Widgets

Home » » १३८ वर्षपछि पनि जंगबहादुरको श्राद्ध

१३८ वर्षपछि पनि जंगबहादुरको श्राद्ध

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपालमा निरंकुश जहानियाँ शासनको सुरुवात गर्ने जंगबहादुर राणाको निधन भएको एक सय ३८ वर्ष भइसकेको छ । तर, उनको आत्माको वैकुण्ठवासको प्रार्थना गर्दै उनको श्राद्ध अझै पनि गर्ने गरिएको छ । आइतबार त्रिपुरेश्वरस्थित कालमोचनघाटमा गुठी संस्थानले जंगबहादुर राणाको श्राद्ध गर्‍यो । श्राद्धकर्ता थिए गोविन्दप्रसाद कोइराला । कोइराला प्रसूतिगृहमा काम गर्छन् । यसैगरी, जंगबहादुर राणाको श्राद्धका पुरेत थिए पुरुषोत्तम मिश्र । श्राद्ध गरिसकेपछि कर्ताले पुरेतलाई १३ सय रुपैयाँ दान दिए । यसैगरी मिश्रका छोरा-छोरी र पत्नीलाई कोइरालाले मिष्ठान्न भोजन पनि गराए । जंगबहादुरको श्राद्ध खान वरिपरिका केही मान्छे पनि आएका थिए । उनीहरूलाई पनि मिष्ठान्न भोजन उपलब्ध गराइएको थियो । श्राद्धमा खीर, रोटी, तरकारी, लड्डुलगायतका परिकार बनाइएका थिए । श्राद्धकर्ताले श्राद्ध खान आउने सबैलाई एक-एक रुपैयाँको सिक्का दक्षिणा दिए । श्राद्ध आइतबार बिहान नौदेखि बाह्र बजेसम्म गरिएको थियो । जंगबहादुरको श्राद्ध हरेक वर्ष दुईपटक कालमोचनघाटमा रहेको जंगे हिरण्य हिमनारायण मन्दिरनजिकै गरिन्छ । मन्दिरनजिकै जंगबहादुरको मूर्ति छ । हिरण्य र हिमकुमारी जंगबहादुरका रानी थिए । उनीहरूकै नाममा जंगबहादुरले मन्दिर स्थापना गरेका थिए । मन्दिरभित्र जंगबहादुरको चर्चा गरिएको शिलापत्र पनि छ । शिलापत्र सम्मुख पारेर श्राद्ध गरिएको हो । फागुन शुक्ल द्वादशी उनको श्राद्धतिथि हो । यो वर्ष भने एक महिना ढिलो भई चैतमा परेको छ । यसैगरी, उनको अर्को श्राद्ध आगामी असोज महिनामा गरिँदै छ । विसं १९३१ साल फागुन १२ गते बर्दियाको पत्थरघट्टामा सिकार खेल्न गएको वेला जंगबहादुरको रहस्यमय निधन भएको थियो । उनको निधनबारे अनेक किंवदन्ती छन् । कोही सपनामा सेतो बाघ देखेर उनको निधन भएको भन्छन् भने केहीले पखालाका कारण निधन भएको चर्चा गर्छन् । त्यस्तै, केहीले जंगबहादुरबाट बलात्कृत युवतीका बाबुले रिस थाम्न नसरी उनको शिरच्छेदन गरेको चर्चा गर्ने गरेका छन् । जंगबहादुरले जिउँदो छँदै आफूलाई सबैले चिनून् भनी आफ्नो नाममा राजगुठी स्थापना गरेका थिए । सो गुठीले अहिले त्रिपुरेश्वर कालमोचन क्ष्ाेत्रमा ३० रोपनी जग्ग्ाा ओगटेको छ । उक्त जग्गा भाडामा दिइएको छ । भाडाबाट आएको आम्दानीले श्राद्ध गर्न पुग्छ । बाँकी रकम गुठी संस्थानमा पुर्‍याइने गरिन्छ । जंगबहादुरको निधन भएपछि उनकी रानी हिमकुमारीले आफ्ना पतिको वैकुण्ठवास होस् भन्ने कामना गर्दै पतिका नाममा ब्राह्मणलाई दान दिन र मिष्ठान्न भोजन गराउन थालिन् । हिमकुमारीले पतिको आत्माको चिरशान्तिको कामना गर्दै श्राद्ध गर्ने संस्कार थालेकी हुन् । त्यसपछि अहिलेसम्म त्यो परम्परा कायमै रहेको छ । जंगबहादुरको श्राद्ध खान आउनेलाई एक-एक रुपैयाँको सिक्का दान गर्ने परम्परा पनि हिमकुमारीले नै बसालेकी हुन् । सुरुमा 'श्री ३ सर्कार गुठी बन्दोबस्त अड्डा'ले जंगबहादुर राणाको श्राद्ध गथ्र्यो, तर अहिले भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत गुठी संस्थान तथा खर्च कार्यालयले जंगबहादुरको श्राद्ध गर्दै आएको छ । यस वर्ष जंगबहादुरको श्राद्ध गर्न गुठी संस्थानले १५ हजार रुपैयाँ विनियोजन गरेको थियो । कालमोचनघाटका कर्मचारी पनि जंगबहादुरको श्राद्धका पाहुना बने । उनीहरूलाई पनि श्राद्धकर्ताले एक-एक रुपैयाँको सिक्का दक्षिणा दिएका थिए । 'गुठी संस्थानले हरेक वर्ष दुईपटक जंगबहादुर राणाको श्राद्ध गर्ने गरेको छ । त्यो परम्परालाई निरन्तरता दिँदै आइतबार हामीले उहाँ -जंगबहादुर राणा) को श्राद्ध गर्‍यौँ,' त्रिपुरेश्वरस्थित कालमोचनघाटका प्रमुख जयराम रेग्मीले भने, 'जंगबहादुरको श्राद्ध यसपटक पनि सबै विधि पुर्‍याएर गरिएको छ ।' जंगबहादुुर राणाको बाल्यकालको नाम बालनरसिंह कुँवर थियो । उनले जहानियाँ शासन सुरु गरेपछि आफ्नो नामथर फेरेर जंगबहादुर राणा राखेका थिए । जंगबहादुरको श्राद्धमा पुरेत्याइँ गर्दै आएका एकजना ब्राह्मणले केही वर्षपहिले बाग्मतीमा हामफालेर आत्महत्या गरेका थिए । त्यस घटनापछि उनको श्राद्धमा पुरेत हुन कसैले पनि मान्न छाडे । यस वर्ष श्राद्धकर्ता कोइरालाले पुरेत खोजेका थिए । जंगबहादुर राणा निकै कठोर शासक थिए । त्यसैले उनको श्राद्धमा सबै विधि अपनाउने र त्यसलाई भव्य बनाउने परम्परा छ । जंगबहादुरको श्राद्धमा उनका सन्तति भने देखिएका थिएनन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger