Widgets

Home » » दार्जिलिङमा अनिश्चितकालीन बन्द

दार्जिलिङमा अनिश्चितकालीन बन्द

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं- गोर्खाल्यान्ड राज्यको माग गर्दै आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा भारतको दार्जिलिङमा शनिबार अनिश्चितकालीन बन्द सुरु भएको छ। दार्जिलिङ र आसपास क्षेत्रमा बजार, होटल, यातायात, कार्यालय, शिक्षण संस्था बन्द भएका छन्। चिया र सिन्कोना कारखाना भने गोजमोले बन्द गराएको छैन। मोर्चा कार्यकर्ताले शनिबार बिहान रिम्बिकमा रहेका ५६ र ३ दशमलव ५ मेगावाटका जलविद्युत आयोजना बन्द गराएका छन्। जलविद्युत आयोजना बन्द गराउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जिटिए) का सभासद एवं गोजमो नेता प्रकाश गुरुङलाई पक्राउ गरेको छ। गोजमो सहसचिव विनय तामाङका अनुसार प्रहरीले दार्जिलिङबाट गुरुङसहित नौ जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरेको छ। पक्राउको विरोध गर्दै गोजमो कार्यकर्ताले शनिबार साँझ विभिन्न प्रहरी थानामा नाराबाजी गरेका थिए। गोजमोले पहिलो दिनको बन्द शान्तिपूर्ण भएको जनाएको छ। तर, प्रदर्शनकारीले बिहीबार र शुक्रबार भने विभिन्न वन कार्यालय र प्रहरी चौकीका भवन आगजनी गरेका थिए। प्रहरीका अनुसार प्रदर्शनकारीले वन कार्यालयको तक्दा, रिम्बिक र मङ्पुस्थित गेस्टहाउस र रेन्ज अफिसमा आगजनी गराएका हुन्। पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जी दार्जिलिङ आउँदा तक्दा र मङ्पुस्थित वन कार्यालयका गेस्टहाउसमा बस्ने गर्थिन्। मङ्पुमा शुक्रबार निजी गाडीमा तोडफोड भएको छ। पोख्रेबुङमा आगजनी गराउन खोजेको आरोपमा प्रहरीले एकजना गोजमो कार्यकर्तालाई पक्रेको छ। महासचिव रोशन गिरी, प्रवक्ता एवं विधानसभा सदस्य हर्कबहादुर क्षेत्रीसहित नयाँदिल्ली पुगेको गोजमो टोलीले शनिबार नेसनलिस्ट कंग्रेस पार्टीका नेता शरद पवारसँग भेटवार्ता गरेको छ। 'हामीले गोर्खाल्यान्ड राज्यको कुरा उठाउँदै सहयोग माग्यौं,' महासचिव गिरीले नागरिकलाई टेलिफोनमा भने, 'उहाँले अरू नेतासँग कुराकानी गर्ने र साथ दिने आश्वासन दिनुभयो।' महासचिव गिरीले गोर्खाल्यान्डको पक्षमा लबिङ गर्न नयाँदिल्लीमा क्रियाशील रहने बताएका छन्। उक्त टोली जन्तरमन्तरमा जारी धर्नामा पनि सहभागी भएको थियो। जन्तरमन्तरमा गोजमो कार्यकर्ता सोमबारबाट धर्ना बसेका छन्। उता गोर्खाल्यान्डको पक्षमा मंगलबार अपराह्न १ बजे कालिम्पोङस्थित डम्बरचोकमा आफ्नो शरीरमा आगो लगाएका मंगलसिं राजपुतको शनिबार साँझ मृत्यु भएको छ। गोजमोको भ्रातृ संगठन युवा मोर्चाका सदस्य ४४ वर्षीय राजपुतको साँझ साढे छ बजे सिलिगुडीमा उपचारका क्रममा मृत्यु भएको हो। गोजमो अध्यक्ष विमल गुरुङले राजपुतको निधनले पार्टी र गोर्खाल्यान्ड आन्दोलनमा ठूलो क्षति पुगेको बताएका छन्। 'उनको त्यागलाई हामी खेर जान दिँदैनौं,' उनले फेसबुकमा लेखेका छन्, 'गोर्खाल्यान्ड आन्दोलनलाई हामी निरन्तरता दिन्छौं।' राजपुतको मृत्युको खबर पाएपछि गुरुङले फेसबुकको कभर र प्रोफाइल फोटोमा कालो पोतेका छन्। गोजमोले अब राज्य सरकारसँग वार्ता नहुने जनाएको छ। 'अब आन्दोलन तीव्र गतिमा अघि बढ्छ,' सहसचिव तामाङले नागरिकसँग भने। आन्दोलन भड्कन नदिन पाँच कम्पनी सिआरपिएफ (सेन्ट्रल रिजर्भ पुलिस फोर्स) शनिबार दार्जिलिङ आइपुगेको छ। सरकारले सोमबारबाटै दार्जिलिङमा पाँच प्लाटुन स्पेसल स्ट्राइकिङ फोर्स, सात प्लाटुन र्‍यापिड एक्सन फोर्स र दुई प्लाटुन इन्डियन रिजर्भ बटालियन्स परिचालन गरेको छ। सरकारले आन्ध्र प्रदेशबाट अलग्याएर तेलगंना राज्य गठन गर्ने संकेत बुझेपछि गोजमोले दार्जलिङमा आन्दोलन थालेको हो। तेलगंनाको पक्षमा युपिए गठबन्धन र कंग्रेस आईले सहमति जनाएपछि गोजमोले छुट्टै गोर्खाल्यान्ड माग्दै अनिश्चितकालीन बन्द आह्वान गरेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger