Widgets

Home » » मलेसियाविरुद्धको जितले नेपाल सेमिफाइनल नजिक

मलेसियाविरुद्धको जितले नेपाल सेमिफाइनल नजिक

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
विनोद पाण्डे, काठमाडौं, चैत १८ - प्रशिक्षक पुबुदु दासानायकेको भनाइ मान्ने हो भने नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना ९० प्रतिशत निश्चित भइसकेको छ। कप्तान पारस खड्काको शानदार इनिङमा नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरी एसिसी ट्वान्टी-२० कपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो। हङकङ सबै चार खेल जिती समूह 'ए' को विजेता बनिसकेको छ। नेपालको ३ खेलमा दोस्रो विजय हो। मलेसिया र माल्दिभ्सले समान ३ खेल खेलेर १-१ मा विजय पाएका छन्। सिंगापुर सबै ३ खेल हारेको छ। नेपालले सिंगापुरसँग आइतबार निकै ठूलो अन्तरमा हारेमा र मलेसियाले माल्दिभ्समाथि निकै ठूलो विजय हात पारेमा मात्र नेपाल समूह चरणबाटै बाहिर जान सक्छ। पारसको आकर्षक ८७ रनमा टस हारेको नेपालले ८ विकेट गुमाई १ सय ६३ रन बनायो र जवाफमा आएको मलेसियालाई ९ विकेट गुमाई १ सय ४४ रनमात्र बनाउन दियो। युएई र अफगानिस्तानबाहेक शीर्ष दुई टोली नोभेम्बरमा हुने विश्व ट्वान्टी-२० छनोटमा पुग्ने हुनाले नेपाललाई कम्तीमा सेमिफाइनल पुग्न जरुरी थियो। पारसको इनिङ नेपाली खेलाडीको ट्वान्टी-२० मा दोस्रो व्यक्तिगत उच्च स्कोर हो। सन् २०११ मा एसिसी ट्वान्टी-२० को पछिल्लो संस्करणमा महबुब आलमले साउदी अरेबियाविरुद्ध ८८ रन बनाएका थिए। अन्तर्राष्ट्रिय ट्वान्टी-२० मा पारसको चौथो अर्धसतक हो। गत वर्ष उनले युएईमा विश्व ट्वान्टी-२० छनोटमा हङकङविरुद्ध ६८, बर्मुडाविरुद्ध अविजित ६५ र पपुवा न्युगिनीविरुद्ध ६२ रन बनाएका थिए। आफैलाई योगदान दिन सकेकोमा पारसको खुसी विशेष थियो। 'गएको २-३ महिनामा हामी जुन मेहनत गरेका थियौं, त्यसलाई खेर जान दिदैनौं भनेका थियौं। त्यसैले कुनै एक खेलाडीले नभई टिमका सबैले उत्तिकै प्रदर्शन गरेर जितेका हौं। टोलीकै हिसाबले भन्नुपर्दा यो उत्कृष्ट हो,' पारसले भने, 'हामी अझै प्रतियोगितामा अगाडि बढ्नु छ। यो सुरुआत मात्र हो, यसलाई निरन्तरता दिन जरुरी छ। आज जुन हिसाबले सुरुआत भएको थियो त्यो हिसाबमा अन्त भएन। हामीले अझै केही रन जोड्न सक्नुपर्थ्यो।' दबाब कतिको थियो? पारसले भने, 'मैले पहिलेदेखि भन्दै आएको छु नेपालबाट खेल्नु अवसर र चुनौती दुवै हो। हामीले हाम्रो तर्फबाट गर्ने भनेको संयमित भएर खेल्नु हो। कहिलेकाहिँ दबाब पनि हुन्छ, देशका लागि खेलिसकेपछि जतिसक्दो दबाब त झेल्नै पर्छ। तर यतिका दर्शकअघि खेल्दा फाइदा पनि हुन्छ। दर्शकले नेपाली टोलीलाई हौस्याइरहन्छन्।' पारसले ५४ बलको इनिङ्समा ११ चौका र ३ छक्का प्रहार गरे। उनले ३४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी अर्धशतक बनाए। नेपाल तेस्रो ओभरको सुरुआतमै १६-२ को अवस्थामा पुगिसकेको थियो। प्रदीप ऐरीले खाता खोल्न सकेनन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल पनि नाजरिल रहमानको स्लो बलमा बोल्ड भए। पारस नभएका भए के हुन्थ्यो भन्ने प्रश्नमा पुबुदुले हाँस्दै भने, 'त्यही भएर उनी त्यहाँ थिए। हाम्रो ब्याटिङक्रम लामो छ, सबै