भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, भाद्र २ - सरकारले निर्वाचन तयारी तीव्र गरिरहेकै बेला मुख्य विपक्षीका रुपमा रहेको नेकपा-माओवादीभित्र भने संविधानसभा वा गोलमेचसभाबाट राजनीतिक निकासमा जाने भन्ने विवाद चुलिएको छ । माओवादीसहित ३३ साना दलको मोर्चाले वार्ताका लागि तय गरेको १८ बुँदे एजेण्डा पार्टीको कार्यनीति भन्दा बाहिर रहेको भन्दै पदाधिकारीबिचमै विवाद बढेको हो । एकवर्षअघि एमाओवादीबाट पार्टी अलग हुने क्रममा बौद्ध भेला र महाधिवेशनले पारित गरेको कार्यनीतिसँग विरोधाभासपूर्ण भएको भन्दै पदाधिकारीले नै अध्यक्ष मोहन वैद्य सामू प्रश्न उठाएका हुन् । पार्टी श्रोतका अनुसार संविधानसभालाई उपयोग गरेर जानुपर्छ भन्नेमा महासचिव रामबहादुर थापाले अगुवाई गरेका छन् भने सचिव नेत्रविक्रम चन्दले भने फेरि पनि जनतालाई धोका हुने भएकाले गोलमेचसभामार्फत राजनीतिक निकास ननिकाली हुने संविधानसभा घातक हुने तर्क राख्दै आएका छन् । 'दुवै पक्षको चेपुवामा अध्यक्ष पर्नुभएको छ', पार्टी पोलिटब्यूरोमा भइरहेको बहस र विवादबाट जानकारी दिंदै स्रोतले शनिबार कान्तिपुरसँग भन्यो-'त्यसले पार्टीले तय गरेको वार्ता र विद्रोहको कार्यक्रमलाई समेत प्रभावित पारेको छ ।' श्रोतका अनुसार महासचिव थापासहित पोलिटब्यूरो सदस्यहरु पम्फा भुसाल, हितमान शाक्य, हरिभक्त कँडेल, दिलिप प्रजापतिसहितका नेताहरु संविधानसभा र सरकारलाई उपयोग गरेर अघि बढ्नुपर्ने पक्षमा छन् । त्यसको विपरित धारको नेतृत्व सचिव चन्दले गरेका छन् । चन्दलाई पोलिटब्यूरो सदस्यहरु धर्मेन्द्र बास्तोला, खड्गबहादुर विश्वकर्मा, इन्द्रमोहन सिग्देल, कुलप्रसाद केसीसहितले साथ दिएका छन् । केन्द्रीय समितिमा राम्रो पकड रहेको चन्द पक्षको अडानलाई अध्यक्ष वैद्यले अस्वीकार गरेका छैनन् । तर अन्य पक्षको दवावका कारण वार्ता प्रक्रिया अघि बढाउने र नेताहरुलाई मिलाउने काममा जुटेका छन् । त्यसमा उपाध्यक्ष सिपी गजुरेल र सचिव देव गुरुङ्गले समन्वयकारी भूमिका खेलेको पार्टी स्रोतले जानकारी दियो । 'अघिल्लो संविधानसभालाई ४ राजनीतिक दलका नेताहरुले निष्प्रभावी बनाएकाले फेरी हुने संविधानसभाबाट केही उपलब्धी नहुने पार्टी निष्कर्ष हो', एक पोलिटब्यूरो सदस्यले भने-'तर, तत्कालै सत्तामा जानुपर्छ । विद्रोहमा जाने परिस्थिति निर्माण भएको छैन भन्ने नेताहरुका कारण पार्टी नै ढुलमुले भएको हो ।' बौद्ध भेला र त्यसपछि सम्पन्न महाधिवेशनले संविधानसभाको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा तय गरेको थियो । त्यसका लागि बल प्रयोग गर्नुपर्ने, फौजी संरचना तयार गर्नुपर्ने र संविधानसभाको विकल्पमा सर्वपक्षीय गोलमेचसभा गरी राजनीतिक विवादका मुद्दा टु्रंगो लगाउनुपर्ने विकल्प केन्द्रीय समितिमा बहुमतले राखेका थिए । अघिल्लो महिना पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकमा चुनाव बहिस्कारका लागि फौजी संरचनाको प्रस्ताव पेस भएको थियो । एक केन्द्रीय सदस्यले त्यस्तो प्रस्तावको अहिले औचित्य नरहेको तर्क पेस गरेपनि बहुमतमा रहेको चन्द पक्षले त्यसलाई स्वीकार गरेको ती पोलिटब्यूरो सदस्यले जानकारी दिए । त्यही बैठकले वार्ता र बहिस्कारको दुवै रणनीति लिएको थियो । तर, पहिलेको संविधानसभामा भएका गम्भीर गल्तीको समिक्षा र नयाँ संविधान बन्ने ग्यारेण्टी नगरी वैद्यको अगुवाईमा रहेको मोर्चाले पेस गरेको १८ बुँदेभित्र संविधानसभाको चुनावमा जान सकिने उल्लेख भएकोमा पार्टीभित्र विरोध बढेको हो । त्यसको प्रभावस्वरुप सचिव चन्द काठमाडौं भइरहेको वार्ता छलेर पोखरा, लम्जुङ्गसहित पश्चिम जिल्लाहरुमा बहिस्कार कार्यक्रममा ब्यस्त छन् । 'केही नेताहरु मंसिर ४ कै मितिमा पनि जान पनि राजी होलान्', १८ बुँदेमा असन्तुष्ट एक नेताले भने-'तर देशैभर हामीले बहिस्कारको कार्यक्रम अगाडी बढाएका छौं । हामी कुनै हालतमा मंसिर ४ को चुनावमा जान्नौं ।' लम्जुङ्गमा पार्टी काममा रहेका सचिव चन्दले कसरी चुनाव गर्ने, के का लागि चुनाव गर्ने टुंगो नलागी मंसिर ४ मा चुनाव हुन्छ भन्नु हावादारी कुरा भएको प्रतिक्रिया दिए । अघिल्लो दिन काठमाडौमा भएको वार्ता र प्रतिक्रिया आफूले पनि सुनेको प्रसङ्ग राख्दै उनले भने-'मैले पनि रेडियो र पत्रिकाहरुमा चुनाव हुने कुरा सुनेँ । प्रचण्डजीका विचारहरु पनि हेरे । तर, ती सबै हावा कुरा हुन् ।' माओवादीका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले संविधानसभाको महत्व र चरित्र सकियो भन्ने निष्कर्ष पछि नै गोलमेचसभाको विकल्प उठेको बताए । 'गोलमेच सभाबाट संविधानका अन्तर्वस्तुका प्रश्न, राष्ट्रिय स्वाधिनताका मुद्दा हल नभई संविधानसभामा पार्टी जानै सक्दैन्', चलाउनेले पार्टीको कार्यदिशाबारे प्रस्ट भने-'अहिलेको अवस्थामा चुनावमा पार्टी कुनै हालतमा जान्न । बरु सशक्त बहिस्कार गर्छ ।' ३३ दलीय मोर्चा र सरकारबीच आइतवार पनि वार्ता तय भएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.