भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ चैत, काठमाडौं । अरुलाई चुनाव लागोस् या नलागोस्, राष्ट्रपति डा. रामवरण यादव र एमाओवादी अध्यक्ष प्रचण्डलाई भने गज्जबले चुनाव लागेको छ । नत्र प्रचण्डले राष्ट्रपतिको गृहजिल्ला धनुषामा जसका घरमा गएर खाना खाए, तिनै व्यक्तिलाई राष्ट्रपतिजस्तो सम्माननीय मान्छेले शीतलनिवासबाटै फोन गरेर ‘ओइ नाति तँ माओवादीमा नलाग्, मर्छस्’ भन्नै पर्ने थिएन ।
धनुषाको महेन्द्रनगरमा शुक्रबार प्रचण्डलाई घरैमा बोलाएर दलबलका साथ एमाओवादीमा प्रवेश गरेका तरुण दलका विजय यादवलाई राष्ट्रपति डा. रामवरण यादवले टेलिफोनबाट धम्की दिनुभएको छ । राष्ट्रपति र उहाँका आफन्तले किन कांग्रेस छाडिस् भन्दै हैरान पारेपछि विजयले आफ्नो मोबाइलको सिमकार्डसमेत परिवर्तन गर्नुपरेको छ ।
‘तिमी गलत पार्टीमा लाग्यौ, माओवादीले फेरि युद्ध गर्छ, तिमी मर्छौ ।’ राष्ट्रपतिले टेलिफोनमा भनेको उद्धृत गर्दै विजयले अनलाइनखबरसँग भन्नुभयो- ‘तिमी राम्रो केटा थियौ, भविश्यमा केही गरौला भन्ने सोचेको थिएँ । चुपलागेर बस म पैसा दिन्छु, बच्चा पढाऊ, जिल्लामा मेरो छोरोलाई सघाऊ ।’
आफूले कांग्रेस परित्याग गरेर एमाओवादीमा लाग्नासाथ राष्ट्रपतिले आफू र आफ्ना परिवारका सदस्यलाई समेत फोन गरेर रामवरणले हैरान पारेको विजयको गुनासो छ । ‘पहिले पनि मेरो छोरोलाई सहयोग गर् भन्दै शीतलनिवासमै बोलाएर धम्की दिने र कहिले पैसा दिने प्रयास गर्नुहुन्थ्यो, मैले मानिँन ।’ विजयको भनाइ छ-’घरैमा बोलाएर छोरा चन्द्रमोहनले ५० हजार दिन खोज्नुभएको थियो ।’
को हुन् विजय ?
संविधानसभाको चुनावमा धनुषा ५ मा उपनिर्वाचन हुँदा विजय राष्ट्रपति पुत्र डा. चन्द्रमोहनको बागी उमेद्वार बन्नुभएको थियो । जिल्ला पार्टीले स्थानीय कांग्रेस नेता मोहन माथेमालाई उमेद्वार बनाउन खोज्दा राष्ट्रपतिले पेलेर आफ्नो छोरालाई उमेद्वार नबनाएको भए धनुषामा कांग्रेसको अवस्था राम्रो हुने विजय बताउनुहुन्छ । ‘अहिले फेरि चुनाव आएको छ, धनुषामा अझै कांग्रेसलाई बचाउने हो भने पार्टीले राष्ट्रपतिका छोरालाई हैन, माथेमालाई उमेद्वार बनाएर देखाओस् ।’ विजय भन्नुहुन्छ- ‘धनुषामा अर्को पारस जन्मिएको छ, मेरो छोरोलाई समर्थन गर् भन्दै राष्ट्रपति आफैं टेलिफोन गर्दै छोराको पक्षमा लबिङ गरिरहनुभएको छ । धम्की र पैसाको प्रलोभन दिइरहनुभएको छ ।’
विजय यसअघि तरुण दल धनुषाका पूर्वउपाध्यक्ष हुनहुन्थ्यो । कांग्रेसको जिल्ला कार्य समितिका १७ मध्ये १५ जनाले राष्ट्रपतिपुत्रको विरोध गर्दै विजयलाई उपचुनावमा बागी उमेद्वार बनाएको विजयको दाबी छ । आफ्नो छोराविरुद्ध बागी उमेद्वार बनेपछि आफूलाई रामवरणले त्यतिबेला पनि शीतलनिवास बोलाएर सेना लगाउने धम्कीसमेत दिएको विजयको गुनासो छ । ‘त्यतिबेला पनि शीतलनिवासमै बोलाएर धम्की दिइयो । उहाँले आफ्नो छोरालाई नसघाए सेना लगाएर ठेगान लगाउँछुसम्म भन्नुभयो ।’ विजयको भनाइ छ-’तर, म झुकिँन ।’
स्थानीय स्तरमा सहकारी संस्था चलाएर बसेका विजय शुक्रबार सय भन्दा बढीको दलबलसहित प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा पस्नुभएको हो । यादवलाई पार्टीमा प्रवेश गराउन प्रचण्ड घरैमा पुगेका थिए । विजयलाई पार्टीमा प्रवेश गराउने सोही कार्यक्रममा प्रचण्डले आफू मधेसबाट चुनाव लड्ने बताउनुभएको हो । सो क्रममा आफूसँगै कांग्रेस नेता रामदेव यादवका छोरा घनश्याम यादव, प्रेस युनियनका अजय साह र एमालेका रामचन्द्र यादवलगायत एमाओवादीमा प्रवेश गरेको विजयको कथन छ ।
‘नयाँ पारस’सँग लड्न एमाओवादीमा प्रवेश
तपाई किन एमाओवादीमा प्रवेश गर्नुभएको भन्ने अनलाइनखबरको प्रश्नमा विजयले भन्नुभयो- ‘वीपीबाबुले लोकतन्त्र आएपछि पनि सामन्त र सुकिला-मुकिलाविरुद्ध लड्न बाँकी रहन्छ भन्नुभएको थियो, त्यसैले सामन्त र नयाँ पारसहरुविरुद्ध लड्न प्रचण्डलाई घरैमा बोलाएर एमाओवादीमा लागेको हुँ ।’ उहाँले भन्नुभयो- ‘लोकतन्त्रमा आफूलाई मन लागेको पार्टीमा प्रवेश गर्न पाइन्छ, आफूलाई लोकतन्त्रवादी भन्ने राष्ट्रपतिजस्तो व्यक्तिले फलाना पार्टीमा नलाग् भनेर किन हप्काउने ?’
तपाई नाताले राष्ट्रपतिको नाति पर्नुहुन्छ रे त ? भन्ने प्रश्नमा यादवले भन्नुभयो- ‘उहाँका पछि लागे नाति भन्नुहुन्छ, पछि नलागे गुण्डा । नाताको कुरा नगरौं, राजनीतिक कुरा गरौं ।’
डा. रामरण यादव राष्ट्रपति बनेपछि खालि रहेको धनुषा-५ मा कांग्रेसका तर्फबाट उठेका डा. चन्द्रमोहन यादवले ६ हजार २७ मत प्राप्त गरी तेस्रो स्थानमात्रै हासिल गर्नुभएको थियो । वीर अस्पतालको रेडियोलोजिष्टको जागिर छाडेर सांसद र मन्त्री बन्ने रहरमा लागेका पुत्रलाई जिताउन पिता रामवरणले भगिरथ प्रयास गर्नुभएको थियो । तर, राष्ट्रपतिले जितेको सो क्षेत्रमा एमालेका रघुवीर महासेठले १३ हजार मत ल्याएर जित्नुभयो भने तमलोपाका श्रीकृष्ण यादवले राष्ट्रपतिपुत्रले भन्दा झण्डै दोब्बर अर्थात् ११ हजार ९ सय मत ल्याएर दोस्रो स्थान हासिल गर्नुभएको थियो । स्वतन्त्र उमेद्वार विजयकुमार यादवको चुनाव चिन्हमा गाग्री २३ मत परेको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.