फर्ममा छन्। त्यसमा एक-दुई जो जमे पनि उसले टिमका लागि योगदान दिन्छन्। यसमा पारसले अझ उत्कृष्ट खेले। त्यसैले हामीले राम्रो स्कोर बनायौं।' पारसले ओपनर सुवास खकुरेलसँग तेस्रो विकेटमा ४८ र विनोद भण्डारीसँग अर्को विकेटमा ४९ रनको साझेदारी गरे। सुवासले २३ बल खेलेर २ चौका र १ छक्का प्रहार गरी २५ र विनोदले १६ बल खेलेर २ चौका र १ छक्का प्रहार गरी २० रन बनाए। अन्यमा शरद भेषावकर १, पृथु बाँस्कोटा ७, वसन्त रेग्मी २ रनमा आउट भए। शक्ति गौचन ६ र चन्द्र साउद २ रनमा अविजित रहे। चन्द्रसँग नयाँ बल लिएका देब्रे हाते स्पिनर वसन्त रेग्मीले फैजल अबु हसनलाई ६ रनमा बोल्ड गरे पनि मलेसियाले ३ ओभरमा ३० रन जोडिसकेको थियो। पृथु चौथो ओभर लिएर बलिङ गर्न आएपछि नेपाल खेलमा फर्कियो। पहिलो खेल खेलिरहेका पृथुले सुहारिल फेत्रीलाई ६ र ओपनर हमद उल्ला खानलाई ३३ रनमा आउट गरे। पृथुलाई खेलाइएको विषयमा पारसले भने, 'पावर प्लेमा उनले निकै राम्रो बलिङ गरे, उनले आफ्नो भूमिकामा न्याय गरे। मान्छेले यो खेलाडी ठीक छ, यो ठीक छैन भनेर आलोचना गर्छन्। हामीले सबैलाई अवसर दिइरहेका छौं। सबै राम्रो खेलेर नै अहिले टोलीमा परेका हुन्। त्यसैले हामी बेञ्च पनि बलियो बनाउने प्रयास गरिरहेका छौं। त्यसले भविष्यमा स्तरीय खेलाडी अभाव हुन रोक्ने छ।' पृथुको विषयमा दासानायकेले भने, 'उनलाई तेस्रो ओभरमा बलिङमा ल्याएकोमा मलाई केही आश्चर्य लागेको छ, किनभने हामीले दोस्रो ओभर नै आक्रामणमा ल्याउने योजना बनाएका थियौं। उनले नयाँ बलमा पनि राम्रो अफ स्पिन बलिङ गरे।' अर्का अफ स्पिनर सञ्जम रेग्मीले पनि २ विकेट लिए। उनले ४ ओभरमा २८ रन खर्चे। वसन्त, शक्ति गौचन र चन्द्रले १-१ विकेट लिए। सन् २००४ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आए पनि चन्द्रको घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय खेल थियो। मलेसियाबाट साफिक सरिफले अविजित ५३ रन बनाए। ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। कप्तान सुहान कुमार १ रनमा आउट भएपछि उनी क्रिजमा आएका थिए। अस्ट्रेलिया लिगमा खेलिरहेका सुहानले ३७ बलमा अविजित ७० रन बनाउँदा मलेसियाले सिंगापुरसँग अघिल्लो खेलमा १ सय ७२ रनको लक्ष्य पछ्याएको थियो। डायस आफ्नो टोली हार्नुका दुई कारण देख्छन्। 'पहिलो नेपालका कप्तानले उत्कृष्ट खेल्नाले र दोस्रो मेरा कप्तान रनआउट हुनाले। सुहान उत्कृष्ट फर्ममा थिए। अर्को थप एक रनआउट हुनाले हामीलाई गाह्रो भयो,' उनले कारण बताए। पृथु तेस्रो ओभरमै बलिङमा आए पनि डायसलाई खासै आश्चर्य लागेन। सोचेको नतिजा आएकाले दासानायके आश्चर्यमा थिएनन्। 'टिमको प्रदर्शनबाट म सन्तुष्ट छु। हामीले योजनाअनुसार नै खेल्यौं। यो नतिजा आएकोमा म आश्चर्यचकित छैन। जुन हिसाबले खेलाडीले खेले र दर्शकले साथ दिए त्यसमा म निकै खुसी छु। मलेसियाले पनि हार खाएन। अन्तिम समयसम्म डटिरह्यो र खेललाई रोमाञ्चक बनायो। यसले दर्शकलाई आनन्द प्रदान गर्‍यो। हामी लगभग अर्को चरणमा पुगिसकेका छौं। त्यसमा म अझ खुसी छु।' पारसलाई नगद ६० हजार उत्कृष्ट इनिङ खेलेसँगै पारसले शनिबारको खेलमा ६० हजार रुपैयाँ पाएका छन्। ब्याटिङबाट शानदार ८७ रन बनाएकाले मोडल ग्लोबल भिसा कन्सल्टेन्सीले ५० हजार प्रदान गरेको हो। कन्सेल्टेन्सीका प्रबन्ध निर्देशक मनोज पाण्डेले म्यान अफ द म्याचको पुरस्कारक्रम उक्त रकम प्रदान गरे। कन्सल्टेन्सीले प्रतियोगितापूर्व एसिसी ट्वान्टी-२० कपमा नेपाली खेलाडीले व्यक्तिगत ७५ रनभन्दा बढी बनाए ५० हजार दिने घोषणा गरेको थियो। पारसले म्यान अफ द म्याच भएपछि १० हजार पाए। टिकटबाट संकलित रकमबाट नेपाली खेलाडी म्यान अफ द म्याच भएमा १० हजार दिँदै आएको छ। शनिबार ६ लाख ५९ हजार रुपैयाँ संकलन भएको नेपाल खेलाडी तथा प्रशिक्षक संघका कोषाध्यक्ष आशिष द्वारेले बताए। संघले नेपाल क्रिकेट संघ (क्यान) सँग मिलेर टिकट व्यवस्थापन गर्दै आएको छ। द्वारेका अनुसार शनिबार झन्डै ८ हजार ५ सय दर्शकले टिकट काटेका थिए। 'दर्शक चाप निकै बढेपछि थप टिकट बिक्री गर्न नसक्दा हजारौं संख्या दर्शक ढोका भत्काउँदै मैदान प्रवेश गरे, थोरै सुरक्षाकर्मीले दर्शक रोक्न सकेनन्,' द्वारेले भने। मैदान बाहिर पनि दर्शक ठूलो संख्यामा देखिएपछि भीड नियन्त्रणमा लिन प्रहरीले सामान्य लाठीचार्जसमेत गर्नुपरेको थियो। नेपाली टोली परिपक्व भएछ : डायस १० वर्ष नेपाली प्रशिक्षक हुँदा रोय लुक डायसलाई मन परेको सबैभन्दा राम्रो पक्ष दर्शक हो। उनले नेपालसँग खेलेपछि भने, 'दर्शकका कारण आज निकै राम्रो खेल भयो, यसमा सबै रमाए। यहाँका दर्शकलाई क्रिकेटबारे राम्रोसँग थाहा छ। क्रिकेटप्रति उनीहरूको संयमता छ। नेपालले अहिले राम्रो गरिरहेको छ। यहाँ जस्तो दर्शक टेस्ट खेल्ने बाहेकका राष्ट्रमा अन्य कतै पाइँदैन।' उनले नेपाली टोलीमा धेरै परिवर्तन देखे। 'अहिले नेपाली टोली धेरै परिपक्व भइसकेको छ। पछिल्ला प्रतियोगिताहरू जितेपछि नेपाल थप उपाधिको भोको छ। जुन नेपालले यसपल्ट पनि पूरा गर्न सक्छ किनभने नेपालसँग पारस खड्का जस्ता कप्तान छन्। उनी मेरा पनि उत्कृष्ट कप्तान हुन्,' डायसले भने, 'पछिल्ला दुई वर्षलाई हेर्ने हो भने नेपाली खेलाडी आफैमा विश्वास गर्छन्। धेरै मेहनत गर्छन्।' सन्तुलित टोली भए पनि आफ्नो टोली (मलेसिया) मा सुधारको सम्भावना देख्छन् उनी। 'हाम्रा खेलाडीहरू मेहनतका साथ अभ्यास गर्दैनन्। उनीहरू पढाइमा केन्द्रित हुन्छन्। सबै खेलाडीलाई एकैसाथ राखेर अभ्यास गराउन पनि गाह्रो छ। एक दिन पनि हामीसँग अभ्यास गर्न पूरा टोली थिएन। नेपाल आएपछि नै हामी सबै एकै ठाउँमा भएका हौं। तर यही क्षमा गर्नुपर्ने कारण होइन। मलाई लाग्छ हाम्रो टोलीमा सुधार गर्नुपर्ने थुप्रै स्थानहरू छन्,' डायसले भने। युएई सेमिफाइनलमा लगातार तेस्रो खेल जित्दै युएई सेमिफाइनल पुगेको छ। युएईले कीर्तिपुरमै अफगानिस्तानलाई ६ विकेटले पराजित गर्‍यो। पहिलो ब्याटिङ गरेको अफगानिस्तानलाई १४३-८ मा रोकेपछि युएईले १९.२ ओभरमा लक्ष्य पूरा गर्‍यो। समूह 'बी' को अर्को खेलमा ओमानले बहराइनलाई ६ विकेटले पराजित गर्‍यो। समूह 'ए' को सबै चार खेल जितेको हङकङले सिंगापुरमाथि ३९ रनको नतिजा निकाल्यो। आइतबारका खेल नेपालविरुद्ध सिंगापुर, कीर्तिपुर, (९.१५ बजे) बहराइनविरुद्ध युएई, कीर्तिपुर (१.१५ बजे) अफगानिस्ताविरुद्ध कुवेत, पुल्चोक, (९.१५ बजे) मलेसियाविरुद्ध माल्दिभ्स, पुल्चोक (१.१५ बजे)

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger