्यालयले शनिबार नै गृहसचिव नवीनकुमार घिमिरे र महिला मन्त्रालयका सचिव दिनेशहरि अधिकारीलाई समेत घटनाबारे विस्तृत अध्ययन गर्न र घटनालाई फितलो नबनाउन ध्यानाकर्षण गरेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.